मकवानपुर / सामाजिक नेतृत्वमा महिलालाई अग्रसर बनाउन मकवानपुर महिला समूहले विभिन्न कार्यक्रम गरेको एक कार्यक्रममा बताइएको छ ।
घर परिवारबाट विभिन्न हिंसा भोगेर सहेर बस्ने महिलाहरू अब आर्थिक रुपमा सशक्त हुँदै हिंसा विरुद्ध आवाज उठाउने गरेको बताईएको हो ।
मकवानपुर महिला समूहले सन्चालन गर्दै आएको परियोजनाहरूको सुशासन पारदर्शीता र जवाफदेहीताका लागि सामाजिक लेखाजोखा कार्यक्रममा शुक्रबार हेटौंडामा यस्तो जानकारी सार्वजनिक गरिएको हो । एक्सन एड नेपालको आर्थिक सहयोगमा संचालित ४ वटा परियोजनाको सामाजिक लेखाजोखा गरिएको थियो । कोभिड संक्रमणको कारण फिल्डमा गर्ने कार्यक्रमको रूप फेरेर आवश्यकतामा आधारित कार्यक्रम गरिएको कार्यक्रम संयोजक निशा लामाले बताइन् ।
मकवानपुर महिला समूहले नगरको ग्रामीण वडा तथा गाउँपालिकामा महिला सशक्तीकरणको काम भएको कार्यक्रम संयोजक लामाले बताइन् । कार्यक्रम लागू भएपछि अन्यायको विरुद्ध आवाज उठाउने, उत्पादनको लागि सामूहिक रुपमा लागिपर्ने, बाल विवाह विरुद्ध लाग्ने गरेको उनले बताइन् । महिलालाई आय आर्जनमा लगाउने, महिला र किशोरीलाई हिंसा तथा विभेदबाट माथि उठाउने सशक्तीकरणको कार्यक्रम समूहले गरेको लामाले बताइन् ।
कार्यक्रममा समूहको लेखा अधिकृत निर्जला पोखरेलले बिक्त प्रतिवेदन र कार्यक्रम संयोजक निशा लामाले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाले कोभिड संक्रमणको समयमा समूहले ९५ जना विशेष सामग्री वितरण गरेको जनाएको छ । यसैगरी स्थानीय स्वास्थ संस्थालाई पनि मेडिकल सामग्री सहयोग गरेको समूहको अध्यक्ष कमला सुबेदीले बताइन् । हिंसाको सवालमा काम गर्दैगर्दा प्रेषण प्रणालीलाई प्रभावकारी बनाउनु अनिवार्य भएकोले संस्थाले यसतर्फ ध्यान दिने गरेको अध्यक्ष सुबेदीले बताइन् । संस्थाले हेटौंडा १९ मा कुवापानी खानेपानी परियोजना अन्तरगत ७५ लिटर पानी भण्डारण गर्न सकिने ट्याङ्की निर्माण, त्यस क्षेत्रका महिलालाई नेतृत्व विकास बारे कार्यक्रम गरेको उनले बताइन् ।
मकवानपुर महिला समूहले एचआईभी संक्रमित प्रभावितको आयआर्जन वृद्धि, नेतृत्व विकासलगयतको क्षेत्रमा काम गर्दै आएको छ । लक्ष्यित बर्गमा काम गर्न थालेपछि संक्रमित प्रभावितहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन देखिएको सहभागीहरूले बताएका थिए ।
कार्यक्रममा माइती नेपाल मकवानपुर प्रमुख माया लामा, हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबा, बाल संरक्षण संजालका अध्यक्ष प्रकाश खतिवडा, महिला अधिकार मन्च जिल्ला अध्यक्ष निर्मला घलान, गैसस महासंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटालगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
