मकवानपुर / गत बैशाख महिनामा दिइएको एसईई परीक्षाको नतिजा आज दिउँसो ३ बजे सार्वजनिक हुंदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो’, उनले भने ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए ।
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । रिजल्ट प्रकाशित भएपछि एसएमएसबाट ३५००१, ३४९४९, ३१००३ र एसएमएस-आइभीआरबाट १६०० मा म्यासेज गरेर रिजल्ट हेर्न सकिन्छ ।
त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.khalti.com, www.neemaacademy.com, www.theconnectplus.com, www.see.ntc.np, www.admissionnepal.com र www.ekantipur.com वेभसाइटबाट रिजल्ट रिजल्ट प्रकाशित भएपछि हेर्न सकिने बताइएको छ ।
मकवानपुर । सन् १९८९ मा विश्व बैंकको २ दशमलव २ मिलियन अमेरिकी डलर सहयोग प्राप्तिसँगै सूरू गरिएको नगर विकास कोषमा आगामी विकासको लागि आफूले सक्दो प्रयास गर्ने हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बताएकी छिन्।
नगरविकास कोषले सहरी पूर्वाधार विकासमा वित्तीय लगानी प्रवाह गर्ने गर्दछ । नगर विकास कार्यक्रमका लागि १९९५ मा जर्मन विकास बैंकमार्फत् प्राप्त ४ दशमलव ५ मिलियन युरो सहयोगबाट नेपालको ३२ नगरपालिकाको पूर्वाधार विकासमा खर्च गरिएको थियो ।
प्रथम चरणको कार्यान्वयन सफल भएसँगै जर्मन विकास बैंकमार्फत् कोषलार्ई सहयोग निरन्तर भयो । सन् २००० मा नगर विकास कार्यक्रमको दोस्रो र २०१० मा तेस्रो चरणको योजना सञ्चालन भयो । काठमाडौंमा भएको नगर विकास कोषको पहिलो बैठकमा सहभागिता भएसंगै आज कार्यक्रममा लामाले सपथ लिएकी हुन् ।
नगर विकास कोष सञ्चालक समितिको २०३ औं बैठकमा उनी सहभागी भएकी हुन् । बैठकमा कोषका सञ्चालक समितिका सदस्यहरुको स्वागत तथा सपथग्रहण र निवर्तमान सदस्यहरुको बिदाइ गरिएको थियो । कोषको आव २०७९/८० को नीति कार्यक्रम तथा तयारी उपसमिति गठन गरिएको छ ।
कोषका सञ्चालकहरुमा पोखराका मेयर धनराज आचार्य, हेटौंडाकी मेयर लामा, सूर्योदय नगर इलामका मेयर रणबहादुर राई, लमही नगर दाङका मेयर जोगराज चौधरी, बौधीमाई नगर रौतहटका मेयर प्रदीपकुमार यादब, लम्कीचुहा नगर कैलालीकी मेयर सुशीला शाहीलगायत १४ जना छन् ।
सहरहरुलाई सुन्दर र सफा बनाउने योजनासहित करिब ३ दशकअघि परिकल्पना गरिएको नगर विकास कोष आफ्नै हिसाबले काम गरिरहेको छ ।
विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) लगायत दातृ निकायको सहयोग लिएर काम गर्दै आएको कोषले नगरपालिका क्षेत्रमा बसपार्क, उद्यान, व्यवस्थित बजार, प्रशासकीय भवन, विद्यालय भवन, अस्पताल भवन, खानेपानी, व्यापारिक भवनलगायत १ हजार २ सयभन्दा बढी आयोजना लगानी गरेको छ । कोषले नेपाल सरकार, विश्व बैंक, एडीबी, जर्मन विकास बैंक, जीआईजेड, युएनसीडीएफ, ईयु डेलिगेसन टु नेपाल आदि विकास साझेदारको वित्तीय तथा प्राविधिक सहयोग परिचालन गरिरहेको छ ।
मुलुक संघीयतामा गएपछि स्थानीय तहहरु स्वायत्त र बलिया भएका छन् । नगर विकास कोष भने आफ्नै शैलीमा काम गरिरहेको छ । दीगो सहरी पूर्वाधार र सेवाप्रवाहको सुनिश्चिताका लागि ऋण परिचालनको विधिबाट संरचनाहरु निर्माण गरिनुपर्छ भन्ने मुल मर्मसाथ २०४५ फागुन २ गते नगर विकास कोष स्थापना भएको हो । पहिले समितिको रुपमा स्थापना भएकोमा २०५३ सालमा नगर विकास कोष ऐनद्वारा स्वायत्त संस्था नगर विकास कोषको रुप दिईएको थियो ।
नेपाल सरकारको करिब १ करोड २९ लाख इक्विटी सेयरबाट थालनी भएको कोषले हाल नगरपालिका र साना सहरमा सहरी पूर्वाधार र सामाजिक पूर्वाधारका आयोजनाहरुमा आफ्नो सेवा विस्तार गर्दै कुल पुँजी करिब ५ दशमलव ८ अर्ब पुर्याएको छ । सहरी विकासका बहुआयामिक पक्षलाई समेटी एकीकृत सहरी पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय उपकरण सम्वर्धन तथा प्रबर्द्धन र सहरी विकासमा आवद्ध संस्थाको क्षमता विकासका कार्य गर्दै आएको छ ।
कोषले हालसम्म सहरी पूर्वाधारका रुपमा बसपार्क, व्यावसायिक भवन, नगरपालिका भवन, स्कुल भवन, मनोरञ्जन पार्क, फोहरमैला व्यवस्थापन, ढल व्यवस्थापनलगायत आयोजनामा ९ अर्ब ६१ करोड ऋण तथा २ अर्ब २९ करोड अनुदान लगानी गरिसकेको छ ।
