मकवानपुर । नेपाल आयल निगमनले पेट्राेलियम पदार्थकाे मूल्य बढाएको छ । शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले प्रेस विज्ञप्ति मार्फत जनाएकाे हाे ।
यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।

मकवानपुर । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पछिल्लो संशोधन अनुसार स्वस्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई ३ बर्षसम्म कैद हुने व्यवस्था छ ।
स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ
त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।
स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरे, बिरामीको उपचारमा बाधा पुर्याए वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरे एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
साथै, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थामा कुनै हानिनोक्सानी भए कसूरदारबाट क्षति बराबर क्षतिपूर्ति रकम भराउन पनि सकिनेछ। स्वास्थ्य संस्थामा आगजनी वा तोडफोड तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपातको मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिए वा कसूरदार हो भन्ने विश्वास गर्ने आधार भएमा मुद्दा हेर्ने अधिकारीले पुर्पक्षका लागि थुनामा राख्न सक्ने व्यवस्था छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई २०८७ साउनमा पछिल्लो पटक शंसोधन गरि यो व्यवस्था गरिएको भए पनि हालसम्म कसैलाई कारवाही गरिएको छैन । कानुन बन्ने तर कार्यान्वयनमा नआउने गरेको कारण अराजक मौलाएको पीडितहरूको गुनासो छ ।
सन्चो अस्पतालमा कार्यरत डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथी आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककी श्रीमती रमा, छोरा रोहि, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।
स्वास्थकर्मीलाई आक्रमण गर्ने ४ जना पक्राउ
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्ला हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान ८/१० जनाको समूहमा आएका व्यक्तिले सञ्चो हस्पिटलका डाक्टरहरू थापा र बिडारीमाथि मुक्का प्रहार गर्दा डा. थापा र डा. बिडारी घाइते भएका थिए । डाक्टरमाथि आक्रमणमा संलग्न मध्यका श्रीमती रमा, छोरा रोहन, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।
प्रशासन र प्रहरीले दोषीलाई कार्वाहीको चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको मकवानपुरका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी सुर्यँ प्रसाद सेढाई र प्रहरी प्रमुख (एसपी) सीताराम रिजालको भुमिकालाई लिएर चर्को आलोचना भइरहेको अवस्थामा घटनामा संलग्न दुई जना पक्राउ गरिएको छ ।
बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गर्ने निस्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताएका थिए ।
- सुमन बाबु मरहट्टा
प्रिय बा,
आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । यो लेख प्रकाशित हुँदै गर्दा फेसबुक लगायतका सामाजिक सञ्जालमा आफ्ना बुबासँगका तस्बिरले भरिएका हुनेछन् । तर यो विशेष दिन लगायत बुबाको अर्थ र साँच्चिकै उहाँको परिवारमा भएको विशिष्ट जिम्मेवारीको उचित कदर र सम्मान ३६५ दिन नै कायम हुनुपर्दछ भन्ने मान्यता राख्छु म ।
आफू एक असल व्यक्तिको छोरा र आफ्ना पनि दुई छोरीहरू भैसकेको अवस्थामा बा भन्ने शब्दको महत्त्व र एउटा परिवारलाई सही बाटोमा लैजानका साथै आर्थिक एवं सामाजिक हिसाबले स्थापित गराउन एउटा बा दिनहुँ कति मेहनत गर्दछ भन्ने कुरा आफै बुझ्दै छु ।
यसै परिपेक्षमा घरको सम्पूर्ण पालनपोषणमा आमाको विशिष्टीकृत भूमिकालाई उच्च सम्मान गर्दछु । आमा जननी र पालनहार हुन् भने बुबा पथ प्रदर्शक र परिवारको एक खम्बा हुन् भन्ने लाग्छ मलाई । आज बा को सम्झनामा मेरा स्वर्गीय पिता माधव प्रसाद मरहट्टा, जो बा मात्र नभएर मेरा अभिभावक, शिक्षक र एक सच्चा साथी पनि हुनुहुन्थ्यो, उहाँको बारेमा केही कुरा लेख्न कोसिसरत छु ।
२०७७ साल असोज, कार्तिकको त्यो कहालीलाग्दो समय संसारभर कोभिडको त्रासले हामी सबैलाई निकै अप्ठ्यारो पारेको थियो । म आफै मेडिकल डाक्टर र मेरी श्रीमती सृजना पनि डाक्टर भएकोले यो परिस्थितिमा घरमा बस्ने र छुट्टी मनाउने अवसर हामीलाई थिएन ।
यद्यपि सम्पूर्ण विश्व एक प्रकारको लकडाउनको अवस्थामा गुज्रिरहेको थियो । दिनहुँ घरबाट निस्कँदा र घरमा आउँदा मनमा एक प्रकारको त्रास हुन्थ्यो । किनकि घरमा सँगै बस्नुपर्थ्यो । समय बित्दै गयो, सुरुमा देश नै ठप्प भएको अवस्थामा खासै कोभिडका बिरामी थिएनन् । तर जब लकडाउन खुकुलो हुन थाल्यो सङ्क्रमण समुदायमा आयो र निकै सावधानीको बाबजुद पनि कोभिड १९ ले पनि हाम्रो घरमा आक्रमण गर्यो ।
मेरा बा, जो वर्षौँदेखि पार्किन्सन्स भन्ने नशाको रोगसँग जुधिरहनु भएको थियो, उहाँलाई एक दिन ज्वरो आयो र टेस्ट गराउँदा कोभिड सङ्क्रमण देखियो । त्यो समय जुन बेला यसको खोप उपलब्ध थिएन, त्यो बेला दीर्घरोगी मेरा बालाई कोभिड १९ को सङ्क्रमण हुँदा सबै जनालाई अत्यास लाग्नु स्वाभाविकै थियो ।
कोभिड १९ को सङ्क्रमण भए तापनि लक्षण नदेखिएकाले र बुबाको अन्य रोगको पनि थुप्रै औषधि खानुपर्ने भएकाले घरमै राखेर उपचार गर्ने हाम्रो पारिवारिक सल्लाह भयो । दसैँको त्यो समय काममा केही कम व्यस्त भएकाले मैले र मेरी श्रीमतीले घरमै बुबालाई दिनदिनै ज्वरो नाप्ने, अक्सिजन हेर्ने गर्दै उपचार गर्यौँ ।
मेरी आमाले आफ्नो स्वास्थ्यको ख्याल नगरी आफू सङ्क्रमण नेगेटिभ भए तापनि यसको प्रवाह नगरी बुबाको दिनरात सेवा गर्नुभयो । दसैँ जेनतेन मनाइयो र बा को हातबाट टीका पनि लगाइयो । यो कुरा सम्झँदा म आजपनि भावुक हुन्छु । किनभने मेरा लागि बुबाको हातको त्यो अन्तिम टीका थियो ।
