मकवानपुर । निर्वाचन आयोगले बारा चितवन र तनहुँ जिल्लाका १/१ क्षेत्रमा वैशाख १० मा हुने उपनिर्वाचनकाे लागि विहीबार मध्यराति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने बताएको छ । विहीबार मध्यराति १२ बजेदेखि वैशाख १० गतेसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
१० वैशाखमा बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २, चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ र तनहुँ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।
‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ सहायक प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ ।’
उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ अर्यालले जानकारी दिए ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बुधबार बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको ‘गर्मागर्मी सवाल जवाफ’ले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न बैठक असफल भयो ।
लामो समयको छलफलपश्चात बसेको परिषद्को बैठकबाट रिक्त प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस हुने विश्वास थियो । तर, बैठक सारिएको विषयदेखि प्रक्रियागत विषयमा समेत एमाले अध्यक्ष ओलीले प्रश्न उठाएपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै बैठक टुंगियो ।
बैठकको सुरुमै ओलीले शुक्रबारका लागि आह्वान भएको परिषद्को बैठक किन बुधबार नै सारिएको भन्दै प्रश्न गरेका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार ओलीले बैठक बस्नुभन्दा ४८ घण्टाअघि नै सूचना दिनुपर्नेमा प्रक्रिया नै नपु¥याई बैठक सारिएको भन्दै आपत्ति जनाए । ‘तपार्इंलाई थाहा छ कि छैन, संवैधानिक परिषद्को बैठक बस्नुभन्दा कम्तीमा ४८ घण्टाअगावै परिषद्का सदस्यहरूलाई खबर गर्नुपर्छ, त्यो त भएन, बैठक यसरी सारेर कसरी हुन्छ ? तात्तातै खाऊँ, कसरी जुट्छ त सहमति ?’ ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने ।
सहमति नजुट्दा बिनानिष्कर्ष बैठक सकिएपछि प्रधानन्यायाधीशको नियुक्ति सिफारिस अनिश्चित
संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी ऐन, २०६६ को प्रावधानअनुसार, बैठक बस्नुभन्दा ४८ घण्टाअघि परिषद् सदस्यहरूलाई सूचना दिनुपर्ने व्यवस्था छ । तर, बुधबारको बैठकका लागि मंगलबार मात्रै खबर गरिएकाले कुरा उठ्नु स्वाभाविक नै रहेको ती सदस्यले बताए । बैठकमा ओलीको भनाइ नसकिँदै प्रधानमन्त्री प्रचण्डले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका थिए । प्रचण्डले प्रस्ताव गर्नसाथ ओलीले घुमाउरो शैलीमा विरोध जनाए ।
‘प्रधानमन्त्रीज्यू अलि प्रक्रिया मिलेन कि ? म त प्रधानन्यायाधीशको नियुक्ति चाँडै होस् भन्ने पक्षमै छु, तर खोइ संसदीय समिति ? मिनी संसद् भनिने संसदीय समितिले नै पूूर्णता नपाई संवैधानिक नियुक्तिहरू प्रक्रियागत ढंगले असहज हुन्छ, सुनुवाइ कहाँ र कसले गर्ने हो ? प्रधानन्यायाधीश सिफारिस मात्रै गर्नुको कुनै अर्थ त म देख्दिनँ है,’ ओलीले बैठकमा भने ।
एमाले अध्यक्ष ओलीले कार्कीको नाममा सिधै असहमति नजाए पनि संसदीय समितिहरू अहिले नभएकाले पहिला ती समिति गठन गर्न प्रचण्डलाई सुझाव दिए । यस्तै, परिषद्को बैठकमा मात्रै प्रतिपक्षी दलको आवश्यकता पर्ने हो कि अन्य राष्ट्रिय मुद्दा तथा विषयमा समेत प्रतिपक्षी दल चाहिने हो भन्ने प्रश्न ओलीले गरेका थिए ।
करिब दुई घण्टा बसेको बैठकमा ओलीले राखेका एकपछि अर्को प्रश्नको जवाफ प्रचण्डले दिँदै प्रधानन्यायाधीशको नियुक्तिपश्चात् संसदीय समितिसमेत गठन हुने बताए । प्रचण्डले लामो समयदेखि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको र यसले राम्रो सन्देश नगएको भन्दै सहमति जुटाएर तत्कालै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने बताए पनि ओलीले अस्वीकार गरे ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको सवाल जवाफ चल्दैगर्दा अरू सदस्यहरू हेरेको हेरै भए । बैठकमा संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, प्रतिपक्षी दलका नेता ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
