मकवानपुर । मंसिर ४ गते आइतबार हुने प्रतिनिधसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५ सय ७० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने छन् ।
जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । बागमती प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये १७ लाख ३८ हजार ०८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता रहेका छन् ।
मकवानपुर जिल्लामा २ प्रतिनिधी सभा र ४ प्रदेशसभा क्षेत्रकाे निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाताले मतदान गर्ने भएका छन् । मकवानपुर क्षेत्र नम्बर-१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना र महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् ।
यस क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर-२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् । यस क्षेत्रमा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ ।
यसै गरी प्रदेश १ मा कूल ३३ लाख ९६ हजार ८६५ मतदाता छन् । जसमध्ये १७ लाख २९ हजार ७७२ पुरुष मतदाता छन् भने १६ लाख ६७ हजार ७१ महिला र २२ जना अन्य मतदाता छन् ।
मधेश प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य गरी कूल ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।
कूल ३२ लाख २९ हजार ६३७ कूल मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य मतदाता छन् ।
गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता रहेको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् ।
यस्तै, कर्णाली प्रदेशमा कूल १० लाख ८ हजार ४०३ जना मतदाता छन् । जसमध्ये ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य मतदाता रहेका छन् । यो नेपालकै कम मतदाता रहेको प्रदेश पनि हो ।
देशभर मतदान स्थल १० हजार ८९२ र मतदान केन्द्र २२ हजार २२७ जना छन् । अस्थायी मतदान स्थल १४१ वटा रहेका छन् ।
गृह मन्त्रालयले ३ हजार ८० मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको छ । यसैगरी ४ हजार ४ सय ८० स्थल संवेदनशील र ३ हजार ३ सय १९ कम स्थल संवेदनशील सूचीमा समावेश छन् ।
नेपाल प्रहरी ७१ हजार ६९३, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी १ हजार ८२१, सशस्त्र प्रहरी बल ३५ हजार ११६, नेपाली सेना ७४ हजार ८९४ र म्यादी प्रहरी १ लाख १५ हजार खटिएको आयोगले जानकारी दिएको छ ।