समय बित्दै गयो, बुबाको सङ्क्रमण भएको नवौँ दिनमा उहाँलाई खोकी लाग्ने र केही असहज भएको जस्तो महसुस भयो । र, मैले आफ्नै गाडीमा राखेर स्टार हस्पिटल लगेँ, जसले सयौँ कोभिड–१९ का बिरामीको राम्रो उपचार गरेको थियो । त्यहाँ लगेर मेरो दाजु उमेश र मेरो सल्लाहमा सिटिस्कयान पश्चात् भर्ना गर्नुपर्ने निर्णय गरियो । र, उहाँलाई त्यस अस्पतालमा छाडेर विश्वासका साथ घर फर्कियौ ।
भनिन्छ, हाम्रो जीवनमा घट्ने सम्पूर्ण राम्रा र नराम्रा घटना पहिल्यै तय भएका हुन्छन् । उहाँको उपचारको साता दिनपछि जब उहाँलाई डिस्चार्ज गर्न हामी तयार भएका थियौ, तब फेरि ज्वरो आयो । र, केही दिनपछि मात्र थाहा भयो, कोभिड १९ को औषधिले उहाँको मिर्गौला फेल भई जटिल स्थिति पुगिसकेको रहेछ ।
अब उहाँको राम्रो हुने सम्भावना निकै कम भएको कुरा उपचारमा संलग्न मेरा मित्र डाक्टर सहकर्मीहरूबाट थाहा पाएँ, जुन मेरो जीवनको आजसम्मको सबैभन्दा अप्रिय घटना थियो । निकै प्रयासको बाबजुद पनि उहाँलाई हामीले गुमायौ । २०७७ साल कार्तिक २६ गते उहाँको भौतिक शरीर हामीबीच रहेन । सामान्य अवस्थामा रहेको मान्छेको अकस्मात् भएको निधनले म र मेरा परिवारका लागि असाध्यै पीडा दिएर गयो ।
आखिर सत्य स्विकार्नुबाहेक हाम्रो सामु अरू केही उपाय थिएन । मैले आफ्नो मनलाई भित्रैदेखि दरो बनाएँ । परिवारका अन्य आफन्तबाट पनि कठिन समयमा निकै साथ पाइयो । देश विदेशबाट सहानुभूतिका शब्दले लाग्यो, माधव प्रसाद मरहट्टा मेरा मात्रै बा हुनुहुँदो रहेनछ । उहाँ त धेरै व्यक्तिका पथप्रदर्शक र अभिभावक हुनु हुँदो रहेछ । मन यसरी नै सम्हालियो र उहाँको मृत्युको धार्मिक कार्य समापन गरियो ।
१३ दिनको कार्यपछि सबैजना आआफ्ना काममा लागे । म पनि फेरि आफ्नो नियमित कार्यमा लाग्न प्रयास गर्दै थिए, त्यसै समयमा हाम्रो परिवारको अर्को प्रिय सदस्य सासुआमा गंगा कोइरालाको असामयिक निधनले फेरि अर्को पीडा थप्यो । दिन बित्दै जाँदा अब मलाई बुबाको याद र उहाँसँग बिताएका रात दिनका समय ताजा हुन थाल्यो । मलाई आफै डाक्टर, आफ्नै अस्पताल जो कोभिडको अवस्थामा कहलिएको, आफ्नै बुबालाई मैले बचाउन सकिनँ भन्ने कुराले मनमनै निकै पोल्न थाल्यो । मेरा कैयौं अनिदा रातहरूले मलाई झन् झन् कमजोर बनाउँदै लग्यो ।
‘कान्छाको डाक्टरमा नाम निस्कियो थाहा पायौ ? अब सबैलाई बोलाएर भोज गर्नुपर्छ’ भन्ने मेरो बुबाका ती करोडौँ मूल्यका खुसीका पल सम्झँदा के म डाक्टर भएर वहाँलाई अप्ठ्यारो अवस्थामा केही गर्न सके त ? भन्ने कुराले मलाई आफूप्रति वैराग्य लाग्न थाल्यो । मैले गर्दै आएका शल्यक्रिया र बिरामीको उपचारमा पनि मलाइ खासै मन लागेन । म लथालिङ्ग भएँ, मलाई बाको यादले निकै रुवायो ।
तर आफ्नो पीडा बुबाको यादमा आफै विक्षिप्त भएकी मेरी आमा र मेरो दाइ दिली लगायतलाई देखाउन म असमर्थ थिएँ । दिनहरू यसै बित्दै थिए, बुबाको सायद मलाई आशीर्वाद प्राप्त भयो । मेरा सोचहरू एकाएक परिवर्तन भए । मेरो बुबा जो आफ्नो बा, मेरो हजुरबासँग पनि एकदमै नजिक हुनुहुन्थ्यो । उहाँले पनि आफ्ना बा को निधनमा यस्तै शोक मात्र गरेर हिँड्नुभएको भए आज म लगायत मेरो परिवार यो अवस्थामा हुन्थ्यो होला र ?
