निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ । विगत ढेड सातामा नै हजारभन्दा बढी कर्मचारी र ३ हजार प्रहरी सरुवा गरिएको छ ।
सरकारले निर्वाचनमा आफू अनुकूलका कर्मचारी आफ्नो अनुकूलका ठाउँमा पठाउने उद्देश्यले मापदण्डबिना अस्वाभाविक रूपमा कर्मचारीको सरुवा गरेको आरोप छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार मात्रै अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको थियो । सो मन्त्रालयले गरेको सरुवामा अत्याधिक विकृति देखिएको मन्त्रालयका कर्मचारीको गुनासो छ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोर्सफोर्स र आर्थिक चलखेलका आधारमा सरुवालाई तीव्रता दिँदै आएको छ,’ मन्त्रालय स्रोतले राजधानलीलाई बतायो । यसैबीचमा प्रहरी प्रधान कार्यालयले पनि १९ भदौमा २ हजार ८ सय ८४ कर्मचारीको सरुवा गरेको छ । त्यसयता केही प्रमुखहरू समेत सरुवा भए ।
– डेढ सातामा हजार बढी कर्मचारी र ३ हजार प्रहरीको सरुवा
– पहुँच र पैसा हुने ‘गैंडा’ सरुवामा नहुने ‘डाँफे’ सुरुवामा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउन सकेको छैन । जसका कारण कतिपय सरुवा विवादित समेत बनेका छन् । उच्च राजनीतिक नेतृत्वको दबाब, विभिन्न मन्त्रालयका मन्त्रीको सूची तथा अन्य उच्च कर्मचारीको ‘सोर्सफोर्स’लाई सरुवाको मुख्य आधार बनाउने गलत प्रवृत्ति हाबी भएकामा कर्मचारी गुनासो गर्दछन् ।
सामान्य प्रशासन मन्त्रालयले शुक्रबार मात्रै विभिन्न मन्त्रालय र निकायका २६ सहसचिवको काज सरुवा गरेको छ । यसअघि मन्त्रालयले ढेड सातामा मात्रै झन्डै २ सय प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिसकेको छ । मन्त्रालयले सरुवाको क्रमलाई जारी राखेको छ ।
गत २३ भाद्रमा मात्रै मन्त्रालयले २३ जना प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा गरेको थियो । गृह मन्त्रालयले पनि २१ भदौमा १२ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो । गृहले पनि केही दिनदेखि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने क्रमलाई जारी राख्दै आइरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सबैभन्दा ठूलो विजनेस नै संघीय निजामती सेवा ऐन ल्याउनु हो तर मन्त्री राजेन्द्रकुमार श्रेष्ठको पछिल्लो दिनचर्या कर्मचारी सरुवामा नै बित्ने गरेको छ । मन्त्री श्रेष्ठले पछिल्ला दिनमा संघीय निजामती सेवा ऐन ल्याउने सम्बन्धमा खासै पहल गर्न सकेका छैनन् । संघीय निजामती सेवा विधेयकलाई कानुन मन्त्रालयले रोकेर राखेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा गर्दा मन्त्रालयमा पैसाको चलखेल हुने गरेको आरोप छ । कैयांैपटक सरुवा संशोधन गर्दा समेत चलखेल भएको मन्त्रालयका अधिकारीको दाबी छ ।
आकर्षक निकायका रूपमा रहेका विभिन्न स्थानीय तहमा जान पैसाको व्यापक मोलमोलाई भइरहेको स्रोतको दाबी छ । ‘केही दिन अघिसम्म मन्त्रालयमा सरुवा माग्ने कर्मचारीका कारण जात्रा नै लागेको थियो’ एक कर्मचारीले भने, ‘अहिले पनि सरुवा माग्नेको भीडमा कमी छ्रैन ।’
मन्त्रीको सचिवालयकै कर्मचारीको रुचिअनुसार नभएपछि मन्त्रालयले एकपटक गरिसकेको सरुवामा समेत व्यापक फेरबदल गर्दै सरुवालाई अन्तिम रूप दिँदै आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको सचिवालयबाट ‘गैंडा’ सरुवामा बढी चलखेल हुने गरेको देखिएको छ । गंैडा सरुवा भनेको सुगमबाट सुगममा नै हुने सरुवा हो । राजनीतिक पहुँच, शक्ति र पैसाको प्रयोग गरी केही अधिकृतले गैंडा सरुवा गराउने गरेका छन् ।
