मकवानपुर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने सम्भावना रहेको छ।
यसैगरी आइतबार राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा तथा कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा वर्षासँगै हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । उपभाेक्ताकाे व्यापक गुनासाे आउँदा समेत प्रायः चासाे नदेखाउने प्रशासनले चाडपर्व नजिकिदै गर्दा हेटाैडा बजार अनुगमन गरेकाे छ । करकाे दर बढाएकाे निहुँमा हेटौंडा उपमहानगरपालिकासँग आक्राेशित व्यवसायीहरुलाई ‘तह’ लगाउने भन्दै गरिएकाे बजार अनुगमनपछि केही व्यापारीलाई जरीवान गरिएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाकाे नेतृत्वमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको हाे । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन गर्दा गैर कानूनि भेटिएपछि केहीलाई कारवाहीकाे दायरामा ल्याउन लागिएकाे उपमहानगरपालिकाले जनाएकाे छ ।
यसपालीकाे बजार अनुगमन विगतमाभन्दा प्रभावकारी बनाइएको पाइएकाे छ । सरोकारवाला निकायले बजार अनुगमनलाई ‘आक्रामक’ बनाउँदै कमजोरी देखिए ठाउँकोठाउँ कारबाही गरेर जरिवाना तिराइने भएको छ ।
विगतमा बजार अनुगमनबाट फर्किएर कार्यालयमा कमजोरीका दृष्टिले कस्तो कारबाही गर्ने भन्ने निर्णय हुने गरेको थियो । यसो हुँदा कमजोर कारबाही र बजार अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको थियो । जहाँ चिनजानकाे आधारमा कम कारवाही ताेक्नेदेखि आर्थिक लेनदेन समेत हुने गरेकाे गुनासाहरु आउने गरेका थिए ।
यसअघि विभिन्न निकायसँग समन्वय गरेर गर्ने बजार अनुगमन नाम मात्रैको अनुगमन हुने गरेको पाइएको उपभोक्ताहरुले नै गुनासो गर्ने गरेका थिए । अनुगमनका क्रममा व्यापारी तथा व्यवसायीलाई दिएको निर्देशन कार्यान्वयन नभएपछि नाम मात्रैको बजार अनुगमनमा सीमित हुने गरेको उपभोक्ताहरुको भनाई थियो ।
यसपटककाे बजार अनुगमनले कमजोरी देखिएमा साेही ठाउँमै कारबाही गर्दै जरिवाना तिराएको हो । हेटौंडामा वर्षौदेखि सञ्चालनमा आएको हेटौंडा–४, पारिजातपथ स्थित दाजुभाइ फाष्टफुडलाई संयुक्त बजार अनुगमनको क्रममा उपमहानगरपालिकाले २५ हजार जरिवाना गराएको छ । चितवनको शाखाको रुपमा रहेको पारिजातपथकै वैष्णव होटललाई पनि २५ हजार नै जरिवाना गराइएको छ । यी दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको छ ।
दाजुभाइ फाष्टफुडमा भान्सा फोहोर भएको, मःम बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएकोलगायतको कमजोरी फेला परेको थियो । दाजुभाइ फाष्टफुडका सञ्चालक राजकुमार गौतमलाई उमनपाकाे कार्यालयमा अनिवार्य उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको छ । दाजुभाइको खोपेगल्लीमा रहेको मिठाईको भान्सामा फोहोरको ढल निकास नगरी नजिकै मिठाई बनाइरहेको अनुगमन टोलीले फेला पारेको थियो । भान्सा सुधार गर्न निर्देशन दिइएको उपमहानगरको उद्योग, पर्यटन, सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी, वैष्णव होटलले कालो ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको थियो । वैष्णवमा भान्सा सरसफाई नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको थियो ।
वैष्णव होटलले चितवनबाटै मःमलगायतका तयारी खाद्यवस्तु हेटौंडा ल्याएर बिक्री गर्ने खुलेको छ । पारिजातपथमै अनमोल होटलको भर्खरै सञ्चालनमा आएको भनिएको नयाँ होटललाई सचेत गराइएको छ ।
बजार अनुगमनको नेतृत्व उपमहानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख पौडेलले गरेका थिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका दीपक पौडेल, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्यनिरीक्षक दीपक घिमिरे, घरेलु उद्योग वाणिज्य कार्यालयप्रमुख रामप्रसाद भुषाल, उद्योग वाणिज्य संघ, उपभोक्ता हितसंरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका पवन कार्की लगायतको उपस्थिति रहेको थियो ।
‘अब हामीले अनुगमनकै क्रममा जरिवाना तिराउँछौं यसले हुँदा अनुगमनको प्रभावकारिता बढाउँछ’ पाैडेलले भने । यसअघि धेरै पटक सचेत गराउँदा पनि होटल सञ्चालकहरु अटेरी बनिरहेका उनले बताए । उपमहानगरपालिकाले कारबाहीलाई पनि झन बलियो बनाएर जाने याेजना रहेकाे पौडेलले बताए । उपभोक्तालाई ढुक्कसँग खाद्यवस्तु उपभोग गर्न सक्ने वातावरण निर्माणको लागि उपमहानगरपालिका लागिपरेको पौडेलले बताए । उनले बजार अनुगमनलाई तीव्रता दिइने बताए । चाडपर्व नजिकिएसँगै बजारमा बढ्न सक्ने कालाेबजारीलाई नियन्त्रण गर्न उपभाेक्ताहरु प्रशासनकाे सहकायर्य जरुरी रहेकाे उपभोक्ता हितसंरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले बताए ।
