मकवानपुर । मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय ३५ वटा सवारी साधन नियन्त्रणमा लिएकाे छ ।
बैशाख २८ गते मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएकाे चेकिङ टोलीले मकवानपुर जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा चेकजाच गर्दा २ सय ३५ वटा सवारी साधन नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक जयश्वर रिमालले जानकारी दिए । निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल तथा स्कुटर, अटो, सानो गाडी, टिपरलगायतका सवारी साधनहरुको कागजपत्र समेत नियन्त्रणमा लिईएको रिमालले बताए ।
यसैगरी मंगलबार निषेधाज्ञामा अटेर गरी पसल संचालन गर्ने ८ जनालाई नियन्त्रणमा लिइएकाे छ । निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी तथा पसल संचालक ५७ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहिको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाईएको प्रवक्ता रिमालले बताए ।
मकवानपुर । मकवानपुरमा मंगलबार पनि १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण पुष्टि भएका हेटौँडा उपमहानगरपालिका वडा नं. १० का ७६ वर्षका बृद्धा घरमै बसेकोमा मंगलबार मृत्यु भएको हो ।
बैशाख १३ गते चितवन मेडिकल कलेजमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाई मृगौलाको समेत समस्या रहेकोले उपचारकाे लागि चितवन मेडिकल भर्ना गरिएकाेमा आज बिहान आज बिहान ३ बजे घर ल्याईएको थियो ।
घरमा ल्याए पछी उनकाे मृत्यु भएकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जनाकारी दिए ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कोरोना भाइरस संक्रमितको उपचारको लागि अक्सिजन सहितको ३० बेडकाे आइसोलेसन तयार गरिएको छ । बकैया ४ स्थित छतिवन प्राथमिक स्वास्थ्य केन्द्रमा २० बेड र बकैया–३ हात्तिसुँडे सामुदायिक स्वास्थ्य इकाईमा १० बेड आइसोलेसन तयार गरेको हो ।
स्वास्थ्य केन्द्रमा गाउँपालिकाले २० बेड र स्वास्थ्य इकाईमा बकैया–८ का ताराचन्द्र बजगाईले व्यक्तिगत खर्चमा १० बेडको आइसोलेसन तयार गरेका हुन् । बजागाई बुद्ध मावि व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । दुबै आइसोलेसनमा संक्रमितको लागि आवश्यक परेको अवस्थामा अक्सिजन सहितको स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गरिएको बकैया गाँउपालिका अध्यक्ष दामाेदर खनालले बताए ।
बकैया ३ को हात्तीसँडे स्वास्थ्य ईकाईमा बजागाईले व्यक्तिगत खर्चमा तयार गरेको १० बेडको आइसोलेसन वार्ड साेमबार दिउँसो गाउँपालिकाका अध्यक्ष दामोदर खनाललाई हस्तान्त्रण गरिएको हो । आइसोलेसन संक्रमितको सहजताका लागि व्यक्तिगत खर्चमा तयार गरेकाे बजगाईले बताए । ‘जिल्लामा संक्रमण बढिरेहको छ,संक्रमितहरुले अस्पतालमा बेड नपाईरहेको अवस्थामा संक्रमितलाई उपचारमा सहज होस् भनेर अक्सिजन सहितको बेड व्यवस्थापन गरेको हुँ’ बजगाईले भने । आइसोलेसन तयार गर्नको लागि करिब ३ लाख खर्च भएको छ ।

मकवानपुर जिल्लाका अन्य स्थानीय तहमा जस्तै बकैया गाँउपालिकामा समेत काेराेना संक्रमण बढ्दै गएकोले गाउँपालिका भित्रका संक्रमितको उपचारको लागि गाउँपालिका तयारी अवस्थामा रहेको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । ‘काेराेना संक्रमणबाट बकैया गाउँपालिका पनि अछुतो छैन’ खनालले भने ‘अहिले ४ जनामा संक्रमण देखिएको छ ।’ तयारी स्वरूप आइसोलेन वार्डहरु तयार गरिएकाे, सूचना प्रवाह समेत भइरहेकाे र अक्सिजन सहितको आइसोलेन वार्ड तयार गरिएकाे खनालले बताए ।
मकवानपुर । मकवानपुरकाे ३ स्थानीय तहमा पूर्ण र १ स्थानीय तहमा जारी निषेधाज्ञा कडा गरिने भएकाे छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाँउपालिका बजार क्षेत्रमा निषेधाज्ञाको लागु हुँदा पनि चहलपहल बढेकाेले जिल्ला प्रशासन कार्यालयले साेमबार बैशाख २७ गतेबाट अझ कडाई गर्ने भएको हो ।
अहिले काेराेना संक्रमणकाे अवस्था गम्भिर बन्दै गएकोमा जनताले प्रशासनलाई साथ नदिए स्थिती झन कडा हुने प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेले बताए । निषेधाज्ञा उल्लघन गरी सवारी साधन चलाएकाे पाइएमा सवारी साधन होल्ड गरिने पाण्डेले बताए । उनले अतिआवश्यक नभई घरबाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह समेत गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यलय मकवानपुरले सूचना जारी गरी निषेधाज्ञाका बाबजुद बिहान र बेलुका बाहिर मानिसहरूको भिडभाड देखिएको हुँदा औषधी उपचार र तोकिएको समयमा अत्यावश्यक खाद्य सामग्री खरिद गर्न बाहेक अन्य प्रयोजनका लागि बाहिर हिंडडुल नगर्न, नगराउन भनेकाे छ ।
यसै गरी अत्यावश्यक खाद्य सामग्रीहरू नजिकको स्थानीय पसलमा नै खरिद गर्न, विरामी बोकेका सवारी साधन, जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरू एवं तोकिएका सवारी साधनहरू बाहेक अन्य सवारी साधनहरू सञ्चालन नगर्न, नगराउन सबैमा अनुरोध गरेकाे छ ।सूचनाको अवज्ञा गरी अनावश्यक बाहिर हिंडडुल (पैदल वा सवारी साधनमा) गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडाभन्दा कडा कारबाही हुने प्रशासनले जनाएकाे छ ।
९० सवारी नियन्त्रणमा
यसै गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार जिल्लामा निषेधाज्ञा अटेर गरेर चलाएको ९० सवारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नायव उपरीक्षक समेतको चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाइकल तथा स्कुटर ५६ वटा, अटो १० वटा, ट्रक १५ वटा, कार २ वटा र बस ७ वटा गरी जम्मा ९० वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञा अटेर गरी पसल संचालन गर्ने २ जना पसल संचालकलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम आवश्यरक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारी साधन कोरोना संक्रमितलाई बोक्न प्रयोग गरिने भएको छ ।
गाउँपालिकामा जनप्रतिनिधिले प्रयोग गर्दे आएको बा १ झ ९२०४ नंबरको सवारी कोरोना संक्रमित बिमारीलाई अस्पताल लैजाने तथा ल्याउने काममा प्रयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनले जानकारी दिएका छन् ।
गाउँपालिकाकाले एक सूचना जारी गर्दै जनप्रतिनिधिले प्रयोग गर्ने एउटा सवारी साधन र वडा नंबर २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीको एम्बुलेन्स समेत कोरोना संक्रमित अस्पताल लैजान तथा ल्याउन प्रयोग गरिने जनाएकाे छ