बैठकपश्चात् कानुनमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री खड्काले बैठकमा प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी एजेन्डा प्रवेश भए पनि निर्णयमा पुग्न नसकिएको बताए । ‘नियुक्तिका सन्दर्भमा विभिन्नखालका छलफल भए, त्यो छलफल निष्कर्षमा पु-याउन सकेनौं, हामी फेरि बसेर टुंगोमा पु¥याउँछौं,’ खड्काले भने । परिषद् सदस्यका तर्फबाट थप छलफल गर्नुपर्ने कुरा आएको बताउँदै त्यसबीचमा अनौपचारिक छलफल पनि गर्नुपर्ने मन्त्री खड्काको भनाइ छ । ‘प्रधानमन्त्रीले सहमतिमा निर्णय गर्दा फरक पर्दैन,’ मन्त्री खड्काले भने, ‘कानुन पनि बनाउने र सुनुवाइ समिति पनि बनाउने भन्ने उद्देश्यले नै बैठक राखेर प्रस्ताव गर्नुभएको हो ।’
बैठकपश्चात् राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको एक मात्रै एजेन्डामा छलफल भए पनि कुनै निर्णय नभएको बताए । ‘बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा नै छलफल भयो, तर कुनै निर्णय भएन, अब अर्को बैठकले निर्णय गर्ने भन्ने भएको छ,’ बैठकपछि अध्यक्ष तिमिल्सिनाले भने ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध २०७८ फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि न्यायालय नेतृत्वविहीन अवस्थामा छ । १४ महिनादेखि प्रधानन्यायाधीश नियुक्ति नभएपछि पछिल्लो समय कानुन व्यवसायी र सरोकारवालाहरूले प्रधानन्यायाधीश नियुक्तिको विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए ।
संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल नथाले आन्दोलन चर्काउने चेतावनी प्रधानमन्त्री प्रचण्डलाई दिइसकेको छ । नियुक्ति प्रक्रिया अघि बढाउन प्रचण्डले यसबीचमा सत्तारूढका साथै प्रतिपक्षी दलहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् । राजधानी दैनिकबाट
मानसिक स्वास्थबारे प्रदेश स्तरीय कार्यशाला
Tags: No Comments
मकवानपुर । मानसिक स्वास्थ तथा मनोसामाजिक अपाङ्गता विषयक एक दिवसीय बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
कोशिसको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले अपाङ्गताबारे कानुनी व्यवस्थापन तथा परिचयपत्र वितरण प्रक्रियाबारे जानकारी गराएकी थिइन् ।
कार्यशालामा दृश्य विहिन, श्रवण सम्बन्धी समस्या भएका, ह्विल चेयर प्रयोगकर्तालगायत विभिन्न प्रकारका अपाङ्गता भएका क्षेत्रबाट प्रतिनिधित्व रहेको कोशिश मकवानपुर पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
सहभागीहरूले सम्बन्धित सरोकारवाला निकायबाट अपाङ्गता परिचयपत्र लिने क्रममा विभिन्न समस्या झेल्नु परेको गुनासो गरेका थिए ।
अपाङ्गताको क्षेत्रमा मनोसामाजिक अपाङ्गताको उत्थान गर्न सबै सरोकारवालाहरुले एक साथ काम कसरी गर्न सक्छन भन्ने विषय माथि छलफल गर्ने, सबै प्रकारका अपाङ्गताको हक अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायमा पैरवी बढाउने, परिचय पत्रका लागी सहजता दिलाउन सहजीकरण गर्ने, आगामी दिनमा पैरवी के कसरी गर्न सकिन्छ भन्ने बारे योजना तर्जुमाका लागी कार्यशाला गरिएको लामाले बताइन् ।
मकवानपुर । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
यस अभियान अन्तरगत मकवानपुरमा पनि ताेकिएकाे उमेर समूहका ३४ हजार ४ सय ९३ बालबलिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यण घिमिरेले बताए । यस अभियानमा महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।
नियमित तालिका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
सरकारले हरेक ६ महिनाको अन्तरालमा नियमित रुपमा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) घरको ३ तला माथीबाट खसेका छन् ।
हिजो रात बास बसेको चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको ३९ बर्षिय शम्भुको स्वस्थ्य अवस्था गम्भीर रहेको बताईएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका शम्भु आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।
उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।
रास्वपाले आज बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम गर्ने पुर्व तालिका थियो ।उपनिर्वाचन नजिकिदै गर्दा चुनावी दौडधुपमा रहेको बेला चालक शम्भुको यो घटना नियोजित भएको रबिका समर्थकहरूको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।