मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले बालसंरक्षणको सवाल चुनौतीपूर्ण रहेको बताएकी छिन् । बालबालिकाको क्षेत्रमा काम गर्न बलियो नीति नभएको कारण समस्या र चुनौती भएको बताइन।
बिद्यालय शिक्षामा धेरै कमीकमजोरी रहेको उनले बताएकी हुन् । बालबालिकाको सरोकारको बिषय पनि व्यवस्थापन गर्न नसकिएको उनले स्वीकार गरिन ।
सिविन बाल हेल्प लाइन मकवानपुरको आयोजनामा भएको बाल अधिकार, बालसंरक्षण बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रम लामाले यस्तो बताएकी हुन् । सिक्ने उमेरका बालबालिकाहरू लागुऔषधको कारण सुधारगृहमा थुनेर राख्नु परेको तर संघीय सरकारले वास्ता नगरेको उनले बताइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले कुनै पनि कारण र प्रभावका कारण बालबालिका प्रभावित हुन नहुने आधार मानेर सरकारले ध्यान दिदै आएको बताए । नेपाल सरकार र गैससहरूको सहकार्यमा बिगतमा भन्दा सफलता हासिल भएको सचिब सापकोटाले बताए । समाज भड्किलो हुँदै आएको कारण बालबालिका असुरक्षित हुँदै आएको उनले बताए । यस्तो अवस्थामा तीनै तहको सरकारले बालबालिका संरक्षणमा चासो राख्नुपर्ने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले नेपाल बालबालिकाको क्षत्रमा देखिएको समस्या, चुनौती तथा अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए । झण्डै २ प्रतिशत बालबालिका बिद्यालय बाहिर रहेको उनले बताए । बालसंरक्षणको सवाल झनै चुनौतीपूर्ण भएको उनले बताए । लागुऔषधको कारण बालसुधार गृहमा बालबालिका राख्नुपर्ने अवस्था रहेको उनले बताए ।
“अझै पनि सचेतनाको अभाव छ, संरक्षणको लागि आवश्यक संरचनाहरू बनिसकेका छैन, बालबालिकाको पहुँच अभिबृद्दिको लागि काम गर्न बाँकी छ” कंडेलले भने । बाल विवाह, बाल श्रमिक, बाल हिंसाको क्षेत्रमा काम गर्न मन्त्रालयले समन्वय गरिरहेको उनले बताए ।

यसैगरी बाल हेल्प लाइनका प्रमुख झविन्द्र ज्ञावलीले नेपालको १८ जिल्लामा सन्चालन रहेको बाल हेल्प लाइन १०९८, बालसंरक्षण संयन्त्र, बालसुधार गृह, बालगृहको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बाल संरक्षणको सवालमा कानुन बनेको तर कार्यान्वयन, समन्वय, बाल अधिकार समितिको कृयाशिलताको कमीलगायतको पाटो कमजोर भएको ज्ञावलीले बताए ।
मकवानपुरको बालसुधार गृहमा ५९ जना बालकहरू राखिएको छ,तर सुधारगृह बालमैत्री छैन । कार्यक्रममा मकवानपुरमा रहेर बालबालिकाको क्षेत्रमा कृयाशिल संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको थियो ।
मकवानपुर । नेपालको संविधानले धारा ४२ सामाजिक न्यायको हक अन्तरगत अपाङ्ता भएका व्यक्तिहरुको सामाजिक न्यायको सवाल सम्बोधन गरेको छ । जसको उपधारा (१) मा “आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ” भनेको छ ।
तर संविधानले तोके अनुसारको सामाजिक न्याय आफूहरुमाथि नभएको अपाङ्ता भएकाहरुले गुनासो गरेका छन् । उक्त धाराको उपधार ३ मा “अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ” भनिएको छ । तर आफूहरुले अपाङ्ता भएकै कारण पाइलै पिच्छे विभेदपूर्ण व्यवहार सामना गर्नुपरेको ह्वीचियर प्रयोगकर्ता सरिता तामाङले बताइन् ।
अपाङ्ता दिवस मनाउँदै गर्दा सबै तहको सरकारले अपाङ्ता भएकाहरुप्रति आफूको दायित्वबोध भएको बताउने गरेको भएपनि दिनदिनै आफूहरुले समस्या झेल्नु परेको उनीहरुले बताएका छन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ३१ औं अन्तरट्रिय अपाङ्ता दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यालयमा सेवा लिन जाँदा बाटो, सेवा लिने कार्यकक्षदेखि शौचालय प्रयोगमा समेत आफूहरुले समस्या भोग्नु परेको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अस्विन लम्सालले बताए ।
समावेशी विकासको लागि रूपान्तरीत समाधान पहुँच र समतामूलक विश्वको लागि उर्जावान र सृजनशीलको प्रावधान भन्ने नाराका साथ डिसेम्बर ३ मा अपाङ्ता दिवस मनाइएको छ । तर सरोकारवालाहरुले आफूहरुलाई कतैबाट पनि सामाजिक न्यायको अभाष नभएको गुनासो गरेका छन् । “सेवा लिन जाने कार्यालयहरु नै अपाङ्गमैत्री छैनन” अध्यक्ष लम्सालले भने “त्यस्ता कार्यालयबाट हामीले कसरी सेवा लिने ?”