मकवानपुर । हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको व्यवस्थापनमा आफूले सहयाेग गर्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले बताएका छन् ।
शारीरिक अशक्त बालबालिकाहरुको लागि सरकारले गर्नुपर्ने दायित्व आशा विशेष पाठशालाले निर्वाह गरेको बताउँदै मन्त्री काफ्लेले आगामी दिनमा आफूले नीतिगत रुपमै सहयाेग गर्ने बताए । विहीबार भवन समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले अशक्त बालबालिकाहरुको क्षेत्रमा आशा विशेष पाठशालाले गरेको कामको प्रसंशा गरे ।
आउँदो दिनहरुमा प्रदेश सरकारले नीतिमा आधारित बजेट छुट्टयाउने प्रतिबद्घता समेत उनले प्रकट गरे । ‘कस्तो विडम्बना छ, एकातिर नेपाली युवाहरुको विदेशिने लहर छ । अर्कोतिर विदेशी चेलीले हाम्रो देशमा आएर समाज सुधार अभियान चलाईरहेकी छन्’, मन्त्री काफ्लेले भने, ‘अब हाम्रो देश बनाउनेतर्फ सरकारसँगै युवाहरुले पनि हातेमालो गर्न जरुरी छ ।’
हाल आशा फाउण्डेशनले हेटौंडासँगै ललितपुरको सानेपामा आशा विशेष पूर्व व्यवसायिक शिक्षा तथा सिपमुलक तालिम केन्द्र सञ्चालन गरी १८ वर्ष माथिका शारीरिक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।
जन्मजात बौद्धिक अपाङ्ग भएका बालबालिकाको संरक्षण, हेरचाह, शिक्षालगायतको काम गदै आएको आशा विद्यालयलाई बागमती प्रदेश सरकार र आर्थिक मामिला मन्त्री काफ्लेको प्रतिबद्घता अनुसार आवश्यक सहयोग प्राप्त हुने कुरामा आफूहरु विश्वस्त रहेको आशा विशेष पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।
कसरी स्थापना भयाे पाठशाला ?
आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको सञ्चालक संस्था सि आशा फाउन्डेशनकी संरक्षक आइना बार्का पढाइको सिलसिलामा पहिलो पटक सन् २०१२ मा नेपाल आएकी थिइन् । युनिभर्सिटी अफ बार्सिलोनामा ‘सोसल वर्क’ पढिरहेकी आइना त्यतिबेला २१ रहेकी उनी बताउँछिन् ।
आफ्नो देशमा पनि बौद्धिक अपाङ्गता भएकाहरूसँग काम गरिरहेकी आइना यस्तै व्यक्तिबारे थप जानकारी लिने उद्देश्यले नेपाल आएकी बताइन् । तर, पहिलोपटक नेपाल भ्रमण गरेपछि उनको जीवन नै परिवर्तन भएको आइनाको भनाइ छ । उनी भन्छिन, ‘पहिलो पटक म हेटौँडा आउँदा अशक्त बालबालिकाको लागि पढ्ने विद्यालय नै थिएन । हेटौंडामा भन्दा पनि, पूरै मकवानपुर जिल्लामै विद्यालय नभएको कारणले बालबालिकाहरू सधैँ घरमा बस्थे । उनीहरूको काम सुत्ने र खाने मात्रै थियो ।’
त्यस लगतै उनी स्पेन फर्किन । स्पेन फर्केको १५ दिनपछि नै नेपाल फर्कन्छु भनेर उनले सोच बनाइन् । तर, आइनालाई नेपाल फिर्ता हुन आठ महिना लाग्यो । त्यस अवधिभर उनले स्पेनमा दर्ता गरेको संस्थामार्फत् पैसा सङ्कलन गर्न थालिन् । उनले रकम संकलनको क्रममा स्पेनका अधिकांशलाई नेपाल कहाँ हो भन्ने पनि थाहा नभएकोले पैसा जुटाउन निकै असहज भएको आफ्नो त्यो अनुभव सुनाइन् ।
यसरी सङ्कलन भएको पैसा बोकेर उनी नेपाल फर्किइन् । एउटा सुन्दर संसार बनाउनका लागि अशक्त बालबालिकाहरुको क्षेत्रमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना बोकेर आइना सुरुमै हेटौँडा आइन् ।
सन् २०१३ को डिसेम्बरमा आइनाले हेटौँडामा आशा विशेष पाठशाला खोलिन् । यो स्थापना गर्दाको सुरुवाती समय स्मरण गर्दै उनले त्यसबेला आफू विदेशी र एक्ली महिला भएकै कारण भेदभाव सहनुपरेको बताइन् । तर, करिब २ दुई महिनाको निरन्तर संघर्ष पश्चात् अन्ततः उनी सफल भइन् ।
मकवानपुर । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले छ।
बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी बिहीबार राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आइतबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेका हुन् ।
अस्पतालबाट माग भए बमोजिम स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ती व्यबस्थापन केन्द्र हेटौंडाद्वारा सीप्याप मेसिन, बिप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर, डेफिब्रीलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औसधिहरु अस्पतालका प्रमुख डा. राकेश कुमार वर्मालाई हस्तान्तरण गरिएको हो ।
मन्त्री थापाले सबै जनताको पहुँच स्वास्थ्यमा हुनुपर्ने बताए । स्वास्थ्य सामग्रीलाई पारदर्शी किसिमले नागरिकलाई सेवा दिनेगरी सञ्चालन गर्न उनले आग्रह गरे । ‘बिरामीको उपचारमा साना साना सामग्रीले ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्नुपर्नु पर्छ‘ उनले भने ।
कार्यक्रममा आपूर्ती केन्द्रका निर्देशक बसन्त अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता डा. खगेश्वर गेलाललगायत सहभागी थिए ।