जफत गरिएको मिठाई र तरकारी नष्ट
Tags: No Comments
मकवानपुर । तिहारको अवसरका विक्रीमा राखिएपछि जफत गरिएका अवैध सामग्री नष्ट गरिएको छ । मकवानपुरको हेटौंडा बजारमा किनमेलका लागि आउँने मानिस हिड्नका लागि प्रयोग हुने फुटपाथमा विक्रीका लागि राखेको सामग्री नगर प्रहरीले नष्ट गरेको छ ।
चाडपर्वको समयान फुटपाथमा विक्रीका लागि राखेको मिठाई, फलफुल र तरकारी सहितका सामग्री जफत गर्दै प्रहरीले नष्ट गरेको हो । हेटौंडा १० राप्ति खोला नजिकै खाडल खनेर प्रहरीले जफत गरेको सामग्रीहरु नष्ट गरेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
नगर प्रहरीले असोज र कार्तिक महिनामा फुटपाथबाट पिठोबाट बनेको खुल्ला मिठाई ८५ किलोग्राम र तरकारीहरु २२ किलो ५ सय ग्राम जफत गरेको थियो । मुख्यगरी हेटौंडा बजार क्षेत्रको बुद्धचौक, खोपेगल्ली, राप्तीरोड र तिहार बजारका लागि दिईएको हेटौंडा अस्पताल अगाडि अव्यवस्थित ढंगबाट विक्रीका लागि राखिएका सामग्री जफत गरीएको नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए ।
उपमहानगरले सार्वजनिक सुचना गर्दै फुटपाथमा सामग्रीहरु राखेर विक्री नगर्न व्यवसायीहरुलाई जानकारी गराए पनि कार्यान्वयन नभएपछि सामग्री जफत गरेको ढकालले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, हुप्रचौरमा नवजात शिशु फेला परेको छ ।
हेटौंडा ४ स्थित बागमती प्रदेश लोक आयोगको कार्यलय नजिकको विहीबार साँझ सालनाल सहितको नवजात शिशु फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
स्थानीयले बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय हेटौंडाको टोली र स्थानीयले शिशुलाई उपचारको लागि हेटौंडा अस्पताल लगेका थिए ।
हेटौंडा अस्पतालमा नवजात शिशुको उपचार भइ रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–७, रमौलीकी रिता सुनारी मगरको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान घर नजिकैको जंगलमा घाँस काट्न गएकी रिता रुखबाट लडेर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारको लागि चितवन भरतपुरको चितवन मेडिकल कलेज लगिएकोमा सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गरेको छ ।
शनिबार हेटौंडामा भएको हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले पानसमा बत्ती बाली उद्घाटन गरेकी हुन् । उद्घाटन पछि साहित्यकार महिला सर्जकबाट सामुहिक राष्ट्रिय गान गाएर सुरू गरिएको कार्यक्रममा सिस्नुपानी मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, संस्थापक अध्यक्ष आरसी रिजाल र हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वाद्यवादनमा आशाकाजी श्रेष्ठ, प्रलय चौलागाईँ, पूर्णविक्रम अधिकारी, तुलुक लामा र मनोज शाहीले साथ दिएका थिए । हास्यव्यङ्ग्यात्मक देउसी भैलोका प्रस्तुति ओमभक्त भण्डारीबाट फिरि लाउँदै सुरू भएको थियो ।
रजनी पौडेल, भावना सापकोटा, सबिता तिमल्सिना, निरा शर्मा, कृतिका लौडारी, भवानी तिमल्सिना र एलिजा पुडासैनी मार्फत् हास्यव्यङ्ग्यात्मक भैली खेलिएको थियो । गायक कलाकार आशाकाजी श्रेष्ठ र सिस्नुपानी मकवानपुर तथा कलाकारहरूको टोलीबाट देउसी रे गीत प्रस्तुत गरिएको थियो भने अजर फुयालले मदनकृष्ण श्रेष्ठको ‘खोला वारी खोला पारी’ गीतको लयमा ‘सिमापारी मनकारी छिमेकीको घर’ प्यारोडी गीत गाएका थिए ।
