मकवानपुर । माइती नेपाल -चेलिबेटी बेचविखन रोकथाम गृह) मकवानपुरले आर्थिक वर्ष २०८२/०८३ मा ७९ वटा घरेलु हिंसाको मुद्धाहरु दर्ता भएकोमा ४६ वटा सवालमा मिलापत्र गरिएको । अन्य सवाल सम्बन्धित निकायमा रिफर गरिएको छ ।
संस्थाले गत आर्थिक वर्षमा सञ्चालन भएको कार्यक्रमको सामाजिक परिक्षणमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । माइती नेपालद्वारा सञ्चालित मानव बेचबिखन विरुद्ध एकीकृत कार्य परियोजनाको सामाजिक परिक्षण गरिएको माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बताउनु भयो।
उक्त परियोजना अन्तरगत होटल तथा बारहरु अनुगमन, ओसारपसार विरुद्ध सचेतना, घरदैलो कार्यक्रम, जीवनपयोगी तालिम तथा व्यवसायमा सहयोग लगायतको क्रियाकलाप गरेको छ ।
घरेलु कामदारको लागी भारतको बाटो हुदै जानु भएको २ जना महिलाहरुलाई कुवेतबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराएको छ ।
आन्तरिक बेचविखनको जोखिममा पर्न सक्ने २७ जना नाबालिका र १ जना किशोरीको प्रहरी तथा सामुदायिक प्रहरीको समन्वयमा उद्धार गरी पारिवारिक पुनर्मिलन गराइएको थियो ।
यसैगरी प्रहरी हेटौंडा उपमहानगरपालिका अन्य संघ संस्थाद्धारा विभिन्न हिंसामा परेकाहरु मध्ये ३८ जना नाबालिका र १४ जना बालिकलाई गृहमा संरक्षमा राखी पारिवरिक पुनर्मिलन गराएको र २ जना बालिका गृहमा रहेका छन् ।
१८ जना नबालिक र ८ जना बालिकहरुको खोज तलाशको निवेदन माइती नेपालमा दर्ता भएकोमा १० जना नबालिक र ३ जना बालिक फेला परेका संस्थाले जनाएको छ । रोकथाम गृहले २० जना नाबालिका र ९ जना बालिकहरुलाई जवरजस्ती करणी मुद्धामा न्यायको लागि सहयोग गरेको छ।
गृहमा ३ वटा बालविवाहको मुद्धा परेकोमा ३ जनालाई नै अलग गराएको जनाइएको छ । अर्को एक जनालाई सम्बन्धित निकाय रिफर गरिएको बताईएको थियो । एडभान्स सिलाई तालिम लिएका ९ जनाले नै सिलाई व्यवसाय संचालन गरिरहनु भएको छ ओ.सी.एम.सी.ले ४ जनालाई ७७ हजार बराबरको सिलाई सामग्रीहरु वितरण गरेका छन् ।
६० जनाले आधारभुत सिलाई तालिम र ८ जनाले व्युटिपार्लर तालिम लिनु भएको छ । परियोजना अन्तरगत यो समयमा १ हजार ८० जनाले मानव बेचविखन तथा ओसारपसार विरुद्ध र सुरक्षित आप्रवसन समबन्धी जानकारी प्राप्त गरेका तामाङले बताउनुभयो ।
जवरजस्ती करणीबाट प्रभावित ५ जना नबालिकाहरुलाई हिरण्य नेपालमा रिफर गरिएको छ भने एक जना नबालिकालाई ग्रामिण असहाय सामुदायिक पुर्नस्थापना केन्द्र र एक जना महिलालाई प्रहरीको सहयोगमा मानव सेवा आश्रम रिफर गरिएको छ ।
२ जनाको स्वास्थ्य चेक जाँच तथा १२३ जनालाई मनोसामाजिक परामर्श गरिएको छ। २९ जनालाई कानुनी परामर्श, ६ हजार ५७० जनालाई मानव बेचविखन तथा ओसारपसार विरुद्धको सुचना प्रवाह, २०० वटा घरधुरीमा घरदैलो गरिएको थियो।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सामाजिक विकास मन्त्रालयले यस गृहमा रहेको २० जना प्रशिक्षार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक विकास कार्यालयले माइती नेपाललाई ७ ताख बराबरको सामग्री हस्तातरण गरेको थियो ।
चुनौती उस्तै
विभिन्न सचेतना कार्यकमको बाबजुद अझै पनि चुनौती रहेको छ । भारतको बाटो हुदै बेदेशिक रोजगारमा जाने क्रम बढ्दो रहेकोले बेचबिखन विरुद्धको अभियानमा चुनौती रहेको तामाङले बताउनुभयो ।
यसैगरी आफन्त वा चिनेजानेकै व्यक्तिबाट हुने हिंसा र शोषणका कारण बालबालिका तथा किशोरीहरु जोखिममा पर्ने अवस्था कायम रहेको, समुदायमा बालबिवाहको घटनाहरु अझै विद्यमान रहेकाले किशोरीहरुको शिक्षा तथा सीप विकासमा असर परेको उहाँले बताउनु भयो ।
यसैगरी सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोगका कारण बेचविखन तथा शोषणको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो ।