आयोजनाको प्राविधिक, वित्तीय, संस्थागत, वातावरणीय, कानुनीलगायत पक्षहरुको विश्लेषण गरेर कोषले आयआर्जन हुने खालका आयोजनामा आयोजना लागतको ९० प्रतिशत्सम्म लगानी गर्छ । नगर विकास कोष भनेको नगरपालिकाहरुको प्राविधिक र आर्थिक सल्लाहकार हो । नगरपालिकाहरुको पूर्वाधार विकासमा वित्तीय लगानीका लागि कोष आर्थिक र प्राविधिकरुपमा सक्षम छ ।
मकवानपुर । हाल प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेले बढ्दो महङ्गी कालोबजारी, अभाव, भष्ट्रचार विरुद्ध जनप्रदर्शन गरेको छ ।
एमालेले बागमती प्रदेशको राजधानी हेटौंडामा यस विरुद्व र्याली गरेको हो । र्याली प्रदर्शन गर्दै एमालेले संघीय निर्वाचनको मिति घोषणा गर्न पनि माग गरेको छ। हेटौंडा ५ पुष्पलाल पार्क स्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हेटौंडा बजारको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणमा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले परमादेशबाट बनेको गठबन्धन सरकार जनताप्रति गैरजिम्मेवार बन्दै गएको आरोप लगाए । उनले गठबन्धन सरकार जनताबाट अनुमोदित नभएको र जनताप्रति प्रतिबद्ध नरहेको भन्दै छिटो भन्दा छिटो संघीय निर्वाचन घोषणा गर्न माग गरे ।

विरोध प्रदर्शन कार्याक्रममा एमाले केन्द्रीय सदस्य एंव मकवानपुर ईन्चार्ज रामेश्वर राना लगायत एमाले बागमती प्रदेश सदस्यहरु,जिल्ला पदाधिकारीहरु र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
महिला र बालबालिका क्षेत्र प्राथमिकतामा राख्छु: प्रनामनि बज्राचार्य
Tags: No Comments
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले महिला तथा बालबालिकाका क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।
लागू औषध दुर्ब्यसनी र ओसारपसार, साईबर क्राईम नियन्त्रणमा प्रहरीले विशेष भुमिकाका साथ काम गर्ने उनले बताएका छन् । हाल बागमती प्रदेशमा ट्राफिकको समस्या देखिएको भन्दै यसको समाधानमा जनप्रतिनिधिलगायत सर्बसाधारणको पनि साझेदारी हुनुपर्ने उनले बताए ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले आज आयोजना गरेको स्वागत कार्यक्रम प्रहरी नायब महानिरीक्षक बज्राचार्यले यस्तो बताएका हुन् ।
आपराधिक क्रियाकलाप समाजमा देखिएमा प्रहरीलाई जानकारी दिन पनि उनले आग्रह गरे । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने पनि प्रदेश प्रहरीको योजना रहेको उनले बताए ।
कार्यक्रम हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुलीले सामुदायिक सेवा केन्द्रले धेरै राम्रा राम्रा काम गरेको भन्दै प्रसंशा गरे । समाज सुधार्न सबै तयार हुनुपर्ने पराजुलीले बताए । सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टले प्रहरी नागरिक साझेदारीमा काम गर्ने बताए ।
भुकम्प, कोभिड १९ को महामारीमा सामुदायिक सेवा केन्द्रले विशेष अभियान चलाएर काम गरेको जानकारी दिए । प्रहरीको सकारात्मक सहयोगले भएरहित समाज निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरीरहेको बताए । अहिले संस्थाले आपतकालिक सामुदायिक उद्दार केन्द्र तथा एम्बुलेन्स सन्चालनमा ल्याएको बताए । यसैगरी सोही कार्यक्रममा कार्यालय परिसरमा बृक्षरोपण गरीको थियो ।
पुष्पलाल स्मृति दिवस :विशेष वार्ता
नेपाली कम्युनिस्ट पार्टीका संस्थापक तथा राजनीतिका आदर्श नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा हुन्, उमेशलाल श्रेष्ठ । राजनीतिक परिवारमा हुर्किए पनि उनलाई दलीय राजनीति गर्ने रहर कहिल्यै जागेन । बरु उनी उद्योगी–व्यापारी भए । उनीसँग अन्तर्वार्ता लिनुअघि उनले इकागजकले मुख्य कस्ता विषयको समाचारमा जोड दिन्छ भन्ने जिज्ञासा राखे । हाम्रो उत्तर सुनेपछि उनले फिस्स हाँस्दै ‘ए’ भने । जब जब साउन लाग्छ, पिता–माताबारे बोल्न उमेशलाललाई फोन आउँछ । भन्छन्, ‘हरेक वर्ष श्रावण भएपछि मलाई यस्तै प्रश्न सोध्छन् । अन्त्यमा एउटा पूरक प्रश्न सोध्छन्– यत्रो ठूलो नेताको छोरा तपाईं किन राजनीतिमा नलाग्नु भएको?’ हामी पनि उही ड्याङका पत्रकार न पर्यौँ, प्रस्तुत छ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा उमेशलालसँगको संवाद:
नेपालको राजनीतिमा आदर्श नेता पुष्पलालको पुत्रका रुपमा पितालाई कसरी सम्झनुहुन्छ ?
