मकवानपुर । निर्वाचन आयोगले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई गत मंसिर ४ गते सम्पन्न निर्वाचनको बागमती प्रदेशको अन्तिम प्रतिवेदन बुझाएको छ ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को अन्तिम प्रतिवेदन निर्वाचन आयोगका सचिब गोकर्णमणी दुवाडीले प्रदेश प्रमुख शर्मालाई बुझाएका हुन् । प्रदेश प्रमुख समक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।
निर्वाचित सांसदहरुको पहिलो बैठक पौष पहिलो साता बोलाउने तयारी भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिन भित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ । पहिलो बैठक आव्हान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्ने वयवस्था रहेको छ ।

प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सांसदहरुमध्येको ज्येष्ठ सदस्यको पहिचान प्रदेश सचिवालयले गर्ने छ । संवैधानिक व्यवस्था अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ ।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ ।
ज्येष्ठ सदस्यले शपथग्रहण गरिसकेपछि ज्येष्ठ सदस्यबाट अन्य सभाका सदस्यहरुलाई शपथग्रहण गराउन प्रदेश सभा सचिवालयले सम्पूर्ण दल र सदस्यहरुमा सूचना जारी गर्छ । शपथ ग्रहणपछि सम्बन्धित दलहरुसँग सम्पर्क स्थापित गर्ने र दलहरुलाई संसदीय दलका कार्यालय उपलब्ध गराउने काम प्रदेश सभा सचिवालयको हुने व्यवस्था छ ।

सबै दलहरुसँगको सम्पर्क स्थापित गरिसकेपछि सर्वदलीय बैठकको तयारी र व्यवस्थापनका काम पनि प्रदेश सभा सचिवालयले गर्नेछ ।
सभामुखको निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गरेको भए त्यस्तो प्रस्तावक र समर्थक सदस्यहरुले संसदमा बोल्नुपर्ने हुन्छ । त्यस्ता प्रस्तावक र समर्थक सदस्यले पालैपालो बोलिसकेपछि ती प्रस्तावलाई निर्णयार्थ पेस गरिने प्रावधान छ ।
एक भन्दा बढी प्रस्ताव आए दर्ता क्रम अनुसार पालैपालो निर्णयार्थ पेस गरिनेछ । प्रस्तावमाथि निर्णय गर्न बैठकमा मत विभाजन पनि गरिन्छ । एक मात्र प्रस्ताव आए मत विभाजनमा लैजानु पर्दैन । त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ । निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा ज्येष्ठ सदस्यले गर्नेछन ।
यसरी चुनिन्छ मुख्यमन्त्री
प्रतिनिधि सभाको बैठकबाट नै मुख्यमन्त्रीको निर्वाचन प्रक्रिया पनि अघि बढ्छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछ र, निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ । तर यो निर्वाचनबाट कुनै एक दलको मात्र स्पष्ट बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । तस्बिर सौजन्य शिव चौलागाईं
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि देशभरमा जस्तै बागमती प्रदेशको १३ जिल्लामा पनि अहिले मतगणना कार्य जारी छ । यहाको १३ जिल्लाको ३३ प्रतिनिधि सभा र ६६ प्रदेश सभा अन्तरगत प्रतिनिधि सभामा २१ सिटको अन्तिम टुङ्गो लागेको छ । जसमा सबैभन्दा ठुलो पार्टीको रुपमा काँग्रेस अग्र स्थानमा छ । भने दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।
