मकवानपुर । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ ।
आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
खेलको दोस्रो हाफमा भारतले ७० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।
खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।
खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेंलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।
फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ । आइतबारको पहिले सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
मकवानपुर । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ती वायुको प्रभावले कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आइतबार दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
यसैगरी आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमकाे सिमा ताेकेकाे छ । १६ मंसिर २०८१ मा हुने उप निर्वाचनकाे लागि विभिन्न पदकाे उम्मेदवारहरुकाे खर्च सिमा ताेकिएकाे हाे ।
आयोगले महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख ५० हजार र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख ५० हजार खर्च गर्न पाउने गरी सिमा निर्धारण गरेकाे छ। यसैगरी नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने गरी सिमा ताेके आयोगका प्रवक्ता नारायणप्रसाद सापकोट जानकारी दिए ।
सापकाेटाका अनुसार जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने सिमा ताेकिएकाे छ भने महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपियाँ खर्च गर्न पाउने भएका छन् । यसैगरी उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपियाँ खर्च गर्न पाउने सिमा निर्धारण गरिएकाे छ । गाउँपालिका वडा अध्यक्ष पदका उम्मेदवारले खर्च गर्न पाउने रकमकाे सिमा एक लाख ५० हजार रुपियाँ निर्धारण गरेकाे छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्मका लागि खर्चको सिमा निर्धारण गरिएकाे हाे ।
जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, गाउँपालिका वडाध्यक्ष ९, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्षका २१ सहित स्थानीय तहका ३९ पद रिक्त छन्। नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि समाप्त नहुँदै पद रिक्त भएमा र एक वर्षभन्दा बढी समय बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ।
स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् । २०७९ सालका स्थानीय तह निर्वाचनमा भाग नलिएकाे राष्ट्रिय स्वतन्त्र (रास्वपा) ले समेत उप निर्वाचनकाे लागि दल दर्ता गराएकाे आयोगले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे भीमफेदीमा बिहीबार भ्यान र अटो ठोकिदाँ ५ जना घाइते भएका छन् ।
भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जादैं गरेको बाप्र ०३–००१ ज ०६७३ नबरको इभी भ्यान र भिमफेदीबाट हेटौडातर्फ आउँदै गरेको ना २ ह ५१७२ नबरको अटो ठोकिएर दुर्घटना हुँदा ५ जना घाइते भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ ।
प्रहरीका अनुसार अटोमा सवार ५ जना घाइते भएकाेमा उनीहरुकाे हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा अटो चालक, भीमफेदी गाउँपालिका-६, सिमलटारका ४१ वर्षीय राज कुमार लामा, हेटौंडा उपमहानगरपालिका-१९, बस्तीपुरकी २२ वर्षीय पार्वती ब्लोन,हेटौंडा-१ चौकीटोलकी २४ वर्षीय अनिता स्याङ्बो, ४ वर्षीय आयान्सु स्याङ्बो र भिमफेदी ६ पाङ्ग्रेटारकी ८ वर्षीय सुर्बिना गोले रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशका २ जिल्लाका विभिन्न घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । प्रदेशकाे काभ्रेपलाञ्चोक र चितवन जिल्लाका घटनामा ३ जनाकाे ज्यान गएकाे प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ ।
काभ्रेपलाञ्चोककाे मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा १ जना महिला बेहोस भई लडी मृत्यु भएको हाे । स्थानीय ५३ वर्षीय दुर्गादेवी दुलाल बिहीबार बिहान आफनै घरको आगनमा चक्कर लागि लडि बेहोस भएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उनलाई उपचारको लागि मण्डनदेउपुर नगर अस्पताल लगिएकाेमा चिकित्सकले बाटोमा नै मृत्यु भएको भनि घोषणा गरेका थिए ।
यसैगरी चितवन जिल्लाकाे भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा १ जना पुरुष व्यक्ति मृत फेला परेको प्रदेश प्रहरीले जनाएकाे छ । बिहीबार नारायणी नदिको बिच टापुमा ४/५ दिन अघिको जस्तो देखिने अन्दाजी ३५/४० वर्षीय पुरुष व्यक्ति मृत फेला परेकाे हाे । प्रहरीका अनुसार मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएकाे छ ।
यस्तै चितवनकाे भरतपुर १० नगरपालिका अगाडी सवारी दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार चौबिसकोठीबाट पुलचोकतर्फ जादै गरेको बाप्र ०३ ००१ प ४७६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटो बन्द गर्न राखेको सडकको डिभाईडरमा ठक्कर खाई दुर्घटना भएकाे हाे ।
दुर्घटनामा माेटरसाइकल चालक नवलपरासी (पुर्व) गैडाकोट बस्ने ५० वर्षीय प्रेम परियारकाे मृत्यु भएकाे हाे । दुर्घटनामा टाउकोमा चोटलागि घाइते भएका परियारलाई भरतपुर अस्पताल लगिएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा घाइते माेटरसाइकल पछाडि सवार चितवन ईच्छाकामना गाउँपालिका ५ बस्ने ३३ वर्षीय पुर्ण बहादुर परियारकाे भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।