मकवानपुर । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले अहिले कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
यसैगरी देशभर मनसुनी वायुको प्रभाव रहेकोले कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो बागमतीसहित कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
वर्षाका कारण उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न कोशी बगमती र गण्डकीमा उल्लेख्य वर्षा भएको छ । मकवानपुरको हात्तीसुँढेमा ७०, मकवानपुरको गढीमा ६१.२, इलामको टी इस्टेटमा ६५.८, विराटनरमा ४९.६, सुनसरीको तरहरामा ४४.२, भोजपुरमा ४२.४, नवलपरासीको दुम्कौलीमा ४७.६, कास्कीका ६५, लुम्लेमा ५३.६ मिलिमिटर पानी परेको छ।
मकवानपुर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।
बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न–भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साईत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिन भरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिने भएकाेले त्यही अनुसार घटस्थापना गरी जमरा रखिएकाे छ ।
दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।
देवी भागवत महापुराणमा अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी-देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ ।
घटस्थापनाकाे दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । पूजाकोठाको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ।
ब्रह्मवैवर्त पुराण अनुसार दिशा अनुसार प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश मानिन्छ। पहिलो दिन शैलपुत्रीदेवीकाे पुजा आराधाना गरी क्रमशः ब्रह्चारिणी, चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको पूजा गरिन्छ । षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा कालरात्रीको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ ।
यसै गरी महानवमीमा नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित रहेका छन् । उक्त कुरा कालीका पुराण ग्रन्थमा उल्लेख भएको पाइन्छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दशौँ दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा औषधिविज्ञ बताउँछन् । जौका जमरालाई महौषधि भनिएको छ ।
निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ । शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी, स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ | श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि |वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
मकवानपुर । मौसमी प्रभावले पीडित तथा प्रभावितलाई बागमती प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ । प्रदेश सरकारले विपद प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
शनिबार साँझ बसेको आकस्मिक बैठकले सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्वबाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने बैठकले निर्णय गरेको मुख्यमन्त्री बहादुरसिंह लामाले जानकारी दिए ।
बैठकले अविरल वर्षाका कारण भएको क्षतिका सम्बन्धमा खोज, उद्दार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले आआफ्नो विषय क्षेत्रसँग सम्बन्धित क्षतिको विवरण तत्काल संकलन गर्ने निर्णय गरेको छ ।
विपदबाट घाइते व्यक्तिहरूको शिघ्र उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधि तथा उपकरणहरूको व्यवस्थापन प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने व्यवस्था गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरूद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ।
पछिल्लो ३ दिनयताको अविरल बर्षासंगै आएको बाढी पहिरोले बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म कम्तीमा ३ दर्जनको ज्यान गएको छ । सोही संङ्ख्यामा घाइते छन् ।
मकवानपुर । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले अहिले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ।
नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा सबै प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