यसरी मैले मेरी आमा, श्रीमती, छोरी निरन्तरको कठोर परिश्रमले आफैमा आत्मविश्वास जगाउँदै गएँ ।
मेरा बाको सबैभन्दा ठुलो गुण भनेको कुनै पनि काम उहाँले असम्भव देख्नु हुँदैनथ्यो । उहाँ बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म लगातार काम गरेको मैले देखेको छु । कठोर परिश्रम र आत्मविश्वासले नै होला, उहाँले नेपालको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको थियो । सरकारी स्तरको विद्यालय होस् वा निजी विद्यालयको स्थापना गरेर त्यसलाई राष्ट्रिय स्तरको विद्यालयमा परिणत गर्नु उहाँको मेहनतको फल हो ।
आफूले गर्ने कुरामा निरन्तर लाग्नुपर्छ, अनुशासित बन्नुपर्छ र काममा छलकपट गर्नु हुँदैन भन्ने उहाँको बानी थियो । काम कुनै पनि सानो वा ठुलो हुँदैन भन्ने मैले उहाँबाट सिकेको हुँ । उहाँले मलाई डाक्टर पास गर्दा भनेको कुरा अझै याद आउँछ ‘बाबु डाक्टर त धेरै छन्, तिमीले आफ्नो विधामा अब्बल भएमा मात्र तिम्रो सफलता हुनेछ । पेसा ठुलो वा सानो हुँदैन, जुत्ता पालिस गर्ने मान्छे नै किन नहोस्, नामुद भएमा मात्र उसले सन्तुष्टि पाउँछ र समाजमा नाम रहन्छ । त्यसैले एक नम्बर हुनुपर्दछ’ भन्नु हुन्थ्यो उहाँ । जटिल रोगसँग लड्दै गर्दा पनि उहाँको आत्मविश्वास कहिल्यै डगमगाएन ।
समाज परिवर्तनको हुटहुटी
मेरा बाको ऊर्जाशील उमेरमा देशमा धेरै आन्दोलन भए, जसले धेरै परिवर्तन गरायो । उहाँ शैक्षिक हक हितको आन्दोलनदेखि प्रजातन्त्रको आन्दोलनमा सहभागी हुनुहुन्थ्यो ।
देशमा प्रजातन्त्रको स्थापना भएता पनि अझै यस समाजमा विभेदको अन्त्य हुन सकेको छैन भन्दै प्रचण्डको नेतृत्वमा देशमा सशस्त्र आन्दोलन सुरुवात भयो । मेरा बुबा जो हत्या हिंसाको विरोधी हुनुहुन्थ्यो तर उहाँको विचारमा पनि समाजमा अझै विभेद छ भन्ने थियो । त्यसैले उहाँ युद्धमा नलागे पनि नेकपा माओवादीले उठान गरेको विषयवस्तुलाई समर्थन गर्नुहुन्थ्यो । यसै कारण धेरै पटक पुलिस र आर्मीको सजाय खादा पनि उहाँले आफ्नो सिद्धान्त छोड्नु भएन । पटक पटक आर्मीको क्रूर दमन र ज्यानै जान सक्ने परिस्थितिलाई सामना गर्दै आफ्नो निष्ठाबाट विचलित नभई कठोर परिस्थितिको सामना गर्नुभयो ।
उहाँको यस्तो निष्ठाबाट म धेरै प्रभावित छु । राजनैतिक निष्ठा प्रायः शून्य रहेको हालको समयमा उहाँको यो प्रस्ट अडान र व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सक्ने स्वभाव उहाँको समाज परिवर्तन गर्ने हुटहुटी हो भन्ने मेरो बुझाई छ ।
कसैको दुःख देख्न नसक्ने दयालु
मेरा बा समाजको विभेदसँग निकै संवेदनशील हुनुहुन्थ्यो । आफू एक सक्षम परिवारमा जन्मेको भए तापनि उहाँ कसैको दुःख देख्दा आफ्नै जस्तो महसुस गर्ने गर्नुहुन्थ्यो । मानिसलाई मानिसकै रूपमा हेर्नुपर्दछ, न कि उसको जात, धर्म वा सम्पन्नताको आधारमा भन्ने उहाँको सोच थियो । सबैलाई खुसी बनाऊँ, कसैको मन नदुखाऊँ भन्ने र सबैको प्रिय हुनुहुन्थ्यो उहाँ । यति हुँदा पनि उहाँ परिवार, समाज र राष्ट्रमा भएका अन्यायका बारेमा दृढ आवाज उठाउने एक प्रस्ट वक्ता पनि हुनुहुन्थ्यो ।
संरक्षकको भूमिका
मैले पारिवारिक र सामाजिक व्यक्तिहरूबाट थाहा पाएअनुसार उहाँमा सानै उमेरदेखि अभिभावकको भूमिका निर्वाह गर्न सक्ने क्षमता थियो । गाउँबाट आएका मेरा दाजुभाइलगायत परिवारमा सङ्घर्ष गदै गरेका सम्पूर्ण सदस्यलाई उहाँले उसको क्षमता पहिचान गरी त्यस अनुसारको कार्य गर्न प्रोत्साहित गर्नुहुन्थ्यो । यस कार्यमा आफू सँगै भएको महसुस गराउनु हुन्थ्यो उहाँ । मेरा परिवारका धेरै नातेदारहरुले उहाँकै कारण आफ्नो एउटा छवि बनाउन सफल भएका छन्, जुन साँच्चै गर्वको कुरा हो ।
