मकवानपुर । बुधबारबाट सुरु भएकाे बस्तीपुर जेसीज हाँडीखोलाको सप्ताहव्यायपी कार्यक्रम अन्तरगत पहिलाे दिन हेटौंडा–१९ स्थित चिल्ड्रने पार्क, बासुदेवमा वृक्षरोपण गरिएको छ । बुधबार मसला, अशोक, धुपी, गोल्डेन, तेजपत्तालगायत विभिन्न प्रजातिका एक सय वटा विरुवा रोपिएको कार्यक्रम संयोजक सुरज वर्तौलाले जानकारी दिए ।
जेसीज सप्ताहअन्तर्गत बुधबार नै रजैया पुल र लेवट घुम्तीमा कोभिड सचेतना बोर्ड स्थापना गर्ने कार्यक्रम राखिएको छ । त्यस्तै आजै प्रगतिशील युवा क्लव नेवारपानीलाई खेलकुद सामाग्री वितरणको कार्यक्रम पनि राखिएको छ ।
सप्ताहाव्यापी कार्यक्रम अन्तरगत बिहीबार रक्तदान कार्यक्रम, आमाघर मनहरी र आइसोलेसनमा खाद्यान्न वितरण कार्यक्रम गिरने भएको जेसीज अध्यक्ष राजेश भेटवालले जानकारी दिए । बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष अरुण दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मुल कार्यक्रम संयोजक तेजप्रसाद उप्रेती रमेश, सहमुल कार्यक्रम संयोजक शंकर नेपाल, महासचिव प्रेम गोङ्बा, कार्यक्रम संयोजक सुरज वर्तौलालगायतको उपस्थिति रहेको थियो । ११ गते गणेश प्रावि कुवापानीमा स्टेशनरी सामाग्री वितरण कार्यक्रमका साथै सोही दिन पुरस्कार वितरण तथा समापन समारोह आयोजना हुने भेटवालले बताए ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर र १ थान अक्सिजन जेनेरेटर सहयोग गरेको छ ।
अमर धन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ तथा हङकङका व्यापारी सिन हेतुङको सहयोगमा खरिद गरिएको अक्सिजन सिलिण्डर र अक्सिजन जेनेरेटर मंगलबार हेटौंडा अस्पताललाई सहयोग गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।
मंगलबार बिहान राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटासहित नेता मधु अधिकारीसहित कार्यकर्ताहरु हेटौंडा अस्पताल पुगेर अक्सिजन सहयोग गरेको हो ।
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमण पुष्टि भएका थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो ।
हेटौंडा-२ की ४६ वर्षीया महिला, हेटौंडा-१२ का ६४ वर्षीय पुरुष र भीमफेदी-३ का ३६ वर्षीय पुरुषकाे काेराेना संक्रमण पुष्टि भएर उपचारकाे क्रममा मृत्यु भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएकाे हाे ।
काेराेनाकाे कारण मृत्यु हुनेमा हेटौंडा २ की ४६ वर्षीया महिलामा जेठ २३ गते कोरोना पुष्टि भएको र उनलाई उपचारको लागि जेठ २६ गते हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । हेटौंडा १२ का ६४ वर्षीय पुरुषमा जेठ २२ गते कोरोना पुष्टि भएको र उपचारको लागि जेठ २३ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आजै बिहान मृत्यु भएको हो ।
यसैगरी भीमफेदी गाउँपालिका वडा नंबर ३ का ३६ वर्षीय पुरुषमा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको र जेठ २५ गते उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको साेमबार राति ७ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय २० जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
- श्रीजना नेपाल
