हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट तेल बोक्ने टयाङकरबाट १ सय २८ किलो गाँजा बरामद गरिएको छ । प्रहरीले चेकिङका क्रममा लुकाएर ल्याएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रोतोमाटेमा हेटौँडाबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको तेल ट्याङकरलाई रोकि चेकजाँच गर्दा १ सय २८ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको उहाँले वताउनुभयो।
गाँजा सहित पक्राउ पर्नेमा ट्याङकर चालक जितपुर सिमरा–२३ बस्ने २७ बर्षीय एमामुल हक देवान र ट्याङकरमा सवार सोहि २४ बर्षीय मोहरवान अंसारी रहेका छन् । पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लकडाउन अवधिमा मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषध बोकेको ३ वटा तेल ट्याङकरलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले बताउनुभयो ।
यसैगरी ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी ६ लोथरबाट ७० केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । खोलाको गोरेटो बाटोमा गाँजा सहित एक जनालाई पक्राउ गरिएको हो । चितवन राप्ती नगरपालिका ११ बस्ने बर्ष ३५ को शिव तामाङले बोकि ल्याएको प्लास्टिकको बोरामा चेकजाँच गर्दा लागु औषध गाँजा ७० किलो फेला परेको हुँदा तामाङलाई उक्त लागु औषध गाँजा सहित नियंत्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको एसपी राठोरले जानकारी दिनुभयो ।
हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिमका कारण जारी लकडाउनका कारण विद्यालयहरु बन्द छन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुग्नै लाग्दा पठनपाठन सुचारु हुन सकेको छैन । यस्तै स्थितिमा सरकारी विद्यालयमा विद्यार्थीको अभिलेखीकरण गर्ने पाठ्यपुस्तक वितरण गर्ने काम सकाइसकेका छन् । घरघरै रहेका विद्यार्थीलाई पठनपाठनमा सहजीकरणका लागि अहिले विद्यालयका शिक्षकहरु घरघरै पुगेर विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सहभागी गराउन लागी परेका छन् ।
हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभुत विद्यालयका शिक्षकहरु सिकाई सहजीकरणका लागि पाँचदिनदेखि विद्यार्थीको घरघरमा पुगेका छन् । टोल–टोलमा पुगेर विद्यार्थी भेला गरेर शिक्षण सिकाईको अभ्यासमा सहजीकरण गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बताउनुभयो । ५ दिनमा अधिकांश विद्यार्थीलाई भेटेर सिकाई सहजीकरण गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई भैरवडाँडा, भैरवकुञ्जटोल, सिमलटार, गोल्फिनटार, दुम्सीडाँडा, मामाघर नेपाल, शहीद स्मारक पुगेर विद्यार्थीको समूहलाई सिकाई सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई भेटेर शिक्षकको समूहले गृहकार्य परीक्षण गरेको, थप गृहकार्य दिइएको, पाठअनुसार थप सिकाईका कुरा गरिएको, विद्यार्थीले नबुझेका कुरामा छलफल गरिएको प्रधानाध्यापक खनालले बताउनुभएको छ । सम्भव भएका सबै शिक्षक सहभागी भएर विद्यार्थीको सिकाईका लागि घरघर पुगेको उहाँले स्पष्ट पार्नुभएको छ । आनन्द भैरव आधारभूत विद्यालयले भौतिक दुरी कायम गरेर नियमित पठनपाठन समेत सुचारु गर्ने प्रयास गरेको थियो । तर, अभिभावक र सामाजिक अगुवाहरुले कोरोना भाइरसको संक्रमणको जोखिम रहने भन्दै विद्यालयलाई पठनपाठन सुचारु गर्ने काममा होसियारी अपनाउन आग्रह गरेसँगै विद्यालयले पठनपाठन रोकेर विद्यार्थीलाई घरघरमै पुगेर समूह समूहमा सिकाई सहजीकरणको कार्य गरिरहेको छ ।
हेटौंडाः बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो ।
मन्त्रीहरुको जवाफ पछि नेकपा बाहेक सबै दलहरुले बजेटमा असहमती जनाएपनि नेकपाको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो । बजेटमा नेपाली कांग्रेस, विवेकशील साझापार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्रले बजेटको विपक्षमा रहेका थिए ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले अघिल्लो ०७६÷०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो । गत आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ०७७÷०७८ मा प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरेको छ ।
सबैको समन्वयमा काम गर्छौ ः प्रदेश सरकार
बजेटको छलफलमा उठेको जवाफ दिँदै प्रदेश सरकारले स्बै राजनीतिक दल र सरकार सँग समन्वय गरेर काम गर्ने बताएको छ । जवाफ दिँदै बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले प्रदेश संघीय र स्थानीय तहसंग मिलेर काम गर्ने बताएका हुन् ।
