मकवानपुर । अन्तरपालिका फुटबल प्रतियोगिताको उपविजेता बनेको मनहरी गाउँपालिकाको फुटबल टिमलाई पालिकाले सम्मान गरेको छ । आइतबार गाउँपालिकामा अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष रेखा पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतले खादा, प्रमाणपत्रसहित खेलाडिहरुलाई सम्मान गरेको हो ।
मकवानपुरको बकैया गाउँपालिकामा भएको अन्तरपालिका फुटबल प्रतियोगितामा उपविजेतामा चित्त बुझाएको मनहरीले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
उपविजेता हुँदा ५० हजार रुपैयाँ प्राप्त गरेको टिमलाई सम्मान कार्यक्रममा प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ दिने पालिका अध्यक्ष रञ्जन कालाखेतीले घोषणा गरे ।आगामी कार्यपालिका बैठकबाट प्रोत्साहन रकम अनुमोदन गरी प्रदान गरिने अध्यक्ष कालाखेतीले बताए ।
शनिबार बकैया गाउँपालिकामा भएको पहिलो सहिद स्मृति अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनल खेलमा बागमती गाउँपालिकासँग टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित भई मनहरी उपविजेता बनेको थियो ।
मकवानपुर । अनेसास शिखर पुरस्कार–२०८० पत्रकार होम कार्कीलाई प्रदान गरिने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
कतारमा सामाजिक संस्था, गैरआवासीय नेपाली संघको स्थापना र साहित्यिक उन्नयनमा उल्लेखनीय योगदान पुर्याएका शिखर वैद्यको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले गठन गरेको अनेसास शिखर पुरस्कार बोर्ड अफ ट्रस्टीको शनिबार बसेको बैठकले यस वर्षको पुरस्कार कार्कीलाई प्रदान गर्ने निर्णय गरेको आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
कार्कीले प्रवास र स्वदेशमै रहेर नेपाली भाषा, साहित्य, पत्रकारिता र श्रमिकको पक्षमा निरन्तर कलम चलाएको उल्लेख गर्दै पुरस्कृत गर्न लागेको जनाएको छ । अनेसास शिखर पुरस्कारको राशी उल्लेख गरिएको छैन ।
मकवानपुर हेटौंडाका स्थायी बासिन्दा कार्की कान्तिपुर दैनिकमा आवद्ध पत्रकार हुन् । खाडी क्षेत्रका श्रमिकलाई केन्द्रविन्दु बनाएर कार्कीले २०७७ साल चैतमा “सनैया” पुस्तक प्रकाशन गरेका छन् ।

अनेसास शिखर पुरस्कार फेसबुक पेजबाट
::::अनेसास शिखर पुरस्कार २०८०को घोषणा :::
आदरणीय सम्पुर्ण साहित्यकार ज्यूहरू नेपाली साहित्यलाई मायागर्नुहुने नेपाली दाजु भाइ तथा दिदीबहिनीहरू पत्रकार साथिहरू अनेसास शिखर पुरस्कारका बोर्ड आफ ट्रस्टी ज्यूहरू सल्लाहकार ज्यूहरू साथै कार्यसमितिका साथिहरू सम्पुर्णमा साहित्यिक नमस्कार !
