मकवानपुर । प्रदेश सभा बैठकमा संसदीय मर्यादा विपरीत बोलेको बारेमा सामाजिक सञ्जालमा व्यापक बिरोध आएपछि अन्ततः बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम बैद्यले आत्मा आलोचना गरेका छन् ।
बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको छलफलमा भागलिने क्रममामा २८ जेठमा आफूले दिएको मन्तव्यका बारेमा प्रदेश सभामा स्पष्ट पार्न समय माग गरेका बैद्यले आफूबाट आवेशमा यस्तो शब्द बोलिएको भन्दै आत्मालोचना गरेका हुन् ।
सभामा संसद बैद्यले प्रधामन्त्री केपी शर्मा ओलीप्रति आफ्नो कुनै पनि व्यक्तिगत ‘इगो’ नभएको भन्दै आफ्नो भनाई प्रति आत्मा आलोचना गर्दै रेकर्डबाट हटाइदिन समेत आग्रह गरेका थिए ।“नीति तथा कार्यक्रमको छलफलको क्रममा मबाट प्रयोग भएको केही शब्दहरु आपत्तीजनक र संसदीय मर्यादा विपरित भएको मैले महसुश गरेको छु”सांसद बैद्यले भने ।
उनको अभिव्यक्तिप्रति संसदीय दल नेपाली काँग्रेसले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको थियो । शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिदै रेकर्डबाट हटाउन माननीय सभामुख समक्ष अनुरोध गरेको जानकारी गराउँदछु” उनले संसद सभामा भने ।
शुक्रबारको संसद बैठकमा बैद्येले प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी शासनबाट आफू आजित भएको भन्दै आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । नाथुराम गोड्सेले भारतका महात्मा गान्धीको हत्या गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलले बागमती प्रदेश सभामा नेपाली काँगे्रसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले दिएको अभिब्यक्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश सभा सदस्यले प्रदेश सभाको बैठकमा रोष्टममा उभिएर प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको छु भन्ने जस्ता अभिब्यक्तिले प्रदेश सभाको मर्यादा र प्रतिष्ठामा धक्का पुगेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ध्यानाकर्षण गरेको हो । उक्त अभिब्यक्ति ज्यादै अमर्यादित, असंसदीय र मुलुकको संबिधान र कानुन बिपरित रहेको संसदीय दलको ठहर छ ।
संसदीय दलले बैद्यलाई प्रदेश सभा नियमावली २०७४ को नियम ३१ र ३२ बमोजिम कारबाही अगाडि बढाउन माग माग गरिएको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बताए ।
प्रदेश सभा परिसरमा बैद्य विरुद्व नारा
सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले बागमती प्रदेश सांसद नरोत्तम वैद्यविरुद्ध नारा लगाएका थिए । शनिबार बिहान उनीहरूले हेटौँडाको बुद्धचोकमा सांसदको फोटो जलाएर बिरोध जनाएका थिए । उनीहरूले बागमती प्रदेश सभा परिसरसम्म पुगेर नाराबाजि गरेका थिए ।

मकवानपुर । बागमती प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमकाे प्रदेशसभामा छलफल सुरु हुँदा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले राखेको धारणाले राजनीति नै तरंगित भएको छ । बागमती प्रदेशसभा सदस्य वैद्यले प्रदेशसभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले त्यसकाे भर्त्सना गरेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने भनी दिएको धम्कीलाई अपराधिक, अत्यन्त आपत्तिजनक भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यो विषय फौजदारी कानून आकर्षिक हुने विषय भएको उनलाई कारवाही गर्न माग गर्दै यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण हुनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
प्रेस विज्ञप्ति
बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।
प्रदीप ज्ञवाली
प्रवक्ता
अभिव्यक्ति प्रति माफी माग्छु: बैद्य
नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले शुक्रबार जेठ २८ गते प्रदेशसभा बैठकमा देशमा कोही नाथुराम गोट्से जस्ता व्यक्ति आवश्यक परेको छ भन्दै दिएको अभिव्यक्तिकाे चाैतर्फी अालाेचना भए पछी प्रति माफी माग्ने भएका छन् । आज शनिबार बस्ने संसद बैठकमा उनले माफी माग्ने बताए ।