नेपाली काँग्रेस ९ सिट
काठमाडौं क्षेत्र १ प्रकाशमान सिंह
काठमाडौं क्षेत्र ३ सन्तोष चालिसे
काठमाडौं क्षेत्र ४ गगन थापा
काठमाडौं क्षेत्र ५ प्रदीप पौडेल
काठमाडौं क्षेत्र १० राजेन्द्र कुमार केसी
ललितपुर क्षेत्र १ उदय समशेर राणा
रसुवा क्षेत्र १ मोहन आचार्य
भक्तपुर क्षेत्र २ दुर्लभ थापा
सिन्धुली क्षेत्र १ श्यामकुमार घिमिरे
राष्ट्रिय स्वतन्त्र पार्टी ६ सिट
काठमाण्डौ क्षेत्र २ सोबिता गौतम
काठमाण्डौ क्षेत्र ६ शिशिर खनाल
काठमाण्डौ क्षेत्र ७ गणेश पराजुली
काठमाण्डौ क्षेत्र ८ विश्वभक्त श्रेष्ठ
ललितपुर क्षेत्र ३ तेषिमा कार्की
चितवन क्षेत्र १ रवि लामिछाने
नेपाल कम्युनिष्ट पार्टी एमाले ३ सिट
ललितपुर क्षेत्र २ प्रेमलाल महर्जन
काठमाण्डौ क्षेत्र ९ कृष्णगोपाल श्रेष्ठ
मकवानपुर २ महेश बर्तौला
मओवादी केन्द्र २ सिट
सिन्धुली क्षेत्र २ लेखनाथ दाहाल
सिन्धुपाल्चोक १ माधव सापकोटा
नेपाल मजदुर किसान पार्टी १ सिट
भक्तपुर क्षेत्र १ प्रेम सुवाल
प्रतिनिधि सभातर्फमा बाँकी सिटमा मत गणना हुँदै गर्दाको अग्रता यस्तो छ
नेपाली काँग्रेस ३ स्थानमा
एमाले ३ स्थानमा
राष्ट्रिय स्वतन्त्र पाटी २ स्थानमा
एकिकृत समाजवादी १ स्थानमा
राप्रपा १ स्थानमा अगाडी छ ।
यसैगरी प्रदेशको प्रदेश सभातर्फका ६६ सिटमा हालसम्म १७ स्थानमा अन्तिम मतगाणना भइसकेको छ ।
जसमा नेपाली काँग्रेस माओवादी केन्द्र समान अंकका साथ पहिलाे स्थानमा छन ।
नेपाली काँग्रेस ७ सिट
काठमाण्डौ ३ को १, छिरीङ दोर्जे लामा
रसुवा १ को १, प्रभात तामाङ
सिन्धुपाल्चोक १ को १ मसिना खड्का
ललितपुर २ को २ रामकृष्ण चित्रकार
मकवानपुर २ को २ इन्द्रबहादुर बानियाँ
सिन्धुली २ को १ क्षेत्र बहादुर बम्जन
सिन्धुली १ को २ रामकुमार पहाडी
माओवादी केन्द्र ७ सिट
रसुवा १ को २, इन्द्रप्रसाद गोतामे
मकवानपुर २ को १ कुमारी मुक्तान
मकवानपुर १ को १ प्रेम बहादुर पुलामी
सिन्धुपाल्चोक १ को २ सरल सहयात्री
सिन्धुपाल्चोक २ को १ युवराज दुलाल
सिन्धुली २ को २ गंगानारयण श्रेष्ठ
सिन्धुली १ को १ मातृका प्रसाद भट्टराइ
नेपाल कम्युनिष्ट पार्टी एमाले २ सिट
ललितपुर २ को १, रामेश्वर श्रेष्ठ
मकवानपुर १ को २ एकालाल श्रेठ
हाम्रो नेपाली पार्टी १ सिट
काठमाण्डौ ८ को १, शैलेन्द्र बज्रचार्य
मकवानपुर । मतदाताहरूले अथाह आशा अपेक्षा र मनोकाक्षा सहित गरेको अमुल्य मतदानको बाकस अबको केही बेरमा खुल्दै छ । पटकपटक संसदीय अभ्यासमा आएका, नयाँ पुस्ता तथा दल र स्वतन्त्र ब्यक्तिलाई मतदाताले कत्तिको पत्याए, उनीहरूले बिगत गरेकी संसदीय अभ्यास फेरि दोहोर्याउन पाउने वा अब ब्याक हुने, दलका ब्यक्तिले चान्स पाउने वा स्वतन्त्रले, अथवा युवाले देशको बागडोर सम्हाल्ने वा पाकापुस्ता नै पुनः संसद पस्ने भन्नेबारे जनमतको नतिजा अब सुरू हुनेछ ।
