मकवानपुर/नजिकीदै गरेको स्थानीय तहको निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलबीच वडास्तरबाटै गठबन्धन गर्ने सहमति भएको छ ।
आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा वडा तहबाटै गठबन्धन गर्ने सहमित गरेको हो । अब आगामी निर्वाचनमा जिल्लाको १०२ वटै वडा र दशवटा स्थानीय तहमा गठबन्धन कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बैठक पश्चात् आयोजित पत्रकार सम्मेलनमा बताए ।
केन्द्रको निर्देशन अनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिने सभापति लामाले बताए ।“गठबन्धनको सहमति जुटेको भएपनि कुन पार्टीले उम्मेदवार को उठाउने भन्ने बारेमा टुंगो लागेको छैन” लामाले भने “प्रारम्भिक छलफल भएको हो, केन्द्रीय निर्देशन अनुसार हामी अगाडि बढ्नेछौं।”
गठकन्धनले निर्वाचनको लागि कांग्रेसको जिल्ला सभापति बुद्ध लामाको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय बनाउने समेत निर्णय गरेको छ । जिल्लाको सचिवालयमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष श्रीधर पाखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्याङ्तान र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी रहनेछन् ।
निर्वाचन लक्ष्यित सचिवालय स्थानीय तह र वडासम्मै नै यही संरचनामा निर्माण हुनेछ । बैठकले स्थानीय तह र वडासम्मै गठबन्धनको संयन्त्र निर्माण गर्न आवश्यक थप छलफल र बैठक बस्न समेत पार्टीको तल्लो संरचनालाई निर्देशन दिएको छ ।
हामी एक्लै काफि छौः एमाले अध्यक्ष श्रेष्ठ
गठबन्धनलाई पराजित गर्ने सार्मथ्य नेकपा एमाले एक्लैसंग भएको पार्टीका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताएका छन् ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले पाँच दलीय गठबन्धनलाई पराजित गर्ने सार्मथ्य नेकपा एमालेसँग रहेको दाबी गरेका हुन् ।

पार्टीको निर्वाचन लक्ष्यित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धनका बिरुद्ध एमाले कार्यकर्ता एक हुनेबेला आएकोले कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए । सत्तारुढ गठबन्धन एउटै कित्तामा उभिएसँगै एक्लिएको एमालेले मकवानपुरमा राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ यद्यपि राप्रपा पनि हालै मात्रै फुटेको कारण राप्रपाबाट एमालेलाई कति बल पुग्ला विचारणीय छ । “हामी विरुद्ध पहिला पनि गठबन्धन भएको हो, हामीलाई केही फरक पर्दैन” श्रेष्ठले भने ।
बागमती गाउँपालिकामा गठबन्धन भत्कीन्छः राष्ट्रिय सभा सदस्य राई
नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य तथा राष्ट्रिय सभाको सदस्य रामचन्द्र राईले सत्तागठबन्धनको अप्राकृतिक गठबन्धनलाई बागमती गाउँपालिकाका जनताले भत्काईदिने दाबि गरेका छन् ।
नेकपा एमाले बागमती गाउँपालिकाले आयोजना गरेको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राइले गठबन्धन जनताको इच्छा विपरीत भएकोले त्यो जनताले नमान्ने बताए । पार्टीको जिल्ला सहईन्चार्ज समेत रहेका राईले निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि सर्वसाधारण माझ पार्टीको एजेन्डा लैजाने विषयमा एमाले अगाडि रहेको बताए ।