म पुष्पलाललाई दुई प्रकारले सम्झन्छु । एक बुवाका रुपमा, जस्तो तपाईंले जसरी आफ्नो बुवालाई सम्झनुहुन्छ । अर्को, म सानै छँदा उहाँ बित्नुभयो । त्यसबेला १८ वर्षको मात्रै थिएँ । मैले उहाँसँग धेरै समय सँगै बिताउन पाइनँ । निर्वासित जीवन थियो, उहाँको । हामी काठमाडौँमा थियौँ । पछि जब मैले उहाँको विषयमा पढेँ, सुनेँ । त्यसपछि मात्रै मैले पुष्पलाललाई आदर्श नेताका रुपमा चिनेँ । कम्युनिस्ट पार्टी स्थापना भएपछिको इतिहास मैले पढेँ । उहाँले किन कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो ? मेरो ज्ञानमा रुचि थियो । राजनीतिमा पनि रुचि थियो । तर, राजनीति गर्ने होइन । राजनीतिको ज्ञान राख्ने रुचि हो । मैले हरेक किसिमका राजनीतिका विचारधाराहरू पढेँ । आन्दोलनमा संयुक्त संघर्ष भन्ने एउटा नारा थियो । त्यही एउटा नाराको कारणले पुष्पलाललाई अन्य कम्युनिस्ट घटकहरूले कांग्रेसको पुच्छर भनेर आलोचना गरे । तर, उहाँको स्पष्ट विचार थियो– कुनै पनि तागतलाई हराउनुछ भने, बाँकी सबै शक्तिलाई एक बनाएर लिएर जाने थियो ।
संयुक्त जनआन्दोलनको कुरा उहाँले उठाउनु भएको थियो । मैले कहिले–कहिले सुन्थेँ । तर मलाई राजनीति गर्नमा रुचि नभएर ख्याल गरिनँ । त्यसपछि जब २०४६ सालमा जब आन्दोलन सफल भयो । मान्छेहरूले पनि गुणगान गाए । पहिले त गद्दार पुष्पलाल नै भनेका थिए । पछि, गद्दार भन्नेले माफी मागे । अनि मैले मेरो बुवालाई अलग्गै रुपमा हेर्न थालेँ । राजनीतिज्ञ पुष्पलालका रुपमा हेर्न थालेँ । मेरो उहाँप्रतिको श्रद्धा र मान सम्मान बढ्दै जान थाल्यो । अहिले आएर कम्युनिस्ट मात्रै त के सबै पार्टीमा पुष्पलाल भनेपछि नेपालको आदर्श राजनीतिज्ञ हुनुहुन्छ । बीपीलाई पनि उसैगरी आदर्श नेताका रुपमा लिइन्छ । बीपी र पुष्पलाललाई प्राय: सँगै नाम लिइन्छ ।
बुवासँग तपाईंको सम्झना के के छन् ?
मैले मेरो बुवासँग लामो समय त बिताइनँ । ४–५ वर्षसम्म त राम्रोसँग चेतै आएको थिएन । त्यो बेला पनि बुवालाई चिन्थेँ । सायद २०१९ सालतिर उहाँ निर्वासनमा जानुभयो । त्यसबेलासम्म मैले राम्रोसँग चिनेको थिइनँ । कहिले–कहिले राति आउनुहुन्थ्यो । बच्चाको मनमा को हो ? को हो ? हुन्थ्यो । पछि ८/९ वर्ष भएपछि हामीहरू हरेक वर्ष २०/२५ दिनका लागि बुवासँग जान्थ्यौँ । त्यसबेला मिन पचास बिदा हुन्थ्यो । मेरो आमा पढाउने काम गर्नुहुन्थ्यो । हामी बिदामा बुवालाई भेट्न जान्थ्यौँ । लगभग ६/७ पटक गइयो । तर, मैले राम्रोसँग चेत पाएपछि झण्डै एक वर्ष पनि बिताउन पाइनँ । असाध्यै असल हृदयको व्यक्ति हुनुहुन्थ्यो । ठूलो आवाजले बोलेको कहिल्यै सुनिनँ । साथीहरूलाई आदर दिने । त्यसैले गर्दा साथीहरूबाट पनि आदर पाउने नेता हुनुहुन्थ्यो ।
आठ सयलाई रोजगारी दिएको छु, यो ठूलो कि मन्त्री हुनु ठूलो ?
