मकवानपुर । श्यामप्रसाद श्रेष्ठको लघु कथासंग्रह “व्यथाभित्रको कथा” सार्वजनिक गरिएको छ । पोखरामा आयोजना भएकाे नेपाल–भारत साहित्य महोत्सवमा हेटौंडाका श्रेष्ठको कथासंग्रह सार्वजनिक गरिएको हो ।
पाँचौं संस्करणको महोत्सवअन्तर्गत पहिलो दिन बिहिबार कृति लोकार्पणसँगै लघुकथा एवम् काव्य वाचन भएको छ । महोत्सव भाेलीसम्म संचालन हुनेछ । क्रान्तिधरा साहित्य अकादमीद्वारा आयोजित महोत्सवको उद्घाटन सत्रमा हेटौँडाका लघुकथाकार किशन पौडेलको हिन्दी अनूदित लघुकथा कृति “अन्तरदृष्टि” लघुकथा संग्रहको औपचारिक लोकार्पण र समीक्षा समेत गरिएको थियो ।
विमोचित कृतिमाथि भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट र भारतका वरिष्ठ साहित्यकार विभा रानी श्रीवास्तवले चर्चा गरे । क्रान्तिधरा साहित्य अकादमीका संस्थापक अध्यक्ष विजय पण्डितको संयोजकमा आयोजित कार्यक्रममा वरिष्ठ काव्यकार डा. बलराम उपाध्याय रेग्मीको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको प्रमुख आतिथ्यता,वीरगन्जका साहित्यकार गणेश प्रसाद लाठकाे विशिष्ट आतिथ्यता, भारतीय दूतावासका अधिकारी सत्येन्द्र दहिया, नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठ, बर्दघाट प्रज्ञा प्रतिष्ठानको उपकुलपति डा. घनश्याम परिश्रमी, भारत पटनाको वरिष्ठ लघुकथाकार विभा रानीको पनि आतिथ्य रहेको थियो ।
मकवानपुर । छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मच्छिन्द्र फुटबल क्लबकाे पोल्टामा परेकाे छ । मकवानपुरको बागमती गाउँपालिकामा विहीबार भएकाे फाइनलमा एपीएफलाई ४–० गोल अन्तरकाे सहज जितका साथ मच्छिन्द्रले उपाधी हात पारेकाे हाे ।
प्रतियोगिताकाे उपाधीसँगै मच्छिन्द्रले नगद १० लाख रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेकाे छ । यसैगरी उपविजेता एपीएफले नगर ५ लाख रुपैयाँ शिल्ड र मेडलमा चित्त बुझाएकाे छ ।
खेलकाे पहिलो हाफकाे १५ औं मिनेटमा मच्छिन्द्रकाे करेनले सेन्टरबाट गरेकाे प्रहार सिधै एपीएफकाे गोल पोष्टकाे जाली चुमेकाे थियाे । यसैगरि खेलकाे दोस्राे हाफकाे ५७ औं मिनेटमा विमल घर्ती मगरकाे पासलाई चिजाेवाले गाेलमा परिणत गरेका थिए । खेलकाे ६२ औं मिनेटमा उत्सव राइकाे पासलाई स्टेफेन समिरको प्रहार गोल रक्षकले फर्काएकाेमा एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे । यसैगरी ६३ औं मिनेटमा चिजाेवाले थप १ गोल गरेर फराकिलाे अग्रता बनाएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच मच्छिन्द्रकाे करेन घोषित हुदै नगद १० हजार र ट्रफि हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।
एपीएफले नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेकाे हाे भने न्युरेाड टिम (एनआरटी) लाई सहज जीतका साथ मच्छिन्द्रले फाइनलमा स्थान बनाएकाे थियाे । एपीएफले छैठौ संस्करणकाे मकवानपुर गोल्डकपकाे उपाधी विजेता टिम हाे ।
बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेकाे थियाे । दोस्रो संस्करणकाे उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेकाे थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले प्राप्त गरेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिका भएकाे थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता जनाएन ।
यसैबीच प्रतियोगितामा समृद्ध समाज राष्ट्रिय दैनिकका सञ्चारकर्मी रविन्द्र वाईबालाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । वाईबालाई १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । यसैगरी रेडियो झुरझुरका विवेक सिंतान, बागमती संदेशका आषिश बल, गोल नेपालका विक्रम बानियाँ र अनिरुद्ध खबरका अनिल पराजुलीलाई पनि सम्मान गरिएको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
निगमले विहीबार मध्यरातिबाट लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । मूल्य बढेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १ सय६९ रुपैयाँ पचास पैसा, दोस्रो वर्गमा १ सय ७१ रुपैयाँ र तेस्रो वर्गमा १ सय ७२ पुगेको छ ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ५७ रुपैयाँ पचास पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १ सय ६० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ।
भारतबाट तेलको मूल्य बढेर आएकोले नेपालमा इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।

मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.२ गोलढुंङगा भर्याङडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ चौघडा बस्ने ४५ बर्षीय राजेन्द्र पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा–फाखेल–काठमाडौ सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ आउदै गरेको बा ९० प ३६०४ नम्बरको मोटरसाइकल सोमबार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
सुरक्षाकर्मीको टोलीले मोेटरसाइकल चालक पिठाकोटीलाई घाइते अबस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं.१० रानीमहल अगाडी ई–रिक्सा(मयुरी)मा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा ९ एचआइडी बस्ने १९ बर्षीय प्रशान्त कुमार ठाकुर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्रा पुलबाट फरेष्टीतर्फ आउँदै गरेको ना १ ह ३१२७ नम्बरको ई–रिक्सा दाहिने तर्फ मोडने क्रममा सोही दिशातर्फबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ६२०५ नम्बरको स्कुटर ई–रिक्साको पछाडी ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा स्कुटर चालक ठाकुर घाईते भई उपचारका लागि नँया मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।