मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने २५ वर्षीय विकल सारु मगर रहेका छन् ।
भीमफेदी–कुलेखनी–काठमाडौं सडक खण्ड अन्तरगत भीमफेदी–६ जुरीखेतमा काठमाडौं तर्फबाट हेटौडातर्फ आउदै गरेको प्रदेश ३–०२–००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा विकल गम्भीर घाइते भएका थिए । बिकल सडकबाट १ सय मिटर तल खसी गम्भीर घाईते भएकोका थिए । उनकाे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका मोटरसाइकलमा सवार मकवानपुर मनहरी ९ बस्ने २४ वर्षीय प्रसान्त गिरी घाइते भएका छन् । उनकाे हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताका लागि बकैया युबा क्लब र पञ्चशिल युवा क्लब छनोट भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला जारी मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै बकैया र पञ्चशील जिल्ला लिगकाे लागि छनोट भएका हुन् ।
छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चशील युवा क्बलले जनहित युबा क्लबलाई ३ –० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । खेलमा पञ्चशील युवा क्लबका रोनिम मोक्तान, सुमन लोप्चन र राजन गोलेले १–१ गोल गरेका थिए ।
त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बकैया युबा क्लबले जनप्रवाह क्लबलाई १०–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । बकैयाको जितमा सुरेन्द्र राईले ३ गोल, जेओङ लामा र सुजन गुरुङले समान २ गोल गर्दा अभिषेक ब्लोन, निशान गोले र आयुष नेगीले समान एक गोल गरेका थिए ।
मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले जिल्ला लिग क्वालिफाईबाट फाइनलमा पुग्ने दुई टोली जिल्ला लिगमा छनोट हुने र जिल्ला लिगको पुछारमा हुने दुई वटा क्लव रेलिगेसनमा पर्ने जानकारी दिए । बकैया र पञ्चशिल क्लबले आगमी चैतमा हुने मकवानपुर जिल्ला लिग खेल्न पाउँनेछन् ।
जिल्ला लिग क्वालिफाईमा यी दुई टोलीको फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ । छनोटका लागि जिल्लाबाट १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेता तथा उपविजेत क्लबले शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिने आयोजनले जनाएको छ ।
करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएकाे प्रतियाेगितामा बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौडाले सहयाेग रहेकाे छ । २०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग सुरु गरेको हाे ।