हरेक कुरामा बाँडीचुँडी गर्दा मजा आउँछ भन्ने उहाँको सिद्धान्त थियो । एकपटक जाडो बेला थियो बनारसमा गएको बेला उहाँको एउटा साथी आउनु भएको रहेछ । एकसरो कपडा मात्रै लगाएर आउनुभएको रहेछ । उहाँले आफूले लगाएको कोट खोलेर कमेरड लगाउनुहोस् भनेर दिनुभयो । जबकि उहाँसँग पनि एउटा मात्रै कोट थियो । त्यो दिन त मलाई केही याद भएन । किन दिएको होला आफूलाई पनि जाडो भएको बेला भन्ने लागेको थियो ।
बुवाको दैनिक कार्यतालिका के हुन्थ्यो ?
मैले वर्षमा १०/१२ दिन देख्थेँ । एकदमै व्यस्त कार्यतालिका थियो झैँ लाग्छ अहिले सम्झिँदा । उहाँलाई भेट्न कहिले बनारस जान्थ्यौँ, कहिले कहाँ जान्थ्यौँ । परिवारसँग विताउने समय खासै हुन्न थियो । हामीसँगै हुँदा पनि साथीहरू आउने गर्थे । अनि उहाँहरूको विभिन्न प्रशिक्षण कार्यक्रमहरू हुन्थ्यो । म सानै थिएँ । बच्चा भएकाले मलाई त्यति चासो थिएन । मैले बुवाको निधनपछि मात्रै उहाँको बारेमा पढेको थिएँ । हामी त्यहाँ बस्दा सबैको काम बाँडफाँड हुन्थ्यो । मेरो काम भाँडा माझ्ने पथ्र्यो । दिदीको काम खाना पकाउने । बुवाको काम पानी ल्याउने । आमाको काम कपडा धुने थियो । बुवाका कमरेडहरूको पनि भिन्नभिन्न काम हुन्थे । आफ्नो थाल सबैले माझ्नु पथ्र्यो । केटा केटीदेखि नै मैले भाँडा माझ्न सिकेँ ।
कम्युनिस्ट भएका कारण त्यसबेला दु:ख दिने काम गर्दैन थिए ?
राजाको शासन भएकाले विभिन्न बाहानामा प्रशासनले रातविरात दु:ख दिन्थ्यो । मलाई त सानो भएकाले धेरै थाहा भएन । दिदी ठूलो हुनुहुन्थ्यो, उहाँलाई थाहा हुन्थ्यो । चिठ्ठीहरू आउँथे । रात विरात विभिन्न बाहानामा प्रहरीहरू आउँथे । कष्टकरै थियो भन्ने लाग्छ । बुवा वितेपछि एक वर्षजति आमा दिल्लीमा रहनुभयो । पछि उहाँले पिएचडी छाडेर फेरि राजनीतिमा आउनुभयो । २०३५ सालमा बुवा बित्नुभयो । २०३६ सालमा आमा राजनीतिमा आउनुभयो । पञ्चायतकालमा कष्टकर थियो जीवन । सबै नेताहरूले जेल–नेल भेगे । कतिले ज्यान गुमाए । हामीले त्यो अनुपातमा त्यति धेरै दु:ख भोग्नु परेन । तर, सत्ताले धेरै कुरामा दु:ख दिन्थ्यो ।
परिवारको आर्थिक स्थिति कस्तो थियो ?
विवाहपछि आमाले राजनीतिबाट ब्रेक लिनुभयो । सायद उहाँहरूबीच सम्झौता भएको थियो– एउटा परिवारबाट एकजनाले मात्रै राजनीति गर्ने । आमाको जिम्मामा हामी पर्यौँ । बुवाको जिम्मामा देश पर्यो । आमा २०३३ सालमा अर्थशास्त्र पढाउनु हुन्थ्यो । राजनीतिक कारणले उहाँलाई जागिरबाट निकालियो । त्यसपछि तिमीहरू यहाँ बस म पिएचडी गर्न जान्छु भनेर दिल्लीतिर लाग्नुभयो ।
पहिले त गद्दार पुष्पलाल नै भनेका थिए । पछि, गद्दार भन्नेले माफी मागे ।
त्यसबेला आमाको तलब पाँच सय रुपैयाँ हाराहारी थियो । त्यसबेला खान पुग्थ्यो । चाहिएको सबै कुरा सबै पाइन्न थियो । मैले त्यसपछि २०३४ सालदेखि जागिर खाएँ । एउटा मल्टिनेसनल औषधी कम्पनी थियो मैले त्यसमै काम सुरु गरेको थिएँ । मेरो तलब त्यसबेला साढे ६ सय रुपैयाँ थियो । आमाले मेरो भन्दा धेरै तलब रहेछ तेरो भन्नुभएको थियो । निम्नमध्यम वर्गको परिवार थियो, हाम्रो । आफ्नो आवश्यकता अनुसार लगभग पुगेकै थियो । वर्षमा दुईचार जोर लुगा लगाइन्थ्यो । दालभात, तरकारी खान पुगेको थियो । कहिलेकाहीँ मासु पनि खाइन्थ्यो ।
भनेपछि सम्पत्ति धेरै कमाउनु भएन ?