मकवानपुर । विगत दुई वर्षदेखि हेटौंडा बस्दै आएकी सिन्धुपाल्चोकको पार्वती क्षत्री (नाम परिवर्तन) जन्मँदा घरको कान्छो छोरा बनेर जन्मिएकी थिइन्।
उनले परिवारमा सधै एक असल छोरीले गर्ने माया र जिम्मेवारी निर्वाह गरिन्। शारीरिक बनावटले पुरुष भए पनि उनको हाउभाउ, बोली व्यवहार र इच्छा भने महिलासँग मिल्थ्यो।
जसले गर्दा लैंगिकता र यौनिकता बुझ्नुअघि नै पार्वतीलाई समाजले छोरा भएर पनि छोरीजस्तो व्यवहार गर्ने गरेको भन्दै दुर्व्यवहार गर्ने गर्थे।
विद्यालयमा साथीहरूले गर्ने फरक व्यवहार र गाली गर्ने शब्दले कक्षा ५ मै पढाइ छोडेकी उनले १७ वर्षको उमेरमा काठमाडाैंमा पाइला टेकिन्। जतिबेला पार्वती भर्खर बुझ्दै थिइन् कि उनी केटा भए पनि आफूलाई केटी बन्न मनपर्छ भनेर।
हेर्दा केटाजस्तो आनीबानी र व्यवहार केटीजस्तो भएपछि उनलाई काठमाडाैंमा जागिर भेटाउन कहाँ सजिलो भयो र? अनेकौं प्रयास गरेर पार्वतीले एउटा होटलमा काम भेट्टाइन्। घरपरिवार र समाजबाट आफ्नो लैंगिकता लुकाएर भागेकी उनी काठमाडाैंमा पुरुष प्रहरीबाट बलात्कृत भइन्।
आफू पुरुष भए पनि महिलाजस्तो महसुस गर्छु भन्ने थाहा भएकी उनलाई पुरुष पुरुषबाटै बलात्कृत हुन्छन् भन्ने पहिलोपटक थाहा भयो। त्यसपछि उनलाई ती पुरुष प्रहरीले लगातार जबरजस्तीकरणी गरिरहे। जसले गर्दा पार्वतीले अहिले आफ्नो जीवन जिउने पेसा नै यौनलाई बनाएकी छन्।
दोहोरो जीवन जिउन कति गाह्रो हुन्छ सायद उनलाई भन्दा राम्रोसँग अरू कसलाई थाहा होला र? २५ वर्षीया पार्वती वर्षमा २/४ पटक घर जान्छिन् पुरुष बनेर। अनि हेटौंडामा यौन पेसा गरेर बस्छिन् एउटा महिला बनेर।
बाँच्नकै लागि काम खोज्न उनी ककसको ढोका ढकढक्याउन पुगिनन् होला? तर सबैले लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण उनलाई काम नदिएपछि हाल उनको बिहान बेलुकाको छाक यौनधन्दाबाटै चलिरहेको छ। दिनभरि कामको खोजीमा ढोका ढकढकाउन पुग्दा अनेक अपशब्द बोलेर पठाउनेहरू नै रात परेपछि उनलाई खोज्दै आइपुग्छन्।
पार्वती मात्रै होइनन्, हेटौंडाकी ३२ वर्षीया हीरामाया लामा (नाम परिवर्तन) को पनि पीडा उस्तै छ। उनलाई आफू लैंगिक तथा यौनिक अल्पसंख्यक बन्ने कुनै रहर थिएन। तर प्रकृतिले नै उनलाई फरक किसिमको शारिरिक बनावट र व्यवहार दियो।
जसले गर्दा उनले सामान्य मान्छेजस्तो जीवन कहिल्यै पाइनन्। न उनलाई कसैले जागिर दियो न त कसैले राम्रो व्यवहार गर्यो। हीरामाया पनि अहिले आफू र आफ्नो परिवारको जीवन सडकमा आफूलाई उभाएर पालिरहेकी छन्।
घरमा सबैले छोरा भनेर बोलाउँदा विद्यालय र समाजमा भने उनलाई बोलाउँदा प्रयोग हुने शब्द नै फरक हुन्थे। आफू के हो? आफूले आफैले के महसुस गर्छु भन्ने कुरा बुझ्नुअघि नै उनलाई समाजले पटक पटक दुर्व्यवहार गर्यो। जसले गर्दा ३ पटकसम्म हीरामायाले आत्महत्या प्रयास गरिन्।
कहिले घरका सदस्यले त कहिले आफ्नै आत्माले आफ्नो हत्या गर्न दिएन। ‘मलाई मात्रै भगवानले किन यस्तो बनाइदिए? मलाई किन जस्तो देखिन्छु त्यस्तो बनाइदिएन? अथवा किन मजस्तो महसुस गर्छु त्यस्तै हुन सकिन? यस्तो कुरा सोचेर म धेरै पटक मृत्युलाई रोज्न पुगे तर पनि मर्न सकिन,’ उनले भनिन्।
