मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दीपकबहादुर सिंहको उपस्थितिमा गायक प्रकाश सपुतले माहौल तताए।
महोत्सवमा राज्यमन्त्री सिंहको प्रमुख आतिथ्यता रहेको थियो । उनले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै समग्र उद्योग, व्यापार र व्यवसाय विद्युत लोडसेडिङले पर्ने असर न्यूनीकरण गरिने बताए । गलबन्दी च्यातियो…, पीर दियो…, कुरा बुझ्नु पर्छ…लगायतका आफ्ना चर्चित गीत प्रस्तुत गरेका सपुतले धमकेदार सांगीतिक प्रस्तुती दिएका थिए । सातौं दिन मंगलबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरु गीतसंगीतमा मज्जाले झुमेका थिए । महोत्सवमा गायिका अस्मिता अधिकारी, पुराना चर्चित लोक गायक घमेश दुलाल, कमेडियन प्रभात लामाले आफ्नो प्रस्तुती दिएका थिए ।
युवापुस्ताको मन मुटुमा बसेकी गायिका अधिकारीले आफु नाच्दै गाउँदै सबैलाई नचाएकी थिइन् । आफ्ना चर्चित गीत प्रस्तुत गरेकी अधिकारीले हेटौंडामा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुती दिएकी हुन् । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विक्री गर्ने उद्देश्यले जमादार ग्रुप हेटौंडाले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केटले गायक सपुतलाई महोत्सवमा ल्याएको हो ।
भोली बुधबार युवापुस्ताका मनपर्ने गायक युवराज चौलागाई, गायिका शीलु भट्टराई, गायक विश्व नेपाली, कमेडियन सुदीप थापा लगायतका कलाकारको प्रस्तुती रहने महोत्सवका कलाकार/मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
सोमबार महोत्सवमा बाल गायक अशोक दर्जी र टंक बुढाथोकी, कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको टप टेन छनौट भई भोटिङ राउण्ड सुरु भएको छ । मंगलबारबाट आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।

महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवर्द्धकको रुपमा रहेको महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको छ ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङका स्टल रहेका छन ।
यस्तै मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
माघ ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । बुधबार चुरेहिल हस्पिटलका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।
मकवानपुर । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपति पदको निर्वाचन घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनकाे जानकारी गराएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते विहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने जानकारी समेत दिएका छन् ।
उनले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, विरोध, उजुरी लगायतका कामहरू १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका रहेकाे बताए । त्यस्तै आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गते रहेको बताएको छ । मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।
त्यस्तै उपराष्ट्रपतिको निर्वाचन फागुन ३ गते हुने भएको छ । प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने काम लगायतका कामलाई राष्ट्रपतिकै कामलाई गरेकोबाट निरन्तरता दिने बताए । उनका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै रहेको छ । त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिका समेत सार्वजनिक गरिएको छ ।
हेर्नुहाेस निर्वाचन तालिका
रैथाने बालीको परिकार कस्तो छ?: मकवानपुरगढी गाउँपालिकाका विद्यार्थीलाई दिवा खाजामा रैथाने बालीको परिकार खुवाउन सुरु गरेको छ । गाउँपालिका वडा नं. २ कुर्लेस्थित बंशगोपाल माविले विद्यार्थीहरुलाई दिवा खाजामा रैथाने बालीको परिकार खुवाउन शुरुवात गरेको हो । यसले रैथाने बालीको उत्पादन बढ्ने तथा सरक्षण हुने छ । गाउँपालिका रैथाने बाली प्रबर्द्धनमा जुटेको छ ।



अलिअलि गर्दै मनमा पस्यौ अनि हेरें ।
दिलमा अड्डा जमाई बस्यौ अनि हेरें ।
कति पनि दिन्न भिन्न हुन दिन्न भनी
बलियो आलिङ्गनमा कस्यौ अनि हेरें ।
गहुँ गोरो वर्ण हिमाल झैं दन्ते लहर
त्यहि माथि अत्तर नै घस्यौ अनि हेरें ।
मायैमायामा लुटुपुटु पारी मलाई
मदहोस प्रेमको छुरा धस्यौ अनि हेरें ।
मायाको सागरमा गहिराईमा डुब्दा
उर्लंदो त्यो खहरे मै खस्यौ अनि हेरें ।
सूर्योदय नगरपालिका, इलाम
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् । संघको माघ २८ र २९ गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने भएकोले कडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट नेतृत्व गर्ने लक्ष्यसहित उनले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी रहने बताएका हुन् । कडेल संघको वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष समेत हुन ।
‘निर्माण व्यवसायीको क्षेत्रमा रहेको समस्या बारे म अवगत नै छु । अहिले देशव्यापी रुपमा रहेको आर्थिक मन्दीबाट हाम्रो पेशा पनि अछुतो रहेको छैन’, कंडेल भने, ‘ निर्माणको क्रममा राज्यबाट हुने असहयोग, कच्चा पदार्थको अभाव, निर्माण सामग्रीको बढ्दो मूल्यवृद्धिको मारमा हामी सधैं परिरहेका छौं ।’
लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकोले मैले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको छु । निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले उम्मेदवारी घोषणा गर्दै भने ।
२०५२ सालदेखि निर्माण व्यवसाय क्षेत्रमा संलग्न रहेका कंडेल २०५८ सालमा निर्माण व्यवसायी संघको कार्यसमिति सदस्य भएका थिए । कंडेलले हालसम्म तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । उनले सहयोगका लागि निर्माण व्यवसायीमा अपिल समेत गरेका छन् । कंडेल हाल मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष हुन् ।
कंडेलले सहमतिमा नेतृत्व चयन हुने सम्भावनाका कारण प्यानल घोषणा नगरिएको र सहमति नभएको खण्डमा चुनावमा जान आफू तयार रहेको बताए । संघको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।