जनमतको नतिजाको व्यग्र प्रतीक्षामा रहेका आममतदाता र सर्वसाधारणको कौतुहलको बिषय अब बिस्तारै खुल्दै जाने छ । जब जनमतको ब्यालेट बकस खुल्ने छ र गणना सुरू हुनेछ ।
बागमती प्रदेशको सबै जिल्लाहरूमा मतपेटिका संकलन काम भैरहेको प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडाले जनाएको छ ।
हिमाली र पाहाडी जिल्लाको बाहुल्यता रहेको बागमती प्रदेशमा भौगोलिक रूपमा बिकट रहेका स्थानहरूको मतदानस्थलहरूबाट मतपेटिका गणना स्थलसम्म ल्याउन समय लाग्ने भएकोले आज मध्याह्नसम्म मतपेटिका संकलन सकिने र गणना कार्य सुरू हुने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले बताए ।
“बिकटका ब्यालेट जिल्ला सुरक्षा योजना मुताविक ढुवानी गर्नुपर्ने हुन्छ,साथै निर्वाचन निर्देशिकालाई पनि फलो गर्नुपर्ने हुन्छ,त्यसै अनुसार काम हुदैछ” पोखरेलले भने ।
बागमती प्रदेशको सबै जिल्लाहरुमा हिजो सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपछि मतपेटिका संकलनमा सुरक्षा संयन्त्रलाई रातभर खटाईएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गत स्थानीय तहको निर्वाचनमा जस्तो मतदातामा उल्लास नभएन । गत स्थानीय तहको तुलनामा यस चुनावमा दलहरूले भन्दा स्वतन्त्र उम्मेदवारहरूले नतिजामा फरकपना ल्याउन सक्ने आंकलन बिश्लेषकहरूले गर्न थालेका छन् ।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशको १३ जिल्लामा औषत ५८ प्रतिशत मात्रै मत खसेको छ ।
बागमतीमा सबै मतदान स्थलहरुमा सुरक्षा व्यवस्था बलियो भएका कारण कहिँ अप्रिय घटना नभएको प्रदेश प्रहरीले जनाएको छ । मतपेटिका संकलन क्रममा पनि कुनै समस्या नभएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशको बिकट स्थानमा रहेका, संचार र यातायात सम्पर्क कठिन भएका कारण अतिसंवेदनशील र संवेदनशील सूचीमा रहेका मतदान स्थलहरूको मतपेटिका पनि बलियो सुरक्षा घेराको बिचमा गणना स्थलमा ल्याउने क्रम जारी छ ।
प्रदेश निर्वाचन कार्यालय बागमतीका अनुसार यस प्रदेशको १३ जिल्लामा ३४ लाख १२ हजार ८ सय ३९ जना मतदाताहरु रहेका छन् ।
जसमा अन्य समूदायका २९ जना मतदाताहरु रहेका छन् भने महिला १७ लाख ७ हजार ९ सय ४२ जना रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख पोखरेलका अनुसार रामेछाप जिल्लाबाट ५० प्रतिशत, सिन्धुली जिल्लाबाट ५३, काभ्रे जिल्लाबाट ६०, सिन्धुपाल्चोक जिल्लाबाट ५५, रसुवा जिल्लाबाट ७४, नुवाकोट जिल्लाबाट ५३, धादिङ जिल्लाबाट ५०, चितवन जिल्लाबाट ६१ प्रतिशत, काठमाडौ जिल्लाबाट ६०, भक्तपुर जिल्लाबाट ७०, ललितपुर जिल्लाबाट ६१, मकवानपुर जिल्लालाबाट ५५ प्रतिशत मत खसेको छ । दोलखा जिल्लाबाट राती अबेर ५१ प्रतिशत मत खसेको भन्ने जानकारी आएको पोखरेलले बताए ।