उनले प्रदेश सरकारले काम गरिरहेको भन्दै आफ्नो घर अघि काम भएमात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे । उनले २ बर्षभित्र प्रदेशभरीमा १ सय ७९ किमि सडक ढलान तथा कालोपत्रे गर्ने काम भएको, ३३ पुल निर्माण, ८ सय ७ किमि सडक निर्माण र ३ सय २० किलोमिटर सडक ग्राभेल भएको बताए ।
उनले कोरोना भाईरसको संक्रमण रोक्न र संक्रमितलाई उपचार गर्न औजार तथा उपकरण खरिद, आईसोलेसन, क्वारेन्टाईन, पिसिआर लगायतका कामका लागि कार्यक्रममा समेटेको छ । ६६ वटै निर्माण क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको उनको भनाई छ । उनले कोरोनाका कारण अधुरा योजनाको अवस्था हेरी म्याद थप गर्न संघीय सरकारसंग समन्वय गर्ने बताए ।
नयाँ खेलकुद विकास ऐन २०७७ बिहीबारदेखि लागू भएपछि राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले २०७५ फागुन २६ गते खेलकुद विधेयकलाई राष्ट्रिय सभामा पेश गर्नुभएको थियो । यसपछि यस विषयमा पर्याप्त छलफलपछि गत असार ११ गते राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नुभएको थियो ।
ऐनमा उल्लेख भएअनुसार प्रमाणिकरण भएको एक सातापछि सो कानून लागू हुनेछ । खेलकुदमा नयाँ ऐनको आगमनले राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीको पद पनि स्वत खारेज भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आफु कार्यालयमा उपस्थित हुन नसकेको बताउनुभयो ।
नयाँ कानूनले उहाँको पद पनि स्वत समाप्त भएको छ । अब यसका लागि विकल्प यही हुनेछ कि राष्ट्रिय खेलकुद परिषद्मा छिटै सदस्यसचिव र पदाधिकारीको नियुक्त हुनु हो । जसमा सिलवाल स्वयम पनि नयाँ नियुक्तिमा आउन सक्नुहुन्छ । या खेलकुद मन्त्रालयले उहाँको सट्टामा नयाँ सदस्यसचिव पनि ल्याउन सक्नेछ ।
मन्त्रालयले नयाँ ऐनमा व्यवस्था भएका कानूनी प्रक्रिया र प्रावधानबारे आन्तरिक छलफल गरिरहेको जानकारी गराएको छ । प्रवक्ता मानबहादुर विकको अनुसार राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी नियुक्तिको प्रक्रिया लम्बिने सक्ने र ऐनमै उल्लेख भएअनुसार कर्मचारीबाटै निमित्त जिम्मेबारी दिन सक्नेछ ।
नयाँ कानून आयो पनि असारको मध्य समयमा । आर्थिक वर्षको अन्तिम समयमा राष्ट्रिय खेलकुद परिषद पदविहीन हुँदा काम कारवाहीमा पक्कै प्रभावित हुनेछ । यस्तो नहोस भनेर निमित्त जिम्मेबारी दिन सकिने प्रवक्ताको भनाई छ । उहाँले मन्त्रालयकै कर्मचारी वा राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ कर्मचारीलाई निमित्त जिम्मेबारी दिन सकिनेछ । उता नयाँ कानून लागु भएर पदविहीन हुनुभएका सदस्यसचिव सिलवालले अन्योल धेरै दिन राख्न नहुने बताउनुभयो ।
न्युज अफ नेपाल
एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मेड्रिडले ४ अंकको स्पष्ट अग्रता बनाएको छ । लिगको ३३औं चरणको खेलमा रियलले छैटौं स्थानको गेटाफेमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै उपाधि होडमा चार अंकको अग्रता बनाएको हो ।
दवाबपूर्ण खेलमा रियललाई घरेलु मैदान अल्फ्रेडो डेस्टेफानोमा जित दिलाउन खेलको अन्तिम समयतिर कप्तान सर्जियो रामोसले गरेको १ मात्रै पेनाल्टी गोल नै निर्णायक सावित बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको ७९औं मिनेटमा रियलले पेनाल्टी पायो ।
ड्यानीले बल लिएर दौडिरहेका बेला बक्समा गेटाफेका खेलाडीले फाउल गरेर लडाएपछि रेफ्रीले रियललाई पेनाल्टी हान्ने अवसर दिएका थिए । जसमा कप्तान रामोसले बिना गल्ती बललाई जाली चुमाएपछि रियल १–० ले विजयी बन्यो ।
जितसँगै रियलले उपाधि होडमा ज्यादै महत्त्वपूर्ण ३ अंक जित्न सफल भएको छ । रियलले लिगका ३३ खेलबाट ७४ अंक जोडेको छ । समान ३३ खेल नै खेलेको बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोनालाई रियलले स्पष्ट ४ अंकले पछाडी पारेको छ ।
रियलले अंक अग्रता बढाउँदै लग्दा बार्सिलोनाको उपाधि होड भने झन् संकटमा परेको छ । अब लिगमा अन्तिम पाँच खेल बाँकी छन् । यी खेलमध्ये रियलले तीन खेल जित्दै एक खेल हारेर एक खेल बराबरी गरे पनि उपाधि जित्छ, यदि बार्सिलोनाले आफ्ना ५ मध्ये कुनै खेल हारे वा बराबरी गरे भने रियलले अझै चाँडो उपाधि जित्नेछ ।
तर, बार्सिलोनालाई भने उपाधि जित्नका लागि आफ्ना बाँकी ५ वटै खेल जित्नुका साथै रियलले २ खेल हार्नुपर्ने छ । ला लिगा अन्तर्गत शुक्रबारै भएको अन्य खेलमा अोसासुनाले आइबरलाई २-० ले तथा रियल सोसीडाडले ईस्पान्योललाई २-१ ले पराजित गरे ।