विशेषत काठमाडांै उपत्यकाको एउटा पालिकाबाट अर्को पालिकामा तथा एउटा सहरी क्षेत्रबाट अर्को सहरी क्षेत्रमा हुने सरुवालाई प्रशासनिक क्षेत्रमा गैंडा सरुवाको रूपमा लिने गरिन्छ । सोर्सफोर्स नभएका, शक्ति पहँुच र पैसाको प्रयोग गर्न नसक्ने प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीको भने एक दुर्गम स्थानबाट अर्को दुर्गम स्थानमा सरुवा हुने गरेको दुखेसो पोख्छन् । यो सरुवालाई ‘डाँफे’ सरुवा भनिन्छ । यो सरुवामा पैसाको कुनै चलखेल नहुने र यस्तो सरुवामा सोझासोझा कर्मचारी पर्ने गरेको बताइएको छ । राजधानी दैनिकबाट
- उत्सब चौलागाईं
सखारै मझेरीमा
चिरबिराउँछन् चराहरू
र तोरीका दाना
झुत्तिखेल्छन् आँगन छेउ थाक्राहरूमा
गर्छन् होड्बाजी को भन्दा को कम ।
चराहरूसँगै
लडीबुडी गर्छन् केटाकेटीहरू
खेल्छन् टालाटुली बाटुली
यति यति पानी गङ्गे रानी
बनाउँछन् माटोको घर
बन्छन् बेहुला र बेहुली
गर्छन जिजीविषाको अभ्यास
पोखेर आर्गानिक शैशव चञ्चलता ।
धुलो मैलो हुन्छन्
ताप्छन् लालीमाको न्यानो
उन्मुक्त आमोद-प्रमोद मनोभावमा ।
घाम छिपिदै जाँदा
फेरिदै जान्छ चराहरूका लय
हराउँदै जान्छ उनीहरूका चकचक
पङ्ख फिजाएर उडी जान्छन् कतै टाढा
केटाकेटीहरू भत्काउँछन् माटोको घर
लाग्छन् आ-आफ्नो बाटो
अलप हुन्छन् आँखाहरूबाट ।
मध्यदिन
शून्य शून्य छ आँगन
चराहरु छैनन्
चिरबिर छैन
छैनन् केटाकेटीहरू
खस्नै लागेको धुरी मात्र टोलारहन्छ अजस्र ।
सन्ध्याकाल
बिर्सेर मनोरम आँगन
सखारैको आपसी प्रेम र सद्भाव
प….र…. बाँसको झ्याङ्तिर झगडिन्छन्
अगि नै एकैसाथ झुत्ति खेल्ने चराहरू ।
मच्चेको छ स्वर
हिर्काइरहन्छन्
सङ्घार, झ्याल, ढोका र पालीमा
बेमेल कर्कश आवाजहरूले ।
केटाकेटीहरू
ङ्यारङ्यारङुरङुर गर्छन्
मन अमिलो पार्छन्
खिन्न मान्छन्
रुन्छन्
र भन्छन्
अँध्यारो मन पर्दैन ।
यी सबै गतिविधि हेरिरहेछु म ।
अन्न टिपिरहेका चराहरूसँगै
बिहान हेरिरहन्छु
र सम्झन्छु
मरुभूमिमा पसिना बगाइरहेको भाइ ।
लालाबालाको माटोको घरसँगै
मध्यदिन हेरिरहन्छु
र सम्झन्छु
आगोले खाएको सुकुम्बासी बस्ती ।
चराहरूको कर्कश आवाज
र केटाकेटीहरूको छटपटीसँगै
सन्ध्या हेरिरहन्छु
र सम्झन्छु
मेरो देशको पार्लियामेन्ट ।
मकवानपुर । ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशास’ भन्ने नाराका साथ मनाईन लागेको १९ औं निजामती सेवा दिवस २०७९ अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुभकामना दिएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रसेवक निजामती कर्मचारीहरुमा शुभकामना व्यक्त गरेका हुन् । ।
सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीले आफूले राज्यले प्रदान गरेको दायित्व निर्वाह गर्न सकेमा मात्र जनताले शासन व्यवस्था परिर्वतन भएको महशुस गर्न सक्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सोही अनुसार कार्य सम्पादन गर्नका लागि आव्हान समेत गरेका छन् ।
निजामती सेवामा संलग्न कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहको प्रभावकारिता नै नागरिक सामु देखिने सरकारको प्रतिविम्ब भएको उनले उल्लेख गरेका छन् ।
यस सेवामा आबद्ध सबै राष्ट्रसेवकले जिम्मेवारी तथा उत्तरदायी भएर पेशागत मर्यादा कायम राखी कर्तव्यपालनमा व्यवसायिक निष्ठा र निष्पक्षताका साथ डटेर लाग्नुपर्नु आवश्यकताको रुपमा उनले औल्याएका छन् ।
