मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चार्टर्ड एकाउन्टेन्ट (सिए) ले पाइरहेको समकक्षता सम्बन्धी समस्या सरोकारवाला पक्षको बैठक राखेर हल गरिने बताएका छन् । चार्टर्ड एकाउन्टेन्ट (सिए) ले पाइरहेको समकक्षता त्रिभुवन विश्वविद्यालयले स्थगित गरेकाे थियाे ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संघको प्रतिनिधिमण्डलसँग बुधबारको भेटमा मन्त्री श्रेष्ठले आश्वासन दिदैं भने ‘राज्यले पढ्न बोलाउने, पढाउने र पास गरिसकेपछि बेवारिसे बाउन मिल्छ र ?’ सिएलाई दिइँदै आएको समकक्षता स्थगन गर्ने त्रिभुवन विश्वविद्यालयको कदमप्रति प्रश्न गर्दै मन्त्री श्रेष्ठले भने, ‘तुरुन्तै त्रिभुवन विश्वविद्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ र शिक्षा मन्त्रालयबीच मिटिङ राखेर यो समस्या हल गर्न पहल गर्छु ।’
संघका अध्यक्ष आनन्द शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालयले सिए उपाधि प्राप्त गरेका विद्यार्थीलाई विगतमा दिँदै आएको स्नातकाेत्तर समकक्षता स्थगित गरेको जानकारी गराउँदै उक्त निर्णय फिर्ताका लागि पहल गरिदिन मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो ।
संघले कठोर मेहनत, धैर्य र लगनशीलताका साथ सिए उपाधि प्राप्त गरेका विद्यार्थी त्रिभुवन विश्वविद्यालयको कदमबाट प्रत्यक्ष प्रभावित भएको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले एउटा सूचना समेत प्रकाशित नगरी सिएलाई स्नातकोत्तरमा भर्ना नलिएको र समकक्षता दिने समयमा भर्ना भई अध्ययन सकेर अहिले उत्तीर्ण भएकालाई समेत ट्रान्स्कृप्ट र प्रमाणपत्र दिन इन्कार गरेको गुनासो मन्त्रीसमक्ष राखेको थियो । समकक्षताको प्रमाणपत्र उपलब्ध नहुँदा सम्भावित रोजगारीको अवसर, संस्थागत नियुक्ति, उच्च शिक्षा र अध्ययन, अनुसन्धान लगायत अवसरबाट सिएहरु बिमुख हुनुपरेको संघको गुनासो छ ।
‘विश्वभर चार्टर्ड एकाउन्टेन्टलाई कर, लेखा, लेखापरीक्षण तथा वित्त क्षेत्रका विषयविज्ञको रुपमा लिइन्छ र यसको पाठ्यक्रम सोही अनुसार डिजाइन गरिएको हुन्छ । विज्ञको रुपमा विश्वभर सम्मानित यो पेसालाई राज्यले उचित व्यवहार नगर्दा सिएहरु पेसागत सम्मान र सामाजिक प्रतिष्ठाका खोजी तथा उच्च शिक्षा हासिल गर्न बिदेसिने खतरा छ,’ संघको प्रतिनिधिमण्डलले भेटका अवसरमा शिक्षामन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद १४ मा शैक्षिक तथा प्राज्ञिक संस्थाहरु तथा तिनका प्रमाणपत्र वा उपाधिलाई मान्यता तथा समकक्षतासँग सम्बन्धित मापदण्ड अनुसार छलफल गरी यथाशीघ्र निर्णय गर्ने आश्वासन दिए पनि यस शैक्षिक सत्रमा उच्च शिक्षामा सिएहरुले भर्ना हुन नपाएको संघको गुनासो छ ।
अन्तर्राष्ट्रिय अभ्यासमा चार्टर्ड एकाउन्टेन्ट शिक्षाको एकेडेमिक कोर्स म्यापिङ गरी समकक्षता दिने व्यवस्था रहेको संघको भनाइ छ । संघले भेटमा भारत तथा बेलायतको समकक्षता प्रदान गर्ने निकायको सूचना पनि मन्त्रीलाई बुझाएको छ । समकक्षता स्थगनले सिए उपाधि प्राप्त विद्यार्थीको थप अध्ययन, सरकारी क्षेत्रमा रोजगारी तथा संस्थागत नियुक्तिमा समस्या खडा गरेको भन्दै संघले आवश्यक नीतिगत व्यवस्था गरी त्यस्ता विद्यार्थीलाई समकक्षता दिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