यसैगरी शुक्रबार राति देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका-२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।
छिनभरमा बदलिरहने मौसम र बादलको लुकामारीको दृश्यले पुल्कित बनाउँछ । ‘मनमोहक झरनालाई नजिकबाट साक्षात्कार गर्न पाउँदा आनन्द आइरहेको छ’, झरनासँग डुबुल्की मार्दै धरानका नवीन किरातीले भने, ‘सामाजिक सञ्जालबाट थाहा पाएर आएको हुँ । यो ठाउँ सुन्दर र आकर्षित रहेछ, यहाँसम्मको यात्राका क्रममा भएको थकानलाई बिर्सायो।’ सल्लाको सुसेली, चराचुरुङ्गीको चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाइदिने उनको बुझाइ छ ।
काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विस्तार हुन्दै गएको छ ।
‘उचाइ बढ्दै गयो मौसम बदलिन्छ । बादलुको घुम्टो उघार्दा झरनाको रङ्गीविरङ्गी दृश्यावलोकनले जो कोहीलाई मोहित तुल्याउँछ । झरनाको चिसो पानीमा खेल्दा थप मन आनन्दित हुन्छ’, काठमाडौँको कागेश्वरी मनोहरा–७ का प्रमेश थापाले भने, ‘मनै फुरुङ्ग भएको छ, सारा दुःख, कष्ट बिर्साएर मन हलुङ्गो भएको छ । झरनाको थेरापीले शारीरिक आनन्दको वर्ण गर्न सकिदैन।’ प्रकृतिको अनुपम उपहारका रुपमा रहेको झरनाको प्रचारप्रसार गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
थापाले टिकटकमा भाइरल भएको बाहुबली झरनाको रुपमा चिनिने तीन धारे झरना अवलोकन गर्न आएको बताउँदै प्रकृतिको सुन्दर उपहारका रुपमा रहेको यस झरनाले मानिसका दुःख र पीडाका भारी बिसाउने उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरे ।
‘झरनाको स्पर्शले सबै कष्ट बिर्साउँछ । कञ्चन कलकल बहने पानीले रोमाञ्चकारी दृश्यलाई कैद गर्न÷गराउँन बाध्य गराउँछ । अझ पानीमा खेल्दै छाँगाबाट झरना चढ्नुको आनन्द बेग्लै हुन्छ । मानिसका तृप्तिलाई झरनाले दुर गराइदिन्छ’, उनले भने ।
काभ्रेपलाञ्चोकको तीनधारे झरना अवलोकन गर्न जाने जो कोहीलाई उल्लेखित दृश्यले मोहित तुल्याउँछ । समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा रहेको यो झरना अहिले आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको छ । यो झरना अहिले सामाजिक सञ्चालमा पनि चर्चामा छ ।
दक्षिण भारतीय फिल्म बाहुबलीमा देखाइएको झरनासँग मिल्दोजुल्दो भएकाले यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाहुबली झरना नाम दिएका छन् । काफलडाँडासम्म सडक पहुँच विस्तार भएको छ । सडकबाटो सकिएपछि मुख्य केन्द्रबाट करिब आधा घण्टाको पैदल यात्रापछि तीनधारे झरना पुगिन्छ । यहाँ पुग्न एक हजार ८० मिटर दूरीको यात्रा गर्नुपर्दछ ।
नेपालका प्रसिद्ध झरनामध्ये तेह्रथुम जिल्लामा रहेको सबैभन्दा अग्लो ह्यात्रुङ झरना र म्याग्दीको चर्चित रुप्से झरना पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेका गन्तव्य हुन् । ती क्षेत्रमा उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने गरेका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पोखराको पातले छाँगोलगायत चर्चित गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । राजधानी नजिकैको तीनधारे झरनाको आनन्द लिन छोटो समय र कम खर्चमा पुगिने उपयुक्त गन्तव्य हो ।
नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य बढाएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल तीनधारे झरनाको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको बताए । ‘गाउँपालिकाभित्रको सम्भावित पर्यटकीयस्थलको पहिचान गरी संरक्षण र प्रवर्द्धनमार्फत आन्दानीको स्रोत बढाउन गाउँपालिकाले येजनाबद्ध रुपमा काम गरिरहेको छ’, उनले भने, ‘झरनाको संरक्षण, प्रवर्द्धन गरी आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यले वार्षिक नीति र कार्यक्रममा समावेश गरेर अगाडि बढेका छौँ।’
तीनधारे झरनालाई स्थानीयले कोरोनाको बेला फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि चर्चामा आएको अध्यक्ष लामाले जानकारी दिए । पछिल्लो तीनवर्षयता झरना पुग्ने पहुँच मार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिएको उनको भनाइ छ ।
अध्यक्ष लामाले झरनालाई बाह्रैमहिना सञ्चालनका लागि व्यवस्थापकीय काम गरिरहेको उल्लेख गरे । उनले पदमार्गमा सिँडी निर्माण, शौचालय, फोहर व्यवस्थापन, खानेपानीको व्यवस्थापनलगायत क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजाने योजनामा पालिका रहेको जानकारी दिए ।
