मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको राजमार्ग बिस्तारको सवाल पुनः तात्ने भएको छ । चार दशकदेखि विवादको अवस्थामा रहेको राजमार्ग विस्तारको सवाल फेरि चर्चामा आउने भएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले आज सूचना प्रकाशित गरेको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि आज पत्रिकामा सूचना प्रकाशित गरिएको हो । सूचना प्रकाशन गर्ने र काम गर्न नसक्ने कारण यो पाटो विवादमै अल्झिदै आएको छ ।
यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गरेको भएपनि भत्काउन सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलन हुने मात्र गरेको छ ।
४ दशकदेखि विवादीत र टुङ्गो लाग्न नसकेको विषय हो राजमार्ग २५ मिटर चौडा पार्ने विषय । विभिन्न शहरको राजमार्ग चौडा गरिदा मकवानपुरको हेटौंडा क्षेत्र चौडा पार्ने विषय अन्यौलमा नै रहंदै आएको छ । यो विषयले टुङ्गो नपाउँदा पीडितहरुले आफ्नो घर जग्गाको स्वामित्व नै पूर्ण सदुपयोग गर्न नपाएको भन्दै समय समयमा आन्दोलित हुँदै आएका छन् । साघुँरो सडक र घना बस्तिको रहेको हेटौंडा बजार मानवीय बस्तिको रुपमा विकास गरेर बजारको वाइपासबाट बाटो लैजाने वा बजारको मध्यमा रहेको बाटोलाई चौडा गर्ने भन्ने बारेमा विवाद अझै कायम नै छ ।
पुर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले हेटौंडा १५ रातोमाटेदेखि हेटौंडा –१० राप्तिपुलसम्म वाइपास बाटो विस्तार गर्ने विकल्प अघि सारेको थियो । उक्त विकल्पलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले २ वर्ष अघि बजेटको व्यवस्था गरी मुख्य राजमार्गमा जोड्ने गरी ट्याक ओपन गरिसकेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले व्यापारीहरुको हितलाई मध्यनजर गर्दै २५ मिटरको विकल्पमा १५ मिटर भत्काउने सहमति सहितको ज्ञापन पत्र २ वर्ष अगाडि नै संघीय सरकारको भौतिक मन्त्रालयमा ज्ञापन पत्र बुझाइसकेका छन् ।
विवादमा रहेको कारण आफूहरुले व्यापार व्यवसाय सञ्चालन गर्न, बैंकिङ कारोवार सञ्चालन गर्न समस्या झेल्नु परेको र लामो समयदेखि घरजग्गा विक्रि वितरणमा समेत रोकावट आएको कारण यसको चाँडोभन्दा चाँडो छिनोफानो लगाउन माग गर्दै भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर त्यसको पनि कुनै पहल कदमी अघि बढेन । मकवानपुर उद्योग वाणिज्य संघले नै टोलीको नेतृत्व गरेको थियो ।
सडक दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने कार्यका लागि सडक विभागले तथ्याङ्क समेत संकलन गरेर गरेर सार्वजनिक गरिसकेको छ । ३ वर्ष अगाडि मकवानपुरको मनहरी बजार र बारा जिल्लाको सिमानाबाट बाटो चौडा कार्य सुरु गरेको थियो । दुबैतर्फबाट चौडा गर्दै आएको बाटो हेटौंडा बजारको मुख्य क्षेत्र प्रवेश गर्दैगर्दा बजारवासीहरुले अदालतमा रिट हालेपछि अदालतले तत्कालको लागि काम रोक्न आदेश दियो । त्यसपछि सडक चौडा गर्ने काम रोकिएको थियो ।
डिभिजन सडक कार्यालयले बजारको २५ मिटर क्षेत्र भित्र रहेको बैङ्क तथा वित्तिय संस्थाहरुलाई कार्यलय सार्न पत्र काटेपछि बैंकिङ कार्यालयहरु मुख्य राजमार्गबाट अन्यत्र सरिसकेका छन् । डिभिजन सडक कार्यालयका अनुसार हेटौँडाको मेनरोडमा पर्ने डेढदर्जन बैँक र केही सरकारी कार्यालयहरुलाई २५ मिटर क्षेत्रबाट सरेका छन् ।
सडक अतिक्रमण गरिएका चुरियामाईदेखि लोथरसम्म ४० किलोमिटर क्षेत्रमा सयौं घरटहरा भत्काउनुपर्ने सडक कार्यालयले लगत सार्वजनिक गरिसकेको छ । ढिलोचाँडो सडक सबैलाई फराकिलो चाहिन्छ, २५ मिटर नभइ १५ मिटर भत्काउने सहमति व्यवसायीहरुले दिएका छन् ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ५९ करोड ९५ लाख २५ हजार रहेकाे छ । शनिबार गाउँपालिकाकाे चाैथाे गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट पारित भएकाे हाे ।
पालिकालाई केन्द्रबाट सवै किसिमकाे अनुदान मार्फत ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त भएको बजेटमा उल्लेख गरिएकाे छ ।