निर्जा श्रेष्ठले सहजीकरण गरेको प्रतिनिधिमण्डलमा संघका अध्यक्ष आनन्द शर्मा वाग्ले, उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र सदस्य कुनाल कयाल सहभागी रहेको संघले जनाएको छ ।
मकवानपुर/ मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ ।
२०७७ चैत्र ८ गते स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्ति र २०७७ चैत्र ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी विज्ञप्तिको परिपालना गर्नु जिम्मेवार संस्थाको कर्तव्य हुनेहुँदा सो सम्बन्धमा २०७७ चैत्र १० गते बसेको संघको कार्यसमिति बैठकको निर्णयानुसार वार्षिक सभा तथा निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । संघले परिस्थिति अनुकुल भएपश्चात उपयुक्त समयमा वार्षिक सभा तथा निर्वाचन सम्पन्न गर्ने जनाएको छ ।
कोभिडको नयाँ संक्रमण थप प्रभावशिल र जोखिमपूर्ण हुने समाचार आइरहदा संघले उद्योगी/व्यवसायी तथा आम सर्वसाधारण सचेत हुन र सुरक्षा सावधानीको सम्पूर्ण मापदण्डहरु परिपालना गर्न पनि अनुरोध गरेको छ ।
यसै बिच संघकाे अध्यक्ष पदका उम्मेदवार राजकुमार न्याैपानेले निर्वाचनकाे अन्तिम अवस्था कार्यक्रम स्थागित गरेकाे प्रति विराेध जनाएका छन् । हारकाे मानिसकताले निर्वाचन कार्यक्रम स्थागन गरिएकाे उनकाे दाबि छ ।
मकवानपुर । नारी सीप सिर्जना केन्द्रको आयोजनामा नेपालमा महिलाहरूको परिवर्तनकारी नेतृत्व परियोजनाको समिक्षा तथा लेखा परिक्षण कार्यक्रम गरिएको छ ।
अस्फाम नेपालसँगको साझेदारीता संचालित कार्यक्रमको समिक्षामा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना कुमारी लामा, थाहा नगरपालिका उपप्रमुख खड्ग गोपाली बागमती गाउँपालिक उपाध्यक्ष निर्मला हिमडुङ कैलाश गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङ, मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा भोलोनलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नारी सीप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले परियोजनाको अक्टोबरदेखि मार्चसम्म को आर्थिक र कार्यक्रम प्रगतिबारे समिक्षा गरेका थिए । नारी सीप सिर्जना केन्द्रका अध्यक्ष सरस्वती बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले महिला जनप्रतिनिधिको लागि पारिवारिक सहयोग बिना अर्थपूर्ण सहभागिता देखाउन नसकेको बताएका थिए । राजनीतिक पृष्ठभुमिबाट महिलाको नेतृत्वमा सकारात्मक प्रगती भए पनि पारिवारिक अवस्था उस्तै रहेको सहभागीले बताएका थिए ।
मकवानपुर । बागमती प्ररदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आफन्तको कारण नै मानव बेचबिखन बढेको बताएका छन् । खुल्ला सिमाना भएको कारण बेचविखनको समस्या बढी चुनौती भएको उनलेे बताएका हुन् । तर सिमाना खुल्ला हुदैमा बढेको समस्या सम्बोधन गर्न सरकारले उचित नीति बनाउनु पर्ने उनले बताए ।