मकवानपुर । मानवसेवा आश्रम ७९ लाख ४४ हजार रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्ष २०७९।०८० काे आयव्यय सार्वजनिक गर्दै आश्रम ७९ लाख ४४ हजार ७ सय ५३ रुपैयाँ घाटामा रहेको जानकारी दिएकाे हाे ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका –९ स्थित मानवसेवा आश्रमले आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण र प्रगति प्रतिवेदन सार्वजनिक गरी कुल सम्पत्ति २१ करोड २४ लाख ५२ हजार ६७१ रुपैयाँ रहेको जनाएको छ । आश्रमले दानबाट सबै भन्दा बढी २ करोड ४७ लाख ५६ हजार १५० रुपैयाँ आम्दानी गरेकाे जनाएकाे छ । यसैगरी अन्य दान, चन्दा तथा सहयोगबाट ४४ लाख ९० हजार ८९३ रुपैयाँ आम्दानी गरेकाे हाे । याे समेत आश्रमकाे २ करोड ९२ लाख ४७ हजार ४३ रुपैयाँ आम्दानी गरेको जनाएको लेखा प्रमुख अस्मिन गौतमले जानकारी दिए ।
गत आवमा आश्रमको खर्च ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ भएको गौतमले बताए । आश्रमलाई सरकारी कार्यालयबाट भौतिक निर्माण तथा व्यवस्थापनको लागि २ करोड ४ लाख ९४ हजार ५ सय ७७ रुपैयाँ प्राप्त भएको बताइएकाे छ । नेपथ्य कार्यक्रम–२०८० मा ४४ लाख २५ हजार ५१९ रुपैयाँ आम्दानी भएको गौतमले जानकारी दिए। हाल ३ करोड ६३ लाख ३२ हजार ३१ रुपैयाँ आश्रमको अक्षयकोष तथा वार्षिक भोजन सेवा कोषमा रहेको छ ।
आयव्यय सार्वजनिक कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलहरुमा जीवन विताउन बाध्य भएका अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडकआश्रित मानवहरुको उद्दार, परामर्श, औषधोपचार एवम् पारिवारिक पुनर्मिलन गराउँदै आएको जानकारी दिए । ‘हामीले साप्ताहिक रुपमा सडक अवलोकन, सहयोगापेक्षीहरुको खोजी, उद्धार, संरक्षण र पारिवारीक पुर्नमिलन कार्य गरीरहेका छौ’ अध्यक्ष अधिकारीले भने स्वास्थ्य शिविर संचालन र बालबालिकाहरुका लागि आश्रम भित्रै अतिरिक्त क्रियाकलापहरु समयसमयमा गर्ने गरेका छाैं ।
बागमती प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणाको तयारीमा रहेको उनले बताए । यसअघि गण्डकी र कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भइसकेकाे छ ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ । करिब १४ करोड रुपैया लागतमा निर्मित उक्त भवनको मङ्सिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष अधिकारीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, लगायतको उपस्थितिमा भवन उद्घाटन गरिने बताइएकाे छ ।
२०६९ साल भाद्र १३ गते मकवानपुरकाे हेटौंडामा स्थापना भइ शुभारम्भ भएको मानवसेवा आश्रमकाे सेवा ७ प्रदेशको विभिन्न १९ वटा जिल्लाका २४ वटा सेवा केन्द्रमार्फत सञ्चालनमा छन् । बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एउटा मानवसेवा आश्रम रहेको छ ।