हीरामायाको घर हेटौंडा बजारबाट १४/१५ किलोमिटरको मात्रै दूरीमा छ। तर उनी बजारमा कोठा लिएर बस्छिन्। घर जाँदा विदेशबाट आएको छोराजस्तै चिटिक्क परेर जान्छिन्। तर हेटौंडामा बस्दा उनी आफूलाई महिलाको रुपमा चिनाउँछिन्।
‘एकपटक विदेश पनि गएर आएको हो। उता पनि नेपालीहरूले नै त यस्तो देखिन्छस् उस्तो देखिन्छस् भन्दै दुर्व्यवहार गरे। त्यो सहन नसकेर नेपाल फर्किएर अहिले यो पेसामा लाग्नु परेको छ। ’ उनले भनिन्। उनको परिवारलाई हीरामाया अलि फरक छिन् भन्ने थाहा छ तर उनी हेटौंडा बजारमा एउटी महिलाजस्तो बनेर यौन पेसा गर्छिन् भन्ने थाहा छैन।
नेपाली समाजले दुई वटा लिंगलाई स्विकार गरेको छ – महिला र पुरुष। तीभन्दा आफूलाई फरक महसुस गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समाजले स्विकार गर्न सकेको छैन। स्विकार नगरेको मात्रै होइन समाजले उनीहरूलाई घृणा, तिरस्कार, अपशब्द र दुर्व्यवहार गर्ने गरेको छ।
जन्मदा छोरा वा छोरी भएर जन्मिए पनि उमेरसँगै आफूलाई फरक लिंगजस्तो महसुस गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक आफ्नै घर परिवारबाट घृणाको शिकार हुने गरेका छन्।
जसले गर्दा उनीहरूमाथि थप हिंसा र दुर्व्यवहार गर्न समाजलाई अझै हिम्मत मिल्ने गरेको देखिन्छ। आफ्नै परिवारबाट अपहेलित हुँदै समाजको दुर्व्यवहार सहेर उनीहरू दुई गाँस खान र आफूले महसुस गर्ने लैंगिकताको पहिचान खोज्न समाजको विभिन्न गल्लीमा ठक्कर खाँदै हिँड्ने गरेका छन्।
करिव ४५ जना यौन पेसामा संलग्न
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारकर्मी किरण थापाका अनुसार मकवानपुरमा करिब एक सय जना लैंगिक तथा यौनिक अल्पसंख्यक छन्। तीमध्ये केही खुलेका छन् भने केही परिवार र समाजको डरले गर्दा आफ्नो पहिचान लुकाएर बसेका छन्।
अधिकारकर्मी थापाका अनुसार खुलेकामध्ये करिब ४० देखि ४५ जनाको रोजीरोटी नै यौन पेसामा संलग्न भएर चलिरहेको छ। उनीहरू दैनिक पेट भर्नकै लागि सडकमा आफ्नो सौदा गर्न पुग्ने गरेका छन्। आफ्नै घरदेखि सुरु हुने अपहेलना समाजको सबैतर्फबाट हुन थालेपछि बाध्य भएर बाच्नकै लागि यस्तो काम गर्नुपरेको उनीहरू बताउँछन्।
पढाइदेखि सीप सिक्ने र आत्मनिर्भर भएर आफ्नै व्यवसाय गर्ने कार्यमा पनि समाजले नस्विकारेकाले बाध्य भएर सडकमा आउनुपरेको अधिकारकर्मी थापाको बनाउँछिन्।
‘पढ्न गयो विद्यालयमा सबैले जिस्क्याउने, घरमा सबैले किन यस्तो भइस् भनेर गाली गर्ने। समाजमा अपशब्द प्रयोग गरेर गाली गर्ने अझ कसैलाई त पिट्ने। काम खोज्न गयो, कतै पनि नदिने, अनि आफ्नै बाटोमा राम्रो गरेर खान्छुभन्दा पनि यौन कार्यमा संलग्न हुन बाध्य गराउने गरेका छन्।
‘आफैं व्यवसाय गरौ भने पनि कोही आउँदैनन् हाम्रोमा यस्तोमा हामी के गरौ?’, उनले भनिन्। थापाले आफूलगायत केही साथीले लैंगिकता र यौनिकतासम्बन्धी प्रोजेक्टमा काम पाएको भए पनि अधिकांश काम नपाएकोले सडकमा पुगेको बताइन्।
यौन सम्बन्धपछि कुटिन्छन्
न्युनतम् डेढ सयदेखि बार्गेनिङ गर्ने उनीहरू अधिकतम् दुई हजारसम्म कसैले दिन्छुभन्दा खुसी हुन्छन्। हेटौंडा आसपास सहज हुने स्थानमा यौन सम्बन्ध राख्ने उनीहरू अलि बढी पैसा पाउने लोभमा धेरै पटक गाडीमा चढेर परसम्म पुगेका छन्।
