मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा पाचौ बागमती गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिताको पाँचौ संस्करण पुष २४ गतेदेखि माघ ३ गतेसम्म जनता माविको खेल मैदान फापरवारीमा हुने भएको हो ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगिता संयोजक टीकलाल श्रेष्ठले बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने जानकारी दिए ।
‘फुटबल खेलको विकास, स्थानीय खेलाडीहरुको प्रोत्साहन र खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाप्रतियोगिताको मुख्य उद्देश्य हो’ श्रेष्ठले भने । खेलकुद स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र,
हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिताको लागत करिव ७१ लाख हुने अनुमान आयोजकले गरेको छ । वागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भैरहेको बताइएको छ ।
प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लव र २ वटा मोफसलको क्लवको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११,जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो । गत बिजेता टोली पाचौ सस्करणमा सहभागी नहुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने दर्शकको लागि टिकटको व्यवस्था गरिएको छ । वागमती गोल्डकपलाई सफल बनाउनका लागि विभिन्न समितिहरु निर्माण गरि प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।
मकवानपुर । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले विजुली माया वनः संगीत राष्ट्रिय पुरस्कार २०७९ वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले २०६४ सालमा स्थापना भएकाे विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारद्वारा भीम विरागकाे स्मृती दिवसको अवसरमा प्रधानलाई सम्मान गर्न लागेकाे हाे । हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १ लाख रुपैया रहेकाे छ ।
आगामी माघ १५ गते हेटौंडामा सांगितिक कार्यक्रमको आयोजना गरी प्रधानलाई पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले शनिबार जानकारी दिएकाे छ । प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यका अनुसार २०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको के सोचें मैले के भयो अहिले, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत ४ सय बढी गीतहरुमा स्वर दिएका छन् ।
यस अघी विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्माे (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका अध्यक्ष आचार्यले जानकारी दिए ।
वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागकाे व्यक्तित्वप्रति सम्ममान स्वरुप भाषा साहित्य र कला क्षेत्रकाे संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएकाे प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारकाे व्वस्थापन गर्दै आएकाे छ । शनिबार मात्र ६ जना व्यक्तित्वलाई ६ विधाकाे पुरस्कारद्वारा सम्मान गरेकाे प्रतिष्ठानले अन्य विधाकाे पुरस्कार चाडै घाेषणा गरी प्रदान गर्ने बताइएकाे छ ।
मकवानपुर । जेसीआई बसामाडीको आयोजनामा हेटौंडामा भएको जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको छ ।
जेसीआई बसामाडीको २० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको हो । शनिबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा आग्रा स्पोर्ट्स क्लबले विनयवावु स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै उपाधि हात पारेको हो ।
फाइनल खेलमा आग्रा स्पोर्ट्सले विनयवावु प्रतिष्ठानलाई २५–२०, २६–२४ र २६–२४ को सोझो सेटमा पराजित गरेको थियो । उपाधिसँगै आग्राले ६५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता विनयवावुले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आग्राका पुजन गुरुङ घोषित हुँदा उत्कृष्ट स्पाइकर आग्राकै रमेश थिङ र सञ्जय थिङ घोषित भए ।
प्रतियोगितामा सहभागी ७ वटा टिम मध्ये बज्रबाराही युवा क्लब अनुशासित टिम घोषित भयो । प्रतियोगितामा विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र जेसीआई बसामाडीका अध्यक्ष चिराग अग्रवालले नगद तथा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल बागमती प्रदेश सभा सदस्य छिन्तु प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस मकवानपुरका वरिष्ठ नेता तथा जेसिआइ बसामाडीका अध्यक्ष सल्लाहकार जेसी अशोक शाक्यको विशिष्ट आतिथ्यता र पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा प्रहरी निरीक्षक चुडा कुमारी खड्काको विशेष आतिथ्यतामा भएको हो।
मकवानपुर । मुख्यबजारभन्दा पर रहेका पसलहरूमा म्याद गुज्रिएको सामान बिक्री हुने संभावनालाई मध्यनजर गर्दै पूर्वी मकवानपुरको फापरबारीमा प्रशासनले बजार अनुगमन गरेको छ ।