मानवसेवा आश्रम हेटौंडामा २१ जना बालबालिका, ७६ जना महिला र १०७ जना पुरुष गरी २०४ जना आश्रित रहेका छन् । हालसम्म आश्रमले १ हजार ५ सय ८१ जनाको उद्दार गरेकोमा ८ सय ३६ जनाको पारिवारिक पुनर्मिलन भएको, १ सय ८४ जनाको शरीर शान्त, ४ सय २० जनाले स्वेच्छाले आश्रम छोडेको, ५१ जनाको सामुदायिक पुनर्मिलन गरेको र ३४ जनाको पुनउद्दार गरेको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट स्कुले बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राष्ट्रिय आधारभुत बिधालय मनहरी रमनटारमा कक्षा १ मा पढ्ने बिधार्थी उमेश प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधबार मनहरी ७ रमनटार स्थित पूर्व पश्चिम सडकखण्डमा चितवनबाट हेटौडातर्फ आउदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले अन्दाजी ६/७ वर्षका प्रजालाई ठक्कर दिँदा गम्भीर घाईते भएका थिए । प्रजालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी हुँदै चितवन रिफर गरिएकोमा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ।
मकवानपुर प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरि रहेको जानकारी दिएको छ ।
‘हामी कसैको होइनौँ, कोही हाम्रा होइनन्,
हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो ‘ -रुदाने ।
यहाँ सिद्धान्त लेख्नेहरू, सिद्धान्त पढ्नेहरू, कण्ठ गर्नेहरू धेरै जन्मिए । यति मात्र होइन, सिद्धान्तका लागि जीवन र जीवनका लागि सिद्धान्त दिने दुवै थरीका नि जन्मिसके । सिद्धान्तलाई जनताको बोली, व्यवहार, विचारको कसीमा तौलेर जनहितका खातिर क्रान्तिको आगोमा जल्नेहरू विरलै जन्मिन्छन् । र, नेपाल आमाको गर्भबाट जन्मिएका विलक्षण प्रतिभाहरूले इतिहासलाई सधैँका लागि अविस्मरणीय बनाइदिएका छन् । केही यति महान् हुन्छन् कि इतिहास षड्यन्त्रस्वरूप या आफैँ पनि मेटिन सक्दैन । त्यस्तै, एक क्रान्तिकारी युगपुरुष मकवानपुरको काखबाट जन्मियो, हुर्कियो र देश र जनताका लागि लड्दालड्दै थाकेर गयो ।
मकवानपुरका लागि मात्र होइन, नेपालकै लागि सन्देश र ‘थाहा’ थियो यो नाम । रूपचन्द्र विष्ट दामन नेपाल अर्थात् ‘रुदाने’ । अर्को कामसहितको पहिचान ‘जसरु’ अर्थात् जनमुखी सहकर्मी रूपचन्द्र या भनम् जनतासँग रूपचन्द्र । वर्तमानको पीडा छ– आजको मेरो पुस्ता र मपछिको पुस्ताका लागि यो नाम, व्यक्तित्व र यसमा अङ्कित दर्शनसंग्रहको महत्त्वबारेको जानकारी दिने इतिहास हराउँदै गैराखेको छ । न इतिहास हस्तान्तरण हुन राम्ररी सक्यो, न पुस्तामा पुस्तान्तरण हुन सक्यो । रूपचन्द्र खुल्ला किताब थिए । रूपचन्द्र भेटिन नै गाह्रो भैसक्यो । तर, कमसेकम मकवानपुरका हरेक घरमा रूपचन्द्रका अवशेषहरू छन् ।