राजनीतिक आदर्श थियो । तर, अहिले कसको कति सम्पत्ति कति छ ? मलाई केही ज्ञान छैन । अहिलेका नेताहरूको त्यत्रो सम्पति छ र ? सार्वजनिक गरेको विवरणमा त एककठ्ठा जमिन र ३ तोला सुन मात्रै भनेर घोषणा गरेका छन् । त्यसैले नेताको सम्पत्ति छ कि छैन के थाहा ?
तपाईं राजनीतितिर नलागेर व्यवसायी बन्नुभयो, किन त ?
(हाँस्दै) म दिग्दार भएर राजनीतिमा नलागेको होइन । व्यवसाय मेरो रोजाइ हो । व्यवसाय रोज्नुको सबैभन्दा पहिले कारण आर्थिक कारण थियो । घरपरिवार पाल्नु थियो । अर्को, हामीमा एउटा के ज्ञान थियो भने– एउटा परिवारबाट एकजना राजनीतिमा लागे पुग्छ । मलाई कहिलेकाहीँ राजनीतिमा छिरौँ–छिरौँ लाग्थ्यो । फेरि मलाई व्यवसायमै राम्रो गरिरहेको छु भन्ने लाग्यो । फेरि म जस्तो स्पष्ट वक्ता राजनीतिमा रहन सक्दैन । राजनीतिका धेरै दाउपेचहरू हुन्छन् । मनमा एउटा कुरा राखेर अर्को कुरा बोल्नुपर्ने हुन्छ । जुन म जान्दिनँ । मैले पहिल्यै आफूलाई राजनीतिका लागि अयोग्य ठानेँ । मैले राजनीतिमा गएपछि म सफल हुन सक्दिनँ । मैले असफल हुनुपर्छ भन्ने बुझेँ । त्यो भन्दा राम्रो म आर्थिक क्षेत्रमा रहौँ भन्ने लाग्यो । मेरो आमाबुवाले राजनीतिक मान्छे अधिकारका लागि काम गर्नुभयो । मैले आर्थिक सबल नभईकन देश विकास हुन सक्दैन भन्ने ठानेँ । आर्थिक सबलीकरणका लागि मैले विदेशबाट वस्तु ल्याएर बेच्न सक्थेँ । तर देशमा उद्योग नबसालेसम्म उँभो लाग्न सक्दैन भनेर म उद्योग क्षेत्रमा आएको हुँ ।

अहिले त नेताका परिवार मात्र के आफन्त, नातागोतासमेत राजनीतिमा देखिन्छन् । लोभ लाग्दैन ?
सबैलाई त्यस्तो लाग्दैन । मेरो बाबु डाँका थिए भने मलाई यो प्रश्न सोध्नुहुथ्यो ? अरु नेताका छोरो–छोरी मेयर भए सांसद भए, तर म पनि त नेपालको सबैभन्दा ठूलो औषधी कम्पनीको मेनेजिङ डाइरेक्टर छु नि त । मन्त्री भएपछि मात्रै ठूलो हुने भए ठीकै छ, भोलि जाउँला मन्त्री हुन । मलाई अलि सजिलो पर्ला । तर, मैले नेपालको आर्थिक क्षेत्रमा आज करिब ८ सय जनालाई रोजगारी दिएको छु । त्यो योगदान ठूलो कि म मेयर/मन्त्री हुनु ठूलो हो ? मलाई लाग्छ, मेरो योगदान ठूलो हो ।
आमा सहाना प्रधान पनि पटक–पटक मन्त्री बन्नुभयो । यसको लाभ त तपाईंले पनि लिन पाउनुभयो होला ?
मैले काम सुरु गरेको २०३४ सालमा हो । पञ्चायत कालमा पञ्चायतकाल सकिँदासम्म म उद्योगमा स्थापित भइसकेको थिएँ । तपाईंले धेरै थोरै मान्छे पाउनुहुन्छ, जसले आमा बाबुको नाम कहिले पनि बेच्न चाहेन । धेरैले मलाई तँलाई के समस्या ? तेरो त मालामाल छ नि भन्छन् । त्यस्तो होइन । म अति नै असाधारण व्यक्तिहरूको छोरा परेँ । उहाँहरूको अंश त मकहाँ परेको छ नि । तर मैले भन्दैमा मेरो आमाले मान्ने हो र ? उहाँ फेरि अजिबकै मान्छे हुनुहुन्थ्यो । उहाँलाई कुनै काम गर्नु छैन भने मैले जति अनुरोध गरे पनि उहाँले गर्नुहुन्नथ्यो ।
राजनीतिमा दाउपेच हुन्छ, त्यसैले लागिनँ भन्नुभयो । हिजोआजको राजनीति कस्तो लाग्छ ?
