मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २०७९ मंसिर २ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।
‘प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
जवाफमा प्रधानमन्त्री देउवाले २ मंसिरकै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्न बताएका उनले जानकारी दिए । आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ भने निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२० दिन आवश्यक पर्नेछ ।
मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघि जेठ १४ गते मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि शर्माले राजीनामा दिएका हुन् ।
छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको शर्माले जानकारी दिए । छानबिन समिति गठनको स्वागत गर्दै समितिकाे प्रतिवेदन स्वीकार्य रहने पनि उन्ले बताए ।
एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।
मकवानपुर / बकर इदका अवसरमा सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मालम्बीको पर्व बकर इदमा बिदा दिने व्यवस्था अनुसार, असार २६ गते बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्। उनले बुधबार सूचना प्रकाशित गरी मुस्लिम आयोगका अनुरोधमा बिदा दिइएको जनाएका छन्।
मकवानपुर / बागमती प्रदेशको मुख्यमन्त्री बन्ने फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएकाे छ । केही समय अघिसम्म मुख्यमन्त्री बन्ने पक्कापक्की भएका नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँ यसपटक मुख्यमन्त्री नबन्ने संभावना देखिएको छ ।
सत्ता गठबन्धनको भागबण्डामा ६/६ महिना मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति तत्काललाई टरेको एक विश्वस्त स्रोतले जनाएको छ । प्रदेशमा सरकारको नेतृत्व छोड्नु पर्ने भएमा गठबन्धनको केन्द्रीय दलहरुको निर्णय र आफ्नो पार्टीको केन्द्रीय नेतृत्वबाटै निर्देशन आउनु पर्ने अडान लिँदै आएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नै अबको बाँकी समय मुख्यमन्त्री रहने स्रोतको दाबी छ ।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । उनले आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री समेत थप गर्ने तयारी भएको छ । मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारी भएको छ । दुबै राज्यमन्त्री नेकपा एकीकृत समाजवादीबाट हुने छन् ।
गत ११ कात्तिकमा मुख्यमन्त्री हुँदा बागमतीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो । ‘त्यो सहमतिले नै अहिले तनाव सिर्जना गरेको हो,’ माओवादी केन्द्र प्रदेश स्तरका अर्का एक नेताले भने ।
उनका अनुसार ६ महिना बित्दा साथ सरकार फेर्ने कुरा गर्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन समय माग भएको थियो, सोही अनुसार नेपाली काँग्रेसले समय दियो । अन्तत: नेकपा एकीकृत समाजवादीलाई प्राप्त साथकाे कारण बानियाँ पछि परे । बागमतीमा मुख्यमन्त्रीमा बानियाँ भन्दा पाण्डे रहनुमा नेपाली कांग्रेसकै नेताहरूले आन्तरिक रूपमा साथ दिएको उनले बताए ।
बजेट पास भएपछि मुख्यमन्त्री पाण्डेलाई दबाब दिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलनको तयारी गरेका थिए । यता बानियाँले नै पाण्डे सहमतिमै सरकार छोड्ने तयार रहेको बताउँदै आएका थिए । तर पाण्डेले केन्द्रको निर्देशन चाहिने अडान लिएपछि माहोल फेरिएको हो ।
बागमतीको सरकारमा हेरफेर गर्दा अन्यत्र पनि हेरफेर गर्नु पर्ने नत्र गठबन्धनमा धक्क पुग्ने निष्कर्षसहित अहिले पाण्डे नेतृत्वको सरकारलाई नै यथावत राखिने तयारी भएको माओवादी केन्द्रका ती नेताले भने ।
