लकडाउनका कारण विद्यालय बन्द भएको अवधिमा कतिपय संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले तलब सुविधा नपाएको भन्दै मकवानपुरका संस्थागत विद्यालयका शिक्षक, कर्मचारीहरु आन्दोलित भएका छन् । संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले हेटौंडाको बुद्धचोकमा प्रदर्शन समेत गरेका छन् । संस्थागत विद्यालयले शिक्षक, कर्मचारीलाई सेवा, सुविधा उपलब्ध नगराएको विषयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीसँग गरिएकाे कुराकानीः
संस्थगत विद्यालय शिक्षक, कर्मचारी तलब सुविधाको माग गर्दै सडकमै उत्रिएकका छन् । शिक्षक, कर्मचारीलाई किन तलब नदिइएको ?
प्याब्सन मकवानपुुरले केही अगाडि आफ्नो मातहत रहेका विद्यालयहरुलाई चैतसम्मको तलब निकासा गर्न पत्र पठाइसकेको छ । अधिकांश विद्यालयहरुले चैत्रसम्म तलब वितरण गरिसकेका छन् । त्यसपछि बैशाख, जेठ महिना विद्यालय बन्द रहेको अवस्थामा कतिपय विद्यालयले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले छलफल गरेर केही रकम दिएकोे अवस्था पाएको छ । केही विद्यालयहरुमा आर्थिक अभावका कारण तलब नदिएको अवस्था छ ।
प्याब्सनले यो विषयलाई मिलाउन के गर्दैछ ?
सबै संस्थागत विद्यालयहरुलाई हामीले आफ्नो आफ्नो समितिमार्फत विद्यालय व्यवस्थापनहरुसँग छलफल गरेर अगाडि बढ्नुस भनेका छौं । अहिले निरन्तर रुपमा तेस्रो पटक प्याब्सन र एन प्याब्सन शिक्षा मन्त्रालयसँग निकासका लागि छलफल चलिरहेको अवस्था छ । यसबाट केही निश्कर्ष आउला भन्ने आशा लिएका छौं ।
के कति विद्यालयलाई बढी समस्या परेको हो ?
संस्थागत विद्यालयहरुमा आर्थिक समस्या धेरै छ । यो आर्थिक रेगुलेट हुने ठाउँ होइन । जब चालु पुँजी नै रेगुलेट ठप्प भएपछि समस्या आईपर्छ ।
तिनै शिक्षक, कर्मचारीको मिहिनेतले लामो समयदेखि आम्दानी गर्दै आएका विद्यालयले अहिले केही समयको गाह्रोमा यसरी तिनै शिक्षक कर्मचारीलाई बिचल्लीमा पार्नुहुन्छ ?
यो एकदम भ्रम हो । कुनै पनि विद्यालयले सञ्चित नाफा गरेर राख्ने अवस्था मकवानपुर जिल्लामा छैन । राजधानीका १०–२० वटा विद्यालयलाई हेरेर, मुुखले बोलेर हुँदैन । यथार्थ सबैलाई थाहा छ । यो रेगुुलेट हुने कुुरा हो । कुनै सञ्चित भएर विद्यालयहरुले संरचना बनाएको विद्यार्थीको शिक्षाको लागि हो । विद्यार्थीहरु पढ्न व्यवस्थापनको लागि हो । बैंकको लोन लिएर बनाएको अवस्था हो । यो समस्या सबै क्षेत्रमा पर्ने भएकोले शिक्षा क्षेत्रमा पनि असर परेकोे छ । केही विद्यालयले आन्तरिक व्यवस्थापन गरेर शिक्ष्ँकहरुलाई व्यवस्थापन गरेको अवस्था छ ।
अब तपाईहरुको भावी योजना के छ ?