बागमती गाउँपालिका वडा नं ६ स्थित फापरबारी बजारमा शुक्रबार अनुगमन गरिएको हो । जिल्ला अनुमगन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको संयोजकत्वमा बजार अनुगमन गरिएको हो ।
बजारमा सञ्चालित विभिन्न ९ वटा व्यवसायमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका र म्याद गुज्रेका सामाग्री विक्री वितरणका लागि राखेका विभिन्न ४ वटा पसल,व्यवसायलाई जरिवाना गराइएको छ
फापरबारीमा सञ्चालित कञ्चन मेडिकल हल, बिएन एग्रोभेट, सेवा एग्रोभेट र घलान किराना पसललाई नगद जरिवाना गराइएको हो ।
अनुगमनका क्रममा अनुमति नलिई क्लिनिक सञ्चालन गरेको, म्याद गुज्रेको औषधि विक्रीका लागि राखेको, अनाधिकृत व्यक्तिले औषधि बेचिरहेको पाइएकाले कञ्चन मेडिकल हललाई १ लाख रुपैयाँ जरिवाना गराइएको प्रशासनले जनाएको छ ।
त्यस्तै औषधि व्यवस्था विभागमा दर्ता नभई व्यवसाय सञ्चालन गरेको बिएन एग्रोभेट र सेवा एग्रोभेटलाई क्रमशः २५ हजार र १५ हजार रुपैयाँ जरिवाना गराइएको छ । दुबै पसलबाट म्याद सकिएका विषादी फेला पारी जफत गरिएको छ ।
म्याद गुज्रिएका खाद्यान्न सामाग्री भेटिएको घलान किराना पसललाई १० हजार रुपैयाँ जरीवाना गरिएको हो । अन्य ५ वटा पसल, तथा व्यवसायलाई सचेत गराइएको छ ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाकी निमित्त प्रमुख टीका शर्मा, उपभोक्ता हकहित संरक्षण मञ्च बागमती प्रदेशका अध्यक्ष वासु खतिवडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा महेश कुमार अर्याल, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा कार्यरत लेखमान रावत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका सहायक प्राविधिक दीपक घिमिरे लगायतको सहभागी थिए ।
मकवानपुरका सबै क्षेत्रमा बजार अनुगमनलाई निरन्तरता दिइने सहायक प्रजिअ कँडेलले बताए ।
मकवानपुर । बालिका शिक्षाको सुधारका लागि सरोकारवालाहरूले खबरदारी गरेका छन् । शिक्षा क्षेत्रमा राजनीतिकरण हाबी भएको कारण शिक्षा क्षेत्र अस्तव्यस्त भएको भन्दै यस्तो खबरदारी गरिएको हो ।
आसमान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा बालिका तथा समाबेशी शिक्षाको नीतिगत पैरवी सिकाई आदनप्रदान कार्यक्रम यस्तो बताईएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमतीका उपेन्द्र राई, हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका रमेश बिडारीलगायतले शिक्षामा सकारात्मक सुधार सुरु भएको बताएका थिए ।
प्रदेश सरकारले शैक्षिक सुधारको लागि नेतृत्व र हातेमालो गर्न तयार रहेको राईले बताए । यसैगरी स्थानीय तहमा अभिभावक शिक्षाको सवालमा नियमित कार्यक्रम रहेको बिडारीले बताए । बालमैत्री स्थानीय शासन लागू हुनु गर्न तर्फ लागेको र गैससको समन्वय आवश्यक रहेको उनले बताए । सेनिटरी प्याड, बिद्यालय पोशाक खरिदको तयारीमा उपमहानगर रहेको बिडारीले बताए ।

शिक्षा पत्रकार समाजका केन्द्रिय अध्यक्ष प्रकाश सिलवालले शिक्षाको सवालमा बिद्यमान व्यवस्था, चुनौती तथा सिकाईबारे जानकारी गराएका थिए । जन्मदर्ताको कारण शिक्षाबाट कुनै पनि बालिका शिक्षाबाट बन्चित हुने अवस्था हुन नहुने सिलवालले बताए । किशोरी सशक्तीकरण लागि शिक्षा अनिवार्य रहेको सिलवालले बताए ।
कार्यक्रममा आसमान नेपाल परियोजना फोकल ब्यक्ति कृति केशरीका अनुसार मधेश, गण्डकी, बागमती र कर्णाली प्रदेशको २३ स्थानीय तहका ३८ बिद्यालय यो कार्यक्रम संचालनमा रहेको छ ।
कार्यक्रममा हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबाले आर्थिक रूपमा अतिबिपन्न भएकाको शिक्षाको सवाल कमजोर रहेको बताइन् । सिविन बाल हेल्प लाइन प्रमुख झबिन्द्र ज्ञवलि भौगोलिक दुरीको कारण स्कुल छाड्ने चुनौती ख्यालगर्नु पर्ने बताए । बालबालिका स्कुल छोड्ने कारण अभिभावक सचेत नभएको कारण पनि रहेको ज्ञवलीले बताए । “बालबालिका बिग्रे भन्ने सूनिन्छ तर अभिभावक झन बिग्रन थाले” ज्ञवलीले भने । स्कुल नजाने सबै बालबालिका बाल श्रममा आवद्ध भएको बताए ।

होस्टलमा राखिएका बालबालिकाको भविष्य शंकटमा रहेको, आफ्नो काममा सहज हुन बालबालिकालाई मोबाइल दिनाले ड्रप आउट बढेको उनले बताए । जन्मदर्ता अभावको कारण पढ्नबाट बन्चित हुने अवस्थालाई हेरेर बैकल्पिक शिक्षा कार्यक्रम चाहिने उनले बताए । “जन्मदर्ता समस्या समाधान भाषण र गोष्ठीमा मात्रै छ, सफ्टवेयरमा छैन” ज्ञवलीले भने ।
कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियानका प्रकाश खतिवडाले सार्वजनिक शिक्षा सुदृढीकरण गर्नु आवश्यक रहेको बताए । सहभागीहरूले बागमती प्रदेशको राजधानी हेटौंडामा किशोरी सशक्तीकरणको शिक्षा कार्यक्रम माथी छलफल भएको हो । कार्यक्रम शिक्षा पत्रकार समाजका बागमती प्रदेश उपाध्यक्ष रिपेश दाहालले सहजीकरण गरेका थिए ।
अभिभावक शिक्षा, विद्यालय व्यवस्थापन पक्षमा सुधार गर्ने नीतिगत पहल आवश्यक भएको सहभागीहरूले बताएका थिए ।