मकवानपुर /हाम्रो आवाज मानव बेचबिखनबाट मुक्त समाज भन्ने नाराका साथ माइती नेपाल मकवानपुरले आयोजना गरेको नेतृत्व बिकास, सिलाइ कटाई तथा जीवन कलाको सीप सिकाई कक्षामा सहभागी किशोरीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलले सामाजिक अभियानमा सकृय हुन, आर्थिक सशक्तीकरण सहित किशोरीहरू सक्षम हुनुपर्ने बताए । प्रविधिको प्रयोग गर्दै उत्पादनमा जोडिएर आफूलाई सक्षम बनाउन अध्यक्ष सिग्देलले सहभागीलाई आग्रह गरे । ‘आफ्नो क्षेत्रमा अब्बल बनेर उदाहरणीय बन्नुहोस’ सिग्देलले भने । तालीमले किशोरीलाई बेचबिखन, हिंसा जस्ता घटनाबाट बच्न टेवा पुग्ने सिग्देलले बताए ।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरती पाठक सिकेको सिपलाई व्यवहारमा उतारेर आर्थिक रूपमा सम्पन्न जीवन बिताउन शुभकामना दिइन् । लगाव राखेर सिक्नेले जीवन निर्वाहमा धेरै सकारात्मक फड्को मार्न सक्ने पाठकले बताइन् ।
सिलाइसँगै जीवनपयोगी सीप सिके, महिला भएको कारण हिनताबोध हैन, अवसरको ढोका खुलेको आभास भएको तालिममा सहभागी मन्जु लामाले बताइन् । सिकेको सिपलाई व्यवहारमा उतारेर अरूको लागि पनि उदाहरणीय बन्ने गरि समाजमा नेतृत्व गर्ने उत्साह आफूमा रहेको उनले बताइन् ।
माइती नेपालले उनीहरूलाई ४ महिने आवासीय तालीम दिएको थियो । बिगतमा पनि यस्तै तालिमहरू दिने गरेको र यो ४३ औं समूहको सहभागीलाई दक्ष बनाएर बिदाइ गरिएको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले बताइन् । उनीहरूलाई सिलाईको १७ वटा आईटम सहीत जीवनपयोगी १० वटा सीप बारे प्रशिक्षित गरिएको उनले बताइन् ।
कार्यक्रम साना हातहरू नेपालका दिकम्बर रुपाचा, हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाईबा, माइती नेपाल फिल्ड सुपरभाइजर मन लामा, प्रशिक्षक सरिता तामाङलगायतको उपस्थिति रहेको थियो । सहभागीलाई अघिल्लो प्रशिक्षण समुहमा सहभागी सुनिता भुलुनले सहजीकरण गरेकी थिइन् ।
मकवानपुर । प्रेस चौतारी नेपाल, मकवानपुर अध्यक्षमा बालकृष्ण अधिकारी चयन भएका छन् । प्रेस चौतारी मकवानपुरको पुष ९ गते शुक्रबार मकवानपुरगढीमा भएको आठौँ जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्माण भएको हो ।
कमिटिको उपाध्यक्षमा पुष्पराज अधिकारी र सम्झना रिजाल चयन भएका छन् । समितिकाे सचिव रुपक कालिराज सह–सचिव दिपकसिंह रुम्बा तथा रविन ढुंगना कोषाध्यक्षमा प्रतिक्षा न्यौपाने चयन भएका छन् ।
यसैगरी कमिटिको सदस्यहरुमा सुमन दाहाल, निशा गुरुङ, सुशन लामिछाने, सरोज पौडेल, सुजन पुडासैनी, अनिष चौँलागाई, मनिता राना, पुष्पा कार्की, रामकुमार दानी, सुनिता विष्ट, सपना अधिकारी, रञ्जन पौडेल, अमिता लामिछाने, स्कृती न्यौपाने, समिर सिलवाल, जेनिसा घिमिरे, स्वस्तिका अर्याल, भूपेन्द्र रानामगर, अजिता नगरकोटी, शहनशिला ढकाल, बासुदेव विष्ट, विजु तिमल्सिना, जीवन पाख्रीन र संजिब रसाईली चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा धर्मेन्द्र दाहाल, दिपेन्द्र रोक्का, अशेष ढुंगना, नानीमाया सापकोटा र शान्ति विश्वकर्मालाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा सुनिल गौतम, मनिल महत्तो, दिपेश दाहाल र प्रतिक्षा न्यौपानेलाई चयन गरेको छ ।
प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको अधिवेशनले स्वर्गीय प्रेमनाथ चौँलागाई स्मृति पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ रुपैँया सहित प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य सरिता दाहाललाई पुरस्कृत गरेको छ। अधिवेशनमा प्रेस चौतारी नेपाल मकवानपुरका सस्थापक उपाध्यक्ष धु्रवप्रसाद चौँलागाई तथा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरिप्रसाद हुँमागाईलाई सम्मान गरिएको छ ।
बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल, प्रेस चौतारी नेपालका केन्द्रीय उपमहासचिव एवम् बागमती प्रदेश इन्चार्ज हिरामान लामा, एमाले मकवानपुरका सचिवालय सदस्यहरु नविन सिग्देल, हिदम लामा, सुनिल मोक्तान, एमाले बागमती प्रदेशका प्रचार विभाग सदस्य उज्वल चौँलागाई, प्रेस चौतारी नेपालका बागमती प्रदेश सह–संयोजक प्रकाश दाहालकाे आतिथ्यता थियाे ।
यसै गरी नेपाल पत्रकार महासंघका केन्दीय सदस्य सुनिल खड्का, प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणीराज गौतम, प्रेस चौतारीका केन्द्र तथा बागमती प्रदेश कमिटिका सदस्यहरु, प्रेस युनियन मकवानपुरका सचिव केशव समर्पण लगातको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरका ४० जना पत्रकारलाई ७ दिने आधारभूत पत्रकारिता तालिम दिन सुरु भएकाे छ । पुष ८ गते विहीबारबाट हेटौंडामा आधारभूत पत्रकारिता तालिम सुरु गरिएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा तथा युरोपियन युनियनको सहयोग र पत्रकार महासंघ मकवानपुरको समन्वयमा ४० जना पत्रकारलाई आधारभूत पत्रकारिता प्रशिक्षण दिन सुरु गरिएको हो । तालिम दुई सिप्टका सञ्चालन हुने छ ।
तालिमको उद्घाटन् गर्दै पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता गर्न समर्पण आवस्यक रहेको बताए । कार्यक्रममा महासंघ मकवानपुरका पूर्व अध्यक्ष प्रताप विष्ट, सल्लाहकार बालकृष्ण अधिकारी, प्रदेश महासंघ महासचिव कृष्णसारु मगरले आफ्नो भनाइ राखेका थिए।
कार्यक्रममा मकवानपुर महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, राममणि दहाल, भानुभक्त आचार्य, हरि हुमागाई, महासंघ केन्द्रीय समितिका कार्यक्रम प्रवन्धक संघर्ष पन्त, इन्टरनेशनल एलर्टका वरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्रीको आतिथ्यता रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक नेकपा एमालेकाे अवराेध पछि स्थगित भएको छ । बुधबार बसेकोे प्रदेशसभा बैठक नेकपा एमालेको विरोधका कारण विहीबारसम्मको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बुधबारको प्रदेशसभा बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ वटा मन्त्रालयलाई १४ वटा बनाएर प्रदेशकै बदनाम गरेको भन्दै अवरोध गरेका थिए । बैठकमा पूर्व मुख्यमन्त्री डोरमणि पोडेलले वर्तमान सरकारले मन्त्रालय फुटाएर १४ पुर्याएकोमा आपत्ति जनाएका थिए । उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौती गरेकोमा पनि सरकारको विरोध गरेका छन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले अघिल्लो सरकारले अघि सारेको दुई योजना विद्युतीय बस खरिद सम्झौता र सुरुङ मार्ग निर्माणको योजना बजेट अभाव भन्दै हटाएको थियो । एमाले सांसदहरुले उक्त निर्णय फिर्ता हुनुपर्ने भन्दै बैठक अवरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक बिहिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् ।