“राष्ट्रसेवकले सेवा प्रवाह गर्ने क्रममा स्वच्छता, पारदर्शिता, व्यावसायिकता एवं जवाफदेहिता कायम गर्दै राज्यलाई नागरिकको घरदैलोमा पुर्याउने माध्यम निजामती सेवा भएकाले आफ्नो पेशागत दक्षता र क्षमताको पूर्ण उपयोग गरी जनताको अधिकतम सन्तुष्टिका लागि क्रियाशील रहन तथा जनस्तरमा निजामती सेवामाथि उठेका प्रश्नप्रति सचेत रही आफ्नो चारित्रिक शुद्धता कायम राख्ने जिम्मेवारी आफैले ग्रहण गर्न समेत निजामती तथा राष्ट्रसेवक कर्मचारीहरुलाई आह्वान गर्दछु” विज्ञप्तिमा भनिएको छ ।
बागमती प्रदेश सरकार प्रदेश र प्रदेश भित्र रहेका निजामती लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको पेशागत सुरक्षा र उच्च मनोबल कायम गरी सेवा प्रवाहमा सुधार ल्याउनको लागि कानून तर्जुमा, संस्थागत सरचना सुधार लगायत आवश्यक अन्य पूर्वाधारहरुको व्यवस्थापन गर्नका लागि सदैव तयार रहनेमा उनले विश्वास दिलाउन चाहेको उल्लेख छ ।
मकवानपुर – आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गर्दा मकवानपुरमा चुनावी वातावरण तात्दै आएको छ । राजनीतिक दलहरूले जिल्लाबाट प्रतिनिधि सभा, प्रदेश सभा तथा समानुपातिकको लागि उम्मेदवार बन्ने सम्भावित व्यक्तिहरूको नाम सिफारिस गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो घोषणा तथा प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।
मकवानपुरमा एकाघरका दिदी बहिनी र दाजु बहिनी उम्मेदवारको लागि सिफारिस भएका छन् । यसैगरी बाबु छोरीले स्वतन्त उम्मेदवारी सिफारिस गरेका छन् ।
राप्रपा मकवानपुरको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फबाट दुई दिदीबहिनी इन्दिरा डल्लाकोटी र बालकुमारी डल्लाकोटी सिफरिस भएका छन् । एकै पार्टीबाट डल्लाकोटी दिदीबहिनी सिफारिस भएका हुन् ।
यता नेकपा एमाले र नेपाली काँग्रेसबाट एकाघरका दाजुबहिनीको नाम सिफारिस भएको छ । नेकपा एमालेबाट मकवानपुर १ (१) का लागि आरती पाठकको नाम सिफारिस हुँदा नेपाली काँग्रेसबाट पार्टी सचिवसमेत रहेका इश्वरकुमार पाठक पनि सोही क्षेत्रमा सिफारिस भएका छन् । हाल सिफारिस भएका दुवैजनाले निर्वाचन टिकट पाएमा चुनावी मैदानमा एकै क्षेत्रमा फरक फरक पार्टीबाट दाजुबहिनीको भिडन्त हुनेछ ।
यसैगरी मकवानपुरमा बाबुछोरीले आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नीति निर्माण तहमा सक्षम युवा भन्ने नाराका साथ मकवानपुरका राकेश कुमार शर्माले प्रतिनिधि सभाको लागि मकवानपुरको क्षेत्र २ बाट उम्मेदवारी घोषणा गरेका छन् । शर्माकै छोरी दिपिकाले उहीँ नाराका साथ प्रतिनिधि सभाको लागि मकवानपुरको क्षेत्र १ बाट उम्मेदवारी घोषणा गरेकी छिन् । इकागजबाट
मकवानपुर । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । पोखरामा हुने प्रतियोगिताको लागि मकवानपुरका १२ जना खेलाडी छनौट भएका छन् । बागमती प्रदेश सरकारले छनौट गरेको ३ विधाका खेलमा मकवानपुरका १२ खेलाडी छनौट भएका हुन ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरका अनुसार, प्रदेश क्रिकेट टिमको अन्तिम १४ मा मकवानपुरका ३ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा रामनरेश गिरी, सुमन सुनार र शुभ कंशाकार रहेका छन् । प्रदेश क्रिकेट टिमको अन्तिम १८ को वैकल्पिकमा मकवानपुरकै रिजन ढकाल, गौरव खड्का र तक्षक सिम्खडा अटाएका छन् ।
यसैगरी, जुडोतर्फ अस्मिता गोले र सलिसा गोले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् । उसुतर्फ वास्ताकुमारी पाख्रिन, प्रविण दोङ, आशीष लामा र साजन थिङ नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका समितिले जानकारी दिएको छ ।
अन्य विधा तर्फकाे खेलाडी छनाैट अन्तिम चरणमा रहेकाे बताइएकाे छ ।