मकवानपुर । हेटाैंडा उपमहानगरपालिका १५ नं वडाले वडा स्तरीय खेलकुद विकास समितिका पदाधिकारीलाई सपथ तथा सम्मान गरेकाे छ ।
वडा कार्यालयले समितिका अध्यक्षलगायत १५ जना पदाधिकारीहरुलाई पद तथा गाेपनियताकाे सपथ गराउँदै सम्मान समेत गरेकाे वडा अध्यक्ष सुनिल माेक्तानले बताए । गोबिन्द नेगीकाे अध्यक्षतामा गठित १९ मध्ये १५ सदस्यलाई वडा अध्यक्ष माेक्ताने सपथ ग्रहण गराउँदै सम्मान गरेका हुन् । समितिकाे सदस्यहरूमा महेश दोङ, कर्ण सिं लामा, करण श्रेष्ठ, रेश्मि मोक्तान, विशाल थिङ, सन्तोष कुमार भोम्जन, श्याम थिङ, आईजित कुमार भम्जन, युवराज लो, मंगल बहादुर थिङ, उज्वल वाइबा, ऋषि मोक्तान, पुकार मोक्तान, सदस्य सचिव शान्ति लामालाई सपथ सहित सम्मान गरिएकाे हाे । सपथ ग्रहण कार्यक्रममा सदस्यहरु बिकल भोलन, मिठु पाख्रीन, बिरोध थिङ, उमेश स्याङ्बो अनुपस्थित भए ।
२०८० पुस २० गते बसेकाे वडा समितिको बैठकले उक्त समितिकाे निर्माण गर्ने निर्णय गरेकाे सदस्य सचिव शान्ति लामाले बताइन् । कार्यक्रममा वडा अध्यक्ष माेक्तानले वडामा गठित खेलकुद विकास समितिले समन्वयात्मक रुपमा अघि बढ्ने र खेलकुद क्षेत्रकाे समग्र विकासमा अग्रसर हुने बताए ।

‘अब यही समितिले वडालाई खेलमय बनाउनुपर्छ, राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नुपर्छ’ उनले भने ‘यहाँ संभावना धेरै छन् चुनौती पनि होलान् तर हातेमालाे गरेर सफलतामा पुग्न सकिन्छ ।’ वडा स्तरीय याे समितिले सबै खेललाई समान महत्त्वका साथ लिएर अघि बढ्न उनले निर्देशन दिएका छन् ।’ ‘विधिवत ढंगले सबै खेललाई वडा र टोलटोलमा जिवित राखौ, अन्तर वडा स्तरीय अध्यक्ष कप फुटबलकाे तयारी आजैबाट थाल्नुस्’ उनले भने । खेलकाे पाटाेमा उत्कृष्ट वडा बनाउन निर्देशन दिंदै उनले भने ‘मिलेर सबै खेललाई जगेर्ना गरौं, बजेटको व्यवस्था हुन्छ,खेल र पारदर्शीतालाई ध्यान दिनुस्, विश्वमा मकवानपुर र बागमती प्रदेश जिताउनहाेस् शुभकामना ।’
यसैगरी पुर्व गाबिस अध्यक्ष प्रेम बहादुर भोम्जनले याे समितिबाट खेलक्षत्रको विधिवत विकास हुनेछ अपेक्षा गरेकाे बताए ।कार्यक्रममा वडा सदस्यहरू पातली माया गोंवा, मिनु बिश्वकर्मा, वडा सचिव कृष्णबहादुर क्षेत्री, टोल विकास संस्थाका सिंहबहादुर बिश्वकर्मा,वनदेबी आधारभुत विद्यालय प्रअ जयप्रसाद पोखरेल, जनजागृती माध्यामिक विद्यालयका प्रअ केशव संजेललगायतकाे उपस्थिति रहेकाे थियाे ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ५५ औं स्थापना दिवस अवसरमा मकवानपुरका ५ पत्रकारलाई सम्मानित गरेकाे छ ।
उपमहानगरपालिकाले मकवानपुरका पत्रकारहरु सुनिता विष्ट, निसा गुरुङ, अमृत चिमरिया, गणेश दुलाल र भावना रिजाललाई सम्मान गरेकाे हाे । सञ्चार माध्यममा उपमहानगरका समाचारलाई प्राथमिकता दिएकोले भन्दै सम्मान गरिएको हाे । उपमहानगरले उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयम सेवीका, टोलविकास संस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री बेदुराम भूषालले नेपालमा कृषिबाटै समृद्धि सम्भव रहेको बताए ।