समय परिस्थितिअनुसार सबै बदलिँदो रहेछ । हामी अलि धेरै बदलियौँ जस्तो लाग्छ । पुष्पलालका दिन अर्कै थिए । हुन त अहिलेका नेताले पनि संघर्ष नगरेका होइनन् । वर्षौँ जेल बसेका छन् । समयसँगै परिवर्तन त हुन्छन् । तर म सामान्य नागरिकको आँखाबाट हेर्दा उनीहरू अलि धेरै नै परिवर्तन भए कि जस्तो लाग्छ ।
व्यवसायी भएर उद्योग वाणिज्य महासंघमा उपाध्यक्षसमेत हुनुभयो । यताको राजनीति तपाईंको रुचि हो ?
म त्यसलाई राजनीति ठान्दिनँ । सामान्य भाषामा भन्दा निजी क्षेत्रको अधिकारको कुरा गर्न महासंघमा लागेको हो । त्यसलाई राजनीतिसँग नजोड्दा हुन्छ । चुनाव लड्नुपर्छ त्यसमा पनि । तपाईंहरूलाई राजनीति जस्तो लाग्ला । तर, यो दलीय राजनीति होइन । यहाँ कुनै विचारधारको लडाइँ केही पनि छैन । निजी क्षेत्रको कसरी सुदृढ गर्ने उद्देश्य मात्रै हो । सबै उद्योगी व्यवसायीले समान अवसर पाउनुपर्छ भनेर म महासंघमा लागेको हुँ ।
बुवाको राजनीतिले त शिक्षा, स्वास्थ्य सबै सार्वजनिक बनाऊँ, निजीलाई प्राथमिकता नदिऔँ भन्छ, तर तपाईं औषधीकै व्यवसायमा हुनुहुन्छ त ?
सधैँ आदर्शवादी कुरा मात्रै गरेर अगाडि बढ्न सकिँदैन । जुन सरकारले साधारण बजेट मात्रै खर्च गर्न सक्छ । विकास बजेट खर्चै गर्न सक्दैन । त्यो सरकारबाट के आशा गर्ने ? प्राइभेट सेक्टरका हस्पिटल नभइदिएको भए, प्राइभेट सेक्टरका औषधी नभइदिएको भए, तपाईं हामीले पनि उपचार गर्न दिल्ली नै धाउनुपर्ने थियो ।
विवाहपछि आमाले राजनीतिबाट ब्रेक लिनुभयो । म राजनीतिमा लाग्छु भन्दा आमाले ‘म रिटायर्ड भइदिन्छु तँ लाग्ने भए’ भन्नुभयो ।
प्राइभेट सेक्टरका स्कुल नभइदिएको भए, सरकारले थाम्न सक्छ ? सरकारको बलबुताको विषय होइनन् यी । सरकारले सके त्यही गर्ने हो । तर, सरकारले नचाहिने विषयमा खर्च गर्छ । शिक्षा र स्वास्थ्यको जिम्मा एउटा वेलफेयर राज्यले लिनुपर्ने कुरा हो । तर, नेपालले सक्दैन । क्षमता नभएर होइन । हाम्रो व्यवस्थाले दिँदैन ।
भनेपछि तपाईं शिक्षा र स्वास्थ्यलाई सरकारीकरण गर्नुपर्छ भन्नेमा सहमत हुनुहुन्छ ?
सहमत छु । अन्य धेरै देशमा यस्तै छ । तर त्यसका लागि पहिले देश धनी हुनपर्यो । देश धनी हुनका लागि हामी धनी हुनपर्यो । हामीलाई धेरै औषधीमा घाटा छ । तर, सरकारले मूल्य बढाउन दिएको छैन । सरकारले उत्पादन गर्ने औषधीमा समेत घाटा भएको विभागका जिएमले सुनाउँछन् । तर मूल्य बढ्दैन । यस्तो व्यवस्थामा आदर्शले चल्दैन ।
तपाईं मार्क्सवादी हो कि हैन ?
मार्क्सवाद एउटा विज्ञान हो । नमान्ने कुरा छैन । तर मार्क्सवाद कहिलेको कुरा हो ? १९औँ शताब्दीको कुरा हो । त्यसबेला साँच्चै मजदुर किसान वर्ग पेलिएका थिए । तर अहिलेको अवस्था त्यस्तो छैन । गाउँतिर होलान् । कुनै पनि चिज लेखिन्छ एउटा वस्तुस्थितिलाई हेरेर । मार्क्सले जे लेखे त्यो त्यसबेलाका लागि ठीक थियो । आजका लागि त्यो सायद ठीक होइन ।
भनेपछि अहिले हामीलाई मार्क्सवाद काम लाग्दैन ?