म रूपचन्द्रको जीवनी भन्न चाहन्नँ, किनकि रूपचन्द्र आफैँमा अत्यधिक जटिल दर्शन हो, क्रान्ति र एकैपटक समयसुहाउँदो र समयभन्दा अगाडिको विचार र व्यवहार हो । म उनलाई देवत्वकरण गरेर उनकै अपमान पनि गर्न चाहन्नँ । मेरो कुनै पार्टी विशेषसँग कुनै राजनीतिक पूर्वाग्रह पनि छैन । अझ मेरा केही कुराहरूमा रुदानेसँग नै पनि मतभेद छ । व्यक्ति कहिल्यै पूर्ण हुन सक्दैन । रूपचन्द्रकै आदर्श मार्क्स, माओ पनि पूर्ण थिएनन् । तर, यो पुस्ताले र अब आउने पुस्ताले अवश्य रुदानेलाई थाहा पाउनैपर्छ । रुदानेका विचारहरूले अमरता पाइसके तर देशलाई फेरि रूपचन्द्र चाहिएको छ । मसानघाटबाट फेरि उनी गाउँ फर्किनुपर्छ । रूपचन्द्रको प्रत्यागमन आवश्यक छ अब ।
उनले सधैँ सत्य खोज्न भने, थाहा पाउन भने, आज म रूपचन्द्रलाई नै खोज्न र थाहा पाउन भन्दै छु र त्यो यात्रा, प्रयासका लागि एक झिल्को प्रकाशस्वरूप मेरा केही शब्दहरू हुन् ।
रूपचन्द्र विष्ट एक असल र खाँटी कम्युनिस्ट, क्रान्तिकारी योद्धा, बेखौफ विद्रोही, जनमुखी सहकर्मी, स्पष्ट विचारक, जनबोली उतार्ने साहित्यकार, माटो बुझेको दार्शनिक, ‘थाहा’को प्रणेता, स्वार्थहीन राजनीतिज्ञ, सम्भ्रान्त परिवारमा जन्मिएर पनि सर्वहाराको आवाज, आफैँमा एक संघर्ष, क्रान्ति, विचार र आन्दोलन, व्यक्ति एक व्यक्तित्व अनेक । तर, म रुदानेलाई दलीयकरण गर्न चाहन्नँ । उनी देशवादी या जनतावादी थिए ।
समाजको समानता र भुईं मान्छेको आधार र आवाजको चर्को ध्वनि थिए रूपचन्द्र । समग्र मकवानपुरको इतिहास यसको साक्षी हो ।साम्यवादी समाजको परिकल्पना गरेका कम्युनिस्ट दार्शनिकहरूलाई एक पुस्तक र अध्ययन हो यो इतिहास । रुदाने आफैँमा भिन्न थिए । मानौँ, असमानता, विकृति र विसंगतिलाई विद्रोह र जागरुकताको अग्निले राख बनाउन आएको आफैँमा एक सन्न्यासी ।
रुदानेको वार्तालाप विचित्रको थियो । त्यो संवाद, त्यो शब्द, त्यो विचारमा स्पष्टता र शुद्धता थियो । गाउँकै बोलीमा जटिल कुरा भन्दिन्थे उनी । जस्तो देख्थे, जस्तो बुझ्थे, त्यस्तै बोल्थे । न कुनै मिसावट, न चाकरी, न आलापविलाप । आफ्ना नजिकका या साथीहरूलाई सधैँ ‘भाते’ भन्दिन्थे तर खराबलाई भ्रष्टाचारी, चोर, अपराधी जे देख्थे त्यही भन्थे । उनी सम्बोधन पनि कर्मको उत्तरपुस्तिकालाई आफ्नो अन्तरआत्माबाट तौलेर जाँचेर गर्थे । पद, प्रतिष्ठा, पैसा, शक्ति केहीले उनको बोली विचलित पार्न सक्दैनथे ।
रापसमा हुँदै उनी पञ्चायतको खरो विरोध गर्थे । त्यो समयमा दरबारको विरोध गर्न या व्यवस्थाको विपक्षमा त्यही व्यवस्थाको नुन खाएर, त्यसकै पक्षहरूको भिडमा बसेर, पदबहालीमा रहँदै खरो असहमति तर्कसहित प्रस्तुत गर्न भिन्न मुटु चाहिन्थ्यो र रूपचन्द्र असाधारण थिए । नतिजास्वरूप धेरैपटक जेल बसे । राजद्रोहसम्म लगाइयो । तर, आफ्ना लागि होइन, समाजका लागि बोलेर । यो बलिदान हो, त्याग हो, सँगसँगै तपस्या पनि हो । पञ्चायतमा मात्र होइन, बहुदल आएपछि पनि रुदानेको आवाज त्यति नै बुलन्द थियो । भन्थे, ‘अवसर प्राप्त नभएर इमानदार भएका फटाहाहरू पदमा पुगेपछि थाहा हुनेछ ।’