सामाजिक परिक्षण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामा, वडा ४ का कार्यवाहक अध्यक्ष गिता त्रिपाठी, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरती पाठक, गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटा, सुरक्षाकर्मीहरूले सुझाव व्यक्त गर्नुभएको थियो ।
मकवानपुर । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको मत लिने भएका छन् ।
कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी भदौ ३ गते भित्र लिने निर्णय गरेको हो ।गत साउन ६ गते सत्ता साझेदार दल नेकपा सरकारबाट बाहिरिएपछि उनको सरकार अल्पमतमा परेको थियो ।
मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गते भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अल्पमतमा परेका उनलाई सरकार टिकाउन अन्य साना दलहरूको समर्थन आवश्यक छ । मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने संसदीय दलले निर्णय गरेको हो । बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौंडामा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको बताइएको छ ।
बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मतबारे पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष तहका नेताहरूसँग छलफल गर्ने निर्णय गरेको दलका सचिव मिनकृष्ण महर्जनले जानकारी दिए । बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पुर्याउन शीर्ष नेतृत्वसहित अन्य दलका नेतृत्वसँग समन्वय तथा छलफल गर्ने समेत निर्णय गरेको महर्जनले बताए ।
एमाले बागमती सरकारबाट बाहिरिएपछी नेकपासँग मिलेर नयाँ सरकार बनाउन साझेदारी गरेको छ । उक्त अवस्थाबिच कांग्रेस साना दलको समर्थनमा सरकार टिकाउने रणनीतिमा छ । एमाले र नेकपाको सरकार गठनको अवस्था पनि साना दलको समर्थन विना सम्भव छैन ।
बागमती प्रदेश सभामा रहेका तीन ठुला दल काग्रेस तथ एमाले र नेकपाको गठबन्धन तीन साना दललाई फकाउन व्यस्त छन् । २ सिट संख्या रहेको हाम्रो नेपाल पार्टी (हानेपा) लाई मुख्यमन्त्री बानियाँले सरकारमा सहभागी गराएर विश्वासको मत लिने दाउमा लागेका छन् ।
३ सिट रहेको नेपाल मजदुर किसान पार्टी सरकार नजाने मनस्थितिमा रहेको देखिन्छ । १२ सिटको राप्रपाले सरकारमा सहभागी हुने नहुबे विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यस्तो अवस्था रही रहे बागमतीमा सरकार गठन थप पेचिलो बन्ने देखिन्छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकाे एक सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ।
हेटौंडा १५, सेल्फी रोडस्थित सामुदायिक वनमा शुक्रबार दिउँसो एक जनाकाे शव फेला परेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो स्थानीयवासी च्याउ टिप्न जंगल पुगेका बेला सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबरपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बोराभित्र अन्दाजी ३० देखि ३२ वर्ष उमेरकाे महिलाको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थल सुरक्षित राखेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको बताइएकाे छ ।
उक्त शव हेटौंडा अस्पतालमा ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक जना चेपाङ युवा बेपत्ता भएका छन् ।
खोलले बगाएको अर्का एक जना भने तैरिएर सकुशल बाहिरिन सफल भएका छन् ।
कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा बेपत्ता भएका हुन् । उनीसँगै रहेका २५ वर्षीय प्रकाश तामाङ खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३० साउनको राति करिब ११ बजेको समयमा कालिकाटारबाट देउतीसतर्फ आफ्नो घर फर्किने क्रममा उनीहरूलाई मनहरी खोलाले बगाएको थियो ।
घटनाबारे साउन २१ गते बिहान मात्र प्रहरी चौकी भार्तामा जानकारी प्राप्त भएकोमा प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीसँगको समन्वयमा बेपत्ता प्रजाको खोजी कार्य तीव्र पारेको हो ।