मकवानपुरे जनता एमालेको पक्षमा ः पूर्व मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहको निर्वाचनमा मकवानपुरे जनताले एमालेको पक्षमा मतदान गर्ने दाबि गरेका छन् ।

एमालेको नेतृत्वमै हेटौँडा प्रदेशको राजधानी बनेको विषय मकवानपुरे जनताले बुझेको उनले स्मरण गराए । हेटौँडा उपमहानगरपालिकाका नेतृत्व लिएको एमालेले नगरमा गरेका विकास निर्माणको काम देखेर यो पटक पनि यहाँका सर्वसाधारणले एमालेकै पक्षमा मतदान गर्ने उनले बताए । कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य अनन्त पौडेलले सत्ता गठबन्धन अत्तालिएको भन्दै एमालेको पक्षमा जनलहर देखिएको दाबी गरे ।
एमाले एक्लै मैदानमा जाने
गत निर्वाचनको मतपरिणाम अनुसार नेकपा एमाले मकवानपुरको सबैभन्दा ठूलो दल हो । तर निर्वाचनको केही महिना मात्रै अघि पार्टी विभाजनको पीडा भोगेको एमाले अब एक्लै मैदानमा ओर्लदै छ ।
नेकपा एमाले स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा जुटीरहेको बेला सत्तापक्षको गठबन्धनले एमालेलाई धक्का पुग्ने विश्लेषकहरुको भनाई छ । एमालेविरुद्ध जिल्लाका सत्तारुढ गठबन्धन एक भएर निर्वाचनमा होमिने भएपछि एमालेले तयारीलाई अझै चुस्त बनाउनु पर्ने चुनौती देखिएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले मकवानपुरमा ६ वटा स्थानीय तह तथा नेपाली कांग्रेस र माओवादीले २ /२ वटा स्थानीय तह जितेका थिए । एमालेले आमरुपमा पार्टी विभाजनको असर नपरेको दावी गरे पनि नेकपा (एकीकृत समाजवादी) को वडा तहैसम्म संरचना निर्माण भएको छ । एमालेबाट विभाजन भएको निर्माण भएको नेकपा (एस), नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एक भएर वडा तहबाटै गठबन्धन गर्ने सहमति गरेसँगै मकवानपुरे राजनीतिमा एमाले एक्लो भएको छ ।
मकवानपुर । मकवानपुर जिल्लामा आगामी २० बाट सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित गरिएको छ ।
हेटाैंडा उपमहानगरपालिकाले प्रतियाेगिताकाे सबै तयारी पुरा भएपछि स्थगित गरिएकाे विज्ञप्ति मार्फत जानकारी गराएकाे हाे । स्थानीय तहको निर्वाचन नजिकिएकोले प्रतियोगिता आयोजना गर्न नसकिने भन्दै अर्को सूचना नभएसम्मकाे लागि प्रतियाेगिता स्थगित गरिएकाे विज्ञप्तिमा भनिएकाे छ ।
उपमहानगरपालिकाले पाँचौं संस्करणको प्रतियोगिताकाे लागि सबै तयारी पुरा भएकाे जानकारी अघिल्लाे दिनमात्रै गराएकाे थियाे । आज बिहीबार नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका हुन् ।
निकुञ्जले घरमा आगो लगाएपछि सडक अन्दोलनको तयारीमा चेपाङ संघ
Tags: No Comments
मकवानपुर । अनिकालको समयमा बस्ने बास गुमाएर विचल्ली भएका चितवन जिल्ला माडि नगरपालिका वडा नम्बर ९ का चेपाङहरु न्यायको लागि सडक आन्दोलमा आउने भएका छन् ।
गत आइतबार राती चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको २० घरमा आगजनी गरिदिएपछि उनीहरुको बास उठेको छ । निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीयको घरमा आगो लगाइ दिएको थियो । जसमा १७ घर पूर्ण रुपमा ध्यस्त भएको नेपाल चेपाङ संघका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभा पूर्व सांसद गोविन्दराम चेपाङले बताए ।