काम लाग्दैन पनि म भन्दिनँ । यो अध्ययनको विषय हो । यसमा कतिपय विषय राम्रा छन् । सबै फ्याँक्नुपर्दैन । नेपालको संविधानले पुँजीवाद स्वीकार गरिसकेको छ । समाजवादउन्मुख भनिएको छ । तर जबसम्म प्रतिस्पर्धा हुँदैन आर्थिक उन्नति सम्भव छैन भन्ने प्रस्ट भइसकेको छ । एकाधबाहेक सबै देशमा ‘फ्रि मार्केट इकोनोमी’ नै छ । हामीजस्तो अविकशित देशमा क्रोनी क्यापिटलिज्म बस्यो । आसेपासेको किचन क्याबिनेट छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ ।
मार्क्सवाद छाडेर फेरि एकपटक पारिवारिक कुरामा फर्कौँ । राजनीतिक परिवारमा जन्मिनुका सुख के छन् ? दु:ख के छन् ?
(हाँस्दै) मलाई सुखै सुख छ । दु:खका दिन हिजो गइसक्यो । दु:ख मनाइराख्नुपर्ने आवश्यकता केही छैन । एउटा खुसी के लाग्छ भने म दुई महान् व्यक्तिको सन्तान हुँ । उहाँहरूको बेदाग जिन्दगी कट्यो त्यो खुसी लाग्छ । उहाँहरूको सहयोगविना मैले आफूले आफ्नो क्षेत्रमा सफलता हासिल गरेँ । म पुराना कुरा सम्झिएर अहिले रुने मान्छे होइन । अप्ठेरा दिन थिए । ठीकै छ । त्यो विगत थियो । पञ्चायतले ३० वर्ष राज गर्दा गाह्रो थियो ।
तपाईंका मातापिताले रगत पसिना बगाएको पार्टी र तपाईंका मातापिताका अनुयायी/साथी बताउने नेताहरूबारे तपाईंको टिप्पणी के छ ?
व्यक्तिगत रुपमा उहाँहरूसँग पनि मेरो भेट भइरहन्छ । मेरो टिप्पणी खास केही छैन । उहाँहरूले राम्रोसँग काम गरिदिए हुन्छ । उहाँहरूले अहिले राष्ट्रबारे कम सोचेको जस्तो लाग्छ । ठूला मान्छे एक ठाउँमा बसेपछि समस्या हुँदो रहेछ । परिवारमा थुप्रै दाजुभाइ हुँदा झगडा हुन्थ्यो नि । त्यस्तै रहेछ । सबै ठूला नेताहरू हुनुहुन्छ । सामान्य विषयमा पनि झगडा हुन्छ । सायद त्यसैले उहाँहरूले देशको विकासमा त्यति ध्यान पुर्याउन सक्नुभएन ।
पुष्पलाल, सहानाको खास सपना के हो ?
पुष्पलालको सिद्धान्त नै छ नि । उहाँको पहिले राणाशासन हटाउने थियो । पहिले त उहाँ राष्ट्रिय कांग्रेसमा हुनुहुन्थ्यो । कांग्रेसले गर्न सक्दैन भनेर नेपाल कम्युनिस्ट पार्टी खोल्नुभयो उहाँले । यो जहानियाँ राणा शासनको अन्त्य गर्न थियो । त्यसपछि राजतन्त्रको अन्त्य गर्ने थियो । सार्वभौम शक्ति जनतामा निहित गर्ने थियो । त्यसका लागि उहाँले सयुक्त जनआन्दोलनको योजना बनाउनु भएको थियो । गणतन्त्रसम्म आइपुग्दा त्यो केही हदसम्म पूरा भयो ।
पुष्पलाललाई गद्दार समेत भनियो, किन होला ?
कांग्रेसको पुच्छर भयो भनेर त्यस्तो आरोप लगाए । कांग्रेससँग संयुक्तरुपमा आन्दोलन गर्नुपर्छ भनेर पहिलेदेखि भन्नु भएको थियो । कतिपयलाई पुष्पलाललाई गाली गरेपछि मात्रै पक्का कम्युनिस्ट भइन्छ भन्ने लागेको थियो होला सायद । धेरै मलाई पनि थाहा छैन । बुवा बन्दुकको नालबाट क्रान्ति आउँछ भन्ने मान्नुहुन्न थियो । मित्र शक्तिहरूसँग मिलेर लड्नुपर्छ भन्ने थियो ।
तपाईंको ठूलो बुवा गंगालाल श्रेष्ठ राणाशासन विरोधी आन्दोलनमा लागेपछि वीर सहिद हुनुभयो, पिता पनि लामो समय भूमिगत बस्नुपर्यो, तपाईंका पिताहरू, माताहरू कसरी विद्रोही हुन सक्नुभयो होला ?