यता मकवानपुर जिल्लाको सबै मतदान स्थलबाट मतपेटिका गणना स्थलमा ल्याईसकिएको छ । जिल्लाको बिकटका १९ वटा मतदान स्थललाई अति संवेदनशी र ६० वटालाई संवेदनशील सूचिमा राखिएको थियो,यद्यपि ती क्षेत्रहरूबाट पनि शान्ति रूपमा मतपेटिका संकलनको काम सकिएको छ ।
सबै मतदानस्थलहरुमा सुरक्षा व्यवस्था बलियो बनाइएको र मतपेटिका संकलनको लागि निर्वाचन निर्देशिका र सुरक्षा योजना अनुसार हेटौंडा २ स्थिति सिद्धार्थ माबिमा ल्याइएको छ ।
सिद्धार्थ माबिमा मकवानपुरको मतगणनाको लागि ४ वटा कोठामा तारजाली र सिसिभिटी क्यामरा जडान गरि तयारी अवस्थामा राखिएको छ ।
अहिले बिहान ८ बजे सर्वदलीय बैठक बोलाईएको र बैठकको निर्णयपछि गणना सुरू गरिने मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।
मकवानपुर । सात महिना अघि स्थानीय तहको निर्वाचन भयो । स्थानीय जनप्रतिनिधि भनेका आमसर्वसाधारणको सबैभन्दा नजिक, सधैं उपलब्ध हुने प्रतिनिधिहरु हुन् । उनीहरुसँग आमसर्वसाधारणले धेरै अपेक्षा राख्नु स्वभाविक हो ।
अहिले देश प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन संघारमा छ । निर्वाचनको माहोलमा होमिएका उम्मेदवारहरु घरदैलो कार्यक्रममा लागि परेका छन् । सबै उम्मेदवार व्यक्तिहरुको प्रतिबद्धता पत्र र दलको घोषणापत्रहरु सार्वजनिक भएका छन् ।
तर यस पटक पनि मतदाता तथा सर्वसाधारणहरुले अपेक्षालाई सम्बोधन हुने कार्यक्रम नेतृत्वले अघि सारेको छैन । सबै जसो दल, दलका उम्मेदवार ब्यक्तिहरु र स्वतन्त्र उम्मेदवारहरुले सामाजिक विषयबस्तुलाई कमै छोएका छन् । देखिने विकास निर्माणमा सबैको चासो र चिन्ता रहेको घोषणा पत्रहरुमा उल्लेख छन् । सामाजिक विषयबस्तुहरुलाई कमै प्राथमिकता दिएका दल तथा व्यक्तिहरुले मर्यादित महिनावारीको सवाललाई झनै स्मरण गरेका छैनन् ।
मुख्यगरी प्रतिष्पर्धामा रहने नेपाल कम्युनिष्ट पार्टी एमाले र सक्ताधारी गठबन्धनले सार्वजनिक गरेको घोषणा पत्रहरुमा सामाजिक सवाल नै एकदम थोरै छन् । त्यसमाथि महिला र बालबालिकाको सवालहरु साह्रै न्यून रहेको छ ।
राप्रपाले सार्वजनिक गरेको घोषणा पत्रमा पनि सामाजिक भन्दा भौतिक विकासका एजेण्डाहरु नै बढी छन् । मर्यादित महिनावारीको सवाल महिला वा बालिकाहरुको मात्रै सवाल हैन । यो महिला र बालिकाहरुको लागि मात्रै सम्बोधन, वा फाइदा पु-याउने सवाल हैन । यसबारे नेतृत्वमा कमजोर बुझाइ भएकै कारण यो विषय गौण बन्दै आएको महिला अधिकारकर्मीहरु बताउँछन् ।
महिला तथा बालिका माथि हुने हिंसाको सवालमा महिलावारी विभेदको सवालले सबैभन्दा बढी भूमिका निर्वाह गर्ने गरेको मर्यादित महिनावारी अभियन्ता राधा पौडेल बताउँछिन् ।
“संसारभरमै महिनावारी विभेद अभ्यासमा छ, शक्ति र पितृसक्ताको कारण महिनावारी विभेदको कारण नेतृत्वले पनि यो विषयको महत्व मान्न सकेका छैनन” पौडेलले भनिन् ।
मर्यादित महिनावारीको सवालमा सबैले कुरा बुझ्ने र नेतृत्वले यही अनुसार काम गर्ने हो भने महिलाको सबै प्रकारको हकको रक्षा हुने उनले बताइन् ।
