मकवानपुर । जेसीआई हेटौंडा लेडीको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम गरेकाे छ । काेराेना भाइरसकाे संक्रमण कोभिड–१९ महामारीका कारण रगतको अभाव भएकाे समयमा जेसीआई हेटौंडा लेडीले रक्तदान कार्यक्रमको आयोजना गरेको हाे ।
जेसीआई हेटौंडा लेडी रक्तसञ्चार केन्द्रमै पुगेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएकाे ३ दिनअघि मात्रै रक्तदान कार्यक्रम तय गरिएको कार्यक्रम संयाेजक जेसी सुनिता राइ श्रुतिले बताइन् ।
जेसीआई हेटौंडा लेडीले कोरोना महामारीको समयमा सर्वसाधारणलाई सचेतना अभिवृद्धि गर्ने, विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्ने, हेटौंडा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्ने लगायतका कार्य गर्दै आएको छ ।
सामाजिक सेवाका लागि स्थापित संस्थाका जेसीआई हेटौंडा लेडीले आफ्ना पदाधिकारी तथा सदस्यहरुको सहभागितामा स्वास्थ्य सतर्कताका उपाय अपनाएर सहयोगीको साथ र सहयोगमा आवश्यक कार्य गरिरहेको जेसीआई हेटौंडा लेडी अध्यक्ष प्रतिमा श्रेष्ठ बताइन् ।
मकवानपुर । मकवानपुर प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ गरेकाे छ । जेठ ९ गते ४२ वर्षीया श्रीमती सुनिता थापा मगरलाइ कुटपिट गरी हत्या गरेकाे आराेपमा बारा निजगढ नगरपालिका रामथली घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं १० बस्ने ५४ वर्षका माइला भन्ने कृष्ण बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
जेष्ठ ९ गते दिउँसो हेटौंडा–१० न्युरेनी स्थित भुटनदेवी सामुदायिक जंगलमा शव फेला परेकाे थियाे । वेवारिसे अवस्थामा फेला परेको उक्त शवकाे पहिचान खुल्न आएकाेले मोक्तानकाे पहिचान पछी सोमबार हेटौंडा–८ कमानेबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले जानकारी दिए।
मकवानपुर । बागमती प्रदेश सभाको बजेट (आठौ)ं अधिवेशन आह्वान गरएिको छ । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आगामी जेठ १६ गते आइतबारको लागि नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बजेट अधिवेशनको आह्वान गरेका छन् ।
शुक्रबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले १६ जेठमा आठौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोही अनुसार प्रदेश प्रमुख प्रसाइले बैठक आह्वान गरेका हुन् । आठौं वजेट अधिवेशनमा आगामी आर्थिक वर्षको २०७८/०७९को नीति तथा कार्यक्रम र प्रि बजेट छलफलका लागि बैठक आह्वान भएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले विद्युतीय बस खरिद गर्नुअघि चार्जिङ सेन्टरलगायत पूर्वाधार निर्माण हुनुपर्ने विषयमा सरकारको जवाफ मागे पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै संसद बैठक पटक पटक अवरुद्ध गरे पछी प्रदेशसभाको ७ औं अधिवेशन गत बैशाख ९ गते अन्त्य गरिएको थियो ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा काेराेना संक्रमितलाई घर र अस्पतालमा सेवाको पहल सुरू गरेकाे छ । मकवानपुर जिल्लामा कृयाशील विभिन्न संघसंस्थाको संयुक्त पहलमा ‘कोभिड हेल्प डेस्क मकवानपुर’ सञ्चालनमा ल्याइ सहयाेगकाे पहल थालेकाे संघले जनाएकाे छ ।
काेराेना संक्रमण खेपिरहेका विरामीहरू होम आइसोलेसनमै रहँदा कुनै कठिनाइ भएको वा अस्पतालमा रहँदा समस्यामा परेकाहरूकाे लागि उपचार सेवा दिन मकवानपुर उद्याेग वाणिज्य संघकाे पहलमा नागरिक समाजबाट भरपर्दो र उचित सेवाको थालनी गरिएकाे हाे ।
