मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् ।
काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका अवधेश यादवको श्रीमती ३५ वर्षीया पुनम देवी यादव, छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव तथा उनका दुई भाइको मृत्यु भएको छ ।
दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल, चक्रघट्टा–४ का २६ वर्षीय विकेश यादव, ३५ वर्षीय गुड्डु यादव, उनकी श्रीमती गायत्रीदेवी यादव, रामदुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको पनि मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो ।
घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।
घाइतेमध्ये मुकेश, सक्षम र २६ वर्षीय देवेन्द्र उपचारपछि डिस्चार्ज भएका छन् । सुजन र सुदीपलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्रलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
मकवानपुर । आज तिहारको मुख्य दिन अर्थात भाई टीका । दाजूबहिनी, दिदिभाइहरूको आत्मिय चाड ’भातृद्वितिया’ अर्थात् ’भाईटिका’।
आज टीकाको उत्तम साइत ११ः०७ बजे रहेको छ । शुभ साइतमा दाजूभाइहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजूभाइहरूलाई टीका लगाई शुभाशिष दिई शुभ सगून ख्वाउनु उत्तम हुन्छ ।
काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरिएपछी तिहारको मुख्य र अन्तिम दिन दिदिबहिनीले दाजुभाईको पूजा गर्ने भाइटिका । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज “भाइटिका“ । दाजूभाइलाई टीका लगाउन माईती जाने गर्छन्,भने कतिपय दाजुभाई आउने प्रतिक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ होला ।
सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।
भाइटिका लगाउने चलन
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ । एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ ।
ति चेलीले यमदूतलाई टीकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टीकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुसीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
मकवानपुर । तिहार अर्थात् यमपञ्चको दिन आज गोवर्द्धन पुजा गरि मनाइदै छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज मंगलबार गोवर्द्धन संगै बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाउने गरिन्छ ।
आजको दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । गोवर्द्धन पुजा द्वापरयुगसंग सम्बन्धित रहेको मानिन्छ ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद्हरु बताउँछन ।
बलि, हली एवं गोरु पूजा
भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।
यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
गोरुलाई महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउछन । ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
मकवानपुर । पर्सामा पटकाको छर्रा लागेर बालकको मृत्यु भएको छ । पर्साकाे पकहामैनपुरमा सोमबार बिहान पटका पट्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी छन्। आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।