यो शैक्षिक सत्र नेपाल सरकारले चाँडो खोेलोस भन्ने छ र केही सम्बोधन गरोस् भन्ने हाम्रो आशा छ । योे सुरु गर्नुस् विभिन्न चार्ट र तथ्याङ्क विधिहरु अपनाएर र यो शैक्षिक क्रियाकलाप सहजीकरण गर्नुस् भन्ने नेपाल सरकारले असार १ लागु गरिसकेको अवस्था छ । सबै कुरा रेगुलेट गर्ने अर्थतन्त्र नहुँदा संस्था नचल्ने अवस्था हुन्छ । एउटा जिन्सी संस्था चाहे सरकारी होस चाहे प्राइभेट संस्था होस अर्थतन्त्र रेगुलेट बन्द भएपछि समस्या हुन्छ । सबै कुरा गर्नुस तर पैसा चाही दिनु भएन भने सम्भव हुँदैन । लिने र दिने कुरा सहजीकरण गर्नुपर्छ भन्ने आशा लिएको छु । निकासको लागि छलफल भईरहेको छ । यसबाट केही हुुन्छ भन्ने आशा छ ।
समृद्ध समाजबाट
मकवानपुर/जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट जिल्लाकाे स्थानीय तहहरुकाे अनुमगमन गरेकाे छ । आइतबार मकवानपुरकाे एक मात्र उपमहानगरपालिका हेटाैडाको अनुगमन गरे पछी जिल्लाकाे १० अाेटै पालिकाकाे अनुगमन सकेकाे हाे ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहलाई परेका समस्याहरुका विषयमा जानकारी लिनुका साथै समग्र विष्यमा छलफल गरेको थियो ।
छलफलका क्रममा जिसस प्रमुख खुलालले जनताको नजिकको सरकारका रुपमा स्थापित स्थानीय सरकारले जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले हिजोकै जस्तो केन्द्रिकृत प्रवृतिमा जनताले सेवा प्राप्त गर्ने हो भने नजिकको सरकारको अनुभुति नहुने भन्दै नजिकको सरकारको अनुभुति हुने गरि सेवा प्रवाह गर्ने कुरामा ध्यान दिन सुझाव दिनुभयो । प्रमुख खुलालले स्थानिय तहहरुले यो तीन वर्षमा थुप्रै कामहरु गरेको र ती कामहरु लिपीबद्ध नभएको भन्दै हेटौंडा उपमहानगरपालिका सहित जिल्लाका सबै स्थानीय तहले गरेका कामको लिपिबद्धता गर्ने कुरामा समेत ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
प्रमुख खुलालले स्थानिय तहका जनप्रतिनिधिहरुमा काम गर्ने उत्साह धेरै भएको तर, नयाँ संरचना भएका कारण विभिन्न समस्याहरु सृजना हुने गरेको भन्दै त्यसलाई समाधान गर्दै संविधानको मर्म अनुसार अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले समाजमा नकारात्मकता बढ्दो रहेकाले समाजलाई परिर्वतन गर्ने प्रयत्न समेत स्थानीय तहले गर्नुपर्ने बताउनुभएको छ । उहाँले परिर्वतन गर्नुपर्ने कुरा धेरै भएको र त्यस्ता कुराहरु विस्तारै व्यवस्थित गर्दै जानुपर्ने र समाज परिर्वतनमा सबैको एकतावद्ध आवश्यक हुने धारण व्यक्त गर्नुभयो ।
छलफलमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आफुले चुनावी प्रतिबद्धता र घोषणपत्र अनुसार जनतासंग नजिक भएर आवश्यक्ताका आधारमा काम गरेको बताउनुभयो । घोषणा पत्रमा उल्लेख गरेको सबै कामलाई हेर्दै घोषणा पत्रमा नभएका काम समेतलाई प्राथमिक्ताका आधारमा गरेको बताउनुभयो । उहाँले हेटौंडा उपमहानगरपालिकाको आन्तरिक आय बलियो बनाउने तर्फ उपमहानगरपालिका सिंगो लागेको भन्दै काम गर्ने क्रममा केहि कानुनी अड्चनहरु आउने गरेको र त्यसमा जिससबाट सहजिकरणको अपेक्षा गरेको बताउनुभयो ।
विशेष गरि खरिद प्रकृया झंझटीलो र समय बढी लाग्ने हुँदा समयमा काम गर्न समस्या भएकाले यस विषयमा समेत जिससबाट सहजिकरणको अपेक्षा रहेको बताउनुभयो । छलफलमा उपमेयर मिनाकुमारी लामाले जिल्ला समन्वय समितिले सधैं अभिभावक्त्व प्रदान गरेको र आगामी दिनमा समेत समन्वय र सजजिकरणको अपेक्षा रहेको बताउनुभयो ।