संघको सचिवालयमा स्वास्थ्यकर्मीसहितको टोली रहने तथा टोलीका सदस्यहरुले संक्रमितलाई काउन्सिलिङ गर्ने गरी व्यवस्था मिलाइएकाे संघ अध्यक्ष कृष्ण कटुवालले बताए । ‘स्वास्थ्यकर्मीले संक्रमितसंग कुराकानी गर्नेछन्, कुनै कठिनाइ भए तत्काल अस्पताल ल्याउन या संक्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधिको व्यवस्था हुनेछ’ कटुवालले भने ।
‘हेटौंडा अस्पताल र अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग हुनेछ,’ कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी संघ हेटौंडाका महासचिव सरोज खनालले भने,– ‘अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर सक्रिय रहनेछौं ।’
यसैगरी मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील संघसंस्थाहरुले कोभिड १९ न्यूनिकरण अभियान एकीकृतरुपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क मकवानपुर स्थापना गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक संघका अध्यक्ष कटुवाल रहेका छन् ।
डेस्कको सदस्यहरुमा नारायणी संघ हेटौंडाका सरोजकुमार खनाल, नारायणी यातायात कम्पनीका गोकर्ण पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका श्यामसुन्दर ढकाल, मकवानपुर होटल एशोसिएसनका शंकरलाल श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, उपभोक्ता मब्चका कुमार पौडेल, लायन्स क्लबका शम्भु नकर्मी र टासिडोल्मा तुम्बाहाम्फे, नेपाल पत्रकार महासंघका मणिराज गौतम, रामकुमार एलन र अञ्जली थापा, मकवानपुर उद्योग वाणिज्य संघका माधव न्यौपाने र कृष्ण कुमार गुप्ता अग्रवाल सदस्य छन् ।
यस्तै, सामुदायिक प्रहरी सेवा केन्द्रका राम विष्ट, नेपाल औषधि व्यवसायी संघका नारायण श्रेष्ठ, कृष्ण प्रणामी समाजका बद्री चौलागाई, मारवाडी एशोसिएसनका पवन अग्रवाल, नारायणी पेट्रोलियम विक्रेता संघका उत्सव इटेनी र सार्वजनिक मकवानपुर यातायातका ज्ञानेन्द्र कार्की पनि सदस्य छन् ।
डेस्कको सल्लाहकारमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नारायणी संघका अध्यक्ष हीरालाल श्रेष्ठ र नेपाल एल पि ग्या“स उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरे रहेका छन् ।

यस्तै संक्रमितलाई उपचार, सेवा र औषधि वितरण प्रभावकारी बनाउन डेस्कले ७ सदस्यीय सचिवालय पनि गठन गरेको छ । कृष्ण कुमार गुप्ता अग्रवालको संयोजकत्वमा सरोज खनाल, बासु अतिवडा, राम विष्ट, शंकरलाल श्रेष्ठ, नारायणी यातायात कम्पनीका एकजना प्रतिनिधि र रामकुमार एलन सदस्य रहेकाे सचिवालय गठन गरिएकाे हाे ।
‘कोभिड हेल्प डेस्कसंग अहिले २५ थान अक्सिजन सिलिण्डर छ, संयोजक कृष्ण कटुवालले भने, ‘हेटौंडाबाहेक अन्य स्थानीय तहमा सिफारिस अनुसार अक्सिजन उपलब्ध गराउछौं ।’ डेस्कले अक्सिजन सिलिण्डरसंगै पिपिइ, औषधि, बिरामीलाई पौष्टिक आहार पनि उपलब्ध गराउने छ । आवश्यक्ता अनुसार उपचार सेवा पनि उपलब्ध हुने कटुवाल बताउँछन् ।
बिरामीलाई अस्पताल ल्याउन या अस्पतालबाट घर पठाउदा अक्सिजन सिलिण्डरको अभावमा कन्सन्ट्रेटर पनि प्रयोगमा ल्याउन सकिन्छ । ‘हामीसंघ दुईवटा कन्सन्ट्रेटर पनि उपलब्ध छ,’ कटुवालले भने, ‘कम्युनिटी पार्टनर्स इन्टरनेशनल तथा एन. आई. डि. यस. नेपाल, काठमाडौंले उक्त कन्सन्ट्रेटर सहयोगस्वरुप उपलब्ध गराएको हो ।’
आइसोलेसनको तयारी
मकवानपुरमा काेराेना संक्रमित हाल घरमै धेरै रहेका छन् भने संस्थागत अाइसाेलेसनमा केही रहेका छन् ।उनीहरुलाई परामर्श र उपचारमा डेस्कले सहयोग गर्ने हो । थप उपचारका लागि अस्पतालमा बेड अभाव र आइसोलेसनमा ठाउँ अपुग हुने अवस्था रहेकाेमा मउवासंघको पल्पसा हलमा आइसोलेसन सेन्टर सञ्चालन तयारी गरिएकाेछ’, डेस्कका सचिवालय सदस्य सरोज खनालले भने, ‘पल्पसामा आइसोलेसन चलाउन हामी तयार छौं र स्थानीय प्रशासनबाट अनुमति भए तत्काल स्वास्थ्यकर्मीकै निगरानीमा सञ्चालन गर्नेछौं ।’
