मकवानपुर । मनहरीमा जारी जेसीज कप फुटबल प्रतियाेगितामा केदारेश्वर युवा क्लब र बागमती प्रदेश प्रहरी गण फाइनल प्रवेश गरेकाे छ । सोमबार भएको सेमिफाइनल खेलमा मनहरी–९ रजैयास्थित केदाश्वर क्लबले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै प्रथम चैनपुर जेसीज कप प्रतियोगिताको फाइनलमा स्थान बनाएका हुन ।
साेमबारकाे पहिलो सेमिफाइनलमा रजैयाले सिमपानीलाई १–० गोल अन्तरले हराएको थियाे । यस्तै दोस्रो खेलमा प्रहरीले सयपत्री एफसीलाई टाइब्रेकरमा हराएको हो । टाइब्रेकरमा पुलिसको ४ खेलाडीकाे प्रहारले गाेलपोष्टकाे जाली चुमेकाे थियाे । सयपत्रीको २ खेलाडी मात्र गोल गर्न सफल भए । आउँदो बुधबार फाइनल खेल हुने आयोजक जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिएका छन् ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको फाइनलकै दिन जेसीज सप्ताहको समापन समेत हुनेछ । फुटबल खेलको विकाससँगै खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि चैनपुर जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गरेको अधिकारीले बताए ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थान र नाकामा सुरक्षा व्यवस्थामा कडाई गर्दै आएकाे छ । मकवानपुर प्रहरीले जिल्ला प्रवेश गर्ने नाका रातोमाटेमा सोमबारबाट कुकुर सहितको जाँच सुरुवात गरेको जनाएकाे छ । प्रहरीले असोज २१ गते आइतबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेकाे थियाे ।
राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले कुकुर सहितको विशेष सुरक्षा जाँच गर्न थालिएकाे हाे । असोज २९ गतेदेखि जिल्लाकाे हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्टमा बागमती प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यलय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेले तालिम प्राप्त कुकुरसहितकाे जाँच गर्न थालेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीले नेपालीकाे दशैं तिहारलगायतकाे चाडपर्वलाई लक्षित गरी मकवानपुर जिल्लामा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनहरुमा प्रतिबन्धित बस्तुहरु पटका, लागु औषध, भन्सार छलीका समानहरुलगायत अन्य बिष्फोटक पदार्थहरु समेत ओसारपसार हुन सक्ने भएकोले तालिम प्राप्त कुकुरसहितको विशेष चेकिङ शुरु गरिएको भण्डारीले बताए ।
यसअघि मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा याेजना सार्वजनिक गर्दै हेटौंडा १४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको छ । त्यस्तै हेटौंडा ११ थानाभर्याङमा चालक निगरानीको लागि अस्थायी रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कुनैपनि यात्रु नठगिउन भन्ने उदेश्यले सुमो काउन्टर क्षेत्रमा प्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेका छ । साथै, आरक्षण सीटको स्टीकर मेटिएका सार्वजनिक यातायातमा स्टीकर टाँस्ने काम समेत गरिएकाे छ ।
चाडपर्व लक्षित सचेतनाका लागि तयार पारिएका जिङ्गलहरु बजार चोकमा मात्र नभई जिल्लाभरिका विद्यालयहरुमा विहानको राष्ट्र गानपछि बजाएर विद्यार्थीहरुलाई जानकारी गराउने गरिएकाे उनले बताए । प्रहरीहरु सुरक्षा नाका,अस्पतालका बिरामी रेफर,लामो दूरी सवारी चेकजाच, यात्रु सहायक कक्षजस्ता सुरक्षाकार्यमा प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ४० जनाको ‘क्वीक रेस्पोन्स टोली बनाई गस्ति र चेकजाच गरिरहेको छ । चाडवाड लक्षित सुरक्षा योजनाका लागि ८ सय १४ जना प्रहरी परिचालन गरिएकाे मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