मन्त्री, प्रधानमन्त्रीलाई समेत ‘तँ’ सर्वनाम प्रयोग गर्ने सामर्थ्य थियो रूपचन्द्रसँग । उनी सिकाउँथे कि हातमा ठेला उठेका मजदुरलाई ‘तपाईं’ सम्बोधन गर्नू तर त्यही तडकभडक देखाएर बजार डुल्नी सेठ नै भए पनि ‘तँ’ भन्दिनू ।
‘थाहा’ सिद्धान्त, अभियानबाट रूपचन्द्र परिचित छन् । थाहा के हो ? एक स्वाभाविक प्रश्न । उनकै वाक्य दोहोर्याएँ:
‘जीविका मात्र खोजिरहेका मान्छेहरूको मनस्थितिमा एक विद्रोह गर्न,
तिमी त मान्छे पो हौ त भनेर सम्झाउन,
उसको विरोधमा- उसैको हजुरमा
एक उजुर हो- थाहा ।’
आज सिंहदरबार र जनताका बीच सुदूर सम्बन्ध छ, किनकि जनता सिंहदरबारका कुरा जान्न सकिराखेका छैनन् । त्यो पर्खाल साह्रै विराट छ । अब त्यो पर्खाल पारदर्शी बन्नुपर्छ । तसर्थ जनताको सचेतना, जागरुकताको अभियान हो ‘थाहा’ । त्यही दर्शनको सम्मानस्वरूप ‘थाहा’ नगरपालिको न्वारन भएको हो ।
‘चार माना माटोसँग तेरो नाता पर्यो भनेर,
माटोको भाँडाले तँसित दोस्ती स्वस्ती गर्यो भनेर,
बसिस् कैद गमलामा सिङ्गै पृथ्वीलाई छोडेर ।’ -रूपचन्द्र
रूपचन्द्र सारा विश्वका लागि सोच्दथे । आफ्नोभन्दा बढी परहित बोल्दथे । माथिको हरफ त्यसकै एक सबुत हो ।
राम्रो र सम्पन्न परिवारमा जन्मिए, गाउँमा हुर्किए, बाहिर गएर पढे, कानुनमा स्नातक गरे, पछि त्यही डिग्री समूहमै च्यातिदिए, जीवनभर भुईं मान्छेका लागि लडे, सान्त्वना होइन संघर्ष सिकाए, आफैँ आफ्नो लागि उठ्न, बोल्न, दौडिन र शासन गर्न सिकाए, स्वाभिमानी बन्न सिकाए ।
राष्ट्रिय पञ्चायतका सदस्य भए पनि बोराको कपडा लगाए, निम्न परिवारको घरमा जस्तो पाक्यो, त्यस्तै खान्थे पूर्ण सन्तुष्टिसहित । स्वतन्त्रताका लागि पञ्चायतसँगै लडे, दरबारबाट आएका बडाबडा पद ढोकाबाहिरैबाट अस्वीकार गरिदिन्थे । योगी र बैरागीको निसानी थियो रूपचन्द्रमा ।
यदि आज पनि रूपचन्द्र आए र मैले ‘तपाईंको अभियान के हो’ भनेर सोधेँ भने उनको जवाफ हुन्छ– ‘ए भाते, तेरो टाउको जगाउने अभियान हो यो ।’ साँच्चै ‘थाहा’ आन्दोलनलाई चेतना जगाउने क्रान्ति बनाउन चाहन्थे उनी ।
हरेक काम गर्थे उनी । समाज बुझ्न ड्राइभर बने । खर्च जुटाउन दिनभर कुल्ली काम गर्थे । प्रधानाध्यापक हुँदा श्रमदानको कक्षा राख्थे । आफ्नै माटोमा उब्जनी गरेर खाए । वर्षौंवर्ष बाख्रा पालन गरे । विदेशीलाई नेपालको पर्यटन पनि बुझाए । सधैँ झुत्रेझाम्रे भएरै बाँचे र उनीहरूसँगै मित्रता गाँसे । त्यहाँ सौहार्द र सहृदयता थियो । समाजले तल राखेका हुन् या समाजबाट टाढिएका, सबैका इष्ट थिए रूपचन्द्र । माटो खाएर, छोएर हुर्किएका उनी माटोसँग नजिक हुनेहरूसँग प्रगाढ सम्बन्ध थियो उनको ।