पैसाको लालच देखाएर आफ्नौ यौन प्यास मेट्न उनीहरूलाई हेटौंडाबाट टाढा लगेर कतिपटक बीच जंगलमा फालिएका बताउँछिन् सुनिता थापा (नाम परिवर्तित)। ‘केही नभए एक सय रुपैयाँमा त हामी उनीहरूले भनेजस्तो गर्न तयार हुनुपर्छ। झन् कसैले अलि बढी दिन्छु भन्यो भने खुसीसाथ जान्छौं,’ थापा भन्छिन्, ‘तर आफ्नो प्यास मेटेर गुडिरहेको गाडीबाट फाल्दिने, मध्यरातमा जंगलमा छोड्दिने र ढुंगाले हानेर टाउको फुटाइदिने जस्तो काम धेरैपटक गरेका छन्। जति जे गरे पनि सहेर पछि फर्केर त्यही काम गर्न जानुपर्छ।’
एकपटक हेटौंडा बजारबाट पूर्वतर्फ गाडीमा चढाएर लगेको र गाडीमै आफ्नो प्यास मेटेपछि फाल्दिएको उनले बताइन्। यस विषयमा कसैले उजुरी सुन्ने र सहयोग नगर्ने भएपछि सहेरै यो पेसा गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।
उनका अनुसार यौनसम्बन्ध राख्न आउने अधिकांश ड्राइभर, नेपाल प्रहरी, नेपाली सेना र जनप्रतिनिधि नै रहेका छन्। ‘दिउँसो काम दिनुस् न हजुर। मलाई यस्तो पर्यो सहयोग गर्दिनुस् हजुर भनेर जाँदा घिन मानेर हामीलाई गाली गरेर पठाउँछन्। राति उनीहरू नै आएर तिमीहरूको अधिकारका लागि यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भन्छन्। तर कसैले केही पनि गरेका छैनन्,’ उनले थपिन्।
पैसामा कुरा नमिल्दा एक जनाको हत्या
करिब डेढ वर्ष अगाडी हेटौंडा–११ की अजिता भुजेलको यौन सम्बन्धपछि पैसामा कुरा नमिल्दा बीभत्स हत्या भएको थियो। रातको समयमा गाडीका चालकहरूसँग गाडीमै यौन सम्बन्ध राखेकी उनलाई पैसा दिन नमानेपछि झगडा परेको थियो।

अजितालाई पैसा दिन नमानेका गाडीका चालकहरूले मिलेर उनको हत्या गरेर हेटौंडा–५ क्याम्पा डाँडामा फालिदिएका थिए। उनको हत्यामा संलग्न ६ जना अहिले मकवानपुरको भीमफेदी कारागारमा छन्।
७ जनालाई एभआइभी संक्रमण
मकवानपुरमा यौन पेसालाई नै आफ्नो जीवन जिउने मुख्य आधार बनाएका ७ जना लैंगिक तथा यौनिक अल्पसंख्यक एचआइभीको सिकार बनिसकेका छन्।
बाँच्नका लागि असुरक्षित रुपमा यौन सम्बन्ध राख्दा हेटौंडाका ७ जनालाई एचआइभी संक्रमण भएको अधिकारकर्मी थापा बताउँछिन्। थापाको अनुसार उनीहरू सबैको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
४ जनाले पाए चाहेअनुसारको नागरिकता
लैंगिक तथा यौनिक अल्पसङख्यक समुदायको ४ जनाले भने आफूले चाहेअनुसार नागरिकता पाउन सफल भएका छन्। उनीहरूले आफ्नो लैंगिकताअनुसार पहिचानसहितको नागरिकता पाएका हुन्।
३ जनाले लिंगमा ‘अन्य’ राखेर नागरिकता लिएका छन् भने एक जनाले पुरुषबाट महिलाको नागरिकता लिएका छन्। अजिता भुजेल, सानु लामा र नेहा मानन्धरले ‘अन्य’को नागरिकता लिएका हुन् भने सञ्जिवनी लोप्चनले पुरुषबाट महिलाको नागरिकता पाएकी हुन्।
सरकारबाट बेवास्ता
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय आफू राज्यबाट पनि हेलामा परेको बताउँछन्। आफ्नै घरपरिवारबाट पनि हेला सहेका लैंगिक तथा यौनिक अल्पसंख्यकलाई राज्यले पनि उपेक्षा गर्ने गरेको उनीहरूको गुनासो छ।