यो बर्षको “अनेसास शिखर पुरस्कार—२०८०” प्रखर पत्रकार तथा साहित्यकार श्री होम कार्की ज्यूलाई प्रदान गरिएको छ ।
कतारी श्रमिक नेपाली ड्यास्पोरामा नेपाली श्रमिकहरुको आगमनसँगै नेपाल र नेपालीहरुको पहिचान, भाषा, साहित्य, कला संस्कृति, गीत संगीत र सामाजिक क्रियाकलापको सुरुवात भयो । यो नबिनतम सुरुवातसँगै सरल, सहयोगी साहित्यकार स्वर्गीय शिखर बैद्यको ०१ मार्च १९९८ मा कतार प्रबेश भयो । कतारमा कार्यरत नेपालीहरुको प्रतिष्ठा र पहिचानमा वहाँको आगमनले नयाँ आयाम थप्यो । सामाजिक संस्थाको स्थापना, एनआरएनएको स्थापना, साहित्यिक संस्थाको उदय, नेपाली नियोगस“गको समन्वयमा उल्लेख्यनीय भूमिका रह्यो । वहाँको यो सत्कर्मलाई सधै सम्झिरहन अथवा शिखर बैद्यलाई अजरअमर बनाई राख्नको लागि वहाँद्वारा कतारमा स्थापित र गठित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरले वहाँको सम्मानमा “अनेसास शिखर पुरस्कार” को अवधारणा ल्याएको हो ।
कतार एक अस्थायी ड्यास्पोरा हो । अझ नेपालीहरुको लागि यो प्रवास हो । नेपालीहरु कतारमा स्थायी बसोबासका लागि कोहि आएका हैनन् । यहाको कानूनले पनि यो अनुमति दिएको छैन । तसर्थ कतार पुर्णरुपले ड्यास्पोरा हैन । यहाँ गरिने नेपाली गतिबिधिहरु प्रवासी र रेमिट्यान्स गतिबिधि हो । अनेसास कतार च्याप्टरले प्रवासमा रहेर नेपाली भाषा, संस्कृति, कला, साहित्य, गीतसंगितमा योगदान पुर्याउनु हुने एक ब्यक्तिलाई हरेक बर्ष साहित्यकार स्वर्गीय शिखर बैद्यको जन्म जयन्तिको अवसर पारेर “अनेसास शिखर पुरस्कार” घोषणा गरिने छ ।
यो पुरस्कारको उदेश्य प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगितमा समर्पित एक उत्कृष्ट श्रष्टालाई हरेक बर्ष पुरस्कृत गर्ने रहेको छ । त्यसैले अहिले हाम्रो छनौटमा पर्नु भएका सबै श्रष्टाहरु आगामी बर्षहरुमा पनि पुरस्कृत हुन सक्नु हुनेछ । तर एक पटक पुरस्कृत भईसकेको श्रष्टा फेरि पुरस्कृत हुने छैन ।
नेपाली पत्रकारीता तथा साहित्यको क्षेत्र बाट कतारको साहित्यमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै यो बर्षको “अनेसास शिखर पुरस्कार—२०८०” प्रखर पत्रकार तथा साहित्यकार होम कार्की ज्यूलाई पुरस्कृत गर्ने निर्णय गरेका छौं ।
हामी वहाँको आगामी साहित्यिक साधना र सफल जीवनको कामना सहित बधाई साथै शुभ कामना ब्यक्त गर्दछौं ।
संयोजक
प्रेम प्रसाद भट्टराई
तथा
अनेसास शिखर पुरस्कार समिति कता
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित १ जनालाई नियनुत्रणमा लिएकाे छ । चितवन रत्ननगर नगरपालिका–३, लौरीचोक बस्ने २० वर्षीया सरिता लामालाई ६ किलाे गाँजासहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
आइतबार बिहान हेटौंडा–१०, बसपार्क क्षेत्रमा खटिएको प्रहरी टोलीले धनगढीबाट काँकडभिट्टातर्फ जान लागेको प्रदेश १–०१–००१ ख ३४११ नम्बरको यात्रुबाहक बसको सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार सरिताको साथबाट उक्त परिणामकाे लागुऔषध गाँजा फेला परेको थियो ।