छलफलमा मेयर महत, उपमेयर लामालगायत विषयगत शाखाका कर्मचारीहरुले चालु आर्थिक वर्षमा उपमहनगरपालिकाले गरेको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकारको वित्तीय हस्तान्तरण अनुदान तर्फ ८५ करोड २८ लाख १४ हजार, प्रदेश सरकार वित्तीय हस्तान्तरण अनुदान तर्फ २ करोड ५४ लाख २ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड तर्फ ५३ करोड ७२ लाख ४० हजार र आन्तरिक स्रोत परिचालनबाट १७ करोड ३ लाख ५६ हजार गरि कुल १ अर्ब ५८ करोड ५८ लाख रुपैया राजस्व संकलन गर्न सफल भएको जानकारी दिईएको थियो । त्यस्तै चालु आर्थिक बर्षमा चालु तर्फ ७५ करोड ३८ लाख २२ हजार अर्थात ७०दशमलव ३४ प्रतिशत र पूँजीगत तर्फ ३१ करोड ७७ लाख ४१ हजार अर्थात २८ दशमलव ४९ प्रतिशत गरि कुल १ अर्ब ७ करोड १५ लाख अर्थात् ४९ प्रतिशत रकम खर्च भएको जानकारी दिईएको थियो ।
त्यस्तै अन्तर सरकारी अख्तियारी तर्फ एकल खाता मार्फत भुक्तानी हुने राष्ट्रिय पञ्जिकरण तथा परिचयपत्र कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, गरिबसँग विशेश्वर कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ कुल खर्च गर्ने अख्तियारी बमोजिम ३५ करोड ४८ लाख ८५ हजार मध्ये यस अवधिमा ६३ प्रतिशत अर्थात रु.२२ करोड ३५ लाख ७६ हजार खर्च भएको जानकारी दिईएको थियो ।
चालु आर्थिक वर्षमा कोभिड–१९ का कारण बजेट कार्यान्वयनमा केहि कम देखिएता पनि विनियोजित अधिकांश योजनाहरु प्राविधिक रुपमा सम्पन्न भई भुक्तानीको चरणमा रहेकोले चालू आर्थिक वर्षको आषाढ मसान्तसम्म पूँजीगत खर्चको लक्षित प्रगति हाँसिल हुने अनुमान गरिएको जानकारी दिइएको छ ।
हेटौंडा।हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गर्नुभएको कोरोना (कोभिड—१९) विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ । डा. दासले नमूना औषधी तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको बताउनुभएको छ ।
सो प्रतिवेदन भित्रका मापदण्डहरु पूरागर्ने लामो प्रक्रियाको कारण तयारीमा केही समय लागेको डा.दासले बताउनुभयो । प्रतिवेदन कुरेर बसेकोले केही समय यो विषय ओझेल परेको जस्तो देखिए पनि आफ्नो कार्य निरन्तर भइरहेको उहाँको भनाई छ । डा.दासका अनुसार उहाँले आफ्नो प्रयोगशालामा कोरोनाको भाइरस हटाउनेसम्बन्धी ‘एण्टी अक्सिडेण्ट एक्टिभिटी’ र ‘इन्जियोमेटिक एक्सन’ भएका बिरुवाहरु लिएर त्यसमाथि आवश्यक शोध गरेर औषधी तयार गर्नुभएको छ । उहाँले कोरोना विरुद्धको खोप र खोपबाट हुनसक्ने एलर्जीका लागि समेत मुखबाट सेवन गर्न मिल्ने औषधी गरी दुबै औषधीको नमूना नै तयार भएको दाबी समेत गर्नुभएको छ ।
साथै उहाँले मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औषधीको समेत नमूना तयार भइसकेको र यी सबै औषधीको परीक्षणको लागि प्रतिक्षामा रहेको दाबी गर्नुभयो । आफुले तयार गरेको औषधी शतप्रतिसत सफल हुने दाबी गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाललाई निरीक्षण गराएर प्रतिबेदन बुझाएर यसबारेमा थप सहयोग पुगेको महसुस गरेको डा.दासको भनाई छ । उहाँले हाल नमूनाको रुपमा औषधी तयार रहेको र परीक्षण सफल भएमा ठूलो परिमाणमा औषधी बनाउन पनि समस्या नरहेको बताउनुभयो ।
विगत २२ वर्षदेखी अनुसन्धान तथा अध्यापन गर्दै आउनुभएका उहाँले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधी गर्नुभएको हो । यसअघि जेठ २२ गते उहाँले सार्वजनिक गर्नुभएको कोरोना विरुद्धको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जानकारी लिएको थियो । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित कार्यालयबाट नै भिडियो कोन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्षरुपमा कोरोना विरुद्ध निर्माण भइरहेको औषधी र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको डा.दासले जानकारी दिनुभयो । उक्त छलफलमा विश्व स्वास्थ्य संगठनले आफ्नो निर्देशिकामा आधारित रहेर दुई घण्टा लामो सवाल जवाफ पनि गरेको थियो ।