‘ठूला ठूला भाषण र कार्यक्रममा मात्रै हो सबैलाई समेट्छौं भन्ने तर हामीलाई सरकारले कहिल्यै समेटेन। स्थानीय सरकारले काम गरेको देखाउन मात्रै थोरै बजेट छुुट्याएजस्तो गर्छ। प्रदेश सरकारले त त्यत्रो बजेट ल्याउँदा पनि हामीलाई अटाएन,’ थापाले गुनासो गरिन्।
उनले सरकारी तहबाट केही भइहाले पनि त्यो पर्याप्त नभएको बताइन्। लैंगिक तथा यौनिक अल्पसंख्यकलाई आत्मनिर्भर बनाउने, अन्य समुदायलाई जस्तै कोटाको व्यवस्था गर्ने र लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समाजले हेर्ने दृष्टिकोणमा ल्याउने जस्ता कार्य नगरेको उनको आरोप छ।
सरकारले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई राज्यको नागरिकको मान्यता नै नदिएको उनको आरोप छ। थाहा खबरबाट https://thahakhabar.com/news/128902/
मकवानपुर । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले मकवानपुरका दुई स्थानीय तहलाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले एक्सपर्ट फाउण्डेशन मार्फत सोमबार मकवानपुरको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकालाई १/१ थान अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा प्रतिबद्ध व्यावसायिक संस्था एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.ले एक्सपर्ट फाउन्डेसन मार्फत विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेकाव्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको छ ।
एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँलाई १० लिटर क्षमताको अक्सिजन कन्सट्रेटर हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले माहामारीसंग लड्न र अन्य समयमा पनि बिरामीलाई सहज उपचार पाउनका लागि अक्सिजन कन्सट्रेटरले महत्वपूर्ण सहयोग गर्ने बताए । उनले सहयोग प्राप्त अक्सिजन कन्सट्रेटर गाउँपालिका भित्रको नामटार स्वास्थ्य चौकीमा प्रयोगमा ल्याइने बताए ।
यस्तै अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले अक्सिजन कन्सट्रेटरको पूर्ण रुपमा सदुपयोग गरिने बताए । उनले यस सामग्रीले अक्सिजन आवश्यक पर्ने बिरामीलाई गाउँपालिका भित्रै उपचार गर्नमा सहयोग मिल्ने भन्दै सहयोगका लागि एक्सपर्ट परिवारलाई धन्यवाद दिए ।
अक्सिजन कन्सट्रेटर सहयोग हस्तान्तरण गर्दै एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले केन्द्रीय कार्यालय अष्ट्रेलियाबाट प्राप्त भएको अक्सिजन कन्सट्रेटर आवश्यक क्षेत्रमा प्रदान गरिएको बताए । उनले सुगम क्षेत्रमा भन्दा पनि दुर्गम क्षेत्रका जनताले सहज रुपमा अक्सिजन पाउन समस्या झेल्नु पर्ने गरेकाले त्यस्तो ठाउँमा सहयोग गरिएको बताए ।
उनले देशमा आइपर्ने हरेक आपतविपत्मा एक्सपर्टले सहयोगी भूमिका खेल्दै आइरहेको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्दै जाने बताए । एक्सपर्टको केन्द्रीय कार्यालयबाट प्राप्त अक्सिजन कन्सट्रेटर नेपालका विभिन्न शाखा मार्फत आवश्यक स्थानमा हस्तान्तरण गरिरहेको छ । हस्तान्तरण कार्यक्रममा एक्सपर्टका लेखा प्रमुख किरण पौडेल, एक्सपर्ट हेटौंडाका अच्युत चालिसे, पत्रकार शिव रिजाललगायतको उपस्थिति रहेको थियो ।
यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदानलगायतका सहायताहरु प्रदान गरिसकेको छ ।