उनको अभिव्यक्ति प्रति चौतर्फी आलोचना भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा र कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले बैद्यले आफुले दिएको अभिव्यक्ति प्रतिआत्मआलोचना गर्नु पर्ने बताएका थिए। वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बागdtL प्रदेशसभामा निर्वाचित सांसद हुन् ।
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमण विरुद्धकाे भेराेसेल खाेप ४ हजार ९५ जनाले लगाएका छन् । जिल्लाकाे १० वटै स्थानीय तहमा पहिलो चरणकाे भेरोसेल खोप अभियान अन्तरगत ४ हजार ९५ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका जिल्ला भित्रका ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका ४ हजार ९५ जनाले कोरोना विरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाएका हुन् । जिल्लामा जेठ २५, २६, २७ र २८ गते ४ दिन जिल्लामा खाेप अभियान चलेकाे थियाे ।
मकवानपुरका लागि आएको ६ हजार ५ सय डोज खोप मध्ये १० वटै स्थानीय तहका ६२ देखि ६४ उमेर समूहका अधिकांशले खोप पाएका सूचना अधिकारी घिमिरेले बताए । छुटेको केहिले आज शनिबार पनि लगाउन सक्नेछन् । स्थानीय तहलाई बाँडिएको खोप लगाएर बाँकी रहेकाे खाेप फिर्ता आउने तथा बाँकी रहेकाे खोप कस्लाई लगाउने भन्ने निर्णय जिल्लाको काभिड संकट व्यवस्थापन समितिले गर्ने घिमिरेले बताए ।
उनका अनुसार हेटौंडा उपमहानगरपालिकाका २ हजार ३२, बागमती गाउँपालिकाका ३ सय ७८, थाहा नगरपालिकाका ३ सय ३३, मकवानपुरगढी गाउँपालिकाका ३ सय ३१, बकैया गाउँपालिका भित्रका २ सय ७७, मनहरी गाउँपालिकाका २ सय १९, कैलाश गाउँपालिकाका १ सय ७५ , राक्सिाङ गाउँपालिकाका १ सय ५७, भीमफेदी गाउँपालिकाका १ सय २९ र इन्द्रसरोबर गाउँपालिकाका ६४ जनाले खोप लगाएका छन् । भेरोसेल खोपको दोस्रो डोज ३ हप्ता पछि लगाईने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसअघि जिल्लामा भारतबाट आएको कोभि शिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् । हाल जिल्लामा काेभि शिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहनेको संख्या १५ हजार १ सय ६२ रहेको छ ।
मकवानपुर । नेपालमा माैसमकाे आगमन भएकाे छ । बंगालको खाडी आसपास बिकशित भएको न्यून चापीय क्षेत्रका कारण जेठ २८ गते शुक्रबार नेपालमा माैसमकाे आगमन भएकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
नेपालको पूर्वी भूभाग प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन (Monsoon Onset) भएको छ। एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा, केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
हाल देशको पुर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा समेत भईरहेको अवस्था छ ।
जेठ २९ शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेकाे छ।
मकवानपुर । मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने २२ सवारी साधनलाइ कारवाही गरेकाे छ । जेठ २८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर, अटो गरी २० वटा सवारीसाधन कारवाही गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
यसैगरी निषेधाज्ञा उल्लङ्घन गर्ने ६१ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएका २० वटा सवारी साधनलाइ कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम प्रति सवारी साधन २ हजार देखि ५ हजारका दरले कारवाही गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यस्तै निषेधाज्ञा उल्लंघन गरी पसल पसल खोली संचालन गर्ने १ जना नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएकोमा प्रशासन कार्यालयबाट ५ हजार जरीवाना समेत भएको रिमालले बताए ।