यी र यस्ता गुण सम्झँदा मेरा बा प्रति मलाई गर्वको महसुस हुन्छ । वर्षको हिसाबले केही कम उमेरमा उहाँको निधन भएता पनि उहाँले आफ्नो बाँचेको समयलाई ऊर्जाशील बनाएर समाज र राष्ट्रलाई ठोस योगदान दिनु भएकोमा हाम्रो परिवार सधैँ नै गौरव महसुस गर्दछ ।
बाले हामीलाई सक्षम बनाउनुभयो, आर्थिक रूपमा मजबुत बनाउनुभयो र आज हामी जुन ठाउँमा पनि उभिन्छौँ, सफल हुन्छौँ, उहाँकै नामबाट चिनिन चाहन्छौ ।
प्रिय बा, तपाईं आज हाम्रो सामु भौतिक रूपमा नभए पनि तपाईंको माया आशीर्वाद, तपाईंले हामीलाई छोडेर जानु भएको अमूल्य सम्झनाले हामीलाई केही हदसम्म भएपनि तपाईंको अभाव हुन दिएको छैन । तपाईंको मार्गनिर्देशनको सधैँ पालना गरी एक असल नागरिक बन्ने छु भन्ने दृढ सङ्कल्प गर्दै ‘माई डियर’ बा र सम्पूर्ण बाहरूलाई यस विशेष दिनमा हार्दिक नमन गर्दछु । राताेपाटी डटकमबाट
मकवानपुर । आज भाद्र कृष्ण औशी, बुबाको मुख हेर्ने दिन हिन्दु धर्मावलम्बीले पर्वको रुपमा मनाउँदैछन् । पितालाई सम्मान भक्ति प्रकट गर्दै आज शनिबार बुबाको मुख हेर्ने दिन मनाइँदै छ । आजकै दिन कुशे औशी र मोती जयन्ती समेत परेको छ ।
अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने पितालाई जीवनको गुरुका रूपमा पुजा गर्दै मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायत दिँदै सम्मान गरिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ ।
भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आजको दिन हिन्दु धर्ममाबलम्बीहरुको घर घर कुश राख्ने परम्परा छ । कुशलाई बिष्णुको प्रतिकको रुपमा धार्मिक कार्य गर्दा प्रयोग गरिन्छ । ब्राह्मणहरुबाट राखिएको कुश एक बर्ष सम्म घरमा शुभकार्य गर्दा प्रयोग गरिन्छ ।
औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ । पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ । औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ ।
यसपटक अघिल्लो दिन शुक्रबारै औंसी तिथि परेकाले काठमाडौं, ललितपुर र आसपासका बासिन्दाले शुक्रबार गोकर्णमा गई श्राद्ध तथा तपर्ण गरेका छन् । उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ । गोर्कणमा श्राद्ध गर्नु भारत कासीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।
चन्द्रमती, सूर्यमती र बाग्मतीको संगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् । पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मानसम्मान र मृतात्माको मंगल कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दै छन् । हिन्दू धर्म परम्परामा जल दान र अन्नदानको विशेष महत्व हुन्छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।
यसैगरी आजै नेपाली साहित्याकाशका युवाकवी मोतिराम भट्टको जन्म तिथि पनि हो । युवा कवि मोतिराम नेपाली साहित्यमा गजल र मुक्तक बिधाका जननी हुन ।
यी आखिभौ तयार छन तरबार पो किन चाहियो ।
तिमी आफै मालिक भै गयौ सरकार पो किन चाहियो ।
यी लगायतका थुप्रै गजल नेपाली साहित्यमा अनेकौ योगदान गरेका छन । मोतीको सम्झनामा आज विभिन्न संस्थाहरुले मोती विशेष कार्यक्रम गर्ने गर्दछन ।