मकवानपुर । नेपाल चलचित्र संघ महासचिवमा हेटाैडाका नरेन्द्र महर्जन चयन भएका छन् । फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघ कार्यसमितिले मंगलबार पूर्णता पाउँदा महर्जन महासचिवमा चयन भएका हुन् ।
संघकाे वार्षिक साधारणसभा भएको एक महिनापछि अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले पदाधिकारीकाे चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएका हुन् । यस्तै समितिकाे प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भास्कर ढुंगाना मनोनित भएका छन् । उपमहासचिवमा ओम जैसी, कोषाध्यक्षमा कपिलप्रसाद द्वा मनोनित भएका छन् ।
यसैगरी संघ सदस्यहरुमा मिजास पोखरेल, निरज कार्की, गोविन्दबहादुर शाही, चैतन्य बराल, युवराज प्रसाईं, प्रज्वलशमशेर जबरा, सुरेन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य चयन भएका छन् । कार्यसमितिको पहिलो बैठकले पूर्वाञ्चल समिति सभापतिमा निरज गुप्ता, पश्चिमाञ्चल समितिमा केदारप्रसाद पराजुलीलाई चयन गरेको छ ।
साथै, सुरेन्द्रकुमार थापाको सभापतित्वमा उपत्यका समिति पनि चुनिएको छ । नकिम उद्दिन, राजकुमार पोखरेल, प्रदीपकुमार उदय र अर्जुन श्रेष्ठ संघकाे सल्लाहकार छन् ।
मकवानपुर । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। उनले शनिबार मात्रै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेला आयोजना गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गरेका हुन्।
पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहने भएका छन्। आवश्यकता अनुसार केन्द्रीय सदस्य बढाइने सो पार्टीले जनाएको छ। पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुनस्गठन गर्नु रहेको छ।
राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका थिए।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० कात्तिकमा एकै चरणमा निर्वाचन गर्नेगरी प्रस्ताव गरेको हो ।
‘१ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी निर्वाचन आयोगले आन्तरिक तयारी गरेको छ, अनौपचारिक रूपमा आयोगले निर्वाचनका लागि सरकारसमक्ष ३० कात्तिकको मितिसमेत प्रस्ताव गरिसकेको छ,’ निर्वाचन आयोग स्रोतले राजधानीसँग भन्यो । आयोगले छिटोभन्दा छिटो निर्वाचनको घोषणा गर्न सरकारसमक्ष दबाबसमेत बढाउन थालेको छ ।
– निर्वाचन मिति घोषणाका लागि दबाब बढाउँदै आयोग
– १ सय ६५ वटै क्षेत्रमा एकै चरणमा गर्न सुझाव
आयोगले हाल मतदाता नामावली संकलनको काम धमाधम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले नामावली संकलनतर्फ भिड कम हुँदै गएपछि असार तेस्रो सातासम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर औपचारिक रूपमा नै मिति प्रस्ताव गर्ने आयोगको तयारी छ ।
७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट हाल मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गरिरहेका छन् ।
यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत एकैपटक गरिएको थियो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २२ मंसिरमा सकिने बताउँदै आएको छ ।
३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासमेत त्यसअघि नै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढिरहेका छन् । गठबन्धनमा आबद्ध दलको तयारीसमेत कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो साताभित्रै निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित छ ।
आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ । आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो । राजधानी दैनिकबाट
मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट नेकपा (एमाले) ले अस्वीकार गर्दै बजेट पुस्तक फिर्ता गरेको छ ।
नेकपा (एमाले) को संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख सचेतक दीपक निरौला लगायतका प्रदेश सभा सदस्यहरुको टोलिले आज मुख्यमन्त्री राजेन्द्रराज पाण्डेलाई बजेट किताब फिर्ता गरेका हुन् ।
बजेट पुस्तकमा भएका गलत मनसाय प्रेरित कर छुटको व्यवस्था, नीतिगत भ्रष्टाचार हुने योजना, असमानतालगायतका कुराहरु नसच्चाएसम्म स्वीकार गर्न नसकिने भन्दै बजेट पुस्तक फिर्ता गरिएको सचेतक निरौलाले बताए ।
सरकारले प्रस्तुत गरेको बजेटमा वितरणमा असमानता, गलत मनसाय सहितको कर छुट, सत्ता गठबन्धनले जितेका स्थानीय तह तथा वडामा मात्र बजेत विनियोजनलाई प्राथमिकता दिएको बजेट अघि प्रति पक्ष दलसंग गरेको समजदारीको पूर्ण वेवास्ता गरेकोले बजेत पुस्तक फिर्ता गरिएको निरौलाले जानकारी दिए ।
मकवानपुर । संघीय सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो कामबाट आफू ९० प्रतिशत सन्तुष्ट रहेको बताउँदै पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘म प्रक्रिया भन्दा एक्सनमा हुर्केको हो, मलाई चाँडै रिजल्ट चाहिन्छ, तपाईंका कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने म ९० प्रतिशत भन्छु, यो अवधिमा ९० प्रतिशत अंक ल्याएको उनकाे दाबि छ । ८ महिना २० दिन मन्त्री पदमा रहेका उनले पदबाट राजीनामा दिएका हुन् ।
