नक्कली परीक्षार्थी पक्राउ
Tags: No Comments
मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका १ जना मकवानपुरमा पक्राउ परेका छन् ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा हेटौंडा-४ बस्दै आएका १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिक अर्काको नाममा जारी गरिएको प्रवेश पत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएको छ ।
बिकले हेटौंडा -१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेश पत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेको छ ।
घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने अ२ जना घाइते भएका छन् ।
बिहीबार मकवानपुरगढी २ मोरेमा बिजुलीको पोल गाड्ने क्रममा पोलले हाइटेन्सन लाइनको विद्युतीय तारलाई छुँदा करेन्ट लागेर स्थानीय राजकुमार गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त घटनामा घाइते गोलेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर मकवानपुरगढी-२ मोरेका ३० वर्षीय राजकुमार स्याङतान र मकवानपुरगढी-७ सानडाँडाका ५५ वर्षीय मानबहादुर गोले घाइते भएका छन् । दुवै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्न भएको छ।
श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा मन्त्रालय परिसरमा बसेको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिवहरू, सम्बन्धित निकायका प्रतिनिधिहरू, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको थियो।
निजी क्षेत्रसँग सहकार्य अभिवृद्धि गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउने, उद्यमशीलता विकास गर्ने तथा श्रम बजारलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको र त्यसका लागि छिटै प्रदेश सरकारले सम्बन्धित निकायहरुमा अनुगमन गर्ने र आगामी बजेटलाई कमजोर देखिएका क्षेत्र सुधारमा प्राथमिकता दिने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै माननीय मन्त्री जयराम थापाले प्रदेशमा बढ्दो बेरोजगारी चुनौतीलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभयो। मन्त्री थापाले भन्नुभयो, “श्रम क्षेत्रको सुधार बिना समग्र आर्थिक विकास सम्भव छैन। त्यसैले रोजगारी सिर्जना, सीप विकास र श्रमिक अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउन मन्त्रालयले आवश्यक कदम चान्ले छ।”
मन्त्री थापाले श्रमिकलाई देशमै अवसर सिर्जना गर्न सके वैदेशिक रोजगारीमा निर्भरता क्रमशः घट्दै जाने उल्लेख गर्दै त्यसका लागि राज्य, निजी क्षेत्र र श्रमिकबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो। “हामीले नीति बनाउने मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुपर्छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले श्रमिकमैत्री वातावरण निर्माण गर्न कुनै कसर बाँकी राख्ने छैन।”
उहाँले सीपमूलक तालिमलाई बजारसँग जोडेर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै तालिमपछि रोजगारी सुनिश्चित हुने खालका कार्यक्रम ल्याइने पनि जानकारी दिनुभयो। साथै श्रमिकको हकहित संरक्षणका लागि अनुगमन संयन्त्रलाई थप सुदृढ गरिने र श्रम सम्बन्धी सेवाहरूलाई पारदर्शी तथा प्रविधिमैत्री बनाइने बताउनुभयो।
छलफल पश्चात बैठकले प्रदेशमा रोजगारीका अवसर विस्तार गर्ने, सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमलाई प्रभावकारी बनाउने, श्रमिक अधिकार संरक्षणका लागि अनुगमन प्रणाली मजबुत बनाउने तथा वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनपछी पहिलाे पटक आज विहीबारबाट संघीय अधिवेशन हुदैछ । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन हुन लागेकाे हो । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुबै सदनको पहिलो बैठक दिउँसो २ बजेका लागि आह्वान गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।
शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ । त्यसपछि सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।
सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।
त्यसपछि अधिवेशन आरम्भ भएको विषयमा राजनीतिक दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको बैठकले तय गरेको छ । बुधबार भएको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति पनि तय गरेको छ । जसअनुसार आगामी आइतबार सभामुखका लागि निर्वाचन हुनेछ ।
संविधानको धारा ९१ मा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने’ व्यवस्था छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
संविधानमा लेखिएको छ, ‘तर प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन । सभामुखको निर्वाचन गर्ने दिन तोकेपछि बिहीबारकै बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्ने कार्यसूची छ ।
जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश छन् । त्यसपछि ज्येष्ठ सदस्य केसीले पूर्वसांसदहरू ऋषिकेश गौतम, मोहम्मद अफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गणेशसिंह ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटी, नेकपाबाट वर्षमान पुन, श्रम संस्कृति पार्टीबाट आरेन राई र राप्रपाबाट खुस्बु ओली सहभागी थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् ।
सत्तापक्षविहीन राष्ट्रिय सभा राष्ट्रिय सभा पहिलो पटक सत्तापक्षविहीन बनेको छ । प्रतिनिधिसभामा करिब दुईतिहाइ सिट जितेर सरकार गठन गरेको रास्वपाको प्रतिनिधित्व राष्ट्रिय सभामा छैन । राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बुधबारको बैठकमा सत्तापक्ष नभएको अवस्थामा सिट कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भएको थियो ।
राष्ट्रिय सभा उपाध्यक्ष बस्ने लहरमा मन्त्रीहरू बस्ने र बाँकी लहरमा दलीय हैसियतअनुसार सिट व्यवस्थापन गर्ने सहमति भएको छ । राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रिय सभा अध्यक्षसहित) छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडा बजार तर्फबाट रातमाटे तर्फ जाँदै गरेको बा प्र. ३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र रातमाटे तर्फबाट हेटौंडातर्फ आउदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा बा. प्र.०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल पछाडि सवार हेटौंडा ९ प्रगतिशील टोल बस्ने १८ वर्षीय एकता वैधको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा हेटौंडातर्फबाट रातमाटे तर्फ जाँदै गरेको ना ६ प ३१४५ नम्बरको ट्रकमा वैद्य ठोक्किएकी थिइन् ।
७६८३ नम्बरको मोटरसाइकल चालक हेटौंडा ४ कर्रा बस्ने १८ वर्षीय रोनित कार्की र अर्को मोटरसाइकल चालक चितवन इच्छाकामना ५ घर भइ हाल हेटौंडा ४ शितलमहल चोक बस्ने २२ वर्षीय पुष्पलाल गुरुङ सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको हेटौंडा अस्पताल उपचार भइ रहेको छ भने मोटरसाइकल, ट्रक र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।