मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधबार हुदैछ । आज बुधबार प्रतियाेगिताकाे उपाधीका लागि रियल स्टार क्लब र रिगल हेटौंडा रिसोर्ट भिड्दैछन् ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएकाे पहिलो सेमिफाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै रियल स्टारले फाइनलमा स्थान बनाएकाे थियाे । यस्तै, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले अखिल नेपाल खेलकुद महासंघ बागमतीलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै फाइनल प्रवेश गरेकाे थियाे ।
हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
युवा खेलाडीलाई प्रोत्साहन गर्न उमेर समूहको प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीले बताए । प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख अनुमानित लागत अनुमान रहेकाे संयाेजक ठकुरीले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ । प्रहरी राक्सिराङ गाउँपालिका वडा नम्वर १ स्थित दुङ्गुखोलाबाट अवैध कटुवा पेस्तोल १ थान र बुलेट २ थान बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी जानकारी दिए ।
प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उक्त पेस्ताेल र बुलेट बरामद गरेको हो । उक्त घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
मकवानपुर । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ खोज्दै गएको टोलीले भेटेकाे शवकाे पहिचान भएकाे छ । उक्त शव चितवन राप्ति नगरपालिका १ दुबिचौर बस्ने १७ वर्षीय पुष्पराज तमाङकाे रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मृतक बुबा ईन्द्र बहादुर तामाङले पाईन्ट र चप्पलको आधारमा शवकाे सनाखत गरेकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवन राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघको खोजी गर्ने क्रममा राप्तीखोला र लोथरखोलाको दोभानमै शव भेटिएको थियाे ।
सेना र निकुञ्जका अधिकारीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएका छन् । आइतबार राती बाघलाई नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन लगिएको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले गाँजा फडानी गर्न टाेली खटाएकाे छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा लगाइएको गाँजा फडानी गर्न प्रहरी परिचालन गरिएको हाे ।
जिल्लाको बिकट कैलाश र राक्सिराङमा गाँजा फडानी गर्न १ सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी निरिक्षकको कमाण्डमा कैलाश र राक्सिराङ गाउँपालिकामा ५०/५० जनाको प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मंसिर १० गते आइतबार खटाइएकामा २ जनाको ड्रोन टोली समेत रहेको बताइएको छ । गाँजा फँडानीको लागि कैलाश २ स्थित डाँडाखर्क वेस रहने गरी एक टाेली र राक्सिराङ ७ जुरेथुङ बेस रहने अर्काे टाेली परिचालन गरिएकाे प्रवक्ता भण्डारीले बताए ।
यस अघी गत असोजमा राक्सिराङ गाउँपालिकामा ९० जना तथा कैलाश गाउँपालिकाको विभिन्न वडामा ४० जना प्रहरी परिचालन गरी लागु औषध गाँजा फडानी गरेका प्रहरीले जनाएकाे छ ।
मकवानपुर । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ खोज्दै गएको टोलीले एउटा शव भेटेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीले शव भेटेको मकवानपुर प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवन राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी नरभक्षी बाघको खोजी गर्ने क्रममा शव भेटिएको हो ।
पौडेललाई आक्रमण गर्ने नरभक्षी बाघ खोज्ने क्रममा आइतबार साँझ मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमै एकजना पुरुषको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन । कम्मरभन्दा माथिको भागमा अस्थीपञ्जर मात्रै भएकोले बाघकै आक्रमणबाट मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
निकुञ्जको टोलीले आइतबार राती बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन लगेको बताइएको छ ।