उनका अनुसार निकुञ्जले आगो लगाएपछि अहिले झण्डै एकसय जना चेपाङहरु बास विहीन भएका छन् । ओत लाग्ने ठाँउ नभइरहेको बेला हिजो (मंगलबार) साँझ परेको असिना पानीले झनै समस्या भएको उनले बताए । असिना पानी परेपछि उनीहरु अहिले छिमेकी बस्ति भालुखोला भन्ने ठाउँ आश्रमय लियर बसेका छन् ।
“सरकारले घर दिएको छ भनेर एउटै कुरा गर्छ, घरले खान दिंदैन, के खाने ?” उनले भने । राजनीति र राष्ट्रिय निकुञ्ज बिचकै कुरा नमिल्दा चेपुवामा चेपाङ परेको उनले बताए । राजनीति (सरकार) ले घर बनाएर राखें भन्छ, अहिले सारेको क्षेत्र पनि बफर्जुन क्षेत्र नै हो आर्मीले फेरी लखेट्छ” उनले भने “२ दशकदेखि यहि समस्या भोग्दै आएका छौ, कहिलेसम्म भोग्ने ?” चेपाङलाई सधैंभरी दुखै मात्रै दिएको तर, काम गरेर खाने व्यवस्था नगरेको उनले बताए । अन्न उब्जाउने, मेलापात र ज्यालादारी गर्ने ठाउँ पनि चाहियो, ओत लागेर मात्रै त बाचिन्न नी, हामी पनि मान्छे नौ हौ” पूर्व सांसद चेपाङले भने ।
सरकारले चेपाङको समस्या नसुन्ने पीडामात्रै दिने गरेपछि नेपाल चेपाङ संघले सडक आन्दोलनमा जाने तयारी गरेको उनले बताए । “सुरुमा हामी धादिङ, चितवन मकवानपुर केन्द्रीत आन्दोलन गर्ने तयारीमा छौं” उनले भने । चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद यादवको नेतृत्वमा गएको नेपाली सेना सहितको टोलीले आइतबार राती स्थानीयको घरमा आगो लगाएका थिए। एकपटक स्थानान्तरण गरिसकेपछि पुनः पुरानै स्थानमा पुगेर घर बनाउने र बस्ने गरेको कारण घर जलाएको निकुञ्जले जनाएको छ ।

माडी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा माडी नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीका अनुसार माडी नगरपालिका वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा यसअघि गत साउनमा पनि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको थियो। उक्त क्षेत्र निकुञ्ज भित्र पर्ने भन्दै २०७७ साल भदौ महिनामा पनि स्थानीयलाई हटाउन निकुञ्ज प्रशासनले आगजनी नै गरेको थियो।
यसअघि माडी नगरपालिकाले कुसुमखोला लगायतका निकुञ्जको क्षेत्रका बासिन्दाहरु बाढी, जंगली जनावरको जोखिममा रहेको भन्दै दुई सयभन्दा बढी घरधुरी स्थानान्तरण गरेको थियो। त्यसयता यहाँका सुकुम्बासीलाई माडीको ७, ८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा राखिएको छ।
यो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको पूर्ण मध्यवर्ती क्षेत्रमा पर्दछ। उक्त क्षेत्रका निकुञ्ज छेउछाउ अव्यवस्थित बसोबास गर्ने सुकुम्बासीहरुको स्थायी बसोबासको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद पनि हुँदै आएको छ । पछिल्लो समय सरकारले भूमीहीनहरुलाई बसोबास गरिरहेको स्थलको जमिनको निस्सा वितरण गरिरहेकोले बसोबास स्थानान्तरण गरिएकाहरू पनि पुनः कुसुमखोला फर्किएर घर निर्माण गरेको निकुञ्ज स्रोतको दाबी छ।
आगलागी विरुद्ध विरोधको विज्ञप्ती
माडी नगरपालिकाको वडा नम्बर ९ कुसुमखोलास्थित चेपाङ बस्तीमा आगोलागि गराइएको प्रति मानव अधिकारवादीहरुले विरोध जनाएका छन् ।