उक्त प्रयोगशालामा उत्पादन गरिएको औषधी सम्बन्धमा आवश्यक जानकारीका लागि सो अध्ययन संस्थानका प्रध्यापक दामोदर गैरेले डब्लुएचओमा लिखित प्रस्ताव पठाएपछि उक्त प्रयोगशाला पनि छनौट भएको बताउनुभयो । सर्वप्रथम नेपालको सम्बन्धित निकायसँग खोपको परीक्षण गराउनुपर्ने र नभए विश्व स्वास्थ्य संगठनसँग त्यसको प्रभावकारिता मुल्याङ्कनका लागि पहल गरिने कुराकानी भएको बताइएको छ । उक्त खोपका लागि प्रयोजन स्वीकृत भएमा ‘ट्रायल फन्ड’ का लागि पाँच लाख अमेरिकी डलर प्राप्त हुने समेत उक्त छलफलमा जानकारी गराइएको डा.दासले जनाउनुभयो ।
डा. दासले आफ्नो औषधीको विषयमा गर्नुभएको दाबी सफल हुनसक्ने विज्ञहरुको भनाई रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक डा.चन्द्रराज सापकोटाले आयुर्वेदिक पद्दतीबाट बनाइएको औषधी सफल हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीसँग परीक्षण गर्ने प्रयोगशाला भइदिएको भए हामीले प्रयोग गर्दै आएका गुर्जो, पिप्ला, मरिच, सुठो, बेसार मिलाएर बनाएको औषधीले काम गर्छ भन्ने प्रमाणित भइसक्ने थियो, तर प्रयोगशालाको अभावमा हामीसँग प्रसस्त सम्भावनाहरु भए पनि खुम्चिएर बस्नुपर्ने अवस्था छ ।” उहाँले यिनै जडिबुटीहरुको मिश्रणबाट डा.दासले औषधी तयार पार्नुभएको भए डा.दास सफल हुनुहुनेछ भन्नुभयो । आयुर्वेदिक औषधीबाट रुघा, खोकी, ज्वरो निर्मुल हुने भन्दै प्राडा. सापकोटाले कोरोना जीवाणु पनि स्वासप्रस्वाससँग बढी सम्बन्धित महामारी भएकोले डा.दासले जडिबुटीहरुको मिश्रणले तयार पार्नुभएको औषधीले काम गर्नसक्ने बताउनुभयो । उहाँका अनुसार कोरोना एक किसिमको कडा खालको रुघा नै रहेको र यसको आयुर्वेदिक उपचार सम्भव रहेको छ ।
डा.दासको उक्त कार्यलाई बागमती सरकारले प्रोत्साहन गर्दै सहयोग गर्ने भएको छ । यस्तो कार्यमा प्रदेश सरकारले चासो राख्ने सामाजिक विकास मन्त्री युवराज दुलाले बताउनुभयो । डा. दासले तयार पार्नुभएको उक्त औषधी परीक्षणको लागि प्रदेश सरकारले आर्थिक देखि अन्य आवश्यक सबै खालको सहयोग गर्ने पनि मन्त्री दुलाले बताउनुभयो । उहाँले डा. दासले औषधी तयार गरेको बताएको भए पनि यसको परीक्षणको प्रक्रियाबारे थाहा नपाएको कारण समय लागेको बताउनुभयो । उहाँले भन्नुभयो “डा.दाशले औषधीको लागि नेपाल सरकारसँग अनुमति लिनुपर्ने हुन्छ यो प्रक्रियामा जान सुझाएको छु यसका साथै उक्त प्रक्रियापछि उहाँ सही दिशामा हुनुहुन्छ वा हुनुहुन्न त्यो पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नै हेर्छ र उहाँको लागि आवश्यक सबै सहयोग प्रदेश सरकारले गर्नेछ ।” मन्त्री दुलालले आर्थिक कारणले उहाँको औषधी परीक्षण प्रक्रिया नरोकिने पनि बताउनुभयो ।
यता कोरोनाको औषधी बन्यो भनेर उत्साहित भएका सर्वसाधरणहरु भने लामो समयसम्म औषधीको प्रयोग तथा प्रक्रियाबारे थाहा नपाउदा निरास भएको बताउन थालेका छन् । हेटौंडा उपमहानगरपालिका —४ का ८९ वर्षीय कृष्णप्रसाद मैनाली भन्नुहुन्छ “कोरोनाको डरले घरभित्र नै थुनिएर बसेका हामी हाम्रो हेटौंडामा नै औषधी बन्यो रे भन्दा खुशी भएका थियौँ तर यतिका समय भयो औषधी खान पाउने खबर नआएकोले निराश भएका छौँ ।” उहाँ थप्नुहुन्छ “नेपालभर समाचार आएको र विश्वमा नै पुगेर विश्व स्वास्थ्य संगठनकै ध्यानाकर्षण भएको यो कुरा यत्तिकै त आएको होइन होला मन्त्रीले पनि हे¥या भन्ने सुन्थेँ, त्यसैले यो विषयलाई जतिसक्दो चाँडो प्रयोगमा ल्याउने वातावरण सरकारले मिलाओस् ।” औषधीको थप प्रक्रियाबारे जानकार नभएको बताउँदै मैनालीले औषधी बन्यो भन्ने समाचारले खुशी बनाएको र यसलाई प्रयोगशालासम्म लगेर यसको उपयोगिताबारे चाँडै बाहिर आओस् भन्ने हाम्रो माग हो ।
