मकवानपुर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन नेपालको ९ औं केन्द्रीय महाधिवेशन शुक्रबार र शनिबार हेटौंडामा हुँदैछ । युनियन मकवानपुर शाखाको आतिथ्यतामा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आतिथ्य शाखाले जनाएको छ ।
युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’का अनुसार अधिवेशन आठवर्ष पछि हुन लागेको हो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने तय भएको छ । महाधिवेशन शुक्रबार र शनिबार हुने भएपनि विहीबारबाटै अतिथि, प्रतिनिधि, पर्यवेक्षक आउने क्रम सुरु हुने उनले बताए । अधिवेशनको लागि अतिथि, प्रतिनिधि र पर्यवेक्षक गरी करिब दुईहजार जना सहभागी हुने अधिकारीले बताए ।
प्रधानमन्त्री, मन्त्री तथा पार्टीको शीर्ष नेतृत्व नै हेटौंडामा हुने भएका कारण सोही अनुसार सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई अनुरोध गरिसकीएको उनले बताए । महाधिवेशनको उद्घाटन, बन्द सत्र र नयाँ कार्यसमिति चयनका लागि हुने मतदानको सम्पूर्ण प्रबन्ध हेटौंडाको रोयल पार्टी प्यालेसमा हुनेछ ।
हेटौंडामा रहेको होटलमा मात्र आवासको व्यवस्था सम्भव नभएपछि छिमेकी जिल्ला बाराको अम्लेखगंज र चितवनको सौराहामा समेत आवासको व्यवस्था मिलाएको अधिकारीले बताए ।
महाधिवेशनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो बिचमा हेटौंडमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार विभिन्न क्षेत्रमा हुने समेत अनुमान गरिएको छ ।
प्रेस युनियनको यो महाधिवेशनले संगठनको संघीय संरचना अनुसारको विधान सर्वसम्मतरुपमा पास गरेर नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ विधान पास भएपछि युनियन संघीयस्वरुप अनुसार संरचना निर्माण हुनेछ । नयाँ विधान अनुसार अब ७५ सदस्यीय नयाँ कार्यसमिति बन्नेछ ।
मकवानपुर ।बागमती प्रदेशको प्रदेश सभा बैठक आगामी ५ साउनमा बस्ने भएको छ ।
प्रदेश सचिवालय अनुसार बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार बस्ने भएको हो । बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले २६ औं बैठक साउन ५ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको प्रदेश सचिवालयले जनाएको छ ।
यसअघि,२९ असारमा बसेको प्रदेश सभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गर्दै बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो । सो बैठकको सुन्य समयमा बोल्दै प्रदेश सांसदहरूले श्रीलंकामा चरम आर्थिक समस्या भएको उल्लेख गर्दै नेपाललाई आर्थिक मन्दिबाट बचाउने ध्यानाकर्षण गराएका थिए ।
बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको थियो ।
मकवानपुर । चेपाङ, वनकरीया र गाडी बोक्ने मान्छेहरूको समाचार समेटिएको पुस्तक छेलिएका अनुहार हेटौंडामा विमोचन गरिएको छ ।
मकवानपुरका पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, वरिष्ठ साहित्यकार तुल्सी थापाले सुयुक्त रुपमा विमोचन गरेका हुन् ।
छेलोएको अनुहार अल्पसंख्यक चेपाङ, वनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति हो । पुस्तक सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको छ ।
२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । यस्तै २०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ ।
पुस्तक माथी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठ, चितवनका साहित्यकार एंव प्राध्यापक भूपिन, मकवानपुरका साहित्यकार तुल्सी थापा, लेखक चन्द्रकिशोर झालगायतले चर्चा गरेका थिए ।
चेपाङ, वनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गर्दै विष्टले भने,‘यो विशेषगरी चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकारको रुपमा रहेको छ । यो एउटा दस्तावेज हो ।’ चेपाङ र वनकरिया समुदायका समस्या नै समस्याको कथाहरु समेटिएको विष्टले बताए ।
कान्तिपुर दैनिकका लागि मकवानपुर जिल्लाबाट समाचार लेख्नुहुने विष्ट वरिष्ठ सहायक उपसम्पादक हुन् । कान्तिपुरमा आवद्ध हुनुअघि विष्ट हेटौंडाबाट प्रकाशित हुने कुराकानी साप्ताहिक र काठमाडौंबाट प्रकाशित हुने योजना साप्ताहिकमा आवद्ध थिए ।