नेपाल चेपाङ संघ चितवन र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी उक्त घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । चेपाङ संघ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले विज्ञप्तिमार्फत अति सिमान्तकृत चेपाङ समुदायमाथि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगो लगाएको घटनाको निन्दा गरेका छन् ।
घरबारविहीन भएका चेपाङ परिवारलाई तत्काल गास, बास र कपासको व्यवस्थापन गर्न सरकारसमक्ष माग गरिएको छ।
घटनाको नेकपा एमाले चितवनले पनि विरोध जनाएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा घरभित्र भएका अन्नपात, लत्ताकपडा समेत झिक्न नपाई नष्ट गर्ने कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य भएको उल्लेख छ ।
यसै गरी नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले माडी कुसुमखोलामा रहेका चेपाङवस्तीमा गरिएको आगजनी घटनाको छानविन गर्न माग गरेका छन् । सरकारभन्दा ठुलो भएको दम्भ राख्दै चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलामा बस्दै आएका चेपाङ समुदायमाथि दुव्र्यवहार वर्षेनी दोहोर्याउनु गलत भएको पूर्व सांसद समेत रहेका चेपाङले इकाजसँगको कुराकानीमा भने ।
गत १० चैतमा कुसुमखोलाका चेपाङलाई बस्नको लागि राइडाँडामा बनाइएको नमुना वस्तीमा सार्नको लागि बस्तिको उद्घाटन गरिएको थियो। राइडाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट ४१ घरहरु बनाइएका छन् । तर, माडी–९ कुसुमखोलामा अझैपनि चेपाङ वस्ती रहेको छ । २४ वर्षयता सो ठाउँमा चेपाङ समुदायको बसोबास रहेको छ ।
माडी नगरपालिकाका मेयर ठाकुर ढकालले स्थानीयको गास र बासको लागि नगरपालिकाले पहल गरिरहेको बताए । मेयर ढकालका अनुसार चेपाङ बस्तिको एक पुरानोसहित केही १९ वटा नयाँ घरमा आगजनी गरिएको छ । कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि पुरानै बस्तिमा गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरिदिएको हो ।
मेयर ढकालले चेपाङ बस्तिमै पुगेर आफूहरुले स्थानान्तर गरेको बस्तिमा सर्नको लागि समन्वय गरिरहेको बेलामा एक्कसी गएर निकुञ्जले रातको समयमा घरघित्रको सामान समेत झिक्न नदिइ आगो लगाएको बताए । “हामीले स्थानीय चेपाङहरुलाई समन्वय गर्दै, सार्ने काम गरिरहेका थियौ, निकुञ्जले हामीसँग समन्वय नै नगरी बस्तिमा आयो लगाएछ” उनले भने ।
सरकारले स्थानान्तरण गरेको स्थामा उनीहरुको लागि २ कोठाको घर मात्रै छ, तर चेपाङहरुले आफूहरुलाई कम्तिमा ६ कठ्ठा जग्गा नदिएसम्म स्थानान्तरण भएर नजाने अडान राख्दै आएका छन् ।
मकवानपुर/गरिब बस्ति हात्ति गौडा । सबै घरको छाना फुस र स्याउलाले छाइएको । सबैको पेशा भट्टी सञ्चालन । साँझ पर्दै थियो, सबैजसो भट्टीहरुमा सेवाग्राहीको चाप बाक्लिदै थियो ।
बस्तिको एक भट्टी (चम्सुरीको घर) मा नाचगान सहितको कार्यक्रम चलिरहेको थियो । सबैजसोको चहलपहल चम्सुरीकै भट्टीमा थियो । नजिकैको भट्टीमा रक्सि बनाउँदै गरेको चुल्होबाट आगोको झिल्का टहरामा पुग्यो । सानो झिल्को आगोले टहरो दन्दनी बल्न थाल्यो । बस्तिमा हाहाकार मच्चियो । चौधरी निवास, भट्ट निवास र कान्छीको भट्टी नष्ट भए । भागदौडकै क्रममा लडेर केहीको हात भाँचियो त केहीको खुट्टा । सुरक्षा निकायलाई खबर गरियो ।