मकवानपुर । हेटौंडा २ स्थित ब्रमकुमारी राजयोग सेवा केन्द्रले बडा दशै, दीपावली तथा छठ पर्वको अवसरमा शुभ भावना आदनप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाइले सामाजिक मर्यादा, सामाजिक सद्भावना अभिबृद्विको लागि चाडपर्वको महत्व रहेको बताए ।
केन्द्रको क्षेत्रीय सन्चालिका शुशिला दिदिको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ सेडाइले सनातन धर्म सस्कृती मूल्य मान्यताले आपसी सहिष्णुता कामय राख्ने बताए ।
जानअन्जानमा भएका त्रुटिलाई क्षमादान दिने र क्षमा याचना गर्नु जीवन सहज बाटोमा हिडाउने उपाय भएको मोटिभेटर बिजयराज सिग्देलले बताए । दशै पर्वकै अवसर पारेर पन्च विकार (काम, क्रोध, लोभ, मोह, अहंकार) त्याग्न पर्ने केन्द्रकी बिष्णु दिदि बताइन् ।

कार्यक्रम जनसेवा साकोसको अध्यक्ष बसन्तराज गौतम, पत्रकार सरिता दाहाललगायतको उपस्थिति रहेको थियो ।
शुभ भावना आदनप्रदान कार्यक्रममा दशै पर्वको ऐतिहासिक धार्मिक मान्यता, सान्दर्भिकतासंगै महिषासुर र देवी दुर्गाको झाँकी तथा नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रम सन्चालक बिकेमणी गुरुङले बताए ।
मकवानपुर । हेटौंडा भएको खुला कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुलीको पर्खाल कविता प्रथम भएको छ । प्रदेश युवा परिषद बागमती आयोजना र साहित्य संगम मकवानपुरको सहकार्यमा भएको राष्ट्रिय युवा कविता उत्सव २०८० अन्तरगत खुला कविता प्रतियोगितामा पराजुलीले प्रथम स्थान हासिल गरि ४० हजार नगद पुरस्कार प्राप्त गरे ।
यस्तै चितवनका कवि अन्जान प्रदीपको कविता ‘कुण्डली’ले द्वितीय स्थान साहिल गरेको छ । द्वितीय हुँदै प्रदिपले ३० हजार पुरस्कार प्राप्त गरे । यसैगरी नुवाकोटका कवि एलिसा एकलासको कविता ‘निर्धो बक्ररेखा’ले तृतीय स्थान हासिल गर्दै २० हजार पुरस्कार प्राप्त गरिन । कविता प्रतियोगितामा तनहुँका भीमप्रसाद खतिवडा अनुरागको ‘मेरो यात्रा’ कविताले सान्त्वना भइ १० हजार रूपैयाँ प्राप्त गरे ।
कविता प्रतियोगिताको लागि प्राप्त १ सय ५३ कवितामध्ये प्रारम्भमा उत्कृष्ट २० छनौट गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट २० मा छनौट भएका मध्ये १८ जना कविका कविता शनिबार हेटौंडामा वाचन समेतका आधारमा अङ्क प्रदान गरी नतिजा सार्वजनिक गरिएको निर्णायक मण्डल संयोजक निमेष निखिलले बताए ।
उत्कृष्ट कविताका कविहरूलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान र परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले नगदसहित कदरपत्रले सम्मान गरेका थिए ।
३ सदस्यीय निर्णायक मण्डल मण्डलमा चितवनका कवि भूपिन खड्का, काठमाडौँकी कवि डा. विन्दु शर्मा र हेटौँडाका कवि निमेष निखिल रहेका थिए ।
मन्त्री मोक्तानले युवाहरू लेखन, वाचन लगायत साहित्य सिर्जनामा लाग्नु सकारात्मक पाटो रहेको बताईन । उपाध्यक्ष चौलागाईँले पढ्ने मान्छेमा लेख्ने क्षमता हुने हुँदा पुस्तक पढ्नका लागि प्रेरित गर्नुपर्ने र यस अभियानमा सरिक सबै लेखकलाई धन्यवाद दिएका थिए।
