मकवानपुर । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलाे प्राथमिकतामा रहेकाे हेटाैडा ४ नम्बर वडाकाे अध्यक्ष नवीन सिग्देलले बताएका छन् । भुटनदेवी माविमा आन्तरिक श्राेतबाट नियुक्त शिक्षकलाई स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नवनियुक्त ९ जना शिक्षक स्वागत संगै भुटनदेवी माविमा अध्यापन गराइ आफ्ना छाेराछाेरीलाई सोही विद्यालयमा अध्ययन गराउने शिक्षकलाई सम्मान समेत गरिएको थियो । शिक्षक स्वागत तथा सम्मान गर्दै अध्यक्ष सिग्देलले हाम्राे पहिलाे अभियान भनेकाे शैक्षिक गुणस्तर सुधार भएकाे बताए । उनले जबसम्म आफूले पढाउने विद्यालयका शिक्षकले आफ्ना छाेराछाेरी सोही विद्यालयमा अध्ययन गराउदैनन तबसम्म सामुदायिक विद्यालयप्रति जनविश्वास नहुने बताए ।
शिक्षाकाे गुणस्तर सुधार्न शिक्षककाे भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउँदै भुटनदेवी माविकाे व्यवस्थापन समितिकाे अध्यक्ष समेत रहेका सिग्देलले अन्यकाे भूमिका सहायक हुने दावि गरे । ४ नम्बर वडाले शैक्षिक गुणस्तर सुधारमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएकाेले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छाेराछाेरी भर्ना गर्ने क्रम बढेकाे उनले बताए । यसअघि श्रमिक माविले पनि आफ्ना छाेराछाेरी आफूले अध्यापन गराउने विद्यालयमा भर्ना गर्ने शिक्षकलाई सम्मान गरेकाे थियाे ।
विद्यालयका प्रधानाध्यापक माधव दाहालले सार्वजनिक विज्ञापन गरेर प्रतिस्पर्धाद्वारा उत्कृष्ट भएकालाई शिक्षक नियुक्त गरिएकाे बताउँदै कर्तव्यनिष्ट भएर कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकाेटी, कृष्णप्रसाद कंडेल, सहप्रअहरू वेदराज काेईराला, भरत पाेख्रेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरेलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । हेटौंडा–१९, बस्तीपुरकी गौरी सिन्तानले घर बनाउने काम गर्न थालेको करिब १४ वर्ष भइसक्यो । पछिल्लो एक दशकयता उनी हेड मिस्त्री छिन् । हेड मिस्त्रीको यो लामो यात्रामा सुरुवातदेखि नै उनले एउटै कुरा सुनिरहेकी छन्, ‘अहो ! महिला भएर पनि हेड मिस्त्री ।’ भौतिक संरचना निर्माणको काममा पुरुष मात्र प्राविधिक र हेड मिस्त्री हुन्छन् अनि महिला जति सामान्य काम गर्ने ज्यालादारी हुन्छन् भन्ने बुझाइलाई चिर्दै गौरीले आफूलाई अब्बल दर्जाको निर्माणकर्मीका रूपमा उभ्याएकी छन् ।
सुरुका झन्डै चार वर्ष गौरी पनि अरू महिला जस्तै निर्माण क्षेत्रमा दैनिक ज्यालामा मजदुरी गर्थिन् । काम गर्दै जाँदा उनले प्राविधिक सीप पनि सिक्दै गइन् । ‘लेबरको काम गर्दै गर्दा अरू मिस्त्रीले कसरी काम गर्छन् भनेर हेर्दै गर्दा मैले पनि सक्छु भन्ने लाग्यो,’ उनले सुनाइन्, ‘यसरी बिस्तारै पुरुष मिस्त्रीहरूसँग काम सिकें ।’ कक्षा ५ सम्म मात्रै पढेकी गौरीलाई अहिले गारो लाउन होस् वा प्लास्टर गर्न सबै काम सहज लाग्छ ।
गौरीले काम सिक्दै गर्दा पति नवराज रोजगारीका क्रममा मलेसियामा थिए । नवराज मलेसियाबाट फर्किंदा पत्नी गौरी हेड मिस्त्रीका रूपमा काम गरेको देखेर दंग परे । नवराजले सुनाए, ‘म विदेशबाट फर्केर आउँदा गौरी मिस्त्री भैसकेकी रहिछे । सुरुमा त पत्यार लागेको थिएन । पछि आफैंले देखेपछि रमाइलो लाग्यो ।’ हिजोआज गौरी दम्पती काममा सँगै हुन्छन् । नवराजले सुनाए, ‘महिनामा २७ देखि २८ दिन सँगै काममा हुन्छौं ।’
गौरी र नवराजले निर्माण क्षेत्रमा काम गरेर मासिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । ठेक्काको काम नभएका बेला भने उनीहरू दैनिक हाजिरामा पनि काम गर्छन् । यस्तो काम गर्दा भने खाजा खाएर दैनिक जनही १ हजारदेखि १२ सय रुपैयाँसम्म ज्याला हात पर्ने उनीहरू बताउँछन् ।
उनीहरूले केही समयअघि हेटौंडा–१९, बस्तीपुरमा आफ्नै पक्की घर बनाएका छन् । मनहरी गाउँपालिका–१, गोगनपानीबाट कामका सिलसिलामा बस्तीपुर सरेर १० वर्ष डेरामा बसेका गौरी दम्पती आफ्नै कमाइको भरमा घरजग्गा जोड्न सफल भएका हुन् । निर्माणको काम गरेरै उनीहरूले एक छोरा र दुई छोरीलाई पढाइरहेका छन् । केही साताअघि मात्रै उनले हेटौंडा–१९, सान्नटारमा घर ठेक्कामा लिएर निर्माण सम्पन्न गरिन् ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलका अनुसार जिल्लाभर भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा महिला हेड मिस्त्रीको संख्या असाध्यै कम छ । कान्तिपुरबाट