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले राज्यले बिकृत अवस्थालाई व्यवस्थापन गर्नुपर्ने धारण लिए अघि बढेको बताए । “अपाङ्गताको अवस्थालाई सकेसम्म कम गर्ने, भएकालाई राज्यले व्यवस्थापन गर्ने गर्नुपर्छ, जो अपाङ्गता भैसकेको छ, उहाँको सार्थक जीवन यापन गर्न समन्वय सहजीकरण गर्नतर्फ ध्यान दिएका छौँ” सापकोटाले भने “राज्यले चाहेजती गर्न नसकेको होला, तर फरक व्यवहार गर्नुहुदैन भन्नेमा हामी लागेका छौ ।”
अपाङ्गता भएकाहरुको समस्यालाई सम्बोधन गर्न बागमती प्रदेश सरकारले नीतिको ड्राफ बनाएको छ,तर त्यो पुरा भएको छैन । सबै वर्ग र समूदायको सम्मानको लागि प्रदेश सरकारले नीतिको अन्तिम रुप दिएको मन्त्रालयका प्रवक्ता रुद्रहरी भण्डारीले बताए । यसैगरी सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले अपाङता भएकाहरुको समस्यालाई ध्यानमा राखेर दोभाषे तालिम, अटिजम भएका बालबालिकाको पुनर्थापना तथा शिक्षा कार्यक्रम, सहायता सामग्री वितरण गरिरहेको बताए ।
अपाङ्गताको हितको लागि धेरै नीति बन्नुपर्ने बनेका नीति,निर्देशिका नियमावली अपाङ्गता भएकाहरूले सम्पत्तिको रूपमा ग्रहण गर्नसक्ने हुनुपर्ने राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष लम्सालले बताए ।
संघीय संरचना अनुसार संघीय सरकारले नीति नबनाउदा स्थानीय तहमा समेत नीति बन्न नसकेन र ग्रामीण भेगमा धेरै अपाङ्गता भएका व्यक्तिको समस्यालाई सम्बोधन हुन पाएको उनले बताए । अपाङ्गता भएका वर्गिय ब्यक्तिको समस्या सम्बोधन गर्न मन्त्रालयहरूले कार्यक्रम बनाउनु पर्ने लम्सालले बताए ।
“अपाङता अभियान सशक्त हुन सकेको छैन, सबै बर्गका अपाङ्गता भएकाहरूको हितमा समन्वयात्मक रूपमा काम गर्नुपर्छ, दिवसमा मात्रै हैन, सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता छ” लम्सालले भने । संबिधानलाई संस्थागत गर्दै, अपाङ्गताको सवालमा समाबेशी र पहुँचको सवालको सम्बोधन हुनुपर्ने उनले बताए ।
स्पाइनल कट इन्जुरी भएकालाई झनै बढी समस्या हुने गरेको सहभागीहरुले बताए । अरुले गाडी रोक्न लगाउँदा गाढी रोक्छ, तर हामीलाई देखेपछि चढाउन मान्दैनन्, सार्वजनिक कार्यालयहरुमा रहेका वा सार्वजनिक स्थानहरुमा रहेका शौचालयहरु हामीले प्रयोग गर्नै मिल्दैन एक अपाङगता भएका सहभागीले भने ।
अपाङ्ग महसंघ बागमती प्रदेश सल्लाहकार सरिता तामाङले अपाङ्गता भएकालाई आत्मनिर्भर बनाउन तर्फ सरकारले ध्यान दिएको दिनुपर्ने बताइन् । क्षमता अनुसारको सिपको सम्बोधन हुनेगरी कार्यक्रम ल्याउनु पर्ने तामाङले बताइन् ।
कार्यक्रममा अपाङ पद्धति जीवन स्वावलम्बन केन्द्र ललितपुरका अध्यक्ष गणेश केसीले अपाङता भएकाहरुको समस्या र आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
आँचलको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको बहस
Tags: No Comments
मकवानपुर । महिला साहित्यकारहरूको संस्था आचल साहित्य कला पुन्जले लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत हिंसा न्यूनीकरणको सवालमा बहस कार्यक्रम गरेको छ ।
‘सभ्य समाजकाे पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक अधिकार, हाम्राे सराेकार’ विषयक बहस कार्यक्रम गरेको हो ।
कार्यक्रममा बाेल्दै प्रहरी निरिक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चुडा कुमारी खड्काले ‘प्रहरी चाैवीसै घण्टा जनताको सेवामा खटिरहने भएकाले जनताले प्रहरी प्रशासनसँग धेरै आशा राख्ने भएको हुँदा जन चाहना अनुसार प्रहरीले काम नगरेकाे भन्ने गुनासा आउने गरेकाे पाइएकाे भए पनि कानुनी दायरा मिलाएर दर्ता भएर आएका मुद्दा सुनुवाइ हुने बताइन् ।
‘पहिचान लिङ्गले नभइ आफूमा भएको क्षमताबाट हुनुपर्ने कुरा राख्दै तेस्रो लिङ्गी भएकै कारण समाजमा आफूहरूलाई हेरिने दृष्टिकोण बदलिनुपर्ने र याे देशकाे नागरिक भएर जन्मिएपछि अन्य नागरिक सरह याैनिक तथा लैङ्गिक अल्प सङ्ख्यकहरूले नागरिकता पाउनु पर्ने ‘ फ्रेन्ड्स हेटौंडाकी किरण थापाले बताइन ।