महिनावारी विभेदको कारण नेपालको संविधानले व्यवस्था गरेको सम्मान पूर्वक बाँच्न पाउने हक,समानताको हक, स्वतन्त्रताको हक,छुवाछुत तथा भेदभाव विरुद्धको हक,शिक्षा सम्बन्धि हक, स्वास्थ्य सम्बन्धि हक जस्ता हकहरु हनन भएको हुन्छ ।
महिलाको सवालमा कति हिंसाको उजुरी प¥यो, कति महिला पिटीए, कति बलात्कृत भए, कति बाल विवाह रोकियो जस्ता कुरा मात्रै प्रगति हैनन् ।
“महिनावारीको सवाललाई मर्यादित बनाइनु अपरीहार्य छ” पौडेलले भनिन् “छोरीहरुलाई अग्रसर बनाउन घर नै बाधक बनेको छ, किन छोरीहरु आत्माविश्वास आत्माबल लिएर उठ्न सक्दैनन् भन्ने कुरा मुख्य हो ।”
पछिल्लो समय महिल तथा बालबालिकाको सवालमा जोडिएर महिनावारी प्याड वितरण गर्न थालिएपनि यस्ता कार्यक्रम प्रभावकारी भएका छैनन । विद्यालयहरुमा वितरण गरिने महिनावारी प्याड स्वास्थकर नभएको पौडेलले बताइन् ।
यता आफूहरुको चुनावी घोषणा पत्रमा महिनावारी विभेदको सवाल बारे कुनै एजेण्डा नराखिएको बारे दलका जिम्मेवार नेताहरुले सबै सवाल घोषणापत्रमा अटाउन नसकिए पनि आफूले जितेमा यो क्षेत्रमा पनि काम गर्ने प्रतिक्रिया दिएका छन् ।
महिला र बालिकाको चौतर्फि सवाललाई सम्बोधन गर्न सक्ने महिनावारी विभेदको सवालमा नेपालमा धेरै काम गर्न बाकी रहेको अभियन्ता पौडेले बताउँछिन् । सबै नीतिहरुको नीति राजनीति, र राजनीतिमा नेतृत्वलाई यो सवालको महत्व बुझाउन अझै बाँकी रहेको कारण सम्बोधन हम्मेसी नहुने गरेको उनले बताइन् । महिनावारी विभेद छाउगोठहरुमा मात्रै नभइ हरेक गाउँ र शहरको घरघर र मनमनमा रहेको उनले प्रतिक्रिया दिइन् ।
मकवानपुर । त्यो बेला, तत्कालिन आमभञ्ज्याङ गाविस ३ को नामुना सामुदायिक वनको धेरै माथि पुगेपछि बाबियो भेटिन्थ्यो । त्यो पनि सहजै हैन, भीर र पहरामा मात्रै । सजिला ठाउँको त अरुले काटेर लगिरहेका हुन्थे । हामी त्यै भीर र पहरामा पुगेर बाबियो संकलन गर्दथ्यौ । घाँसको भारीसँगै दैनिक एक वा दुई साना साना मुठ्ठा बाबियो ल्याउँथ्यौ, छानामा सुकाउन राख्दथ्यौ । यो काम सुरु हुन्थ्यो सोह्र श्राद्ध लाग्नु अगावैबाट ।
बाबियो कै खोजिमा धेरै टाढाटाढा पुग्थ्यौ जंगलमा । घाँस काट्दा भेटिएको त्यान्द्रा त्यान्द्रा बाबियो साथीहरु मिलेर जम्मा गर्दथ्यौ । झण्डै १५ मुठाजति बाबियो चाहिन्थ्यो एउटा मज्जाको लठ्ठा बाट्ने बाबियो पुर्याउन ।
सोह्रा श्राद्ध लाग्नु अगावैबाट सुरु गरिएको बाबियो संकलन काम लगभग सोह्र श्राद्ध सकिनै लाग्दा पुरा हुन्थ्यो । नियमित काम सकेर गाइवस्तु चराउन चौरमा लैजान्थ्यौ, त्यै चौरमा लिङे पिङको लागि लठ्ठा बाट्न हामी भेला हुन्थ्यौ । हामी पनि के भन्नु एक, दुई जना पाका बाले लठ्ठा मिलाउनु हुन्थ्यो । सिपालु अरु ३ जना लठ्ठा बाट्नको लागि एक एक वटा भाग लिएर घुम्न सुरु गर्दथे । हामी लठ्ठाको लागि पय थप्नको लागि बाबियो लिएर उभिन्थ्यौ । अन्य केही बाबियो समेट्न त केही लठ्ठा मिलाउन लागि पर्नुहुन्थ्यो ।