त्यसैगरी हेटौंडा—४ एकता टोल विकास संस्थाकी अध्यक्ष नमूना पाण्डेले कोरोनाको त्रासले आक्रान्त पारेको वर्तमान परिस्थितीमा आफ्नै गाउँ ठाउँमा कोरोनाको औषधी बनेको खबरले उत्साहित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “विश्यव्यापीरुपमा कोरोनाको महामारीको त्रासको अवस्था अझै कायमै रहेको तथा नेपालमा अझ यो महामारी बढ्दै जाने आशङ्काहरु बाहिर आएको अवस्थामा हामै घर आँगनमा औषधीबनेको खबरले यहाँका स्थानीय नागरिक एकदमै उत्साहित भएका छौँ ।”
यस विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो दिएर परीक्षण गराउनुपर्ने उहाँको भनाई छ । सर्वसाधरणहरुले उक्त औषधी छिट्टै प्रयोग गर्न पाइयोस् भन्ने प्रतिक्षामा रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । त्यसैले सबै स्थानीय नागरिकले आवश्यक पहल गर्न सरकारसँग माग पनि गरेका छन् ।
विश्वमा नै कोरोना बिरुद्धको औषधी निर्माण तथा परीक्षण जारी रहेका समाचारहरु आउने गरेका छन् । तर पनि यसको औषधी या खोप नै पत्ता लागिसकेको अवस्था भने छैन । यस्तो समयमा डा.दासको औसधीको परीक्षण सफल भएमा यो नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि ठूलो उपलिब्ध हुनेछ । यस महामारीको औषधि भारतीय आयुर्वेदिक औषधि निर्माण कम्पनी पतञ्जलीले निर्माण गरेको दाबी पनि गरेको थियो । तर सो औषधी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको परीक्षण नभएको र औषधी निर्माणको अनुमति समेत नलिएको भन्दै त्यो औषधीलाई प्रतिबन्द लगाइएको छ ।
एजेन्सी।कप्तान सर्गियो रामोसले दोस्रो हाफमा गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा ला लिगा लिडर रियल मड्रिडले एथ्लेटिको विल्वाओलाई १-० ले पराजित गरेको छ ।
रामोसले ७३ औं मिनेटमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल गरेका हुन् । विल्वाओका डानी गार्सियाले रियल मड्रिडका मार्सेलोलाई पाल्टी एरियामा फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । रेफ्रीले भीएआरको मद्दतमा लिएर रियललाई पेनाल्टी अवसर दिएका थिए । रामोसको उक्त गोल नै रियललाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
उक्त गोलपछि रामोस एकै सिजन ला लिगामा १० गोल गर्ने २००५ यता पहिलो डिफेण्डर बनेका छन् । २००५-०६ मा गेटाफेका डिफेण्डर मारियानो पर्नियाले उक्त उपलब्धी हासिल गरेका थिए ।
रामोसले कोरोना भाइरसको महामारीका कारण स्थगित भएको खेल सुरु भएपछि ला लिगामा ७ खेलबाट ५ गोल गरिसकेका छन् ।
जितपछि रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनामाथि ७ अंकको अग्रता बनाउँदै उपाधि होडलाई बलियो बनाएको छ ।
यद्यपि बार्सिलोनाले एक खेल कम खेलेको छ । रियलले ३४ खेलबाट ७७ अंक जोड्दा बार्सिलोनाको ३३ खेलबाट ७० अंक छ । बार्सिलोनाले आजै राती भियारियलसंग खेल्दैछ ।
वर्तमान मानव पुस्ताले भोग्नुपर्ने जटिल समस्याहरू मध्ये अहिले भोग्दै गरेको कोभिड-१९ बाट सिर्जित विश्वमहामारी सम्भवतः यो पुस्ताको लागि सबैभन्दा ठूलो चुनौति हो । विश्व समुदायलाई नै ‘एक’ थलोमा पुर्याउने यो महामारी सिंगो विश्वलाई धर्मराउने बनाउने पक्कै पनि एउटा डरलाग्दो र अकल्पनीय घटना बन्दैछ ।
हामीले उपयोग गर्दै आइरहेको सूचना स्रोतले एक तहको भुलभुलैया सिर्जनासमेत गरिरहेको भान हुन्छ । जुन दिन हामीले त्यस भुलभुलैयाबारे सुइँको पाउने छौं, त्यतिखेर धेरै ढिला भइसकेको हुनेछ । स्वयं मानव अस्तित्व नै उम्किनै नसक्ने गरी खतराको संघारमा पुगिसकेको हुनेछ । कोरोनाले धेरै मारमा परेकाहरू बिहान बेलुकीको छाक टार्न गाह्रो भएका गरिब, मजदुर, कामदार र सिमान्तकृत नै हुन् । यो वर्गलाई लक्षित गरेर ल्याइएका सामाजिक सुरक्षा र राहतका कार्यक्रमहरू लक्षित वर्गको पहिचान, कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र अनुगमन अनि अनियमितता गर्नेलाई कडा कारबाहीको अभावले गर्दा असफल भएका छन् । यो कुरा मेरो मन मस्तिष्कमा उकुसमुकुस भएर गाठो परेको छ । कुन उपाय र कस्तो मन्त्र अपनाउदा साँच्चिकै सबै तह–तप्काका व्यक्तिहरु जवाफदेही उत्तरदायी बन्छन् ? प्रश्न जीवित छ ।
