मकवानपुर । नेपाली कांग्रेसको घोषणापत्र सोमबार सार्वजनिक हुने भएको छ ।
कांग्रेसले आज आइतबार घोषणापत्र सार्वजनिक गर्ने भनेता भोलि सोमबार सार्वजनिक गर्ने जनाएको छ । कांग्रेसले एक विज्ञप्ति सार्वजनिक गर्दै सोमबार विहान घोषणापत्र सार्वजनिक हुने जनाएको हाे ।
कांग्रेसद्वारा आज प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ नेपाली कांग्रेसको संकल्प पत्र नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको थियो ।’ ‘तर कार्यक्रम भोलि २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे हुने भएको व्यहोरा जानकारी गराइन्छ।’

मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनावी प्रचारमा रहेका बिरोध खतिवडा र इन्द्रबहादुर बानियाँलाई निर्वाचन आयोगले स्पस्टिकरण सोधेको छ ।
निर्वाचन आयोगले एकीकृत समाजवादीका मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार खतिवडा र नेपाली कांग्रेसका मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा उम्मेदवार बाँनियालाई स्पष्टीकरण सोधेको हो । आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको मनहरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई भ्रमणका लागि १५/१५ हजार दिएको समाचार आएपछि आयोगले खतिवडा र बाँनियालाई स्पष्टीकरण सोधेको हो ।
उनीहरूले नगद रकम प्रदान गरेपछि सामाजिक सन्जालमा समेत आलोचना गरिएको थियो । आयोगले मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? भनी प्रश्न गरेको छ । “यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारवाही हुनु नपर्ने हो ?” आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले उनीहरूलाई भनेको छ ।
बानियाँ र खतिवडाले शुक्रबार निर्वाचन आचारसंहिता बिपरित पैसा बाडेपछि क्याम्पसको आधिकारिक फेसबुक पेजमै उनीहरूलाई धन्यवाद भन्दै मतदानको लागि अपिल गरिएको थियो ।
यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै तिहार सुरु भएको हो । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् बताउँछन् । यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ ।
यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । चौँथो दिन मंगलबार गाईको पूजा गरिन्छ । चौथो दिन बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।
यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ । केहीले आज कुबेरको पूजा गरेपनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन् ।
आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ ।
मकवानपुर । बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्लाले हात पारेको छ । काठमाडौंमा आयोजना भएको बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुर बिजेता बनेको हो ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा ललितपुरलाई २ विकेटले हराउँदै मकवानपुर विजेता बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४० ओभरको गेममा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । यस्तै ललितपुरले १ सय ४९ रन बनाएको थियो । मकवानपुरलाई जित दिलाउन ५ विकेट लिएका मकवानुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भएका छन ।
५ विकेट लिए बापत शर्मालाई मकवानपुरका पूर्व खेलाडी उत्सव सिग्देलले १३ हजार नगद प्रदान गरेका थिए ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले आगामी निर्वाचनबाट समेत गठबन्धनकाे सरकार बन्ने बताएका छन् ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवार हुनु भएका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको अगुवा कार्यकर्ता भेलामा निर्वाचन पछी बन्ने सरकारले गाँजा विधेयक पारित गर्ने बताए । गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई पनि जेलमुक्त गर्न विधेयक ल्याइने उनले बताए ।
खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी र विखण्डनकारीहरुसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताए । मकवानपुरमा गठबन्धन बलियो मतका साथ अग्रता कायम गरिरहँदा नेकपा एमालेका उम्मेदवारहरु स्पर्धामा आउनै नसक्ने समेत उनकाे भनाई रहेकाे थियाे । ‘पश्चिम मकवानपुरको विकासमा विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’ उनले भने
कार्यक्रममा मकवानपुरको निर्वाचन क्षेत्र २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले पछिल्लो पटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर २ को रुपान्तरण भएको बताइन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिन्ह बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताए।
नेकपा माओवादी राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतकाे उपस्थिति रहेकाे थियाे ।