केहीले सबैको वस्तुभाउ बालिमा जानबाट रोक्थे, अझ भनौ सबैको बस्तु हेरालुको जिम्मेवारीमा हुन्थे । हामी गोठाहरु मात्रै हैन, पिङको लठ्ठा बाट्ने भनेपछि हेर्नेहरुको पनि भीड नै लाग्थ्यो । बाबियोको लठ्ठा बाटेर भ्याएपछि सुरु हुन्थ्यो लिङ्गो गाड्नको लागि बाँसको खोजि ।
हामी आपसमा ४/५ रुपियाँ उठाउँथ्यौ र बाँस किन्थ्यौ । लिङ्गे पिङको लागि लिङ्गो गाड्न धेरै गाह्रो काम । यसको लागि बलिया ठुला ब्यक्तिनै खोज्नु पर्ने । पिङ हाल्न सुरु भएपछि गाउँभरीको भीड लाग्दथ्यो मैदानमा ।
“तँ र म दोहोरो खेल्ने है ।”
“मलाई त मच्चाउन आउन्न ।”
“मलाई त कहाली लाग्छ, बसेर मात्रै खेल्छु ।”
“फलानोले त पिङै फर्काएका है पोहोर साल ।”
“यस्तो भयो भने पिङ लिङ्गा जान्छ, यसो गरौ ।” भीडमा यस्ता यस्तै कुरा सुनिन्थे ।
कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरु जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरुमा फुल्न थालेका सयपत्री र मखमली फूहरुले झन् घरको शोभामा चमक थप्दथ्यो । काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरु र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझै देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
सानासाना भाइ बहिनीहरु झन् धेरै चहलपहल हुन्थ्यो । कस कसले नयाँ लुगा पाए, कस कसले बाँकी उनीहरु बिचमा रमाइलो कुरा हुन्थे । यो भीड देखेपछि अब साँच्चै दशै आयो भन्ने लाग्दथ्यो ।
पिङ तयार हुन्थ्यो । खेल्नको लागि पालो लगाइन्थ्यो । हाम्रो नयाँ रुटिङ बन्थ्यो घरधन्दा सक्यो कि चौरतिर पिङ खेल्न दौडिन्थ्यौ ।
अर्को दिन माटो खन्न जान्थ्यौ । कमेरो माटो रातो माटो । कमेरो माटो खन्न धेरै गाह्रो हुन्थ्यो । पानी चुहिरहेको ओडारबाट माटो लिकाल्नु पर्दथ्यो, दिदी, आमा, काकी र भाउजुहरु पालैपालो माटो खन्न ओडारमा पस्नुहुन्थ्यो, उहाँहरुले खनेर बाहिर फालेको माटो हामी जम्मा गरेर बारोमा उठाउँथ्यौ । माटो खन्दा खन्दै भोक लाग्थ्यो, भाउजु, काकीहरु कमेरो माटोको साना साना ठल्ला चक्लेट जस्तै बनाएर मिठो मानेर खानु हुन्थ्यो । हामी त्यै जंगलमा अम्बा खोज्न जान्थ्यौ, कट्टा अम्बा भेटिए बटुलेर ल्याउँथ्यौ । खान्थ्यौ ।
भोली पल्ट पुराना गाग्राहरु, अल्मुलियमका बाटाहरुमा बिहानै माटो भिजाउन हालिथ्यो र दाउरा घाँस खेप्न जान्थ्यौ । एकखेप घाँस दाउरा गरेर फर्केर खाना खाएपछि घर पोत्न थाल्दथ्यौ । कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरु जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरुमा फुल्न थालेका सयपत्री र मखमली फूहरुले झन् घरको शोभामा चमक थप्दथ्यो ।
काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरु र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझै देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