जसरुको जीवन साह्रै जटिल थियो । भनेर भन्न सकिने छैन र बुझेर बुझ्न सकिने छैन । मैले रूपचन्द्रलाई पढ्ने कोसिस गर्दा उनको दर्शन, जीवन र व्यवहारलाई सँगै अस्तित्वमा पाएँ । उनको दर्शन वर्तमान र भविष्यका लागि थियो । अब ती शिक्षामा, त्यो थाहामा विस्तृत विवेचना गर्नैपर्ने हुन्छ । हिजोको समय प्रतीक्षामा बितेर गयो र भविष्यको काल आशामा छ । आजको वर्तमानले रूपचन्द्रलाई बुझ्नैपर्ने हुन्छ ।
केही घटनाका परिप्रेक्ष्यबाट हेरौँ रूपचन्द्र विष्टलाई
– चुनावको पर्चा बेचेर चुनाव जित्ने उनी पहिलो नेता थिए । अहिले घोषणापत्रको बाढी बग्छ यहाँ ।
– माननीय सम्बोधनसँग उनको चरम असहमति थियो । जनता जाननीय नभई जनताले माननीय भन्नु पर्दैन भन्ने मान्यता थियो उनको ।
– जेल या मन्त्री छान्दा उनी कसैसँग किनिनु या बेचिनुभन्दा ज्यानबाहिरको साटो जेलभित्रै राख्छु भन्थे ।
– अर्थ जे–जस्तो भए पनि ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा प्रयोग गर्थे । खराबले त यी शब्द पनि ग्रहण गर्न पाएनन् ।
– छोराछोरीलाई विद्यालय नपढाउनेको मुर्दावादको नारा लगाइदिन्थे ।
– नारीको सम्मान र शक्तिको पाठ घरमूलीहरूलाई समूहमै पढाइदिन्थे । भन्थे– छाप्रोको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन ।
– जनतालाई ‘भाते कुकुर’ भनेरै भोट माग्थे ।
– आफ्नै परिवारसँग विद्रोह गरेर आफ्नो न्वारन आफैँले गरे ।
– पालुङमा विकास घर, वैज्ञानिक खेती, धर्म भकारीको अवधारणा लिएर आए र समाजलाई हाँके ।
– आलुमा उठाइएको करको हिसाब पारदर्शी बनाउन चोकचोकमा लेख्दै हिँडे ।
– गाउँमा कोही बिरामी पर्दा आफैँ हरदम हरघडी बोकेर उपचारका लागि लैजान्थे ।
– जात, धर्म, गोत्र, पहिचानबाट होइन, सधैँ श्रमका आधारमा सम्मान गर्थे ।
– पुर्ख्यौली सम्पत्तिमा आफ्नो व्यक्तिगत तलब र बचतको योगफलबाट समाजका लागि भवन अर्पित गर्दै थिए, दुर्भाग्यवश उनको देहावसान भयो ।
– विवाहको निम्तो चुरोटको खोलमा लेखेर बाँडिदिए र भोजमा जन्तीलाई एक कप चिया खुवाई पठाइदिए ।
– शैक्षिक, सामाजिक, व्यावहारिक, शारीरिक रूपमा बेजोड बलिया थिए । समाज र किताब दुवै पढेका थिए । बीपी र मदन भण्डारीलाई समेत समालोचना गर्थे ।
– आफ्नै गर्भवती श्रीमतीलाई श्रमदानमा लगाएको, सूर्यबहादुर थापालाई दिएको १० रूपैयाँ, नाच्न नमान्दा खाएको मुक्का, रापसको बैठकमा बोलेका विरोधका शब्दहरू, झ्याउरेलाई लेखिएको पत्रलगायत यस्ता अनेकन घटनाहरू छन्, जसले एक मानव देहधारीलाई रूपचन्द्र बनायो ।
उनी आफ्नो जीवनको अन्त्यतिर धेरै थाकिसकेका थिए । तर, कसैले बुझेनन् रूपचन्द्रलाई आखिर बोल्नैपर्यो, ‘अब मेरो कुनै काम रहेन । बाँच्नुपर्ने कुनै कारण रहेन ।’
