मकवानपुर/ नेकपा एमाले केन्द्रीय सदस्य जुनेली श्रेष्ठले आफूले चाहेर पनि स्थानीय तहको विकास चाहेजति गर्न नसकेको बताएकी छिन् ।
निर्वाचन लक्ष्यित चुनावी सभालाई सम्बोधन गर्दै उनले हेटौंडाको पदमपोखरीमा यस्तो बताएकी हुन् । आर्थिक उपार्जन, महिला सशक्तीकरण तथा मानवीय विकासको योजना लिएर एमाले अघि बढेको उनले बताइन् । एमाले आशा देखाउने भन्दा पनि काम गरेर देखाउने पार्टी भएको उनले बताइन् । आफ्नो टोल आफैं बनाउन आफ्नो समुदायबाट नेतृत्व गर्ने स्थानीय मतदाताले नै चनाखो भएर सुर्य चिन्हमा मतदान गर्ने उनले आग्रह गरिन ।
एमाले वडा कमिटीले आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य भारती पाठकले कृषि, वनलगायतको व्यवस्थापन र विकासमा एमालेको विशेष योजनामा रहेको बताइन् । पदमपोखरी क्षेत्रमा मध्यवर्ती क्षेत्रको समस्या समाधानमा पहल एमालेले गर्ने पाठकले बताइन् । महिलाको सर्वपक्षीय विकास गर्न पनि स्थानीय नेतृत्वमा एमाले कै नेतृत्व चाहिने पाठकले बताइन् ।

कार्यक्रमा एमाले नेता श्रीधर पोखरेलले हेटौंडा नगरमा गठबन्धनले जिते भ्रष्टाचार बढ्ने छ भन्दै आशा र सर्तको पछि लागेर गठबन्धनलाई सहयोग नगर्न अनुरोध गरे । “एमाले प्रतिबद्धता लिएर नेतृत्वमा जान्छ, काम गरेर देखाउछ, अधुरा विकास पुरा गर्ने एमालेले गर्ने छ, युवालाई बिदेश हैन, आफ्नै माटोमा सुन फलाउन सिपालु बनाउने छ” पोखरेलले भने । चुनावी सभामा हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयर र उपमेरका उम्मेदवारहरु अनन्त पौडेल र सुमित्रा काफ्लेले आफूहरुको जित सुनिश्चित भएकोले कार्यकर्ताहरुलाई संयमित भएर मत बदर नहुने गरी मतदान गर्न आग्रह गरे । हेटौंडा उपमहानगरपालिका वडा न. १२ का एमाले वडा अध्यक्ष बखानसिंह घलानको अध्यक्षतामा वडाको बराल टोल, सिग्रनी, मिलनटोललगायत विभिन्न ८ स्थानमा कोण सभा तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको थियो ।
मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार अनन्त पौडेलले हेटौंडा विकासको रफ्तार बढाउन एमाले नेतृत्व आवश्यक भएको बताएका छन् ।
हेटौंडा १२ मा आज भएको चुनावी सभाहरुलाई सम्बोधन गर्दै उनले एमालेलाई नेतृत्वबाट हटाइएपछि ठप्प भएको विकासमा गतिदिन आफूहरुको उम्मेदवारी रहेको बताएका हुन् ।
विगतमा एमालेले गरेको विकासमा इट्टा थप्ने योजना बोकेर स्थानीय स्तरमा एमाले समस्या बुझ्न र समाधानको लागि सल्लाह लिन टोलटोल आएको उनले बताए ।

आसन्न स्थानीय तहको निर्वाचनमा एमाले आफैं दैडेर पहिलो हुने पार्टीको रूपमा अघि बढेको उनले बताए । एमालेले जिताएर पठाएको व्यक्ति अहिले एमालेकै विपक्ष रहेको लाजमर्दो अवस्थाको प्रसङगमा उनले भने “जसको नुन खायो उसैको विरुद्धमा लाग्ने, साँघुरा मन भएकाहरुले फराकिलो हेटौंडाको विकास कसरी गर्छन ?”
