मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार हेटौडाबाट ४ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ ।
हेटौडा १५ राताेमाटेबाट भारत बिहार राज्य मोतिहारी जिल्ला पश्चिमी चम्पारण वडा नं. ३६ बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र ३८ वर्षीय मनोज कुमार दासलाई उक्त परिमाणकाे गाँजासहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार विहान प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा पथलैया सडकखण्डमा रातोमाटे स्थित सडकखण्डमा चितवनबाट बिरगंजतर्फ जादै गरेको ना ४ ख ५९२२ नम्बरको यात्रुवाहक बस जाच गर्दा जितेन्द्र र मनोजकाे साथबाट ४ किलाे गाँजा बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
उनीहरुले आफ्नो शरीरमा कपडाले छोपी लुकाई राखेको अवस्थामा ४ किलो लागूऔषध गाँजा फेला परेकोले उक्त लागूऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै ‘अवकाश कोष’ स्थापना गर्न अनुराेध गरेको छ । गत मंगलबारकाे सचिव स्तरीय बैठककाे निर्णयबाट अनिवार्य कोष सञ्चालन गर्न परिपत्र गरिएकाे हाे ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ मा अवकाश कोषको व्यवस्था गरिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले उक्त कोष स्थापना गरेका छैनन् । मन्त्रालयले विहीबार गरेकाे परिपत्रमा भनिएको छ, ‘कानुनमा व्यवस्था भएअनुरूप प्रत्येक स्थानीय तहले अवकाश कोषको स्थापना नगर्दा दीर्घकालीन दायित्व बढ्दै गयो र कर्मचारीहरू सेवा सुविधाबाट समेत वञ्चित हुने अवस्था सिर्जना भएकाले कोषको अनिवार्य व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’

मकवानपुर । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतहरु परिवर्तन भएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि निर्वाचन अधिकृतहरु परिवर्तन गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
निर्वाचन आयोगले गत पुस १२ गते कोशी प्रदेशमा दुर्गाप्रसाद ढुङ्गेल, बागमती प्रदेशमा महेन्द्रबहादुर कार्की, मधेश प्रदेशमा नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशमा केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा कृपासुर कार्की, कर्णाली प्रदेशमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो ।
पुस १८ गतेको न्याय परिषद्ले बागमती प्रदेश बाहेकका प्रदेशमा नियुक्त भएका निर्वाचन अधिकृतहरु उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो । आायोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार बागमती प्रदेशका लागि अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने जनाइ निवेदन दिएका थिए ।
त्यसपछि आयोगले पहिले ताेकिएका निर्वाचन अधिकृतकाे स्थानमा जगेडा सूचीमा रहेका अन्य जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत तोकेको हो । आयोगका अनुसार अब कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा अदालतका न्यायाधीश चित्रबहादु्र गुरुङलाई अधिकृत नियुक्त गरिएको छ ।
प्रवक्ता पौडेलका अनुसार बागमती प्रदेशमा श्रीप्रसाद सन्जेल, गण्डकी प्रदेशमा ऋषिराम आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ भने कर्णालीमा न्यायाधीश मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरिएको छ ।

मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा भीरबाट लडेर १ जनाकाे मृत्यु भएकाे छ । हेटौडा–१२, घरेटीडाँडामा भीरबाट लडेर हेटौंडा–१२, पदमपोखरीका ५५ कृष्ण बहादुर थापा मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मगर आइतबारदेखि घरपरिवारबाट सम्पर्कविहिन भएका थिए । गत आइतबार रातिदेखि सम्पर्क विहिन भएका उनकाे खोजीकाे क्रममा मंगलबार बिहान घरेटीडाँडाको भीरबाट २ सय मिटर तल लडी मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएकाे प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटाैडामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विचार गोष्ठी गरिएकाे छ । वीपी विचार समाज मकवानपुरको आयोजना तथा नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी भएको हाे।
पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।
गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले सम्बाेधन गरेका थिए । भण्डारीले विश्वेश्वरप्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि बिचलित नभएको नेताको रुपमा रहेको बताए ।
नेपालको राजनीतिमा वीपीको विचारलाई अनुशरण गर्न नजानेकाे स्वीकार गर्दै उनले अब पुरानो शैलीकोे राजनैतिक नेतृत्वबाट देश अघि बढ्न नसक्ने बताए । उनले पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी गरेको अवस्था देखिएको बताए । देशलाई गतिशील बनाउन युवाहरुलाई आशा जगाउने काम राजनीतिले गर्नु पर्ने तथा युवाहरुलाई देश फर्कने वातावरण बनाउन उनले आग्रह गरे । उनले निर्वाचन प्रणालीमा केही परिवर्तन गर्दै जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्नेसमेत उल्लेख गरे ।
मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
स्वदेश फर्किएका नेता कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन विमानस्थलमा विमानबाट ओर्लिने बित्तिकै सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । तत्कालीन राजा महेन्द्र शाहले २०१७ पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
शाही ‘कु’पछि कांग्रेस नेताहरुलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका कांग्रेस नेताहरु राष्ट्रियतामाथि खतरा देखिएपछि प्रवास जीवन त्यागेर स्वदेश फर्किएका थिए । चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी संग्रहालयका रुपमा परिणत गरिएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा (एस) का केन्द्रीय सदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, वीपी विचार समाजका केन्द्रीय अध्यक्ष लोकेश ढकाललगायतले आफ्ना विचार राखेका थिए ।
वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोद चन्द्र ढकालको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य उमा दाहाल, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, कार्यबहाक सभापति धर्मराज लामिछाने, नेकपा (एस) मकवानपुर अध्यक्ष विष्णु दाहाल लगायतको आतिथ्यता रहेको थियो । समाजका सचिव हरिप्रपाद पौडेलले कार्यक्रम सहजिकरण गरेका थिए ।