मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ४ मा एक मतदाताले ‘नो भोट’ गरेका छन् ।
सर्वोच्च अदालतले नो भोट लागू गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको भए पनि यो कार्यान्वयनमा छैन । जनतामा माग भए अनुसारको नो भोट व्यवस्था कार्यान्वयन नभएको भए पनि मकवानपुरमा यस्तो संकेत गरिएको हो ।
राजनीतिक दल र दलका नेताहरुदेखि दिक्क भएका एक मतदाताले मतपत्रमा क्रस चिन्ह लगाएर ‘नो भोट’ लेखेको पाईएको छ ।
मकवानपुरको हेटौँडा-४ को मतगणना भैरहेको समयमा एक मतपत्रमा ‘नो भोट’ लेखिएको पाईएको हो । उक्त वडाको १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र पाईएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।
पछिल्लो समयमा ‘नो भोट’को माग बढिरहेको अवस्थामा हेटौँडामा भेटिएको उक्त मतपत्रले आगामी निर्वाचनमा ‘नो भोट्स राईड्स’बारे सोच्न वाध्य बनाएको मतगणनामा सहभागि रहेको प्रतिनिधिहरुको भनाई रहेको छ ।
मकवानपुर / स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत मकवानपुरको विकट गाउँपालिका राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएका छन् ।
मल्लले आफ्नो प्रतिद्वन्द्वीलाई ९०९ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । मल्लले ५ हजार ४८१ मत प्राप्त गरेका थिए । राक्सिराङमा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भए । उनले ४ हजार ८३९ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरिन् ।
चितवन। चितवनकाे माडी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमाले विजयी भएकाे छ । माडी नगरपालिकामा एमालेले पहिलो वडा अध्यक्षमा जित हासिल गरेकाे छ ।
वडा नं. ६ को वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार दीपेन्द्रराज पौडेल ८ सय ६१ मत प्राप्त गरी निर्वाचित हुँदा उनकाे निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका यमनाथ सुवेदी (रामु) ले ८ सय ३९ मत प्राप्त गर्दै पराजित भएका छन् । लामो समयसम्म शिक्षण सेवामा संलग्न पौडेलले एमालेबाट वडाध्यक्षको टिकट पाएसंगै शिक्षण पेशाबाट राजिनामा दिएका थिए ।
माडीमा अब वडा नम्बर ५ को मतगणना बाकी रहेकाे छ । गणना भएका वडा मध्ये माओवादी केन्द्रले ३, राप्रपाले २, एकीकृत समाजबादीले २ र एमालेले १ वटा वडा जितेका छन् ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नेकपा एमालेबाट भारी मतान्तर सहित बिजयी भएका नेतृत्वहरू पुनः त्यहि पदमा दोहोरीदां अहिलेको निर्वाचनमा धरौटी जफतको अवस्थामा पुगेका छन् ।
नेकपा एमाले विभाजनसँगै एकीकृत समाजवादी रोजेका र सोही पदमा फेरी उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्षहरूले लज्जास्पद हार ब्यहोरेका छन् । एक वडा अध्यक्षको पनि हालत उस्तै हुने लक्ष्यण देखिएको छ ।
मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा हालका अध्यक्षमा उम्मेदवार जीवन लामा र कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् हाल अध्यक्षका उम्मेदवार रहेका टंक मोक्तानले लज्जास्पद हार बेहोरेका हुन् ।
यता बकैया गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार रामकाजी लामिछानेले पनि लामो मत अन्तरमा हार व्यहोर्नुपर्ने लक्ष्यण देखिएको छ ।
कैलाशका टंक मोक्तानले यो पटक १ सय २० मत मात्र ल्याएपछि उनको धरौटी जफत भएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवार हुंदा झण्डै ३ हजार मत ल्याएका उनको मत यसपटक एकीकृत समाजवादीबाट उम्मेदवार हुंदा १२० मा खुम्चिएको हो । उनी स्थानीय तह निर्वाचन २०७४ मा २ हजार ८ सय २ मत ल्याउँदै एमालेबाट विजयी भएका थिए ।
यसै गरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामाले पनि एमालेबाट उम्मेदवार हुंदा २०७४ को निर्वाचनमा भन्दा यसपटक एकीकृत समाजवादी हुंदा लामो मतान्तरमा हार व्यहोरे ।
उनले हालको निर्वाचनमा जम्मा ४ सय ७९ ल्याएका छन् । गत स्थानीय तहको निर्वाचनमा लामाले ३ हजार २ सय ४ मत ल्याएर एमालेबाट विजयी भएका थिए ।
यता बकैया गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार रामकाजी लामिछानेले पनि लामो मत अन्तरमा हार व्यहोर्नुपर्ने लक्ष्यण देखिएको एकीकृत समाजवादीकै एक नेताले बताए । बकैयाको यो वडामा हालसम्म २ हजार ६ सय मत गणना गर्दा लामिछानेले जम्मा ५ मत पाएका छन् भने उनको प्रतिस्पर्धीले ८९२ मत ल्याएका छन् ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचनको मत परिणाममा हेटौंडाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार मिना लामालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिहले मतान्तर लम्ब्याएका छन् ।
सोमबार सांझसम्म १९० मतले अगाडि रहेकी लामालाई रातभरको मतगणनामा दीपकले १९८ मतले पछि पारेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको २२ हजार ८५३ मतगणना गर्दा राप्रपाका दीपकले ८ हजार २६५ मत पाएका छन् । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको उम्मेदवार लामाले ८ हजार ६७ मत पाएकी छिन् ।
एमाले अहिले पनि तेस्रो स्थानमा रहेको छ । नेकपा एमालेले ६ हजार ५२१ मत पाएको छ । एमाले राम्रो पक्कड रहेको दाबि गर्दै आएको हेटौंडाको ४ वडाबाट पनि मेयरमा राप्रपालाई मत गएपछि एमाले तेस्रो नम्बरबाट माथि उठ्न सकिरहेको छैन । यो वडाबाट वडा अध्यक्षको उम्मेदवार भने अग्रस्थानमा छन् ।
उपमेयरमा भने नेकपा एमाले ८ हजार ३३,गठबन्धनले ११ हजार ७९१ र राप्रपाले २ हजार १० मत पाएको छ । हाल वडा नम्बर ३, ४,,५,६,१६, १७ को मतगणना जारी छ ।