भाँडभैलो कार्यक्रम अन्तरगत चिरञ्जीवि लामिछाने, डीबी बर्तौला, सुवास सजल, रजनी पौडेल, देव दुलाल, सानु खनाल, दीपक गौतमलगायत सर्जकहरूले विभिन्न भूमिकामा देशको राजनीतिक अवस्थामाथि छेडछाड गरेका थिए।
ओमभक्त भण्डारी तथा साथीहरूको समुहले खैँजडी भजनमार्फत् व्यङ्ग्य शैलीमा परम्परागत कला संरक्षणमा साथ दिएका थिए । कार्यक्रमको आकर्षक केन्द्रको रूपमा प्रभास घिमिरेद्वारा प्रस्तुत हाउगुजी पुराण वाचन रहेको थियो । पुराण वाचन शैली व्यङ्ग्यमय थियो साथै भजन गायनमा दर्शकहरूले नाचेर साथ दिएका थिए ।
कमलीकान्त भेटवालको ‘झम्के गुलेली’ र गोपाल योञ्जनको ‘फरियालाई भुइँमा लतारी’ लयको प्यारोडी गायनबाट आशाकाजी श्रेष्ठ र प्रलय चौलागाईँले व्यङ्ग्य गरेका थिए । यस्तै भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ को प्यारोडी गीत ‘सन्डे संसद सुतिङ, मन्डे घ्वार घ्वार घुरिङ’ तथा सरोज गोपाल बज्राचार्यको ‘देउराली उकाली चढेर’ को प्यारोडी गीत ‘रेशम रिगल रामचन्द्र एउटै ड्याङका मुला रे’ लाई सागर तिमल्सिनाले प्रस्तुत गरेका थिए ।
दीपज्योति थापाले सहजीकरण गर्नु भएको कार्यक्रमको अन्त्यमा सिस्नुपानी तथा कलाकार समूहको आशिष गीत प्रस्तुत गरिएको थियो ।
उद्घाटन पछि अनौपचारिक सञ्चालन भएको कार्यक्रमको सञ्चालकबाट नै समापन गरिएको थियो ।
कार्यक्रममा उठेको रकम जाजरकोट तथा रूकुम भूकम्पपीडितहरूको लागि सहयोग गरिने संस्थाका अध्यक्ष लामिछानेले बताए ।
२०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपाल मकवानपुरले २०७८ सालबाट नियमित हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।
हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा भएको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष लामिछानेको सभाध्यक्षता, हेटौंडा उपमहानगरपालिका प्रमुख लामाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष तथा हास्यव्यङ्ग्यकार रिजालको विशिष्ट आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटौंडामा हुने बिद्यालयस्तरीय कविता प्रतियोगिताका लागि १५ कविता छनौट गरिएको छ । लक्ष्मी जयन्तिको अवसरमा कार्तिक २६ गते हुने प्रतियोगितामा छनौट भएका कविता वाचन हुनेछ ।
साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब, हेटौंडा ११ को संयुक्त आयोजनामा ११५ औँ लक्ष्मी जयन्तिको अवसरमा आइतबार कार्तिक २६ गते त्रिभुवन मावि हेटौँडा ११ को व्यवस्थापनमा विद्यालय प्राङ्गणमा वाचन गरिने छ ।
विद्यालयस्तरीय प्रतियोगिताको लागि प्राप्त ३७ कवितामध्ये छनौट भएका १५ कविता कवि स्वयं उपस्थित भइ वाचन गर्नु पर्ने बताईएको छ । प्रतियोगितामा उत्कृष्ट ३ जनालाई जनही २ हजार र १ जनालाई सान्त्वना १ हजार राशिको प्रोत्साहन पुरस्कार प्रदान गरिने संगम
अध्यक्ष डीबी बर्तौलाले बताए ।
देवकोटा सम्मान २०८० देवराज खरेललाई
यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८० बाट साहित्यकार देवराज खरेललाई सम्मानित हुने भएका छन् ।
११५ औँ लक्ष्मी जयन्तिको अवसरमा १० हजार राशिको उक्त सम्मानबाट खरेललाई सम्मानित गरिने संगम उपाध्यक्ष सानु खनालले जानकारी दिए ।
कार्यक्रमको पूर्वसन्ध्यामा हेटौंडा ११ स्थित सहीद स्मारक गेटदेखि प्रभातफेरि गरी त्रिभुवन माविमा रहेको देवकोटाको प्रतिमामा माल्यार्पण गरिने उनलेे बताए ।