मकवानपुर । मकवानपुरकाे हेटौंडामा हुने खुला कविता प्रतियाेगिताकाे लागि कविता पठाउने समय १ हप्ता थप गरिएकाे छ । साहित्य सङ्गम मकवानपुरकाे आयोजना तथा प्रदेश युवा परिषद्, बागमती प्रदेशको व्यवस्थापनमा हुने कविता प्रतियोगितामा कविता पठाउने समय थप गरिएकाे हाे ।
प्रतियाेगिताकाे म्याद थप सम्बन्धी सूचना साहित्य संगम मकवानपुरले प्रकाशित गरी जानकारी दिएकाे हाे । प्रतियोगिताकाे लागि कविता पठाउने समय सिमा २० मंसिर रहेकाेमा उक्त म्याद सकिएकाेले १ हप्ता थप गरी २७ मंसिरकाे समय तोकिएकाे सूचनामा उल्लेख छ । कविता प्रतियोगितामा सहभागि हुनेले २७ मंसिर दिउँसो ४ बजेसम्म कविता उपलब्ध हुने गरी पठाउनु पर्ने संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना पुरस्कारकाे व्यवस्था गरिएकाे अध्यक्ष बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रथम पुरस्कार ४० हजार रुपैयाँ द्वितीय पुरस्कार ३० हजार रुपैयाँ तृतीय पुरस्कार २० हजार रुपैया र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ रहेकाे छ । जुनसुकै विषयका मौलिक कविताले स्थान पाउने प्रतियाेगितामा ४० वर्ष उमेर पुरा नभएका युवाले मात्र भाग लिन पाउने अध्यक्ष बर्तौलाले जानकारी दिए ।
प्रतियाेगितामा भाग लिने कविता बढीमा १५० शब्दकाे हुनु पर्ने छ भने कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित नभएको हुनुपर्ने बताइएकाे छ । कविता पठाउँदा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र वैयक्तिक विवरण (बायोडाटा) समेत पठाउनु पर्ने नियम रहेकाे संगम सचिव मनोज पोखरेलले बताए ।
निर्धारित समयमा प्राप्त कवितामध्ये उत्कृष्ट २० कविताकाे छनोट १ पुसमा गरी अन्तिम प्रतियोगितामा सहभागी गराइने पोखरेलले बताए । उनका अनुसार ६ पुसमा हुने अन्तिम प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नु पर्नेछ । कविता sangam.htd@gmail.com मा पठाउनु पर्ने पोखरेलले जनकारी दिए ।
१ सय ११ केजी गाँजासहित १ जना पक्राउ
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले १ सय ११ केजी लागूऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्लाकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, तीनताप्केबाट बा १० च ५३३ नम्बरको योद्धा पिकअप गाडीबाट १ सय ११ केजी लागूऔषध गाँजा बरामद भएकाेले गाडी चालक मोहम्मद समीरलाई पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
सोमबार प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, तीनताप्केमा सवारी साधन रोकी जाँच गर्ने क्रममा मनहरीबाट बीरगन्जतर्फ जाँदै गरेको उक्त गाडीबाट १ सय ११ किलो गाँजा बरामद गरेको हो । गाडी चालक भारतको बिहार राज्यको मोतिहारी जिल्लाका ३० वर्षीय समीरलाई गाँजासहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
बालुवा र मलले छोपेर उक्त लागूऔषध गाँजा लैजादै गर्दा गाडी र चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले बरामद गरेको लागूऔषध गाँजा, गाँजा तस्करीमा प्रयोग भएको पिकअप गाडी र चालक समीरलाई थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनको सूचीमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुपूर्व पोड्वे लगायतका परियोजना मन्त्रिपरिषदको बैठकबाट एजेन्डाको रुपमा पास भइसकेको छ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको बीआरआई कार्यान्वयनको सूचीमा यो परियोजना समावेश रहेको छ ।
सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले सांसद महेश वर्तौलाले केही समय अघि सदनमा हेटौंडा–काठमाडौं सार्वजनिक यातायात पोडवे संचालन गर्नुपर्ने बताएका थिए ।
१९८२ सालमा नै हेटौंडाको चौकिटोलदेखि काठमाडौंको टेकु भन्सार सम्म रोपवे संचालन भएको थियो । अहिले भिमफेदी–कुलेखानी भएर यात्रा गर्दा तारमा झुण्डिरहेको रोपवेका डिब्बा देख्न सकिन्छ । जीर्ण अवस्थामा भएको रोपवेकै ठाउँमा आधुनिक सार्वजनिक यातायातको साधन पोडवे संचालन गर्न सकिन्छ भनेर बर्तौलाले विषय उठान गर्दै आएका हुन् ।
बीआरआईमा यो परियोजना हस्ताक्षर भएर कार्यान्वयन हुन सके हेटौंडा–काठमाडौंको जोखिमपूर्ण यात्रा सहज हुनेछ । अहिले हेटौंडाबाट काठमाडौंको छोटो मार्ग भएर करिब ३ घण्टा भन्दा बढी जोखिमपूर्ण यात्रा गर्नु पर्छ । लामो यात्रा गर्दा नारायणघाट–मुग्लिन भएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पोडवे संचालनमा आउँदा करिब आधा घण्टाकै समयमा हेटौंडा-काठमाडौं यात्रा गर्न सकिन्छ । यसले काठमाडौंसंग हेटौंडालगायत आसपासका जिल्ला र प्रदेशहरु तथा छिमेकी राष्ट्र भारतको पहुँच वृद्धि हुने बताइएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ को स्थानीय तह उपनिर्वाचनमा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् ।
तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् । कुल खसेको ५ हजार ४८४ मत खसेकोमध्ये ७६ बदर भएको छ । सदर मत ५ हजार ४ सय ८ मतमध्ये तिवारीले २ हजार ६३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रविनकुमार प्रधानले १ हजार ५ सय ६० मत ल्याएका छन् । यस्तै नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३ सय ९८ ल्याएका छन् । वडामा ८ हजार ५३ मतदाता रहेका थिए ।
यसैगरी, वडा अध्यक्षको प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोनले १७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बलले ८३ मत ल्याएका छन् । नेकपा (एकीकृत समाजवादीका)का बलराम बलले ७३ मत पाए । ७८ मत बदर भएको छ ।
तिवारी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा पनि १२ नम्बर वडाको वडा अध्यक्ष पदका उम्मेदवार थिए ।यसअघि माओवादीले जितेको वडामा काङ्ग्रेस विजयी भएको हो ।
उपनिर्वाचन पछि उपमहानगरपालिकाको १९ वडामा एमाले र कांग्रेसको समान ९/९ वडा अध्यक्ष र नेकपा समाजवादीको १ वडा अध्यक्ष रहेको छ ।
पाल्पा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई पाल्पा जिल्लामा सम्मान गरिएकाे छ । पाल्पाको पुर्वखोला गाउँपालिका ३ स्थित उद्बुद्व माविले सम्मान गरेको हाे ।
बाल्यकालमा सोही बिद्यालय पढ्नु भएका उहाँलाई बागमतीको प्रदेश प्रमुख हुनुभएपछी सम्मान गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर थापाले बताए । विद्यालयको ७४ औं बार्षिकोत्सव समारोहमा शनिबार प्रमुख अतिथिको रुपमा सहभागी प्रदेश प्रमुख देवकोटाले आफू जन्मेको हुर्केको माटोमा पुग्दा बाल्यकालको स्मृति ताजा भएको बताए ।
