नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ निर्वाचन २९ गते मंगलबार हुँदै
मकवानपुर । गण्डकी प्रदेशको पोखरामा आजबाट सुरु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौं महाधिवेशनमा मकवानपुरका पुराना यातायात व्यवसायी गोकर्ण प्रसाद पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दीएका छन् ।
यातायात क्षेत्रका अनुभव तथा इमानदारी नेतृत्वको रुपमा परिचित पराजुली नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा यस अघि विज्ञ सल्लाहकार थिए भने निवर्तमान कार्यसमितिमा केन्द्रीय सदस्य थिए । निर्वाचन २९ गते मंगलबार हुदैछ ।
नेपालको यातायात क्षेत्र अनेकौँ चुनौती, असहज नीति, व्यवसायिक असुरक्षा र बदलिँदो परिस्थितिबीच संघर्षरत रहेको बेला आफूले योगदान गर्न सो पदको लागि उम्मेदवारी दिएको पराजुलीले बताए । “यस्तो परिस्थितिमा मेरो अनुभव विगतमा यसै क्षेत्रमा गरेको संघर्ष र व्यवहारिक ज्ञानको सदुपयोग गर्न खोजेको हुँ” पराजुलीले भने ।
व्यवसायीको हक, सम्मान र सुरक्षित भविष्य नै आफ्नो अठोट भएको पराजुलीले बताए । आफु वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएमा हाल विभाजित महासंघलाई एकताको सूत्रमा बाँध्ने उनले बताए ।
“विभिन्न धार र संरचनामा रहेका यातायातसम्बन्धी महासंघ तथा संगठनहरूलाई एउटै साझा छातामुनि ल्याई बलियो, एकीकृत र प्रभावकारी संगठन निर्माण गर्न निरन्तर पहल गर्नेछु” पराजुलीले भने । एकताबद्ध महासंघ नै व्यवसायीको अधिकार सुनिश्चित गर्ने बलियो आधार हो भन्नेमा उनीले विश्वास व्यक्त गरे ।
यसैगरी महासंघको आफ्नै आधुनिक भवन निर्माण, राज्यसँग प्रभावकारी नीतिगत पैरवीमा आफ्नो पहल हुने उले आफ्नो प्रतिवद्धतामार्फत सार्वजनिक गरेका छन् । महासंघको संस्थागत मजबुती, गरिमा र पहिचानका लागि महासंघको आफ्नै आधुनिक भवन निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने पराजुलीको प्रतिवद्धता रहेको छ ।
यातायात व्यवसायीहरूको पक्षमा राज्यसँग प्रभावकारी संवाद, सहकार्य र दबाबमार्फत व्यवसायीमैत्री नीति निर्माण गराउन सशक्त भूमिका खेल्ने, कर, बीमा, जरिवाना, नवीकरण, बैंक ब्याजलगायत व्यवसायीका जटिल समस्याको समाधानमा निरन्तर खटिने उनले बताए ।
यसैगरी सबैखाले सवारी धनीहरूको साझा प्रतिनिधित्व गर्दै मालवाहक, यात्रुवाहक, इन्धन ढुवानी, साना तथा मझौला सवारीसाधन धनीहरू—सबै व्यवसायीहरूको साझा आवाजका रूपमा अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महासंघ कुनै सीमित वर्गको नभई सम्पूर्ण यातायात व्यवसायीहरूको साझा घर बन्नुपर्ने र यसको लागि आफ्नो भूमिका रहने उनले बताए ।
उनले दुर्घटनापीडित व्यवसायीका लागि राहत प्रणाली सुदृढीकरण गर्ने योजना अघि सारेका छन् । यातायात क्षेत्रमा हुने कहालीलाग्दा दुर्घटनाबाट पीडित व्यवसायीहरूलाई राहत प्रदान गर्न छुट्टै कोष स्थापना गरी हित सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरेको अनुभवलाई थप सुदृढ बनाउँदै भविष्यमा अझ प्रभावकारी राहत प्रणाली निर्माणमा पहल गर्नेछु उनको प्रतिवद्धतामा भनिएको छ ।
को हुन् पराजुली
नारायणी यातायात व्यवसायी संघमा सचिव, कोषाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष भएर सफल नेतृत्व निर्वाह गरेका पराजुली मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्ष भई इन्धन ढुवानी क्षेत्रका व्यवसायीहरूको हकहितमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष भई राष्ट्रिय स्तरमा यातायात व्यवसायीहरूको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी मकवानपुर उद्योग वाणिज्य संघको महासचिव भई निजी क्षेत्र र व्यवसायिक हित संरक्षणमा सक्रिय योगदान गरेको अनुभव समेत छ ।