अर्को दिन लुगा धुने काम हुन्थो । डोकोभरी ओड्ने ओछ्याउनेको खोल र तन्नाहरु बोकेर हामी आमाको पछिपछि लागेर खोलामा पुग्थ्यौ । खोला छेउमै आगो बालेर भैसीलाई कुँडो पकाउने बडेमाको डेक्चिमा आमाले खरानी पानी भकभक उमाल्नु हुन्थ्यो । ओड्ने ओछ्याउनेको खोलहरु त्यै खरानी पानीमा पकाउनु हुन्थ्यो । लुगा पानीमा गुजगुज गरी पाक्दथ्यो । आमाले एउटा एउटा गरेर बाँसको लौरोले च्यापेर झिक्नुहुन्थ्यो र सिलित्त मिलेको चाक्लो ढुङ्गामा राखेर मुङ्ग्रोले ड्यामड्याम पिट्नु हुन्थ्यो । त्यसपछि हामीलाई दिनुहुन्थ्यो त्यो लुगा । हामी खोलाको कञ्चन पानीमा पखाल्थ्यौ । मगमग बास्न आउँथ्यो कपडा ।
धोएको खोल र तन्नाहरु बगरै भरी सुकाउँथ्यौ । बगर क्या राम्रो देखिन्थ्यो रङ्गीचङ्की ।
धोएको लुगा सुकुञ्जेल नुहाइधुवाई भ्याइन्थ्यो, नजिकैको चौरमा हिजो अस्ति हालेको पिङ खेलिथ्यो र सुकेका लुगा बटुलेर अबेर दिनमा घर फर्कन्थ्यौ ।
भोलीपल्ट च्युरा कुटिन्थ्यो, मगमग बास्ना आउने तातो तातो चिउरा पाएपछि हामीलाई केही चाहिन्नथ्यो । तोरी पिस्न बुबा जानुहुन्थ्यो, सँगै दशैंको लागि लुगा भित्रन्थे घरमा । माछा मासु खानेहरुको घरैमा खसी बोकाको जोहो हुन्थ्यो, नखानेहरुको पनि आफ्नो तरीकाको दशैं जोहो भैसक्थ्यो ।
अष्ठमीदेखि घाँस, दाउरा, सोतर खेप्न जंगल जान पार्दैनथ्यो । घरछेउकै पाखाको घाँस दशैंको लागि जोगाएर राखिन्थ्यो, एक घण्टामै घाँस सोतरको जोहो हुन्थ्यो । अनि मिल्दथ्यो फुर्सद आमा, काकी, भाउजुहरुलाई । अनि हामीलाई पनि । हामी पिङमा झुम्मिन्थ्यौ, हामी पौडीमा रमाउँथ्यौ, हामी आँगनमै ओखरको दाउ बनाएर उफ्रदै खेल्थ्यौ, अनि लाग्थ्यो दशैं । दशैंको टिकाको दिन घरघरमा टिका लगाइन्थ्यो । गाउँभरी एकअर्काको घरमा टिका थाप्न गइन्थ्यो, सुका, मोहोर र रुपियाँका सिक्का फ्रकको गोजिमा बजाउँदै दौडिन्थ्यौ । अनि आउँथ्यो दशैंको मज्जा ।
अनि बुझ्दथ्यौ परिवारको महत्व, अनि ज्ञात हुन्थ्यो आपसी सद्भावको उचाई । अनि पो महत्व थियो दशैं र अन्य पर्वहरुको ।
…………………………………………….
र, आज, यो बेला । दशैं भित्रिसकेको छ । अहाँ दशैं भित्रेकै छैन । अर्थात भनौ तिथीको हिसाबले दशै लागि सकेको छ । तर कतै त्यो दशैको जस्तो चहपहल छैन । दशैंसँग पर्याय जस्तो बनेको लिङ्गे पिङ देख्नै मुस्किल छ । आजका बालबालिकाहरुमा त्यो खुसी र रौनकता नै देखिन्न उनीहरु मोबाइल लिएर बन्द कोठामा छन् । अभिभावकहरुमा त्यो हर्ष छैन, व्यस्तता छैन, पर्व मनाउन छाडेर ट्रेकिङ हिडिरहेका छन् । गाउँघर सुनसान छ, सबैलाई शहरको कोलाहाल प्रिय भएको छ । यै कोलाहालयुक्त शहरको बन्द कोठामा मनाइरहेको छ दशै । न रमझम छ लिङे पिङ र जाँते पिङको, घरघरमै सदाबहार पिङ छ ।
न भ्याइनभ्याइ छ काम र खुसी खुसीले भरिएको त्यो व्यस्तताको । न हराभरा देखिन्छ शहर त्यो गाउँ जस्तो, न आपसी जमघट छ शहरमा त्यो गाउँको जस्तो ।
बस्, हराउँदै गएको मौलिकताको छिटा छिटा बोकेर बाँचेको छ दशैं । यही आधुनिकता भित्र सहजतामा रगमगिएको दशैं र देखावटी खुसी बोकेर म पनि यो दशैंको दृश्य हेरिरहेको छु । खास दशैं त्यो हो कि यो हो ? खास पर्वको मौलिकता यसरी बाँच्दछ कि त्यसरी ?