मकवानपुरको हेटौंडामा मंगलबार आयोजित वैदेशिक रोजगारको चुनौती र सरोकारवाला पक्षको भूमिका बिषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री ढुङ्गेलले यस्तो बताएका हुन् । स्वयम् व्यक्ति आफैं चलाख नभएसम्म यो चुनौती सरकारको एकल प्रयासले मात्रै समाधान गर्न नसक्ने मन्त्री ढुङेलले बताए । आफूसँग भएको सिपको प्रयोग नगरेर वैदेशिक रोजगारमा आकर्षण हुने ट्रेन घटाउन सकेमा बिस्तारै वैदेशिक रोजाईको समस्यामा कमि ल्याउनु पर्ने ढुङ्गेलले बताए । वैदेशिक रोजगारबाट सीप सिकेर आएकालाई स्वदेशमा बस्नको लागि आयमुलक योजनामा प्रदेश सरकारले काम गरेको मन्त्री ढुङ्गेलले बताए । वैदेशिक रोजगारको समस्या सम्बोधन गर्न आमनागरिकलाई चनाखो बनाउनको लागि सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सेन्टर फर माईग्रेशन एण्ड इण्टरनेशनल रिलेशन्सको प्रतिनिधि बिभुती किरण घिमिरेले विकेन्द्रीकरण शासन व्यवहारमा नदेखिएको बताइन् । कोभिडको कारण समस्या परेर फर्केकाहरुलाई सम्बोधन गर्ने योजना नभएकोले समस्या भएको उनले बताइन् । अनुसन्धानको क्रममा भेटिएका सहभागीले सरकारद्वारा वैदेशिक रोजगार भन्दा स्वदेशी रोजगारलाई प्राथमिकता दिनुपर्ने माग गरेको उनले बताइन् । “स्थानीय सरकारले सरोकारवाला र नीति नियम तहमा समेत सहकार्य गरोस् भन्ने राय आएको छ” घिमिरेले भनिन् । स्थानीय तहको सरकारलाई सशक्त बनाउनु पर्ने माग स्थानीयहरुले गरेको उनले बताइन् ।
कार्यक्रममा माइती नेपाल मकवानपुर प्रमुख माया लामाले पासपोर्ट बनाउन आएका महिला पुरुषलाई परामर्श दिने क्रममा धेरै चुनौती रहेको बताइन् । सामाजिक सन्जालबाट भेटिने व्यक्तिको भरमा परेर वैदेशिक रोजगारमा जाँदा समस्या बढी भएको लामाले बताइन् । मानव तस्करीमा आफैं पनि जोखिम मोल्न तयार हुने गरेको पीडादायी घटना रहेको लामाले बताइन् ।
समता फाउन्डेसनको आयोजना र मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्र हेटौंडाको संयोजकमा कार्यक्रम भएको थियो ।
मकवानपुर । मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा ५० जना स्वास्थ्यकर्मी लाई हेटौँडामा भएको कार्यक्रमबिच मुख्यमन्त्री पौडेलले स्वागत गर्दै सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउँदै गरेकाेले स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन आउने बताएका छन् ।
पाैडेलले अब मकवानपुरको स्वास्थ्यकर्मीहरु पनि नेकपा एमालेको आस्थासँग जोडिएको भन्दै एमालेनै देशको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा मेडिकल ल्याब एसोशियसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा मकवनापुरका ५० जना स्वास्थ्यकर्मी प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सहसंयोजक हिरा लामा सहित उक्त संगठनका अधिकांश प्रतिनिधि, विभिन्न स्वतन्त्र स्वास्थ्यकर्मी, डाक्टरहरु आजको कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा मधु अर्याल, मिथलेश ठाकुर, पुष्पा रिजाल, नितुकुमारी बल, श्रीसा ढकाल, विमला ढुंगना, युनिश पन्त, प्रशान्त झा लगाएत नेकपा एमाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौँलागाईले नेकपा एमालेको नेतृत्वमा समग्र स्वास्थ्य क्षेत्रको हित हुने देखेर आफु नेकपा एमाले प्रवेश गरेको बताए । अब आफु नेकपा एमालेको सिपाई भएर काम गर्ने भन्दै मकवानपुर तथा बागमती प्रदेशको विकासको लागि प्रदेश सरकारले निकै मेहनत गरिरहेको बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, वागमती प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल,नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।