कृषि र पशुपालनमा प्रविधिको प्रयोग आवश्यक भएको बताउँदै कृषिका लागि आवश्यक मल, बिउ, सिँचाइ सुविधाको समन्वय भएमा कृषि आर्थिक वृद्धिसँगै प्रगतिको प्रमुख आधार बन्ने उनले बताए । मन्त्री भुषालले पशुपालनको नेपालमा राम्रो सम्भावना रहेको बताउँदै भैंसीपालनबाट मासु र दुध दुवै पाउने भएकोले सरकारले यसक्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरले समानुपातिका विकासमा जोड दिएको बताइन । कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, नेपाली कांग्रेस मकवाानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका उपसचिव सीता विष्ट, नेकपा माओवादी केन्द्रका सागर बानियाँ, नेकपा एकीकृत समाजवादी अध्यक्ष विष्णुप्रसाद दाहाल, जनता समाजवादी पार्टीका सोमबहादुर घलान, नगरस्तरीय बाल सञ्जालका सचिव प्रकृति भण्डारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक हेटौंडा भेट्रान्स क्लबले मंगलबार पत्रकार भेटघाट गरी प्रतियाेगिताकाे जानकारी दिएकाे हाे ।
भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आगामी फागुन २२ गतेबाट हेटौंडा ४ स्थित हुप्रचौर खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियाेगिताकाे विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएकाे छ । प्रतियोगितामा २२ वटा क्लबले सहभागिता रहने छन् ।
४५ वर्ष पुरा भएका खेलाडीहरुले सहभागिता जनाउन पाउने समूहमा २ जना खेलाडी भने ५० वर्ष माथिकाे हुन् पर्ने खेल संयोजक प्रशान्त पाख्रीनले जनाकारी दिए । प्रतियोगिताको आठौँ संस्करणकाे उपाधी एवीसी भेट्रान्स क्लब पोखराले जितेकाे थियो ।
मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा मंगलबारबाट सुरु छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । बागमती गाउँपालिका फापरबारी स्थित जनता माविको खेल मैदानमा भएकाे उद्घाटन खेलमा मच्छिन्द्रले राइटलेन बागमती क्लब सर्लाहीलाई ५–२ गोल अन्तरले हराएकाे हाे ।
मच्छिन्द्रले खेलकाे पहिलाे हाफमा २ र दाेस्राे हाफमा ३ गाेल गर्याे । यसैगरी बागमतीले खेलकाे दाेस्राे हाफमा २ सान्त्वना गोल गरेकाे थियाे । खेलकाे म्यान अफ दि म्याच मच्छिन्द्रका विमल घर्ती मगर घाेषित हुँदै १० हजार हात पारे । प्रतियाेगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिति र हिमालयन शेर्पा क्लब बीच खेल हुनेछ ।
खेलकुद विकास समिति बागमतीकाे आयोजनामा संचालन भएकाे प्रतियोगिताकाे बागमती गाउँपालिका मुख्य प्रायोजक रहेकाे छ । प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए ।
जावलाखेल युथ क्लव ललितपुर, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, नव जन जागृती क्लव सिमरा बारा, एनआरटी फुटबल क्लव काठमाडौँ समुह “क” मा रहेका छन् । यस्तै नेपाल आर्मीकाे त्रिभुवन क्लब काठमाडाैं, हिमालयन शेर्पा क्लब काठमाडाैं, आयोजक बागमती खेलकुद विकास समिति, शसस्त्र प्रहरीकाे एपिएफ फुटबल क्लब काठमाडाैं, चर्च ब्वाईज युनाईटेड क्लव काठमाडौं समुह “ख” मा छन् ।
फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैंया तथा उपविजेताले नगद ५ लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ । पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लवले भने याे प्रतियाेगितामा सहभागिता जनाएको छैन ।
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ नम्बर वडामा बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम गरिएको छ । वडा कार्यालयको सहयोग तथा वडा बाल संजालको ब्यबस्थापनमा सोमबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी बालबालिकाले शिक्षा क्षेत्रको विकासका लागि गरिएको प्रयास र आगामी कार्ययोजना, सामुदायिक बिद्यालयमा बिद्यालय बसको ब्यबस्था गरिनुपर्ने, खेलकुद क्षेत्रमा गरिएको प्रयास र आगामी कार्ययोजना, बिद्यालय परिसरमा संदेशमूलक सूचना बोर्ड राख्नुपर्ने, बिद्यालय क्षेत्र वरिपरी जेब्रा क्रसिङ्गको ब्यबस्थापन गरिनु पर्ने, अन्तर बिद्यालय स्तरीय बिबिध क्रियाकलाप संचालन हुनुपर्ने, बाल उज्जवल माबिको खानेपानीको समस्या तत्काल समाधान गर्नु पर्ने, बिद्यालय नर्सको ब्यबस्थापन गरिनु पर्ने, आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई छात्रवृत्तिको ब्यबस्थापन र बिद्यार्थी प्रोत्साहन कार्यक्रम, प्राबिधिक शिक्षामा जोड दिनु पर्ने, प्रत्येक बिद्यालयमा नि:शुल्क आँखा चेकजांच शिविर संचालन गरिनु पर्ने लगायत सवाल उठाएका थिए ।
जवाफमा वडा अध्यक्ष ढलक बहादुर थापाले चालु आर्थिक वर्षको बजेटले आर्थिक वर्षको अन्त्यसम्म सम्बोधन हुने र अन्य सकारात्मक सुझावहरुलाई आगामी बर्षको बजेटमा योजना तथा कार्यक्रम समाबेश गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । थापाले गत बर्ष र चालु आर्थिक बर्षमा बालबालिका तथा शिक्षा क्षेत्रमा भएको प्रगति विवरण तथा बजेट समेत जानकारी गराएका थिए।
नेपाल सरकारले सबै स्थानीय तहलाई २०८७ सालसम्म बालमैत्री शासन युक्त बनाउने लक्ष्य लिएको छ । हेटौडा उपमहानगरपालिकालाई २०८० साल भित्रै बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने सोच बनाएर काम गर्दै आएको छ । बालमैत्री वडा घोषणाको लागि कार्यालयले संचालन गर्दै आइरहेको बिबिध बालमैत्री क्रियाकलाप अन्तर्गत बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम संचालन गरिएको सचिव महेन्द्र चापागाईंले बताए ।
वडा बाल संजाल अध्यक्ष सक्षम चौलागाईको अध्यक्षता तथा वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बालमैत्री सम्पर्क व्यक्ति सबिना बिडारी, वडा सदस्यहरु देवकी बिक र हर्क बहादुर पाख्रिन, बाल उज्जवल मावि प्रअ शम्भु प्रसाद बर्तौला, महेन्द्र किरण मावि प्रअ तारा गौतम, वडा शिक्षा समिति सदस्य टेकनाथ शिवाकोटी, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष रोशन गोले, वडाका सामुदायिक र संस्थागत बिद्यालयका बालमैत्री सम्पर्क शिक्षक तथा बाल समुहका पदाधिकारी, वडा बाल संजालका पदाधिकारी, वडा कार्यालयका कर्मचारी लगायतकाको उपस्थिति रहेको थियो ।