‘झरनालाई प्रवर्द्धन गर्नका लागि आसपासका बासिन्दालाई होमस्टे (घरबास) सम्बन्धी तालिम दिएका छौँ । अहिले चार÷पाँच वटा होमस्टे बनिसकेका छन्’, अध्यक्ष लामाले भने, ‘पर्यटक वृद्धि भएसँगै होमस्टे बढाउने, पदमार्गलाई व्यवस्थित बनाउने, ठाउँठाउँमा विश्रामस्थल, झरनामा पोखरी निर्माणलगायत कार्यक्रमलाई आगामी दिनमा प्राथमिकता दिने छौं ।’ उहाँका अनुसार तीन÷चार वर्षको अवधिमा उल्लेख्य सङ्ख्यामा झरना अवलोकन गर्न पर्यटक पुगेका छन् ।
होमस्टेमा फापरको ढिँडो, हरियो मकै, गुन्द्रुकको अचार, काँक्रोलगायत स्थानीय परिकारको स्वाद लिन पाइन्छ । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकता दिएको छ ।
चालु आर्थिक वर्षमा झरना स्थलमा स्वागतद्वार निर्माण गर्ने, बाटोमा रेलिङ र ढुङ्गा विछ्याउने योजना छ । भविष्यमा निश्चित शुल्क तोकेर आम्दानीको स्रोत बनाउने गाउँपालिकाको योजना छ । नमोबुद्ध आउने पर्यटकलाई तीनधारे झरनामा आकर्षण गर्ने र झरनाबाट माथितिर ताराखसे तालभएर पदमार्ग विस्तार गर्ने योजना छ ।
सङ्घीय राजधानी काठमाडौँ नजिक रहेको यो गन्तव्यमा पछिल्लो समय पर्यटक बाक्लो सङ्ख्यामा जाने गरेका छन् । तीनधारे झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खला हो । काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दूरीमा झरना स्थल पुगिन्छ । महाभारत लेकबाट तीनवटा धारा झरेकाले यसलाई तीनधारे झरना भनिएको स्थानीय बताउँछन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना हेर्न सो ठाउँमा सिजनमा दैनिक पाँच छ सय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका घरबास कार्यक्रम ‘होमस्टे’ एण्ड फम हाउसका सञ्चालक सुनिल तामाङले जानकारी दिए । उनका अनुसार अन्य समयमा भन्दा साउनदेखि असोजसम्म उल्लेख्य सङ्ख्यामा पर्यटक आउँछन् । शुक्रबार र बिदाको दिन आन्तरिक पर्यटकको उल्लेख्य उपस्सित हुने उनले बताए ।
विसं २०८० मा स्थापना भएको होमस्टेमा अहिले पाहुनाको भीड लाग्ने गर्दछ । उक्त स्थानबाट सूर्य उदाएको र अस्ताएको देख्न पाइन्छ । हिउँदमा यहाँबाट सर्वोच्च शिखर सगरमाथा पनि अवलोकन गर्न सकिन्छ ।
काठमाडौँ नजिकको गन्तव्य भएर पनि धेरै सङ्ख्यामा पर्यटक आउन नसकेका घरबास सञ्चालक बताउँछन् । सडक बाटो राम्रो भइदिए अगामी दिनमा पर्यटकको आगमन बढ्ने पर्यटन व्यवसायीको विश्वास छ ।
झरना अवलोकनमा जाने पर्यटकलाई रोशी किनारका हरियाली फाँटले झनै मोहित बनाउँछ । रैथाने बस्ती, आकर्षक घर, स्थानीय बालीनाली र परिकारको आनन्द यहाँका विशेषता हो ।
कसरी पुग्ने झरनामा
विसं २०२८ मा पत्ता लागेको यो झरनाको उचित प्रचारप्रसार हुन नसक्दा राजधानी नजिक रहेर पनि ओझेलमा परेको छ । पछिल्लो सयम सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायतमा झरनाको चर्चा चुलिएपछि अहिले स्थानीय तहले उक्त गन्तव्यको पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेका छन् । विस्तारै पर्यटक बढ्न थालेपछि पर्यटक व्यवस्थापनका लागि होटल तथा होमस्टे सञ्चालन गरिएका छन् ।
तीनधारे झरनामा काठमाडौँबाट सडक मार्गबाट धुलिखेल, नमोबुद्ध दाप्चा हुँदै जान सकिन्छ । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।
यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको रोशी गाउँपालिकाले जनाएको छ ।
रोशी गाउँपालिकाका प्राविधिक हिमाल जिसीले पदमार्ग संरक्षण र व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताए । चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको जनाउँदै उनले जानकारी दिए । शौचालय, कपडा फेर्ने कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संरचना निर्माण गरिएको उनले जानकारी दिए ।
वर्षातको समयमा हरियाली र झरना हेर्न आन्तरिक र विदेशी पर्यटक लालायित हुने गरेका छन् । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको सङ्ख्या पनि बढ्दै गएको छ।
नेपालका पहाडी जिल्लामा मनमोहक, आकर्षक र सुन्दर झरनाहरू छन् । वर्षायाममा झरनासँगै हरियाली अवलोकन गर्न आउने पर्यटक लालायित हुने गरेका स्थानीय बताउछन् ।
सिबी अधिकारी/राससद्वारा तयार पारिएकाे समाचार हामीले www.onlinekhabar.com बाट साभार गरेका हाैं ।