मकवानपुर । हेरौंडा उपमहानगरपालिका, १९ वडा कार्यालयको आयोजना एवं कलेज अफ मेडिकल साईन्स (पूरानो मेडिकल कलेज, भरतपुर चितवन) को प्राविधिक सहयोगमा हेटौंडा १९ स्थित नेवारपानी शहरी स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर भएको छ ।
स्वास्थ्य शिविरमा २२ जनाको मेडीकल टिमले स्वास्य सेवा प्रदान गरेको थियो। शिविरबाट २८९ जनाले सेवा लिएको वडा सचिब राजेन्द्र पोखरेलले बताए ।
स्वास्थ्य शिविरमा दन्त रोग, बालरोग प्रसुती रोग जनरल फिजिसियन अर्थोपिडीक सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविरमा २२ जनाले दन्त जांचको सुविधा लिएको वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।
यसैगरी प्रसुति जांच सेवा २३ जनाले, फिजिसियन सेवा-१४२ जनाले, वालरोग -सेवा २१ जनाले र अर्थोपेडिक सेवा ८१ जनाले लिएका थिए । ती मध्ये १५ जना बिरामीलाई थप उपचारको लागि रिफर गरिएको वडा सचिब पोखरेलले बताए ।
कार्यक्रमको समापनमा नगरप्रमुख मिना कुमारी लामाले स्वास्थकर्मी टिमलाई प्रशंसापत्र प्रदान गर्दै धन्यवाद दिइन ।
मकवानपुर । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले शहर भन्दा पनि पहाडी तथा ग्रामीण क्षेत्रको आवश्यकतालाई बढी केन्द्रित गरी प्रदेश नीति तथा योजना आयोगले योजना बनाउनुपर्ने बताएका छन् । बिहीबार बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा सम्बन्धी रामेछाप र दोलखामा आयोजित जिल्लास्तरीय गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘वर्तमान स्थितिको मूल्याङ्कन गरेर आगामी पाँच वर्षीय योजना तयार गर्नुपर्ने मन्त्री थपलियाले बताए । ‘डाटाबिहीन योजना नहुने र प्राथमिक डाटा नभएमा सहायक डाटाको आधारमा योजना बनाउनुपर्छ’ मन्त्री थपलियाले भने ‘आफ्नै डाटा सेन्टर स्थापना गर्न लागि पर्नु पर्छ ।’ शिक्षा, स्वास्थ्य र रोजगारीको स्थिति निर्क्योल गर्नुपर्ने र कर्मचारीहरूलाई आफ्नो निर्धारित दायित्वमा निपुण भई कार्यसम्पादन गर्न मन्त्री थपलियाले सुझाव समेत दिए । ठूलो बलिदानीबाट प्राप्त संघीयता र राज्य संरचनालाई बलियो बनाउन थप जरुरी रहेको उनकाे भनाइ थियाे ।
राज्य संरचनाको विकेन्द्रीकरण सहित आगामी दिनहरूमा वित्तीय संघीयतालाई पनि थप प्रभावकारी बनाउँदै लैजानुपर्ने कुरामा जोड दिदैं उनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नीति तथा योजना आयोगले रणनीतिहरू तर्जुमा गर्नुपर्ने बताए । दोलखाको कालिन्चोक, भिमेश्वर र जिरीलाई पर्यटन सर्किटका रूपमा विकास गर्न र पकेट क्षेत्रहरूको निर्धारण गरी रामेछापलाई जुनार र दोलखालाई चौरीको क्षेत्रका रूपमा विस्तार गर्न सुझाव दिए । आयस्रोतको वृद्धि र राजस्व वृद्धिका योजनाहरू विस्तार गर्नुपर्नेमा उनकाे जोड थियो ।
हरेक पालिकामा आफ्नै स्रोतमा उभिने सक्ने योजना बनाएर अगाडि बढ्नुपर्ने उनकाे भनाई थियो । ‘सत्ता समीकरण र संरचना फेरिए पनि योजना फेरिनुहुँदैन मन्त्री थपलियाले भने ‘डाँडा पाखाहरूलाई पर्यटन आकर्षणको केन्द्र बनाउन नीति तथा योजना आयोगले योजना बनाएर काम गर्नु पर्छ ।’ कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. नरबिक्रम थापा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकाल, रामेछाप र दोलखाका पालिका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएकाे हाे ।
डिजेल र मट्टितेलको मुल्य घटाएकाे निगमले हवाई इन्धनकाे मुल्य भने बढाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले बढाएकाे निगमले जनाएकाे छ । नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र एल. पि. ग्यासको बिक्री मूल्य यावत रहेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएकोले मूल्य समायाेजन गरिएकाे निगमले प्रकाशन गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