यसैगरी अधिवक्ता अप्सरा बस्नेले कानुन प्राप्त गर्नका लागि कानुनी बाटाे अपनाउनुपर्ने घरमा बसेर न्याय प्राप्त नहुने बताइन् । कवि शान्ति प्रियवन्दनाले ‘लेखनमा लैङ्गिक विभेदको विषयलाई सङ्ख्यात्मक र गुणात्मक रुपमा थप उठाउनु पर्ने बताएको कार्यक्रम संयाेजक निर्मला व्लाेनले जानकारी गराइन ।
आँचलकी अध्यक्ष भावना सापकाेटाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा प्रमुख चुडा कुमारी खड्का, अधिवक्ता अप्सरा बस्नेत, कवि शान्ति प्रियवन्दना, फ्रेन्ड्स हेटौंडाकी किरण थापाले समाज ब्यक्त हिंसाको सवालमा बहस गरेको पुन्जकी सदस्य रजनी पाैडेलले बताइन् ।
कार्यक्रममा मकवानपुरका साहित्यिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा मकवानपुरमा सामूदायिक वन उपभोक्ता महासंघ मकवानपुरले सचेतनामूलक र्याली गर्ने भएको छ ।
अभियानको क्रममा महासंघले आगामी १५ गते दिउँसो हेटौंडामा सचेतनामूलक र्याली गर्ने तयारी गरेको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति अध्यक्ष साधुराम चौलागाईले बताए । आफू हिंसा नगर्ने र छिमेकीलाई हिंसा गर्न नहुने ज्ञान प्रचारको लागि र्यालीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको अध्यक्ष चौलागाईंले बताए ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा सरोकारवालाहरूसँग समन्वयात्मक बैठकमा यस्तो जानकारी गराइएको छ । पिछडिएको वर्गको उत्थानका लागि सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको सचिवालय सदस्य रामहरि चौलागाईंले बैठकमा बताए ।
सचेतना मूलक अभियानसँगै सामूदायिक वनले आय आर्जनसंग जोडेर काम गरेको चौलागाईंले बताए । अभियानको क्रममा महासंघले देशको सबै जिल्लामा कार्यक्रम गरिदै आएको चौलागाईंले बताए ।
बैठक सहभागीहरूले जिम्मेवारी बोझको कारण बढेको हिंसा, आर्थिक अभावको कारण भोग्नुपरेको हिंसाको सवाललाई सम्बोधन गर्ने कार्यक्रम हुनुपर्ने, हर व्यक्तिले सोच तथा व्यवहारमा परिवर्तन ल्याउन सक्दा मात्रै हिंसा न्यूनीकरण हुने वन समितिको अध्यक्षहरूले बताएका थिए ।

कार्यक्रममा हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबा, मकवानपुर महिला समूह कार्यक्रम संयोजक निशा लामा, नारी सीप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले अभियानको क्रमा गरिने कार्यक्रम बारे जानकारी गराएका थिए ।
कार्यक्रममा अल्पकालीन सेवाकेन्द्र प्रमुख बिन्दा बर्तौला, दलित महिला संघ अध्यक्ष पवित्रा बिश्वकर्मा जिल्ला स्थित विभिन्न सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर । मुख्य निर्वाचन कार्यालय मकवानपुरले प्रतिनिधि सभा र प्रदेश सभातर्फ निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।
मकवानपुर जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित भएका सांसदहरुलाई आज निर्वाचन परिणाम घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विजयी भएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बिजयी भएका संघीय सांसद र प्रदेशसभाका सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरे ।
मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ मा बिजयी राप्रपाका नेता दिपक बहादुर सिंह, मकवानपुर क्षेत्र नम्बर–२ मा विजयी नेकपा एमालेका बागमती प्रदेशसका उपसचिब महेश कुमार बर्तौलालाई विजयी भएको आधिकारीक घोषणा गर्दै आजै प्रमाणपत्र वितरण गरेको हो ।
त्यसैगरी क्षेत्र नम्बर–१ को प्रदेशसभा १ मा विजयी माओबादी केन्द्रका नेता प्रेम बहादुर पुलामी, क्षेत्र नम्बर १ को २ मा निर्वाचित एमालेका मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ को प्रदेशसभा १ मा निर्वाचित माओबादीका नेता कुमारी मोक्तान, क्षेत्र नम्बर–२ को २ मा निार्वाचित कांग्रस नेता इन्द्र बहादुर बानिायाँलाई प्रमाणपत्र वितरण गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिब मुकुन्द निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलगायतको उपस्थिती रहेको थियो ।