म कविता खड्का, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ स्थित मध्य नेपाल मिडिया प्रा.लि.द्वारा संचालित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका तथा अनलाइनको सम्पादक हुँ । २०७३ सालदेखि वीरगञ्जका पत्रकार महिलाहरूको सकृयतामा प्रकाशन हुँदै आएको पत्रिका एक वर्ष पहिलादेखि नै हामीले आफ्नै कलर छापाखाना संचालन गरी रंगिनमा प्रकाशित गरिरहेका छौ । अहिले नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको धेरै दिन भइसकेको छ । हाम्रो टिम लकडाउनको पालनाको साथै सावधानी अपनाउदै निरन्तर काम पनि गरि नै रहेको छ । कहिले घर त कहिले कार्यालयमा बसे पनि प्रविधिको प्रयोग गरी लकडाउनको समयमा भएका समस्या र त्यसको प्रभावको बारेमा निरन्तररूपमा समाचार सम्प्रेषण र सत्य तथ्य समाचार पस्कने हाम्रो प्रयासमा बिराम लागेको छैन । हामीलाई लकडाउनको मारभन्दा पनि आफना पाठकमाझ पत्रिका पुर्याउन नपाउदा पिरोलो हुन्छ । हुन त यस्तो अवस्थामा हामीले पत्रिका बजारमा सबै पाठकमाझ सहज रूपमा पुर्याउन सकेका त छैनौं । पी.डी.एफ.मा निकालिरहेका छौं र अनलाईनमार्फत पाठकमाझ समाचार पुर्याउने प्रयास निरन्तर छ । तर जुन सन्तुष्टि पाठक बर्गमा पत्रिका पुग्दा हुन्थ्यो, त्यो सन्तुष्टि अहिले छैन ।

पाठक वर्गले पनि वर्तमान समस्यालाई बुझिराखेका छन् । जुन हिसाबले हाम्रो पत्रिका पढ्ने बानी उहाँहरूलाई थियो, त्यो उहाँहरूलाई पनि खल्लो लागिरहेको पाइएको छ । कतिपय पाठकले पत्रिका त बन्द हुँदैन । लौ न कसरी पढन पाइन्छ ? व्यवस्था मिलाउनु पर्यो भन्दा उहाँहरूलाई ईमेल र फेसबुकको माध्यमबाट जोड्ने कार्य गरि नै रहेका छौं । देशमा लकडाउन शुरू भएसंगै हामीले पनि त्यसको पालना गरी सकेसम्म भिडभाड नगरी काम गरिरहेका छौं । वीरगञ्जमा पहिलोपटक तीन जनामा कोरोना संक्रमण भेटिएपछि अझ सावधानी अपनाउदै समाचारहरू सामाजिक संजाल, वेबसाइट तथा ईमेलमार्फत पुर्याई नै रहेका छांै । हामी संचारकर्मीको भूमिका यस्तो बेलामा अझ बढी हुने भएकोले सावधानी अपनाउदै काम गरिरहेका छौं । बिपदको समयमा कसरी पत्रकारिता गर्ने ? आफू पनि सुरक्षित भई सम्पूर्णलाई सहज र सुरक्षित हुने किसिमको समाचार सम्प्रेषणमा हाम्रो टिम अहोरात्र खटिरहेको छ । त्यसको बारेमा सूचना आदान–प्रदानसमेत भइरहेका छन् ।
कामकै शिलशिलामा बैशाख ३० गते दुई जना पत्रकारसहित ५७ जना कोरोना भाइरसबाट वीरगञ्जमा संक्रमित भेटिएपछि एकाएक वीरगञ्ज क्षेत्र अझ त्रसित बन्यो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा शान्ति सुव्यवस्था कायम गर्न थप कडाइ ग¥यो । धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गर्यो । ३० गते मंगलबार बिहान दिउँसोसम्म पत्रकार दुव्र्यवहारको विरोधमा आन्दोलन गरिरहेका पत्रकारहरू मध्यकै दुईजना संक्रमित भएपछि वीरगञ्जको माहौल एकाएक फरक मोडमा पुग्यो । संचारकर्मीहरू पनि अलि बढी त्रसित भए । शुरूमा ५ बेड हुँदै २५ बेड, ५० र पछि ७० बेडको नारायणी अस्पतालको आइसोलोसन कक्ष केही दिनमा नै भरियो । सामान्य अवस्थामा रहेको वीरगञ्जमा पत्रकारसहित ३९ जना संक्रमितको खबर भुसको आगो जस्तै फैलियो । एकाएक सबैको फोनको घण्टी बज्न थाल्यो । सबैले एक अर्काको हाल खबर र आफूले भेटेको व्यतिmको बारेमा सोधखोज भयो । पत्रकारहरू जो जहाँ थिए, त्यहीँ रोकिए । बजारमा हुने घरतिर लागे, कार्यालयमा हुनेले थप सूचना खोज्न कार्यालयमै बस्ने वातावरण बनाउन थाले । साँझतिर निषेधाज्ञा जारी भएको र सबै पासहरू रद्ध गरिएको सूचना आएपछि केही पत्रकारहरू कार्यालयमै बसे र केही घरमा गएर होम क्वारेन्टाइनमा बसे । नेपालमा त्यो समयताका यति धेरै संक्रमित भेटिएको पनि पहिलो पटक नै थियो । प्रहरी प्रशासन लगायत यस क्षेत्रका सबैलाई अब के होला ? भन्ने कुरामा सबै झस्किए ।