यसैगरी, कोभिड संक्रमित, संक्रमितको परिवार वा छिमेकी जाे काेहीलाइ पनि कुनैपनि बेला डेस्कको सचिवालयबाट फोन आउन सक्ने बताइएकाे छ । बिरामी अवस्था, केही आवश्यक पर्ने भए डेस्कको टोली काेराेना संक्रमित कहाँ औषधि र अन्य सामग्री बोकेर आउनेछन् । लोकेसन सोध्न ०५७५२०३१०, ५२३३१० र ५२१२६० बाट फोन गर्ने गरी व्यवस्था मिलाइएकाे खनाल बताउँछन् । बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कोभिड संक्रमणको सूचना, सहयोगका लागि उक्त नम्बरमा फोन गरी जानकारी गराउन समेत सकिने खनालले बताए ।
काेराेना सक्रमितलाइ अप्ठ्याराे भएमा अस्पताल जानु पर्ने अवस्था भएका खबर पाउने बित्तिकै अक्सिजन सुविधासहितको एम्बुलेन्स सहयाेगकाे लागि तयारी अवस्थामा राखिएकाे छ । अस्पताल आउन वा अस्पतालबाट घर फर्किन स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स सेवा उपलब्ध रहेकाे खनालले जानकारी दिए ।
नागरिक समाजका तर्फबाट चलाइएको अभियानमा मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनीले डेक्स सञ्चालनका लागि केही आर्थिक जोहो गरेका छन् । ‘पैसै नभएर उपचार नपाउने अवस्था नआओस् भन्नेमा छौं’, संयोजक कटुवालले भने, ‘सेवा सुविधासंगै बिरामीको अवस्था हेरेर आर्थिक सहयोग पनि गरिने छ ।’ यो अभियानमा नागरिक सामाजका सदस्यहरु निस्वार्थ जोडिएका छन् । सकेको स्वास्थ्य सामग्री, औषधिलगायत आर्थिक सहयोग गर्न समेत कटुवालले अनुराेध गरेका छन् ।
मकवानपुर । हेटौंडा भेट्रान्स क्लबले लायन्स लियो कोभिड इमर्जेन्सी फण्डलाई रकम सहयोग गरेको छ । काेराेना भाइरसकाे संक्रमणकाे जटिल अवस्थामा मानवीय सेवामा अघि बढ्दै अक्सिजन खरिदका लागि कोभिड फण्डलाई भेट्रान्स क्लबले ४० हजार नगद सहयोग गरेको हो ।
भेट्रान्सका सदस्य कबिन सङ्गामीको संयोजनमा कोभिड फण्डलाई नगद सहयोग गरेको हो । शनिवार एक औपचारिक कार्यक्रम गर्दै भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले सहयोग रकमको चेक लायन्स ३२५ बि २ का डिस्ट्रिक गभर्नर शम्भु नकर्मीलाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै क्लबका उपाध्यक्ष बज्राचार्यले भेट्रान्स क्लबले आगामी दिनहरुमा पनि मानवीय सेवा र समाजसेवाको क्षेत्रमा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
लायन्स डिस्ट्रिक्ट गभर्नर नकर्मीले नगद सहयाेग गरेकाेमा भेट्रान्स क्लबलाई धन्यवाद दिए । यसैगरी कोभिड अस्पतालमा अक्सिजन र स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण गर्दै आएको उनले बताए । कोभिड इमर्जेन्सी फण्ड मुल समिति संयोजक, लायन्स ३२५ बि २ डिस्ट्रिक्ट क्यबिनेट सेक्रेटरी टासी डोल्मा टुम्बाहाम्फेले कोभिड नियन्त्रणमा राज्यबाट भएका काममा सहयोग गर्दै आएको बताए ।
लायन्सले २० वटा सिलिन्डर संकलन गरी आफ्नै खर्चमा बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको छ। उनका अनुसार हालसम्म १ सय जना अस्पतालका बिरामी र अक्सिजन लगाउनुपर्ने दीर्घरोगका बिरामीलाई सेवा दिइसकेको छ । यस्तै कोरोनाको तेस्रो लहरका लागि पनि पुर्व तयारीमा रहनुपर्ने अवस्था भएकोले सबैजना सहयोगी मनहरुको साथ सहयोग आवश्यक भएको नकर्मीले बताए ।
कार्यक्रममा लायन्स कोभिड फण्डका आर्थिक उपसमिति सहसंयोजक जेपी यादव, भेट्रान्सका बोर्ड सदस्य बासुलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ र सुरेन्द्र नकर्मीलगायतको उपस्थिति थियो ।