स्वास्थ्य अवस्था बिग्रेपछि प्राइभेटमा उपचार गर्न लैजान खोज्दा ‘जनता जहाँ उपचार गर्छन्, त्यहीँ जान्छु’ भनेर वीर अस्पताल नै गए । सुनिन्छ– त्यहाँ पनि उनले भुईंमै आफ्नो उपचार गराउन अह्राए । तर, त्यही एक महान् योद्धाले आफ्नो देहको अन्तिम सास फेर्यो तर आज त्यो युगपुरुषलाई बिर्सने कगारमा यो युग छ । स्वार्थी समाजले नि:स्वार्थी रूपचन्द्रलाई बुझ्नै सकेन । उनी सशरीर उपस्थित नभए पनि उच्च प्रेरणाका स्रोत हुन् । आज पनि उनको विचार र सिद्धान्तलाई सहर्ष स्वीकारिन र अनुकरण गर्न सके समाजलाई नै परिवर्तन गर्न नसकिएला भन्न सकिन्न । नेपाली समाजका लागि त्यो योगदान सधैँ अतुलनीय, अवर्णित र अविस्मरणीय रहनेछ ।
यदि आज पनि रूपचन्द्र आए र मैले ‘तपाईंको अभियान के हो’ भनेर सोधेँ भने उनको जवाफ हुन्छ– ‘ए भाते, तेरो टाउको जगाउने अभियान हो यो ।’ साँच्चै ‘थाहा’ आन्दोलनलाई चेतना जगाउने क्रान्ति बनाउन चाहन्थे उनी । उनी भन्ने गर्थे, ‘बुझ भाते, जान भाते, थाहा पा भाते ।’ तसर्थ अबको पुस्ताले रूपचन्द्र सिद्धान्त र विचारलाई व्यवहारमा उतार्नुपर्छ । रूपचन्द्रहरू जन्मिनुपर्छ र जन्मिसकेका रूपचन्द्रहरू हुर्किनुपर्छ ।
मकवानपुरका हरेक माटो, हरेक घर रुदानेसँग परिचित छन् । तर, अहिलेका मकवानपुरकै नयाँ पुस्ता पनि उनीसँग अपरिचित छन् । यदि मकवानपुरकै अभिभावक हुनुहुन्छ भने आफ्ना छोराछोरी, नातिनातिनालाई रुदानेका बारेमा पढाउनुहोस् । म जन्मिँदा रूपचन्द्र भौतिक रूपमा यो दुनियाँमा नरहे पनि म स्वयम्ले बुबाकै माध्यमबाट उनको जीवन, दर्शन चिन्दै गएँ, नजिकिँदै गएँ ।
म यो पनि भन्न चाहन्छु कि शोधकर्ताहरूबाट रूपचन्द्रका बारेमा अझै धेरै खोज, विश्लेषण र विवेचना हुनु आवश्यक छ । उनको जीवन दर्शनका बारेमा बाहिर ल्याइनुपर्छ ।
अब रूपचन्द्रलाई फेरि ब्युँताउनुपर्छ । एउटा प्रामाणिक जीवनी लेखिनुपर्छ । उनका विचार र साहित्यको उचित संकलन गरी अधुरा र अन्तरिम लेखहरूलाई पूर्णता दिइनुपर्छ । उनका पूर्वार्द्धका संघर्ष र उत्तरार्द्धका थकान पनि लेखिनुपर्छ । पुराना रूपचन्द्रले नयाँ पुस्तालाई असीमित माया गर्छन् । तसर्थ उनको जीवन मात्र होइन, जिउँदो लास भन्न नचाहने रुदानेको मृत्युु पनि लेखिनुपर्छ । त्यो मन्दविष, त्यो हरियो काँक्रो, त्यो भोकमा पिएको रक्सी, ती लगाइएका लाञ्छना, योद्धा नै थाक्ने ती घात, आघात र प्रतिघात, परार्थी रूपचन्द्रका स्वार्थी मित्रहरू सबैको निरपेक्ष विवेचना लेखिनुपर्छ । र, लास माथि राजनीति नगर्नू भनी गएका रूपचन्द्रका तत्पश्चात्का राजनीतिहरू पनि लेखिनुपर्छ । रूपचन्द्रका मनका कुरा, त्यो अभ्यन्तरमा लुकेका अभिव्यक्त पीडाहरू पनि लेखिनुपर्छ अब ।
रूपचन्द्रको प्रत्यागमनको जरुरत छ आजको समाजलाई । रुदाने स्वयम् वास्तविक रूपमा अब फेरि लेखिनुपर्छ र समाजमा व्यवहारमा उतारिनुपर्छ । शिलापत्र डटकमबाट साभार