मलगायत मेरा साथीहरू मध्य नेपालकै कार्यालयमा थियौं । त्यो दिन लगभग तनाब दिनेखालकै फोन आए । बाहिर नजाउ, घरबाटै काम गर, धेरै मान्छेसंग भेटघाट नगर भनेर हप्काउने मेरो मम्मीले त्यो दिन सम्झाउँदै केही हुन्न घर आऊ भनेर फोन गर्दा मेरा आँखा रसाए । धेरै सोचेर र अलिक तनाव कम भएपछि घर आएँ ।
भोलिपल्ट बिहानै सबै पत्रकारको स्वाव संकलन गर्ने सूचना आएपछि अलिक राहत महशुस भयो । तर घर फर्किरहँदा बाटोमा पत्रकारका ज्याकेट देखेर मान्छेहरू बाटो छोडेर साइड लाग्नथाले । मलाई महशुस भयो कि, हामीलाई हेर्ने दृष्टिकोण फरक भइसकेको छ । पत्रकार देखेपछि कुराकानी गर्ने, लकडाउन कहिले खुल्छ भनेर सोधिहाल्ने मान्छेहरू हामीसंग बोल्न डराउन थाले । दुई जना पत्रकार संक्रमित भएपछि सबै पत्रकार नै संक्रमित छन् जस्तो व्यवहार हुन थाल्यो । सामाजिक संजालमासमेत टिका टिप्पणी हुन थाले । कतिपय सरकारी कर्मचारीसमेतले पत्रकारलाई लक्षित गरेर व्यङ्गय गर्न थाले ।
हाल मध्य नेपालमा काम गर्र्ने २३ जना छौं । लकडाउनका कारण काम कम भएको र आलोपालो गरी डिउटी गरे पनि बस्ने टेबल कुर्सी, क्यामरा, शौचालय लगायत सामग्री साझा भएकोले एक जनामा पनि संक्रमण भएको भए हामी सबै जनामा हुने सम्भावना भएकाले मनमा डरत्रास कतिसम्म थियो भन्ने कुराको कुनै सीमा थिएन । हामीभन्दा पनि हाम्रा घर परिवारलाईसमेत यसको असर पर्ने संक्रमित हुने सम्भावना मनमा आउथ्यो । आफूभन्दा पनि आफ्ना कारणले घर परिवार वा अरुलाई केही हुने हो कि ! भन्ने चिन्ताले सबैको रिपोर्ट नआउञ्जेल निन्द्रा नै हराएको थियो । कार्यालयको प्रमुख भएको नाताले मलाई धेरै फोन आइरहयो । कार्यालयमा काम गर्ने सहकर्मीलगायत त्यहाँ आएकाहरूले चासो व्यक्त गरिरहेका थिए । कोरोना पोजेटिभ भयो भने के गर्ने ? भन्नेसमेत सोधे । सहकर्मीका कतिपय परिवारले त्यही दिनबाट पत्रकारिताको पेशा नै परिवर्तन गर्नुपर्ने खालका कुराहरू गरिरहेका थिए । मानौं कि पत्रकारलाई मात्र कोरोना लाग्ने रहेछ जस्तो गरी ।
हुन त यो पेशा चुनौतीपूर्ण नै छ । तर पहिला ठिक र केही भए बेठिक, यस्तो मानसिकता हाम्रो समाजमा देखियो । त्यो समयको म कल्पनासमेत गर्न सक्दिन । कोरोना मैले नै सारेको र म नै पोजेटिभ हुँ भन्नेजस्तो मलाई भान भएको थियो ? मेरो करकापमा कोही सहकर्मी कार्यालय आएका होइनन् भन्ने कुरा बिर्सेको मलाई महशुुस भएको थियो । अरुलाई त आफ्नो र आफ्नो घर परिवारको मात्र चिन्ता थियो । तर मलाई अझ बढी दवाव र जिम्मेवारी अनि सबैले सोध्ने प्रश्नको उत्तर मैले त्यो बेलामा रेडिमेड बनाएर राख्नुपर्ने थियो । फोन उठाउन त के, जवाफ दिउँ कि, फोन नै नउठाउँजस्तो । झन् त्यसको परिणाम के आउने हो, केही थाहा थिएन । केही हुन्न भनेर सबैलाई जवाफ दिन्थे । हामीले केही दिन अगाडिमात्र सबै कर्मचारीको कोभिड १९ को बिमा गराएकाले केही सान्त्वना दिने साहस एउटा त्यही मात्र छ ।
हामी पहिलादेखि नै शर्तक रहेकाले उहाँको घर जाँदा मास्क र पञ्जा पनि लगाएका थियौं । उहाँको घरमा बसुञ्जेल सामाजिक दुरी पनि कायम गर्यौं। तर जब पत्रकार साथीहरू संक्रमित भएको खबर आयो, उहाँले लगभग मलाई ३ दिनमा २१ पटक फोन गर्नुभयो । चियाले पनि सर्छ भनेर सुन्दै छु, तपाइंले त हाम्रो घरमा चिया पनि खानु भएको छ । मेरो बाबुलाई चकलेट पनि दिनुभएको थियो । अब के होला ? उहाँका यस्ता प्रश्नको जवाफ मसंग थिएन । जिन्दगीमा पहिलोपटक चिया होइन, त्यो दिन मैले बिष पिए झैं भयो ।