“घरदैलोको क्रममा जहा जहा पुग्दा पनि हामीले धेरै माया पाएका छौ, हामी चुनावी दौडमा मात्रै घरदैलोमा हैन,सधै तपाईहरूका साथ हुने छौ” उनले भने “जनताको आंगन र चुलोसंग जोडिएको योजनाहरू बोकेर आएका छौ ।”
कार्यक्रममा एमाले सरकारले हेटौंडालाई प्रदेशको राजधानी बनाएको उनले बताए । शहरिया गरिबिको तथ्यांक संकलन गरेर उनीहरूको जीवनस्तर उकास्ने योजना रहेको उनले बताए । वडाको अधुरा विकास पुरागर्ने एमाले सरकारले पहिलो प्राथमिकता दिने उनले बताए ।
यसैगरी हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार रहेकी सुमित्रा काफ्ले कृषिको विकासमा फड्क्क मार्न आतुर रहेको बताइन् ।
हेटौंडा १२ को विभिन्न टोलहरुमा भएको कार्यकर्ता भेटघाटमा काफ्लेले पदमपोखरीलाई व्यवस्थित शहरीकरणको रुपमा अगाडि बढाउने सोचमा एमाले रहेको बताइन् । “यहाँको माटो देखेर म लोभिएको छु, यो कृषिको उर्वर भूमि हो, आय आर्जन बढाउन व्यवसायीक कृषिबाट अगाडि बढाउने योजना हामी बनाउँने छौ” काफ्लेले भनिन् ।

सामूहिक कृषि खेति, सामूहिक उद्यमको लागि एमालेको नेतृत्वले पहल गर्ने उनले बताइन् । “यो मलोलो माटोमा कृषि पर्यटनको संभावना खोज्ने छौ, कृषि र पर्यटनलाई जोडेर अघि बढ्ने छौ” उनले भनिन् “कृषि व्यवसायलाई बीमाबाट निर्धक्क बनाउने छौ ।”
यसैगरी शिक्षामा गुणस्तरीयता, महिला तथा युवाको सशक्तिकरण, निशुल्क स्वास्थ सेवा, पिउने पानीमा एमाले नेतृत्वले काम गर्ने काफ्लेले बताइन् ।
आफूहरु चुनाव नजिक आएकोले मत माग्नभन्दा पनि स्थानीय स्तरको समस्या र समाधानको लागि सल्लाह गर्न आएको उनले बताइन् ।
एमाले महानगरको अवधारणा लिएर सोहि अनुरूपको विकासमा लागि परेको बताउँदै काफ्लेले भनिन् “सिङ्गो नगरको विकासको लागि पार्टीले खास खास योजनाहरु बनाएको छ, यहाँहरुको सल्लाह, सुझाव र निर्देशन अनुसार कार्यान्वयन गरिने छ ।
कार्यक्रममा नेकपा एमालेबाट हेटौंडा १२ को वडा अध्यक्षको उम्मेदवार राजेश नगरकोटीले आफू यहाँको स्थानीयवासी भएकोले पनि यहाँको समस्या भिजेर हुर्केको भन्दै अभिभावकत्वको जिम्मेवारी दिन स्थानीयलाई आग्रह गरे ।

यसैगरी कार्यक्रममा एमाले जनवर्गीय संगठन सदस्य आरती पाठकले चुनावमा कुनै पार्टीलाई हराउने भन्दा आफू जित्न लागिपरेको बताइन् । कार्यक्रम वडा अध्यक्ष बखानसिंह घलानको अध्यक्षतामा भएको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारले विगतमा भ्रष्टाचार गरेको आरोप लागेका व्यक्तिलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायममुकायम उपकुलपति बनाउने तयारी गरेको छ ।
गलत प्रतिबेदन पेश गरी भ्रष्टाचार गरेको मुद्दाका आरोप लगेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर सतिस कुमार देबलाई बागमती प्रदेश सरकारले कायममुकायम उपकुलपति बनाउने तयारी गरेको हो ।