विशिष्ट अतिथि कवी विप्लव प्रतिक र पूर्व सभासद् अनन्त पौडेल रहनु भएको कार्यक्रममा मकवानपुरका सम्पूर्ण साहित्यिक संस्थाबाट प्रतिनिधित्व गर्दै सर्जक सञ्जालका संयोजक तथा कविताका निर्णायक निमेष निखिलले मन्तव्य ब्यक्त गरेका थिए । सङ्गम अध्यक्ष डीबी बर्तौलाले मन्तव्यकका क्रममा साहित्य सङ्गमले साहित्य क्षेत्रको उन्नयनका लागि गुणात्मक कार्यक्रमहरू गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
युवा पुस्तामा कविता क्रेज सत्रको बहसमा समीक्षक घनश्याम घिमिरे, कविद्वय केशव सिलवाल र सीमा आभास सहभागी रहेका थिए । बहसलाई सङ्गम अध्यक्ष बर्तौलाले सहजीकरण गरेका थिए ।
यसैगरी एकल कविता वाचन सत्रमा कवि विप्लव प्रतीकले १० कविता वाचन गर्दा सुनाउदा उपस्थित दर्शक मग्न भएको थिए । सङ्गम उपाध्यक्ष सानु खनालले पूर्व पत्रकार, गीतकार, अनुवादक, रङ्गकर्मीका साथै युवा पुस्ताका रोजाइका कविमध्ये एक भएकोले कार्यक्रमको एक महत्वपूर्ण हिस्साका रूपमा विप्लवलाई उपस्थित गराइएको बताए ।
पठन संस्कृतिमा टेवा पुर्याउन किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी समेत कार्यक्रम भरी गरेको थियो । सर्जकहरूले प्रदर्शनीबाट आफ्नो रोजाइका पुस्तकहरू सङ्कलन गरेको किताब घर संचालक छवि अनित्यले जानकारी दिए ।
मकवानपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तरक्रिया गरिएकाे छ । आयुर्वेद सेवा प्रवर्धन गर्न शुक्रबार हेटौँडामा पत्रकारसँग अन्तरक्रिया गरिएको हाे ।
अन्तरक्रियामा केन्द्रबाट गत आर्थिक वर्षमा २१ हजार ९ सय ५६ जनाले सेवा लिएको केन्द्रका डा. ललिता पाण्डेले जानकारी दिइन् । ‘विरामीको संख्या बढ्दो छ’ उनले भनिन् ‘हामीले पञ्चकर्म तर्फ ५ सय ३० जनालाई सेवा दिएका छाै ।’ त्यस्तै, क्षारसुत्र १ सय ६ जनाले सेवा लिएका छन् । उक्त सेवा लिदाँ २ हजार ५ सय शुल्क लाग्ने बताइएकाे छ । यसैगरी केन्द्रबाट ७ सय ५२ जना जेष्ठ नागरिकले सेवा लिएका छन् । २ सय १० जनाले स्तनपायी सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएकाे छ ।
केन्द्र प्रमुख डा. ललिता पाण्डेले आव २०७९/८० काे प्रगति विवरणका साथै केन्द्रबाट दिइने सेवाबारे प्रस्तुति गरेकी थिइन् । उनले मकवानपुरका ७ स्थानीय तहमा आफ्नो सेवा विस्तार गरिएको बताइन् । हेटौंडामा ८ वटा क्लिनिक, मनहरी र थाहानगरमा एक/एक वटा क्लिनिक सञ्चालनमा रहेको बताइन् । उनले ५ वटा गाउँपालिकामा भने नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिइन् । आयुर्वेद सम्बन्धी कक्षा ९ र १० मा केही जिल्लाहरुमा पढाइ हुने बताउँदै अझै पनि ग्रामीण क्षेत्रमा आयुर्वेद बारे जानकार नभएको उनकाे भनाइ थियाे ।
केन्द्रमा २ हजार २ सय ८ जनाले ल्याव सेवा, १ हजार ९ सय ९७ जनाले फिजियो थेरापी, १ हजार १ सय ९५ जनाले अंकुपञ्चर सेवा लिएको प्रस्तुत गरिएकाे तथ्याङ्कमा उल्लेख छ । पछिल्लो वर्षमा आयुर्वेद स्वास्थ्य सेवा लिने विरामीको संख्या बढे सँगै केन्द्रमा योग हल नहुनु, जनशक्तिको अभाव हुनु, औषधिको अभाव रहनु, तत्काल आफ्नो भवन नहुनु समस्या रहेको डा. पाण्डेले बताईन् ।
कार्यक्रममा पत्रकार महासंघ बागती प्रदेश उपाधयक्ष रुपेश दुलालले आयुर्वेद सेवामा पछिल्लाे समय आकर्षण बढ्दाे रहेकाे बताए । आयुर्वेद सेवालाई थप विस्तार गर्नुपर्ने, सेवाग्राहीकाे चापलाई व्यवस्थित गर्न सुविधासम्पन्न भवनबाट जनशक्ति सहित सेवा प्रदान गर्नु पर्ने उनकाे भनाइ थियाे । कार्यक्रममा आयुर्वेद विज्ञ डा. साइरिस न्याैपानेले पन्चकर्म सम्बन्धमा जानकारी गराउँदै शरीरकाे शुद्धीकरण गर्ने, शरिरलाई पाेषण प्रदान गर्ने र शरीर र मनकाे तनावलाइ कम गर्न सकिने बताए ।