लकडाउनका कारण सबैजना घरमा बसिरहेका थिए । मेरो घरको छेउमा एक जना आन्टी हुनुहुन्छ । उहाँ धार्मिक व्यक्ति भएकाले लकडाउनको समयमा घरमै बसेर सामाजिक संजालमार्फत धार्मिक गीत गाउनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो, ‘मैले एउटा कोरोना सम्बन्धी गीत बनाएको छु, यसलाई रेकर्ड गरेर भिडियो बनाईदिनु ।’ मैले पनि यस्तो समयमा, त्यो पनि कोरोनाकै गीत किन नबनाई दिने ? गीत रेकर्ड गराउनका लागि उहाँ त्यही दिन अर्थात ३० गते नै कार्यालय आउनुभएको थियो । सहकर्मीले उहाँको गीतको भिडियो रेकर्ड गरिसकेर आन्टी कार्यालयमै हुँदा पत्रकार संक्रमित भएको खबर हामीले पाइसकेका थियांै । हामीले कुरा लुकाएनौं उहाँलाई मैले भनें । त्यो बेला मुख मलिन भएको थियो । तर अरुजस्तै उहाँले आफ्नो तनाव बाहिर देखाएर हामीलाई त्रसित बनाउने काम गर्नु भएन । यद्यपि कार्यालयकै केही सहकर्मीहरूले भने नबुझ्ने तरिकाले मलाई ब्यङ्गय गरिरहेका थिए । हुन त यहाँ यस्तै चलन छ । राम्रो भयो भने मैले गरेको, नराम्रो भयो भने अरुलाई दोष देखाउने ।
अर्काे एकजनाको व्यवहारले मलाई अलिक अप्ठ्यारो पा¥यो । एकजना मित्रले त्यही दिन मलाई आफ्नो घरमा बोलाएर चिया खुवाउनु भएको थियो । लकडाउनको बेला जान त हुँदैन्थ्यो । तर मिल्ने भएका र उहाँको घर गएपछि पत्रिकाका लागि अन्तरवार्ता लिने काम पनि हुने भएकाले म र एक जना सहकर्मी गयौं । मैले उहाँको घरमा जाँदा उहाँको छेरोको लागि चकलेट पनि दिएको थिएँ । हामी पहिलादेखि नै शर्तक रहेकाले उहाँको घर जाँदा मास्क र पञ्जा पनि लगाएका थियौं । उहाँको घरमा बसुञ्जेल सामाजिक दुरी पनि कायम गर्यौं। तर जब पत्रकार साथीहरू संक्रमित भएको खबर आयो, उहाँले लगभग मलाई ३ दिनमा २१ पटक फोन गर्नुभयो । चियाले पनि सर्छ भनेर सुन्दै छु, तपाइंले त हाम्रो घरमा चिया पनि खानु भएको छ । मेरो बाबुलाई चकलेट पनि दिनुभएको थियो । अब के होला ? उहाँका यस्ता प्रश्नको जवाफ मसंग थिएन । जिन्दगीमा पहिलोपटक चिया होइन, त्यो दिन मैले बिष पिए झैं भयो ।
धन्न तीन दिनपछि दुई जना संक्रमतिसहित पर्सा जिल्लामा १०४ जना पत्रकार सबैको रिपोर्ट नेगेटिभ आयो । तब अलिक राहत भयो । समाजका लागि रातदिन लड्ने पत्रकार संक्रमित हुँदा जुन किसिमको व्यवहार भोगियो, त्यो राम्रो भने पक्कै पनि थिएन । कतिपयले त पत्रकारलाई कोरोना लाग्दैनजस्तो गरेर जताततै विनाकाम हिँड्थे पनि । अरु सबैभित्र हुँदा पत्रकारले पहेलो ज्याकेट लगाएर गाडी चलाएको तर आफूले चलाउन नपाएको रिससमेत कतिपयले पोख्ने गरेको त्यो घटनाले भल्को दिइरहन्छ मलाइ ।
तर शुरूमा संक्रमित देखिएका वीरगन्जका सबै निको भएर डिष्चार्ज भएपछि अहिले वीरगञ्ज क्षेत्र अलि हडबडाउन छोडेको छ । पर्सामाभन्दा अहिले अरु जिल्लामा पनि बढी संक्रमित फेला परिरहेको अवस्थामा यस्तै पो रहेछ ! भन्ने मानसिकता स्थानीयमा विकास हुन थालेको छ । सरकारको तयारी, हाम्रो स्वास्थ्य संस्थाको क्षमता र सबै सर्वसाधारणको सुरक्षा सतर्कताको अवस्था भने अहिले कमी खड्किरहेको छ । सर्वसाधारणले पनि यो क्षेत्रमा भएका विभिन्न किसिमका आन्दोलनमा प्रहरीलाई छलेर बाहिर हिँडेकोजस्तो ठानिरहेका छन् । यो त आफ्नै सुरक्षाको लागि सतर्कता हो भन्ने धेरैले ठानेकय छैनन् । त्यसैले अहिलेको अवस्थामा अरुलाई दोषारोपण गर्नुको साटो आफू सुरक्षित हुनुवाहेक अर्को विकल्प नै के छ र ?
(वीरगञ्जकी क्रियाशील पत्रकार खड्का, वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ स्थित मध्य नेपाल मिडिया प्रा.लि.द्वारा संचालित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका तथा अनलाइनको सम्पादक हुनुहुन्छ ।)