“पाल्पा जिल्लाको शैक्षिक जगतको धरोहर उद्बुद्व माविले नै मलाई आजको स्थानमा पुर्याउन भूमिका खेलेको हो” प्रदेश प्रमुख देवकोटाले भने “एक दिन एक जुगमा एकपटक मात्र आउँछ भनेझैं आजको यो सद्भाव मेरो जीवनको उत्कृष्ट क्षणभित्र पर्दछ ।” पाल्पाको जिल्लाको साबिक देविनगर २ हाल पुर्वखोला वार्ड नं ४ लेम्धेममा जन्मनु भएका देवकोटा प्रारम्भिक शिक्षा हासिल गर्दै यहाँको पाखा बारीमा हुर्कदै शुरुमा बेसर्घा र लेम्धेममा रहेको रम्भादेवी प्रावि शिक्षण पेशामा समेत संलग्न भएका थिए ।
“मान्छे भौतिक रूपमा कहाँ छ भन्नुभन्दा उसको आत्मामा के कुराले जरो गाडेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ” प्रमुख देवकोटाले भने “मलाई जन्म, सुससंस्कार , गृहस्थ र जागिरे जीवनमा प्रवेश गराउने पाल्पाको माटो मेरो लागि यो धर्तीका मूल्यवान धातु सुन र हीराभन्दा कमी छैन ।” आफू भौतिक रूपले पाल्पाको माटो भन्दा टाढा रहे पनि शरीरको रक्त नलीहरूमा पाल्पाको मीठो सम्झनाको तिनाउ र कालीगण्डकी बगेको देवकाेटाले बताए ।
“मेरा पितामाता, पूर्खा, नातेदार, छिमेकी, गुरूबर्ग, साथीसङ्गीलगायत सम्पूर्णमा नमन गर्दछु” उनले भने “म हुर्केको मगर समूदाय र दौँतरीहरूलाई बिर्सेको छैन र बिर्सिन पनि सक्दिन ।” उद्बुद्व माविका विद्यार्थीहरूलाई बिद्यालय उमेरमा नै धेरै भन्दाधेरै मेहनत गर्न उहाँले प्रेरित समेत गरे । “तपाइँहरू जीवनको उर्जाशील उमेरमा हुनुहुन्छ, मेहनतभन्दा अर्को बिकल्प छैन, संसार मेहनतीहरूको हो” प्रमुख देवकोटाले भने “तपाईहरूसङ्ग सपना हुनुपर्छ, जुन सपनाले तपाईको निन्द्रा हराओस्, यति पढ्नुस् कि अभिभावकले अब त सुत भो नानी बाबू भन्नुपरोस् ।”
उनले विद्यार्थीहरूलाई जहाँ भएपनी संस्कारी बन्न आग्रह गर्दै भने ” संस्कार बिनाको शिक्षा बिँडबिनाको खुर्पाजस्तै हुन्छ, हरेक आमाबाबुले आफ्नो भन्दा सुखद जीवन छोराछोरीको होस् भन्ने चाहन्छन्, अभिभाबकको सपना तुहाउने छुट तपाइँ बिद्यार्थीलाई छैन ।” “मेहनत गर्दागर्दै कहिलेकाही असफल हुनु नौलो होइन तर मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो” उनले भने ।

शिक्षक अभिभावकलाई पनि सुझाव
प्रदेश प्रमुख देवकोटाले पाल्पाली अभिभावकलाई पनि सुझाव दिएका छन् । घर बालबालिकाको पहिलो पाठशाला भएको उल्लेख गर्नुहुदै उनले भने “अहिलेका नानीबाबुहरू भिन्न समयमा जन्मेका छन्, हाम्रा थुप्रै अनुभबहरू उनीहरूलाई अर्थ नलाग्लान् । जे भए पनि संस्कार र श्रमको मूल्य नानुबाबुलाई बुझाउनुपर्छ ।”
बिद्यालयका प्रधानाध्यापक , शिक्षकवर्ग ,ब्यवस्थापन समिति, समाज अब्बल दर्जाको पाएँ, यो बिद्यालयले कितावी ज्ञानलाई मात्र जोड नदिएर कला, संस्कृति, कौशल, श्रमको सम्मान तथा नानीबाबुको सर्बाङ्गीण विकासमा जोड दिएको छ जुन अति प्रशंसनीय भएको उनले बताए । “संसारका हरेक पत्थरहरू मूर्ति बन्न लायक छन् तर ती पत्थरहरू असल कालिगढको हातमा पर्नुपर्छ” देवकाेटाले शिक्षक तथा विव्यास प्रती लक्षित गर्दै भने ” तपाईं सम्पूर्ण समुदायलाई आफ्नो कालिगढी सिपमा अझै पोख्त हुने हौसला दिदै, नानीबाबुहरूबाट अझै मिहिनेतको अपेक्षा राख्दै अघि बढाउनुहोस ।”
२००७ सालमा स्थापित यो विद्यालयमा हाल ५५३ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ४७ जना शिक्षक कर्मचारी रहेको बिद्यालयका कम्प्युटर शिक्षक शंकर न्यौपानेले जानकारी दिए । बार्षिक कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक पिताम्बर न्यौपानेले बार्षिक आयब्याय प्रतिवेदन प्रस्तुत गरेका थिए ।