भरतपुर,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष २०८० काे उद्घाटन गरेका छन् । शुक्रबार नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा भरतपुर भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताए ।
प्रधानमन्त्री दाहालले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताएका हुन् । उनले सुस्ताएको पर्यटन क्षेत्रलाई भ्रमण वर्षले राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरे । ‘देशलाई सन्देश मात्र दिएको छैन यथार्थमा नेतृत्व नै गरेको छ । ६ लेन रोड, विमानस्थल बिस्तारको कार्यक्रम, शिक्षा र स्वास्थ्यको हब बन्दै गर्दा महानगरपालिका, भरतपुरबासी आमजनसमुदायलाई हार्दिक धन्यवाद र शुभकामना दिन चाहन्छु ।’ उनले भने ।
प्रधानमन्त्री दाहालले भरतपुरसहित समग्र चितवनको विकासमा आफूले सहयोग गर्ने र योगदान गर्ने अवसर पाएको अनुभव सुनाएका छन् । ‘प्रशस्त पूर्वाधार रहेकाे भतरतपुर कृषि, सहकारी, उद्योग पर्यटन क्षेत्रलाई समेत आधार बनाएर अगाडि बढिरहेको छ ’ उनले भने, महानगरपालिकामा पर्यापर्यटन, खेल, धार्मिकको, आर्थिक केन्द्रको रुपमा क्रमशः अगाडि बढ्दै छ ।’
उनले समथर भूभाग, हिमश्रृंखला, मानव निर्मित पर्यटकीय गन्तव्यहरु रहेकाले प्रतिष्ठा वृद्धि गर्न, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने प्रसस्त सम्भावना रहेकाे बताए । उनले भ्रमण वर्ष उद्घाटनबाट देशमा नयाँ र सकारात्मक सन्देश गएको बताए । उनले भने – ‘उद्घाटन सत्रको कार्यक्रमबाट देशका मुख्य दलहरु एक ठाउँमा उभिने संस्कारको विकास भएको छ ।’ २२ वटा पर्यटकीय गन्तव्य पहिचान गर्दै सौराहादेखि माडीको सोमेश्वरदेखि, बागमती प्रदेशको होचो भूभागको ५० बढी गन्तव्यको प्रवर्द्धन गर्ने उनले बताए ।
‘सिंगो देशलाई केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्यलाई इच्छाशक्ति भयो भने केही गर्न सकिन्छ भन्ने भ्रमण वर्षले सन्देश दिएको छ’ उनले भने ‘आफूले सुशासनको र सामाजिक न्यायको क्षेत्रमा जनताले महसुस गर्ने गरी काम गरेको दाबी समेत गरे ।’
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरलाई पर्यटन विकासको प्रचुर सम्भावना भएको शहर भनेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको शहर भएको बताए ।
अध्यक्ष ओलीले भने- `चितवन पर्यटनको प्रचुर सम्भावना भएको शहर हो । यहाँको पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोसी हुँदै बङ्गालसम्म जोड्नका लागि जलमार्गको योजना अघि बढाएको थिए । ‘ उनले त्यही योजनाअनुरूप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जलपर्यटनका पूर्वाधार निर्माण गरेको बताए । अध्यक्ष ओलीले चितवन पूर्व–पश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि यहाँको सम्भावना धेरै रहेको बताए । भरतपुरको विकासका लागि सभाहल, ६ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पुर्याएको उनले बताए ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका १५ नं वडा कार्यालयले वडा अध्यक्ष कप फुटबल प्रतियाेगिता २०८० आयाेजना गर्ने भएकाे छ ।
उपमहानगरकाे १९ वटा वडाहरुकाे टिमबीच वडा स्तरीय फुटबल प्रतियाेगिता गर्न लागेकाे वडा अध्यक्ष सुनिल माेक्तानले बताए । सोनाम ल्होसार २८६० औ डुक ल्हो (नयाँ बर्ष) को अवसरमा १५ नं. वडा कार्यालय चुरियामाई हेटौडा मकवानपुरको प्रायोजन र वडास्तरिय खेलकुद विकास समिति हेटौडा १५ को आयोजनामा प्रतियाेगीता गर्न लागिएकाे हाे ।
हेटौडा उपमहानगरपालिकाको १- १९ वटै वडाको सहभागितामा नगरका प्रत्येक वडा भित्रका टोलका खेलाडीहरु उत्पादन गर्ने मुख्य उद्देश्यका साथ प्रतियाेगिता गर्न लागिएकाे माेक्ताने बताए । खेलकुदले राष्ट्रकाे पहिचान राख्ने बताउँदै उनले खेलाडी उत्पादनकाे लागि यस्ता प्रतियाेगिताहरु महत्वपूर्ण हुने भएकाले वडाले लगानी गर्न लागेकाे उनले बताए । प्रतियाेगिताकाे लागि आवश्यक खर्चकाे व्यवस्थापनमा स्थानीय संघसंस्थाहरुसँग पनि समन्वय गरीने उनले बताए ।
अन्तर वडास्तरिय १५ नं. वडाअध्यक्ष कप फुटबल प्रतियोगिता २०८०” दोश्रो संस्करण हाे । खेल आगामी चैत ९ गते सुरु हुने छ । हेटाैडा ६ गौरीटार रंगशालामा खेल हुने वडास्तरिय खेलकुद विकास समिति अध्यक्ष गोविन्द नेगीले बताए ।
प्रतियाेगितामा विजेता हुनेलाई नगद १ लाख र उपविजेतालाई ५० हजार पुरस्कार प्रदान गरिने वडा कार्यालयले जनाएकाे छ । यसैगरी प्रत्येक म्याचको म्यान अफ द म्याच विधागत तर्फ उत्कृष्ट फर्वाड, मिड फिल्डर, गोल किपर, डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको नेगीले बताए । वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएकाे हाे ।
मकवानपुर । मकवानपुरको भैसेबाट प्रहरीले लागूऔषध चरेस ४५ किलोसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर प्रहरीले थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान र भिमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङलाई उक्त परिणामको चरेशसहित नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौंडातर्फ आउदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तामाङ र स्याङतानलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मंसिर १९ गते राती गोली प्रहार गरी २० गते रकम माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेश गरेको थियो । जिल्ला अदालतकी माननिय न्यायाधीश मन कुमारी जिएम विकको इजलाशमा अभियुक्तहरुलाई पूर्पक्षका लागि भीमफेदी जेल चलान गरिएको हो ।
गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसाद पौडेलसँग एक करोड रुपैयाँ माग गरेका थिए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली बरामद गरेको थियो । हेटौंडा उपमहानगरपालिका–९ मा घर भएपनि हेटौंडा उपमहानगरपालिका–४ मा पौडेल डेरा लिएर बसेका थिए ।
लागुऔषध समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ नगद बरामद गरेको थियो । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाएको छ ।