सरिताको साथमा रहेको जेब्रा झोला भित्र रहेकाे ६ किलो गाँजा बरामद गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको मनहरी मसिनेमा रहेको पशुपतिनाथ माविका बालबालिका र अभिभावकको कान परीक्षण शिविर भएको छ । मनहरी ४ मसिनेस्थित पशुपति माविले अन्तराष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरको संगको सहकार्यमा विद्यालयमा अध्ययन गर्ने बालबालिका र अभिभावकको कान परीक्षण शिबिर संचालन गरेको हो ।
किवानिज क्लब मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई पालिकाले सघाउने बताए । ‘मानिसको शरीरका महत्वपूर्ण अंग आँखा, कान, मुटुलगायतको अवस्थाबारे समयमै जानकारी लिन सके भबिश्यमा ठूलो नोक्सानी हुनबाट जोगाउछ’ अध्यक्ष कालाखेतीले भने–‘स्वास्थ्य परीक्षण शिविर मनहरी गाउँपालिकामा रहेका ३२ वटै विद्यालयमा गर्नु जरुरी छ ।’
गाउँपालिकाले शिक्षा र स्वाथ्यलाई बिशेष प्राथमिकताका साथ काम गरिरहेको बताउदै अध्यक्ष कालाखेतीले विद्यालयमा पठनपाठनका साथै स्वास्थ्य शिविरले बालबालिकालाई स्वस्थ्य रहन सहयोग पु¥याउने बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले बालबालिकालाई आफ्नो कान कमजोर छ भन्ने कुरा थाहा नहुने भएकोले शिबिर संचालन गरिएको बताए । शिबिरमा नेपालगंजस्थित आइडियल फर्मासिटिकल्स प्रालिले औषधि सौजन्य गरेको किवानिज क्लबका मकवानपुरका संस्थापक अध्यक्ष पराजुलीले जानकारी दिए ।
कार्यक्रममा वडाअध्यक्ष प्रकाश थापा, साहित्यकार तथा सेवानिबृत्त शिक्षक हयग्रीव आचार्य, किवानिज क्लब मकवानपुरका सचिव भीमप्रसाद फुँयाल (दिनेश)लगायतले बालबालिकाको आँखा, कान जस्ता अंगको परीक्षण गर्ने शिविरको आयोजना गरी विद्यालयले पुण्यको काम गरेको बताए । गाउँपालिका अध्यक्ष कालाखेतीको कान परीक्षण गरी सुरुवात गरिएको शिविरमा करिब दुई सय ५० जना बालबालिका तथा अभिभावकको कानको परीक्षण गरिनुको साथै नि:शुल्क औषधि बितरण गरिएको थियो । शिविररमा हेटौंडा अस्पतालका नाक, कान, घाँटी बिशेषज्ञ डा. अनुप सञ्जेलले कानको परीक्षण गरेका थिए ।
यसैबीच पशुपतिनाथ माविबाट २०७९ को एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
२०७९ सालको एसईईमा छात्र रितेश बिष्ट र छात्रा पार्वती तितुङले उत्कृष्ठ नतिजा ल्याएकोले जनही ११ हजार पाँच सय रुपैयाँका दरले छात्रबृत्ति रकम पनि प्रदान गरिएको हो ।
पशुपतिनाथ माविका पूर्वप्रधानाध्यापक तीर्थराज पराजुलीले आफ्नो मातापीता शिबकुमारी, रामजीप्रसाद पराजुलीको स्मृतिमा स्थापना गरेको कोषबाट दुई जना उत्कृष्ठ छात्रछात्रालाई रकम प्रदान गरिएको हो । बिगत ३ वर्षदेखि पराजुलीले विद्यालयमा छात्रबृत्ति प्रदान गर्दै आएका छन् ।
कार्यक्रममा किवानिज क्लब मकवानपुरका कोषाध्यक्ष शम्भु घर्ती, लायन्स क्लब अफ गुल्मोहर काठमाडौंकी सकुन्तला बस्नेत, किवानिज क्लब मकवानपुरका सदस्य शारदा भुजेल, दिपेश अधिकारी, मनहरी गाउँ कार्यपालिका सदस्य मीरा खत्री, विद्यालय ब्यवस्थापन समितिका सदस्य सीता नेपाली, कल्पना कार्की, मुकुन्द सुबेदी, विद्यालयका शिक्षकहरुलगायतको सहभागिता रहेको थियो ।