पहिचान नै गुम्ने डर भयोः समाजशास्त्री केशव तिमल्सिना

= समाजशास्त्री केशव तिमल्सिना
“चाडपर्वको मौलिकता हराउँदै जानु भनेको हाम्रो पहिचान नै गुम्दै जाने खतरा बढ्नु हो । हामी विस्तारै पश्चिमा संस्कृतीको नक्कल गर्दै आयौ । अचेल हामीले आफ्नो चाडपर्व मनाउने ताैरतरीका नै फेरिएका छन् । पछिल्लो समय जस्तो सुकै चाडपर्व पनि खानपानसँग बढी जोडिने गरेको छ । खानपानमा हाम्रो शैली पहिले जस्तो छैन । हाम्रो खानपान, लवाइले नै हामी पश्चिमाकरणतर्फ ढल्कीदै छौ भन्ने देखाउँछ । यो हाम्रो आर्थिक हैसियतको कारण पनि फेरिएको हो । केहीले प्रयाप्त धुमधामसँग पर्व मनाउने हैसियत बनाउन सक्छन् । उनीहरुले पर्वको रौनकता बेजोड नै हुन्छ ।
तर गरिखाने विपन्न वर्गको पहुँच त्यहासम्म पुग्दैन । उनीहरुले पर्व मान्ने हैसियत नै पुग्दैन र उनीहरु विस्तारै झन् झन आर्थिक दलदलमा फस्दै जान्छन, यस कारण पनि यो सामाजिक रुपमा विकराल समस्या हो ।
अहिले पश्चिमाकरणको नक्कल गर्दै गर्दा कुन पर्वको ठ्याक्कै मौलिकता के हो भन्ने नै गुमिसकेको छ । पश्चिमा संस्कृतिको देखासिकी गरेर पर्व मनाउँदै गर्दा गरिखाने वर्गमा मार थपिने त छंदैछ, यसले समाजमा असमानता समेत जन्माउँछ । यसले समाजमा विस्तारै सामाजिक सद्भावको पाटोलाई पनि कमजोर बनाउँदै लैजान्छ । पहिले जस्तो दशैमा घरघरमा नौरथा पूजा गर्ने संस्कृती अहिले छैन । कुनै चोकमा मन्दिर बनाएर, सामूहिक पूजा गरिन्छ । यो एक हिसाबले झ्वाट्ट हेर्दा समूहमा बाधिएको जस्तो देखिएपनि अन्नततः पर्वको अनुसाशन र मौलिक पहिचान हैन ।
चाडपर्वको खबर पाटाहरु छन् भने सुधार आवश्यक हुन्छ, तर हामीले पर्वको शैली र तरीका नै छाड्दै छाड्दै जाँदा भोली हाम्रा सन्ततीहरुले के सिक्लान भन्ने अर्को प्रश्न पनि छ । यसप्रति सामाजिक अभियन्ताहरुको पनि चासो र चिन्तत आवश्यका छ । सामाजिक मुल्य र मान्यता बचाउन, साँस्कृतिक तथा धार्मिक पर्वहरुको मौलिकता जोगाउनको लागि सामाजिक अभियन्ताहरुको अभियान पनि खाँचो छ ।
ज्येष्ठ नागरिकलाई चिन्ता
हेटौंडा २ का ६७ वर्षिय सुर्यनाथ घिमिरेलाई पनि दर्शै पहिले जस्तो नभएको आभाष छ । “पहिले जसरी अहिले छरछिमेक र परिवार मिलेर दशैं मनाउनै छाडियो” उनी भन्छन, “पहिले अभाव थियो, आर्थिक संकट थियो र पनि सबैले सबैलाई मान्दथे, साथ सहयोग गर्दथे र दशैं रमाइलो हुन्थ्यो, अहिले सबैसँग पैसा छ, सबैको आ–आफ्नै तरीकाले पर्व मनाउन थाले ।” केही गरिब वर्गहरुले दशैंमाथि आफ्नो पहुँच राख्नै नसक्ने अवस्था भएको उनले दुखेसो पोखे । गाउँमा जग्गा बाँझो राखेर शहर बस्न परेको छ, शहरमा सबै कुरा किन्नु पर्छ, महंगो छ, कसरी दशै रमाइलो बन्नु” घिमिरेले भने ।
गाउँमा पनि दशैंको मौलिकता खोज्नुपर्ने अवस्था आएको उनले बताए । “पहिले जस्तो रमाइलो अहिले गाउँ नै छैन,पिङ हालिए पनि बाबियोको हैन, नाइलन र सुतलिको देखिन्छ, दुख गर्ने मान्छेकै अभाव छ सबैतिर ।” सुखभोग गर्न खोज्दा पर्वको मौलिकता कम भएको उनको ठम्याइछ ।
गाउँघरमा युवाहरु नभएपछि गाउँमै पर्वको रौनकता नभएको बताउँछन्, मकवानपुरगढी ५ का जयराम तिमल्सिना । स्थानीय टोल विकास समितिको अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका गाउँ कमिटि अध्यक्ष समेत रहेका तिमल्सिना भन्छन “कसैलाई चाखै छैन पहिले जस्तो, दशैंसँग परिपुरक जस्तो मानिने पिङको रौनकता त हरायो नै ।” महङ्गी बढेको कारण युवाहरु आफ्नो गाउँठाउँमा नभएकोले पनि पर्वको रौनकता र मौलिकता गुम्दै आएको उनले बताए ।