नेपाली सेना, सशस्त्र प्रहरी बललगायतको अग्नी नियन्त्रण टोली, नगरपालिकाको बारुणयन्त्र, रेड्क्रसको प्राथमिक स्वास्थ्य उपचार टोली सबै आइपुगे । आगो निभाउने, प्राथमिक उपचार गर्ने आ–आफ्नो भूमिकमा सबै लागिपरे । बस्तिको २ घर बाहेक सबै जलेर नष्ट भए । आगो नियन्त्रणपछि स्थानीय वडा अध्यक्षको रोहबरमा प्रहरीले मुचुल्का सहित क्षेति विवरण संकलन गरेर फर्कियो ।
कुनै पनि समय सत्य बन्न सक्ने यो एउटा नाटकीय प्रस्तुती थियो । जिल्ला विपत् व्यवस्थापन समितिको नेतृत्वमा देखाइएको नाटक कुनै पनि बेला कुनै पनि स्थानमा सत्य सावित हुन सक्छ । यसको पूर्व तयारी गर्नको लागि सचेतना अभिवृद्धि गर्ने उद्दश्यका साथ नाटक मन्चन गरिएको थियो ।
एउटा घरमा लागेको आगोले सहजै बस्ति सखाप पार्न सक्छ । चैत बैशाखको समयमा बिशेषगरी हावाहुरी तथा आगलागी हुने संभावना बढी हुने गर्दछ । सुख्खा मौसमका बेला यस्ता विपदले कहिले र कतिबेला समस्यामा पार्छन त्यो भन्न सकिन्न । यसैले सचेतनाको लागि यस्तो प्रस्तुती गरिएको प्रमुख जिल्ला अधिकारी भरतमण्ी पाण्डेले बताए ।
विपदबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको नेतृत्वमा खुला चौरमा सुरक्षा निकायले नमुना सुरक्षा पद्धति (डेमो) परिक्षण प्रदर्शन गरेको हो ।

खासगरी आगलागी नियन्त्रण र व्यवस्थापनको विषयमा गोरख बहादुर गण सुपारेटार, सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुर, जिल्ला प्रहरी कार्यलय मकवानपुरका तालिमप्राप्त सुरक्षा सुरक्षाकर्मीहरुले ससाना घरहरुलाई डेमो बनाएर आगलागी कसरी नियन्त्रण गर्ने भनी नमुना प्रदर्शन गरिएको सशस्त्रका प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाली सेनाका प्रमुख सेनानी सुवासचन्द्र महत, राष्ट्रिय अनुसन्धान हेटौंडाका उपनिर्देशक पप्पुशर्मा पौडेल, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, शिक्षक, विद्यार्थी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
मकवानपुरगढी गाउँपालिका नेपालको दोस्रो बालमैत्री स्थानीय तह घोषित
Tags: No Comments
मकवानपुर । तोकिएको ५१ वटा सूचकहरुमाथि सफलता हासिल गरेपछि शानिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषिणा गरेका छन् ।
यसरी घोषित हुने यो नेपालकै दोस्रो गाउँपालिका हो ।
यस अघि घोषित पाल्पाको रम्घा गाउँपालिका ५१ वटा सूचकमा सफलता हासिल गर्ने पहिलो स्थानीय तह बनेको थियो भने अन्य २ गाउँपालिका यसअघि तोकिएको ३९ वटा सूचकमा सफलता हासिल गरेर बालमैत्री घोषित भएका थिए । नेपालमा हालसम्म ४ वटा गाउँपालिकालाई बालमैत्री घोषणा गरिएकोमा मकवानपुर जिल्लाकै ३ वटा रहेका छन् । मकवानपुरगढीसहित मकवानपुरको मनहरी, बकैया र पाल्पा रम्घा गाउँपालिकामा बालमैत्री शासन लागु भएको छ । मकवानपुरगढी नेपालको चौथो, बागमती प्रदेशको तेस्रो र ५१ वटा सुचकमा नेपालकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका भएकाे छ ।
गाउँपालिकाले बालमैत्री स्थानीय शासनको सबै सूचकहरु पूरा गरी जिल्ला समन्वय समिति मकवानपुर र बागमती प्रदेश सरकारको अनुगनम तथा अनुमति तथा सिफरिसमा शनिबार गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्य र अर्थ समितिको सभापति तथा प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दहाल, प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको सहभागीतामा मकवानपुरगढी गाउँपालिकालाई स्थानीय बालमैत्री शासन लागू भएको गाउँपालिका घोषणा गरीएको हो ।