देबलाई उक्त मुद्दामा बिशेष अदालत काठमाडौँले सफाई दिएप् पनि सर्बोच्च अदालतले झगडीया झिकाउने आदेश गरेको छ । तर सर्बोच्चको यो आदेशसंगै उनी स्वतः निलम्बनमा पर्ने कानूनी ब्यवस्था भएपनि यस विपरित अहीलेसम्म पदमै बहाल रहीरहेका छन् ।
बागमती प्रदेश सरकारले प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीलाई निलम्बन गरी उनै विवादित छविका रेक्टर सतिस देबलाई कायम मुकायम उपकुलपतिमा नियुक्ती गर्ने तयारी गरेको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३, अख्तीयार दुरुपयोग आयोग ऐन २०४८ को दफा १७ बमोजिम स्वत निलम्बनमा रहनुपर्ने ब्यक्ती उपकुलपति बन्न दौडधुप समेत गरिरहेका छन् । उनले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अध्यादेश ल्याउन समेत सरकारलाई प्रभावमा पारेका थिए ।
राष्ट्रिय चिकीत्सा शिक्षा आयोगको सदस्यमा रहँदा मापदण्ड विपरित चारवटा शैक्षिक संस्थालाई अनुमति दिएको भन्दै उनी बिरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो । अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत गिता प्रसाद तिमल्सीना, माधब खत्री र कमल पौडेलको प्रतिबेदनले उनी बिरुद्ध नेपाल सरकार बादी भई बिशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।
अख्तीयार दुरुपयोग आयोग ऐन २०४८ को दफा १८ बमोजिम अनुसन्धान तहीकातबाट अपराध गरेको भन्ने मनासिब आधार कारण भएमा आयोगले प्रचलीत कानून बमोजिम मुद्दा चलाउने कानूनी प्राबधान छ । उनलाई सोही दफा बमोजिम मुद्दा दायर भएको थियो ।
विशेष अदालत काठमाडौँले उनलाई सफाई दिएपछि उनी बिरुद्धको भ्रष्टाचार मुद्दा सर्बोच्चमा पुगेको हो । सर्बोच्च अदालतका न्यायधिश मिरा खड्का र पुरुषोत्तम भण्डारीको इजलाशले झगडिया झिकाउने आदेशमा मापदण्ड अनुसार उपकरण नभएको, बेड समेत पर्याप्त नभएको, ८ बेड मात्रै भएको शैक्षिक संस्थालाई अनुमति प्रदान गर्ने गरी भएको निर्णय कानून विपरित रहेको उल्लेख गरेको छ ।
अख्तीयार दुरुपयोग आयोगको प्रतिबेदनको आधारमा मुद्दा दायर भएको प्रतिवादीलाई बिशेष अदालत काठमाडौँबाट मिति २०७२–११–९ मा सफाई पाउने गरी भएको फैसल्ला प्रमाण मुल्यांकनको दृष्टिकोणबाट फरक पर्न सक्ने देखिएको भन्दै सर्बोच्च अदालतते झगडीया झिकाउन भनेको छ । उनलाई झिकाईएको म्याद सूचना दिन समेत सर्बोच्चले आदेश गरेको छ ।
मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म रेक्टर देबले कसुरबाट उन्मुक्ती नपाउने कानूनका जानकार बताउँछन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३, अख्तीयार दुरुपयोग आयोग ऐन २०४८ को दफा १७ बमोजिम रेक्टर देब स्वतः निलम्बनमा परेका छन् । तर बागमती प्रदेश सरकारले उनलाई अहिलेसम्म पदीय जिम्मेवारीमै राखेको छ । निलम्बनमा परेका ब्यक्तीले पदीय जिम्मेवारी बहन गर्न वा थप जिम्मेवारी दिन कानुनतः प्रतिबन्ध छ ।
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा एमालेका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ मनहरीका वडा वडामा घरदैलो गरिरहेका छन् ।