मैले सुनेअनुसार, मेरो ठूलो बुवा सानैदेखि अलि जोस भरिएको हुनुहुन्थ्यो रे । मेरो फूपूले कुरा गरिरहुन्थ्यो । १९९७ सालमा उहाँलाई राणाले मारे । त्यही देखेर मेरो बुवा आमा पनि राणा विरोधी हुनुभयो । शिक्षा–दीक्षामा बन्देज थियो । त्यसबेलाको निरंकुशताले विद्रोही बनायो ।
मैले आठ सयलाई रोजगारी दिएको छु, यो योगदान ठूलो कि म मेयर–मन्त्री हुनु ठूलो ?
यो पार्टी मेरै मातापिताले बनाएको पार्टी त हो नि भनेर अंशबण्डा माग्दा पनि त हुन्थ्यो, हैन र ? उमेश श्रेष्ठहरूको जस्तै उमेशलाल श्रेष्ठहरूको व्यापार पनि सप्रिन्थ्यो होला । (हाँस्दै) मेरो नराम्रो छैन । सन्तोष हुनुपर्छ । मलाई पार्टीबाट केही चाहिएको छैन । जुन बाटो मलाई लाग्नैछैन । उहाँहरूले गरिखानुहोस् । मेरो शुभकामना छ । मलाई उमेश श्रेष्ठले के गरेका छन्, थाहा छैन । हिजो मन्त्री भएपछि कमाएको होइन होला । उहाँको पनि संघर्ष लामै छ ।
मातापिता बीचको सम्बन्ध कस्तो थियो, उहाँहरूको मुड, स्वभाव, रुचि, दैनिकी सुनाइदिनु न ?
दुवैबीच एकदमै राम्रो सम्बन्ध थियो । अन्तिममा सायद १ वर्ष सँगै बिताउनु भयो । लोग्ने–स्वास्नीका सबै कुरा मलाई के थाहा हुन्छ र ? तर मेरो अगाडि कहिल्यै पनि उहाँहरूले ठूलो आवाजले बोलेको सुनिएन । मेरो आमा कडा स्वाभावको हुनुहुन्थ्यो । बुवा नरम स्वाभावको हुनुहुन्थ्यो । मेरो बुवाको छिटो विश्वास गर्ने बानी थियो । आमाको विश्वासै नगर्ने बानी थियो । बुवालाई जसले जे भने पनि तुरुन्त विश्वास गर्नुहुन्थ्यो । सायद त्यसैले होला मेरो आमाको बानी कसैको विश्वासै नगर्ने थियो । मैले आमाको गाली पनि धेरै खाएँ । गालीभन्दा बढी हातै चल्थ्यो । अन्य कुरा आमाले इच्छामा चल्न दिनुहुन्थ्यो । मैले एकपल्ट आमालाई ठट्टा गरेर राजनीतिमा लाग्नुपर्यो भनेको थिएँ, हुन्छ म रिटायर्ड भइदिन्छु तँ लाग्ने भए भन्नुभएको थियो । उहाँले मजाक गर्नुभएको थियो कि साँच्चै भन्नुभएको थियो थाहा छैन ।
उति बेलाका प्राय: कम्युनिस्ट नेताहरूले काठमाडौँमा ससुराली बनाएको देखिन्छ, किन रहेछ ?
हाँस्दै । मलाई थाहा छैन् । सबैले भन्न मिल्दैन । माधव नेपालले गर्नुभएको छैन त ।
जात व्यवस्थाको सोपान भत्काउने क्रान्तिकारी सोचलाई व्यवहारमा ढाल्न खोजेको पनि भन्न मिल्छ कि संयोग मात्र हो वा काठमाडौँको सत्ताको प्रिय अनि धनदौतल पनि जोड्ने तनावको मुक्ति खोजेको हो कि ?
पुराना कम्युनिस्ट नेताहरू धेरैले काठमाडौँका नेवारसँग बिहे गर्नु जातव्यस्था ढाल्न त होइन होला । नत्र सार्कीसँग किन बिहे गरेनन् ? दलितसँग किन विवाह गरेनन् ? सम्पत्तिमा पनि लालसा होइन होला । मेरो हिसाबमा भूमिगत हुनुहुन्थ्यो । केटाकेटीबीचमा प्रेम भयो होला । जुन स्वाभाविक थियो ।
अन्त्यमा, जहिले पनि मलाई मातापिताबारे मात्र सोधिन्छ, मेरो आफ्नो जीवन, कर्म, सिद्धान्त कसैले सोध्दैन भन्ने पनि लाग्दो हो कि ?
छैन । व्यापार–व्यवसायबारे पनि मसँग प्रशस्तै अन्तर्वार्ता लिन आउँछन् । त्यति बेला मेरै बारे पनि सोध्छन् । तर, श्रावण महिना भएपछि मलाई बुवाबारे प्रश्नहरू सोध्छन् । बुवाका बारेमा अन्तर्वार्ता गर्न आउँछन् । लास्टमा एउटा मात्रै पूरक प्रश्न सोध्छन्– यत्रो ठूलो नेताको छोरा तपाईं किन राजनीतिमा नलाग्नुभएको ? यो प्रश्न सबैले सोध्ने सदावहार प्रश्न हो । मलाई यसमा बानी छ ।
शब्द तस्बिर इकागजबाट साभार