गाउँपालिकाले ५ वटा मुख्य सूचक भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर गाउँपालिका भित्र बालमैत्री शासन लागू गरेको हो । बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संस्थागत विकास मुख्य सूचक रहेका छन् । बालमैत्री घोषणा आवश्यक ५१ वटा सूचकहरुमा ४० वटामा शतप्रतिशत र बाँकी ११ वटा सुचकमा ९९ दशमलब ७५ प्रतिशत नतिजा हासिल गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले बताए ।

आर्थिक बर्ष २०७६/०७७ को बार्षिक बजेट नीति तथा कार्यक्रममा गाउँपालिकाले बालमैत्री स्थानीय शासन नीतिगत अबलम्बन गर्ने निर्णय गरेको थियो । त्यसपछि गाउँपालिकाले २०७७ माघ १९ र २० गते बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाको लागि गाउँपालिकास्तरमा हस्ताक्षर गर्दै सामुहिक प्रतिवद्धता गरेको थियो । गाउँपालिकाको ८ वटै वडामा टोल, विद्यालय, वडा तथा पालिका स्तरमा बाल समुहहरुको गठन तथा क्रियाशिलतालाई तिब्र बनाएको थियो ।
आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट नीति तथा कार्यक्रममा २०७८ को मंसिरभित्र बालमैत्री घोषण गर्ने निर्णय गरेको थियो । त्यस्तै आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा,“बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान” शुरु गरी यही फागुन २९ गते गाउँपालिकाको ८ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
हाल गाउँपालिकामा १ सय ३ वटा विद्यालयमा आधारित र १४ वटा समुदायमा आधारित बालविकास केन्द्र संचालनमा रहेको अध्यक्ष हुँमागाईंले बताए । १ सय ३ वटा बाल समुहहरु, वडा र गाउँपालिका बालसमुह सञ्जाल ९ वटा गरी पालिकाभित्र १ सय १२ वटा बालसमुहमा १७ सय ६२ बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको उनले बताए । बालमैत्री स्थानीय कार्यान्वयन तथा दिगोपनाको लागि वडास्तरको लगानी योजना र पाँच बर्षे रणनितिक योजना बनाइएको छ ।
घरधुरी सर्वेक्षण २०७७ अनुसार गाउँपालिकामा ४ हजार ६ सय २४ बालक र ३ हजार ६ सय ७२ बालिका गरी कुल ८ हजार २ सय ९३ बालबाललिका रहेका छन् । ५ हजार ३ घर धुरी रहेको गाउँपालिकामा महिला १२ हजार ६२ र पुरुष १३ हजार ४३ गरी कुल जनसंख्या २५ हजार १ सय ५ रहेको छ ।

बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति एवं बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७०, बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८, स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३ दफा १२ को ग बमोजिम बालमैत्री स्थानीय शासन अवधारणाको अवलम्बन गरेर कार्यान्वयनमा ल्याएको छ ।
नेपालले अन्तराष्ट्रिय बालअधिकार महासन्धी १९८९ लाई २०४७ भाद्र २९ गते अनुमोदन गरेको थियो । त्यसपश्चिात नेपाल सरकारले बालअधिकारलाई संस्थागत गर्नका लागि बालअधिकार ऐन २०७५, नेपालको संविधान २०७२ को भाग ३ मैलिक हक धारा ३९ मा कानुनी नीतिगत व्यवस्था गरेको थियो । सोही अनुरुप सरकारले नेपालका सबै स्थानीय तहलाई सन २०३० सम्ममा बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।