सोमबार उम्मेदवारहरुले मनहरी गाउँपालिका वडा नं ५ मा घरदैलो गरेका छन् । अध्यक्ष उम्मेदवार उप्रेती, उपाध्यक्ष उम्मेदवार थिङ, ५ नं वडाका अध्यक्षका उम्मेदवार किशोर बर्तौला, वडा सदस्य पदका उम्मेदवारहरु मोहनलाल थिङ, गीता कुमारी मुक्तान, सुनिता थिङ र राममाया नेपालीसहित एमालेका नेता कार्यकर्ताहरुले वडाका जनताको घरघरमा पुगी घरदैलाे गरेका हुन् ।
उम्मेदवारहरुले वडाको विकास, गाउँपालिकालाई समृद्ध बनाउने सपना एमालेको सरकार आए मात्रै पूरा हुने बताए ।
उम्मेदवारहरुले वडाभित्र रहेका ज्येष्ठ नागरिकहरुसँग आर्शिवाद लिएका छन् । वडा नं ५ स्थित किरणचोकका १ सय वर्षीय वृद्ध तेज प्रसाद ढुंगानाको घरमा पुगी उम्मेदवारहरुले आशिर्वाद लिएका हुन् । वडाका सबै ज्येष्ठ नागरिक समूहसँग उम्मेदवारको टोलीले आर्शिवाद ग्रहण गरेको थियो ।
वृद्धवृद्धाको आर्शिवाद भएकै कारण नेकपा एमाले देशको सबैभन्दा लोकप्रिय पार्टी बनेको अध्यक्ष उम्मेदवार उप्रेतीले बताए ।अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी कामहरु सम्पन्न गर्ने बाचासहित अध्यक्ष उम्मेदवार उप्रेतीले मतदातासँग मत मागेका थिए ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुकै सहमतिमा तोकिएको निर्वाचन आचारसंहिताको लगातार उल्लङ्घन हुदा मकवानपुरको प्रशासन मौन रहेको छ ।
बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक्तान दैनिक रुपमा चुनावि प्रचारमा रहदा प्रशासन मौन रहेको हो । विगत केही दिनदेखि मन्त्री मोक्तान निर्वाचन आचारसंहिता विरुद्ध चुनावी प्रचारप्रसारमा सहभागी हुँदै सभालाई सम्बोधन गर्दै आएकी छन् ।
आइतबार मात्रै पनि मन्त्री मोक्तानले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ मा ३ दलीय गठबन्धनको वडा कमिटीको आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गरेकी छिन् ।

निर्वाचन आचारसंहिता विपरीत मुक्तान स्थानीय तहको गठबन्धनमा चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेकी छन् । मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी हुन् ।
निर्वाचन आचारसंहिता अनुसार सांसदले कुनै पनि उम्मेदवारको चुनावी प्रचार गर्न, प्रचारप्रसार कार्यालयको उद्घाटन गर्न मिल्दैन । केही दिन अघि मन्त्री मोक्तान आचारसंहिताको वेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरीका विभिन्न वडामा उम्मेदवारहरुसँगै प्रचारमा हिँडेकी थिइन् ।
मनहरी गाउँपालिका वडा नं ३ मा पुगी उम्मेदवारहरुको प्रचार कार्यक्रममा सहभागी मात्र भइनन् । मोक्तान माओवादी केन्द्र र गठबन्धन निकट उम्मेदवारहरुको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटनमा व्यस्त छिन् । मोक्तानले खुलेआम आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोग, निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण नहुनुलाई एमालेले मकवानपुरको ध्यानाकर्षण भएको बताईएको छ ।