यसैगरी दुर्घटनाबाट प्रभावित यातायात व्यवसायीहरूको राहत र संरक्षणका लागि हित कोष सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्ने पराजुली यातायात क्षेत्रमा अनुभवले खारिएको नेतृत्व मानिन्छन् । संघर्षबाट स्थापित पहिचान, सबैखाले व्यवसायीको साझा आवाज, काम गर्ने स्पष्ट दृष्टिकोण र योजना भएका एकता, सम्मान र सुरक्षित व्यवसायको प्रतिबद्धता भएको व्यक्ति भएकाले आफूहरुको रोजाइको उम्मेदवारी रहेको मकवानपुरका एक यातायात व्यवसायीले बताए ।
मकवानपुर । बागमती प्रदेशमा आज बैशाख २४ गते सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
बागमती प्रदेश राजपत्रको खण्ड ९ संख्या ९ प्रदेश राजपत्र भाग ३ अनुसार २०८२ चैत २३ गते प्रकाशित सूचना बमोजिम बैशाख २४ गते आज बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
आज प्रदेशभर सरकारी, सार्वजनिक संस्था तथा विद्यालय बन्द छन् । बागमती सरकारले २०८० बैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषासम्बन्धी ऐन कार्यान्वयन गर्दै भाषा दिवस मनाउँदै आएको छ । प्रदेश सरकारले सरकारी कामकाजी भाषा नेपालीसहित तामाङ र नेवारी भाषालाई कानुनी रुपमै मान्यता दिएको छ । बागमती प्रदेशले सरकारी कामकाजी भाषा तीन वटा बनाएको छ ।
यो प्रदेशमा सबै भन्दाबढी तामाङ समुदायको बसोबास छ । बागमती प्रदेशमा कूल जनसंख्याको २० दशमलव ५४ प्रतिशत तामाङ बस्छन् । यस प्रदेशमा १८ दशमलब ३२ प्रतिशत ब्राहृमण समुदाय बस्छन् । प्रदेशमा क्षेत्री समुदाय १७ दशमलव १३ प्रतिशत र नेवार समुदाय १७ दशमलव ७ प्रतिशत रहेका छन् । मगर, विश्वकर्मा र गुरुङको जनसंख्याको प्रदेशको कूल जनसंख्याको क्रमशः ४ दशमलव ८७, २ दशमलव ५ र २ दशमलव २२ रहेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ अब प्रदेशमा ८ वटा मात्रै मन्त्रालयहरु रहने छन् । मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ वटा मन्त्रालयबाट घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो । यो सँगै जिल्ला स्थित सरकारी कार्यालयहरुकाे समेत सङ्ख्या घटाइएको छ ।
सत्तारुढ दल एमालेसमेतको सहमतिमा ९ साउनबाट लागु हुनेगरी ६ वटा मन्त्रालय घटाएको हो । लामो समयदेखि कांग्रेस-एमालेबीच मन्त्रालय घटाउने विषयलाई लिएर विवाद हुँदै आएको थियो । मन्त्रालय घटाउन मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजेका लागि बोलाइए पनि एमालेले ९ वटा कायम गर्नुपर्ने अडान लिएपछि करिब २ घण्टा ३५ मिनेट ढिलो गरी सुरु भएको थियो ।
मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या ८ कायम गर्ने अडान लिएपछि एमालेका मन्त्रीहरू बाध्य भएका थिए । स्रोतका अनुसार बागमती प्रदेशमा रिक्त रहेको सभामुख पद एमालेलाई दिने, मुख्यमन्त्रीमा आफ्नो निरन्तरता र मन्त्रालय संख्या घटाउने विषयमा सत्तारुढ दलबीच सहमति बने पनि अन्तिम समयमा एमालेले मन्त्रालयको संख्यालाई लिएर विवाद सिर्जना गर्न खोजेको थियो ।
अब बागमती प्रदेशमा बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिरिषद्सहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्क्षी वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय मात्र हुनेछ ।
मकवानपुर । महालक्ष्मी साहित्य समाजको तेस्रो अधिवेशनले बिनोद खत्री आकाशलाई अध्यक्षमा चयन गरेको छ ।
लेखक, कविहरूको भेलाबाट सम्पन्न भएको उक्त अधिवेशनले महालक्ष्मी साहित्य समाज ललितपुरको अध्यक्षमा बिनोद खत्री आकाश चयन भएका छन् । खत्रीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।उक्त समाजको उपाध्यक्षमा जुमन किरण, सचिवमा निरा श्रेष्ठ, कोषाध्यक्षमा रूविना राना चयन भएका छन् भने सदस्यहरूमा पुरूषोत्तम बस्नेत, पुष्कर थापा, सुमन घिमिरे, महेश गौतम, विष्णु थापा, होमनाथ खत्री र राजाराम राउत सर्वसम्मत चयन भएको समाजले जनाएको छ।
वि.सं. २०७९ सालमा दर्ता भई संस्थागत साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यका साथ गठन गरिएकाे उक्त संस्थाले आफ्नो स्थापना कालदेखि नै नियमित साहित्य श्रृङखला, पुस्तक प्रकाशन, स्रष्टा सम्मान जस्ता कार्यक्रम गर्दै आएको थियो । नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको रहनेछ ।