छेलिएका अनुहार चेपाङ तथा वनकरीयाहरूको लागि ऐतिहासिकता बुझ्ने गाइड भएको साहित्यकार भुपिनले बताए ।
मकवानपुर । कुन मुद्दा कसले हेर्नेबारे न्यायाधीश छान्नमा गोलाप्रथा लागु गरेपछि मुद्दा फैसलामा असहज भएको दाबी गरिएको छ । पुनरावेदन उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा फैसलामा असहज भएपनि फैसलाको दर भने बढेको दाबी गरिएको छ ।
अदालतले एक वर्षको अवधिमा १ हजार २ सय ८४ मुद्दाको फैसला गरेको छ । अदालतमा न्यायाधीशको उपस्थितिमा आज आयोजित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै यसका बारेमा जानकारी दिएको हो । आर्थिक वर्ष २०७८/०७९ का अनुमानित वार्षिक फछर्यौट लक्ष्य १ हजार १९४ रहेकामा फछर्यौट १२ सय ८४ भएको अदालतका रजिष्ट्रार जगदिश प्रसाद भट्टले बताए ।
जसमा नयाँ दर्ता अनुमान १ हजार १ सय ४९ रहेको र लक्ष्य पुग्न बाकीँ ९० थान रहेको छ । आव २०७६/०७७मा कुल १० हजार ७२ र फछर्यौट ६६४ रहेको थियो भने बाकीँ ४०८ थान मुद्दा रहेको थियो । त्यस्तै, आव २०७७/०७८ मा लगत १४ सय ४५ र फछर्यौट ८२६ हुनका साथै ६१९ थान बाकीँ मुद्दा रहेको रजिष्ट्रार भट्टले बताए ।
अंग नपुगेका मुद्दाहरु फछर्यौट गर्न नसकिएको बताईएको छ । अदालतले गत २ माघबाट गोलाप्रथा सुरु गरि कुन मुद्दा कसले हर्ने भन्ने सहज वातावरण सिर्जना भएको भट्टले बताए । जसको कारण लक्ष्यमा पुग्न सफल भएको अदालतका न्यायधिस अब्दुल अजित मुसलमानले बताए । गोलाप्रथा लागु भएपछि न्यायधिश १० बजे आउने र ११ बजे नै बेन्च बस्ने गर्ने गरेको पाइएको छ । जसकाकारण लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको उनले बताए ।
केही मुद्दा भने सेवाग्राहीकै क्यक्तिगत कारणले फैसलामा ढिला हुने गरेको उनले बताए । पत्रकार अन्तरक्रियामा न्यायधिशहरू मेरिना श्रेष्ठ, निर्मला शाक्य, रजिष्ट्रार भट्ट लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । चौतर्फी बिरोधका बाबजुद बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गरेको छ ।
प्रदेश सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गरेको हो । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गरेका हुन् । गणतन्त्र दिवसका अवसरमा निर्णय भए अनुसार उनीहरुलाई सम्मान गरिएको हो ।
प्रदेश सरकारले सुरक्षातर्फ ‘शान्तिमाला’ पदक मार्फत नेपाल प्रहरीका ३ जनालाई, ‘प्रदेश रक्षक’ पदक मार्फत सशस्त्र प्रहरी बलका १ जनालाई, ‘शान्तिदीप’ पदक मार्फत नेपाली सेनाका १ जनालाई, शिक्षातर्फ ‘प्रदेश दीप’ पदक मार्फत ४ जनालाई, स्वास्थ्यतर्फ ‘मृत्युञ्जय’ पदक मार्फत २ जनालाई, खेलकूदतर्फ ‘प्रदेश शान’ पदक मार्फत दुईजनालाई सम्मान गरिएको छ ।
त्यस्तै सरकारले कृषितर्फ ‘कृषि किरण’ पदक मार्फत २ वटा कृषि फर्म, सहकारीतर्फ ‘सहकारी प्रवर्धन’ पदक मार्फत २ वटा सहकारीलाई सम्मान गरेको हो । प्रदेश सरकारले, उद्योगतर्फ ‘उद्यमशीलता’ पदक मार्फत ३ जनालाई, पर्यटनतर्फ ‘प्रदेश द्रष्टा’ पदक मार्फत एकजनालाई, वातावरणतर्फ ‘वातावरण संरक्षण’ पदक मार्फत १ जनालाई, पूर्वाधार विकासतर्फ ‘विकास सेवी’ पदक मार्फत एकजनालाई, सूचना तथा सञ्चारतर्फ ‘प्रदेश दूत’ पदक मार्फत तीनजनालाई, विज्ञानतर्फ ‘अन्वेषण’ पदक मार्फत १ जनालाई सम्मान गरिएको हो ।
यसैगरी प्रविधितर्फ ‘नव प्रवर्तन’ पदक मार्फत दुईजनालाई, भाषातर्फ ‘सुभाषिक’ पदक मार्फत एकजनालाई, कलातर्फ ‘कलाकिर्ति’ पदक मार्फत तीनजनालाई, संस्कृतितर्फ ‘संस्कृतिदीप’ पदक मार्फत एकजनालाई , साहित्यतर्फ ‘प्रदेश द्रष्टा’ पदक मार्फत एकजनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ ‘जनसेवा’ पदक मार्फत एकजनालाई, विपद् व्यवस्थापनतर्फ ‘विपदसेवी’ पदक मार्फत २ नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ ‘प्रदेश परोपकार’ पदक मार्फत छजनालाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख शर्मा, प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र सभामुख सानुकुमार श्रेष्ठले पदकबाट सम्मान गरिएको हो । प्रदेश सरकारले बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि आजै सम्मान गरिएको छ ।