माओवादी शीर्ष नेतृत्वले त सरकार परिर्वतनको खेलमा नलाग्न प्रदेशका नेताहरुलाई निर्देशन नै दिएको उनले बताए ।
माओवादी सांसद पूर्व तथा समाजिक विकास युवराज दुलालका अनुसार सात प्रदेशका सरकार सकेसम्म नचलाउने कुरा केन्द्रीय गठबन्धनको छ । प्रदेश सरकार संचालन संयन्त्रका संयोजक समेत रहेका दुलाल प्रधानमन्त्रीले चाहँदा मात्र मुख्यमन्त्री हेरफेर हुनसक्ने बताउँछन् ।
अन्य प्रदेशको कुरा जोडेर सहमति तोडेको प्रति कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँले दुख व्यक्त गरे । ‘सरकार हेरफेर गर्ने नगर्ने सहमति शीर्ष तहमा के भयो मलाई थाहा छैन,’ बानियाँले भने, ‘विगतमा सहमति लिखित नै भएकोले कार्यान्वयन गर्न माग गरेका हौं ।’ सहमति मान्ने वा तोड्ने सवाललाई लिएर गठबन्धनलाई कमजोर बनाउने काममा भने कांग्रेस नरहेको उनले बताए ।
संघीय सरकारमा आगामी चुनावी नेतृत्व गर्न नेकपा एकीकृत समाजवादीलाई दिने हो भने बागमतीमा बानियाँको चान्स भएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । ‘काँग्रेसले संघीय सरकारको नेतृत्व छोड्न नचाहँदा बागमतीमा बानियाँले चान्स गुमाएँ,’ उनले भने ।
मकवानपुर । गणित बिषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने बताइएको छ । हेटौंडाको नबोदय शिशु सदनमा भएको म्याथ क्याम्प फायर कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने बताएका हुन ।
मङ्गलबार नवोदय गणित समूहले गरेको ‘म्याथ क्याम्प फायर’ कार्यक्रममा अध्यक्ष सुवेदीले हरेक क्षेत्रमा प्रयोग हुने गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु पर्ने बताए ।
प्रत्येक पाइलामा प्रयोग गर्न ‘आइडिया’ निकाल्न सक्ने जनशक्ति निर्माण गर्नु गणितको मुख्य उद्देश्य रहेको उनले बताए । ‘गणित कठिन विषय होइन । यसलाई हामी आफैँले कठिनाइ बनाएका हौँ ।’ उनले भने –‘गणितलाई कठिनाइको रुपमा नहेरी सकारात्मक रुपले कार्य पूरा गरेमा नतिजा पनि सकरात्मक आउने छ ।’
नेपाल शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारीले दैनिक जीवनमा गणित विषयको ज्ञान प्रयोग गर्नु पर्ने बताए । नवोदयका विद्यार्थीले प्रस्तुत गरेको सौर्य प्रणाली गणित विषयमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने प्रस्तुती तारिफ योग्य रहेको उनले बताए ।
नवोदय गणित समूहका अध्यक्ष एल्जीना दङ्गालको सभाध्यक्षतामा भएको नवोदय म्याथ क्याम्प फायर कार्यक्रममा २४ वटा स्टल विद्यालयको प्राड्गणमा राखिएको थियो । जसमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीे हलो, ढिक्की र मादल निर्माण गर्दै गणित विषयको प्रयोगको विषयमा प्रस्तुती गरेका थिए । कमाने एकेडेमी विद्यालयका विद्यार्थीले ‘द म्याथ अफ आवर युनिभर्स’ सम्बन्धी सामग्री स्टलमा राखेका थिए ।
यसैगरी नवोदय विद्यार्थीले सांस्कृतिक कला, व्रम्हाण्ड र प्राकृतिसँग गणित कसरी जोडिएको छ भन्ने सामग्री जस्तै (चरेसको थाल, ग्यालेक्सी, गितार, साराङ्गी, रङ्गोली, हिमालय श्रृङ्खला, ट्याली हाउस) लगायत स्टलमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्दत मिल्ने भएकोले नवोदय गणित समूहले कार्यक्रम गर्दै आइरहेको छ । म्याथ क्याम्पफायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्ने र अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले कार्यक्रम बढी प्रभावकारी हुने नवोदयका गणित शिक्षक गोपाल घिमिरेले बताए ।
गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम नवोदय गणित समूहको चौथो कार्यक्रम भएको शिक्षक सीएम रिमालले जानकारी दिए ।
