मकवानपुर । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयाेगले जनाएकाे छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केहीबेर अघी गरिएकाे पत्रकार सम्मेलनमा आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका छन् ।
सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरिएकाे थपलियाले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र कम मतदान भएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा थपलियाले भने ‘सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा गरी ४ जिल्लाकाे १५ स्थानमा मतदान स्थगित भएको उनले बताए । यस बाहेक अन्य स्थानमा निर्वाचन शान्ती पूर्वक सम्मन्न भएकाे उनले जानकारी दिए ।
यसैगरी मतदानकाे क्रममा एउटा बाकसमा खसाल्नु पर्ने मतपत्र अन्यमा परेकाे भए जनताकाे अभिमत खेर जान नदिने गरी सवै पक्षकाे छलफलबाट टुंगाे लागाउने गरी व्यवस्था गरिने समेत उनले बताए
सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए । पत्रकार सम्मेलनमा उठाइएका जिज्ञासाकाे समेत थपलियाले जवाफ दिने काेशिस गरेका थिए ।
मकवानपुर । निर्वाचन आयोगले आइतबार राति पत्रकार सम्मेलन गर्दैछ । आज आइतबार देशभर भएकाे प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान साँझ ५ बजे सकिए पछि आयाेगले राती ७:५० बजे पत्रकार सम्मेलन गर्न लागेकाे हाे ।
आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिए पनि मतदान स्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने आयाेगकाे निर्णय पछि केही मतदानस्थलमा ५ बजेपछी पनि मतदान गर्ने मतदाताले मतदान गरेका छन् ।
आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ । आज सम्मन्न निर्वाचनबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको जनाएकाे छ । आयाेगकाे पत्रकार सम्मेलन https://fb.me/e/2k4y1WmbT बाट प्रत्यक्ष प्रशारण हुने जनाएकाे छ ।
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तरगत आज भैरहेको मतदान बिथोल्न सक्रिय रहेका ७ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कबाट निर्वाचिन खारेजको माग गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमत मकवानपुर जिल्ला संयोजक बिक्रम रुचाल ‘शक्ति’ सहितको ६ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो।
पक्राऊ परेकाहरूमा पार्टीको जिल्ला ईन्चार्ज धुव्र खड्का ‘रवि’, जिल्ला संयोजक बिक्रम रुचाल ‘शक्ति’, सचिवालय सदस्य लिला माझी, युवा जिल्ला अध्यक्ष बसन्त लामा ‘विश्वास ‘, जिल्ला सदस्य विकास लामा, जिल्ला सदस्य अजय गहिराइ र जिल्ला सदस्य एवम बागमति गा पा ईन्चार्ज अनिल सिन्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । मंसिर ४ गते आइतबार हुने प्रतिनिधसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५ सय ७० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने छन् ।
जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । बागमती प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये १७ लाख ३८ हजार ०८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता रहेका छन् ।
मकवानपुर जिल्लामा २ प्रतिनिधी सभा र ४ प्रदेशसभा क्षेत्रकाे निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाताले मतदान गर्ने भएका छन् । मकवानपुर क्षेत्र नम्बर-१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना र महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् ।
यस क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर-२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् । यस क्षेत्रमा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ ।
यसै गरी प्रदेश १ मा कूल ३३ लाख ९६ हजार ८६५ मतदाता छन् । जसमध्ये १७ लाख २९ हजार ७७२ पुरुष मतदाता छन् भने १६ लाख ६७ हजार ७१ महिला र २२ जना अन्य मतदाता छन् ।
मधेश प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य गरी कूल ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।
कूल ३२ लाख २९ हजार ६३७ कूल मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य मतदाता छन् ।
गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता रहेको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् ।
यस्तै, कर्णाली प्रदेशमा कूल १० लाख ८ हजार ४०३ जना मतदाता छन् । जसमध्ये ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य मतदाता रहेका छन् । यो नेपालकै कम मतदाता रहेको प्रदेश पनि हो ।
देशभर मतदान स्थल १० हजार ८९२ र मतदान केन्द्र २२ हजार २२७ जना छन् । अस्थायी मतदान स्थल १४१ वटा रहेका छन् ।
गृह मन्त्रालयले ३ हजार ८० मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको छ । यसैगरी ४ हजार ४ सय ८० स्थल संवेदनशील र ३ हजार ३ सय १९ कम स्थल संवेदनशील सूचीमा समावेश छन् ।
नेपाल प्रहरी ७१ हजार ६९३, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी १ हजार ८२१, सशस्त्र प्रहरी बल ३५ हजार ११६, नेपाली सेना ७४ हजार ८९४ र म्यादी प्रहरी १ लाख १५ हजार खटिएको आयोगले जानकारी दिएको छ ।
मकवानपुर । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरू सहज र पहुँचयोग्य बनाइएको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे लागि मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको थपलियाले बताएका हुन् ।
‘गत बैशाखमा भएकाे स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा मंसिर ४ गते हुने मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य बनाइएकाे छ’– थपलियाले भने । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शकरूपमा ग्रहण गर्ने बताए । निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरूपमा पर्यवेक्षण गरिदिन समेत उनले आग्रह गरे ।
थपलियाले आयोगको क्षमताकाे आधारमा मतदान स्थल र केन्द्रलाई मतदाताका लागि कम दूरीमा पार्ने गरी व्यवस्था गरिएको बताए । उनले भने ‘मतदाता नामावलीलाई सकेसम्म शुद्ध बनाइएको छ ।’ प्रमुख आयुक्त थपलियाले यस पटकबाट आवधिक निर्वाचन कहिले हुन्छ भन्ने खालको अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने समेत बताए ।