मकवानपुर । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अन्तर्गत आज मुख्य दिन भाई टिका मनाइदैछ । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटिका पर्व आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरि मनाइन्छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११: ३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् बताउछन् ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन् ।
दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
मकवानपुर । मकवानपुरको बसले ठक्करले एकजनाको मृत्य भएको छ ।
मदन भण्डारी लोकमार्गको हटिया सडकखण्ड अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नंबर १७ कठायत चोकमा बसले ठक्कर दिँदा सोहि स्थानका सोम गोलेको मृत्यु भएको हो ।
हेटौँडाबाट फापरबारी जाँदै गरेको ना ४ ख ४०२२ नम्बरको बसले अन्दाजी ४२ वर्षका गोलेलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भिर घाईते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मगलबार साझ कठायत चोक नजिकै हेटौंडा १८ मा मोटरसाइकलले ठक्कर दिंदा अर्का एक स्थानीयको मृत्यु भएको थियो ।
मकवानपुर । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कल सेन्टर सञ्चालनमा ल्याएकाे छ । गत असाेज २८ गतेदेखि सञ्चालनमा आएकाे पैसा नलाग्ने कल सेन्टर (११०२) मा आएका मध्ये १ हजार २५ जिज्ञासाकाे सम्बाेधन गरिएकाे हाे ।
कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल १ हजार ५ सय २ कलमध्ये १ हजार १ सय ९७ वटा कल रिसिभ भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । साे मध्ये १ हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको आयाेगले जानकारी दिएकाे हाे । उक्त अवधीमा १ सय ७२ वटा कल मिस्ड भएका थिए भने ३ सय ५ वटा भ्वाइस मेल आएकाे समेत आयाेगले बताएकाे छ । अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको आयाेगले जनाएकाे छ ।
कल सेन्टरमा पालिकाका जनप्रतिनिधिहरुले निर्वाचनकाे प्रचार प्रचारप्रसार गर्न पाउने नपाउने, निर्वाचन आचार संहिताकाे समयमा पालिकामा करारमा कार्यरत कर्मचारीहरुकाे म्याद थप गर्न मिल्ने नमिल्ने, निर्वाचनकाे समयमा आयाेगले मिडिया अनुगमन गर्न सेना/प्रहरी परिचालन गरेकाे, मतपत्र कहिले उपलब्ध हुने तथा कति र कस्ताे रङ्गका हुने, मत कसरी दिनेलगायतका जिज्ञासा आएकाे आयाेगले जनाएकाे छ ।
मकवानपुर । तिहार अर्थात् यमपञ्चको चौथो दिन आज गोवर्द्धन पुजा गरि मनाइदै छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार गोवर्द्धन संगै बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाउने गरिन्छ ।
आजको दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । गोवर्द्धन पुजा द्वापरयुग संग सम्बन्धित रहेको मानिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् रामचन्द्र आचार्य फुर्सती बताउँछन ।
बलि, हली एवं गोरु पूजा
भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउछन । ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ५ सय ५० जनाकाे उम्मेदवारी खारेज भएकाे छ । निर्वाचन आयाेगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे लागि दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका ५ सय ५० व्यक्तिको उम्मेदवारी खारेज गरेकाे हाे ।
समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४ सय ५७ उम्मेदवारमध्ये निर्वाचन कानून र निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३ सय ६९ सहित उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोधउपर जाँचबुझ गरी उम्मेदवारको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका १ र कालोसूचीमा रहेका १ जनाको नाम पनि हटाइएको छ ।
निर्वाचनकाे लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने तीन सय ६९ को नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रवक्ता पौडेलका अनुसार बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ जना र प्रदेशसभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।