पालिकाले शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक विकासतर्फ ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ भने कृषितर्फ १ करोड ७२ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको राक्सिराङ्गले पूर्वाधार विकास विकासतर्फ ७ करोेड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शनिबार भएकाे गाउँपालिकाकाे चौथाे गाउँ सभामा पालिकाका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत भएकाे नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भए पश्चात सर्वसम्मत पारित भएको हो ।
यसैगरी गाउँसभाबाछ अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ विधेयक, २०८० र खर्च सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेकाे विनियाेजन विधेयक,२०८० समेत पारित गरेकाे छ । उक्क विधेयक गाउँपालिका अध्यक्षबाट प्रमाणिकरण भए पछि कार्यान्वयनमा आउने छ ।
हेर्नुहाेस गाउँपालिकाकाे नीति तथा कार्यक्रम र बजेट
मकवानपुर । बागमती प्रदेश सरकारकाे ‘बिग स्कुल’ परियाेजना सञ्चालित मकवानपुर हेटौंडा २ स्थित सिद्धार्थ मावि विद्यालय कार्यसम्पादन परीक्षणमा जिल्ला प्रथम भएको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरद्वारा विद्यालय कार्यसम्पादन परीक्षण प्रतिवेदनहरु कार्यान्वयन अभियान प्रतिवेदन संलेषण, २०७९ मा उल्लेख भए अनुसार विद्यालय कार्यसम्पादन परीक्षणमा सिद्धार्थ मावि जिल्ला प्रथम हुन सफल भएको हो ।
देश ६४ जिल्लाका ४ हजार ८६७ सामुदायिक विद्यालयमध्ये यस सिद्धार्थ माध्यमिक विद्यालय मकवानपुर ८४ दशमलब ४२ प्राप्त गरी जिल्लामा पहिलो हुन सफल भएको हो । देश भरमा भने सिद्धार्थ मावि ३७ औं स्थानमा परेको छ ।
मकवानपुर जिल्लाबाट दोस्रो स्थानमा भानु मावि भएको छ । मकवानपुरगढी गाउँपालिका स्थित भानु माविले ८३ दशमलब २७ प्रतिशत अंक ल्याएको छ । भानु कुल नतिजामा भने ४९ औं स्थानमा छ ।

विद्यालयलाई यो उचाईमा पु-याउन प्रत्यक्ष र परोक्ष रुपमा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक समिति, कार्यरत शिक्षक, विद्यार्थी, अभिभावकहरुको देन रहेको प्राध्यनाध्यापक मोहन शर्माले प्रतिक्रिया दिए ।
विद्यालयको समग्र स्तर निर्धारण गर्न भार अंक १०० तोकिएकोमा ८४ दशमलब ४२ प्राप्त गरी मध्यम स्तर हासिल गरेको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ४० प्रतिशत अंक ल्याउनेलाई कमजोर, ४० देखि ७० ल्याउनेलाई सामान्य, ७० देखि ९० ल्याउनेलाई मध्यम र ९० भन्दा माथि ल्याउनेलाई उत्कृष्ट विद्यालयको रुपमा सुचक निर्धारण गरेको सूचनामा सार्वजनिक गरिएको छ ।
आर्थिक वर्ष २०७३।०७४ बाट देशभर विद्यालयको कार्यसम्पादन परीक्षण कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न थालिएपश्चात् हालसम्म ६४ जिल्लाको परीक्षण सम्पन्न भएको र परीक्षण भएका विद्यालयमध्ये ६० जिल्लाका ४ हजार ८६७ विद्यालयको नतिजा विश्लेषण सार्वजनिक गरिएको केन्द्रले जनाएको छ ।
हालको ६४ जिल्लाको नतिजामा कास्कीको विन्दवासीनी मावि ९४ दशमलब ९५ प्रतिशत अंकका साथ प्रथम भएको छ । यसैगरी एभरेष्ट इङ्लीस स्कुल भक्तपुर ९१ दशमलब १६ तथा भानु मावि कन्चनपुर ९० दशमलब ७४ प्रतिशत ल्याएर क्रमश दोस्रो र तेस्रो भएका छन् ।
मकवानपुर । लामो खडेरीको कारण किसानको लागि असार, असार जस्तो बन्न सकेको छैन । मनमसुन सुरु नहुँदा पानीको मुल फुट्न सकेका छैन, किसानले धानको बिउ राख्न पाएका छैनन् । जसले गर्दा यो वर्षको धान खेतीमा प्रभाव पर्ने अनुमान गर्न थालिएको छ ।
तर बजेटको खेती गर्नेहरुलाई भने सुख्खा मौसमको प्रभाव छैन । असारमा झरी पर्दा झरीमै विकासे काम गर्ने ठेकेदारहरु यो वर्ष ढुक्कले काम गरिहेका छन् । उनीहरुलाई बजेट निकासको समयमा काम सकौं भन्ने मात्रै चिन्ता छ ।
समयमा योजना पास गरेर विकास निमार्ण काम विस्तारै र दीगो तरीकाले गर्ने परीपाटीको विकास अझै हुन सकेको छैन । असारको अन्त हुँदै गर्दा हतार हतार हुने विकास निर्माणले बजेट सकिने तर विकास झरा टार्नेमात्रै हुने गरेको छ । स्थानीय, प्रदेश तथा संघीयतहले यस्तो बेथितीको अन्त्यको लागि चासो नदेखाएको प्रति दलहरुसँग सर्वसाधारण समेत रुष्ट हुन् थालेका छन् ।
संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याइसकेको छन् । बजेट माथिको बहस सुरु भइसकेको छ । बजेटलाई अस्वीकार गर्ने र समर्थन गर्नेहरुको कित्ता छुट्टीदो छ । अब स्थानीय तहले पनि बजेटको तयारीलाई अन्तिम रुप दिदै आएका छन् । बागमती प्रदेशको एक मात्रै उपहानगरपालिका हेटौंडाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरिसकेको छ ।

मकवानपुर जिल्लाका बाँकी ९ स्थानीय तहहरु यतिबेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने चटारोमा छन्। स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले अबको ३ दिन भित्र अर्थात १० असारसम्म आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगर सभामा पेस गर्नु पर्छ।
बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नु पर्छ ।
बजेट पेश गर्दा प्रत्येका स्थानीय तहहरुले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान सहित स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकममा टेकेर बजेट निर्माण गर्नु पर्छ ।
आर्थिक मन्दीकोको कारण यसवर्ष संघ र प्रदेश सरकारहरुले बजेटको आकार घटाएर सार्वजनिक गरेको छन् । योजना निर्माणका विभिन्न तह पार गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा स्थानीय तह जुटेका हुन्। संघ र र प्रदेशबाट प्राप्त हुने अनुदान घटेर आएपछि र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर हुँदै आएपछि स्थानीय तहहरुले पनि बजेटको आकार घटाएर ल्याउने भएका छन् । स्थानीय तहको आगामी आवको बजेट चालु आवको तुलनामा १० प्रतिशतको हाराहारीमा घट्ने आकलन स्थानीय तहका पदाधिकारीहरूको रहेको छ।
हेटौँडा उपमहानगरपालिकाले आगामी आवको लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपियाँ बजेट ल्याएको छ। यो चालु आवको बजेटको तुलनामा ११ करोड रुपियाँले कम हो। स्थानीय तहहरुले यसैगरी बजेट कम ल्याउने अनुमान गरिएको छ ।
यद्यपि बजेटको आकार घटाएर ल्याइए पनि प्राथमिकता दिनु पर्ने क्षेत्रमा पुग्दो बजेटको व्यवस्था गरिने मकवानपुरको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

स्थानीय तहहरूले बजेट निर्माणका क्रममा राजस्व सम्भाव्यता अध्ययन गरी राजस्व परामर्श समितिले आवश्यक निर्णय लिने, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले कुल बजेट अनुमान, सीमा निर्धारण, बजेट तर्जुमा मार्गदर्शन गर्ने र विषयगत समितिले वडास्तरीय र विषयगत शाखाको योजना तर्जुमा गर्ने, निर्णय र सिफारिससहित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा सिफारिस गर्ने प्रक्रिया अवलम्बन गर्ने गर्छन्।
साथै बजेट तथा कार्यक्रम तर्जुमा समितिले आगामी आवको नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गर्ने, वडा समितिले वडागत योजना पेस गर्ने, गाउँ कार्यपालिका बैठकले बजेट तथा कार्यक्रम तर्जुमा समितिले प्रस्ताव गरेको आगामी आवको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने र अन्त्यमा गाउँ सभामा प्रस्ताव नीति तथा कार्यक्रम र बजेट स्वीकृतिका लागि पेस गर्ने गर्दछ ।
तस्बिरहरु साैजन्य: उद्दब चाैलागाईं,हेटाैडा ।
मकवानपुर । मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको लागि न्युन बजेट छुट्याएको प्रती नेकपा एमाले मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मकवानपुरबासीको सदियौंको सपनामाथि धावा नबोल्न भन्दै एमालेले खबरदारी गरेको हो । पार्टी अध्यक्ष तथा बागमती प्रदेश सरकारका पुर्व मन्त्री एका लाल श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति मार्फत यस्तो खबरदारी गरिएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्योपचारलगायत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा निकै नै पछाडि परेको क्षेत्रको रुपमा रहेको तितो यथार्थलाई मनन गर्दै डोरमणि पौडेल नेतृत्वको तत्कालिन बाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी कार्यान्वयनमा रहेको छ ।
हेटौंडा अस्पताल प्रतिष्ठान मार्फत ल्याई सेवामा सुधार गरिएदै आएकोमा पुरानै अवस्थामा फर्काउने खेलमा बर्तमान सरकार रहेको बिज्ञप्तिमा भनिएको छ । विगतमा ५० शैयाको हेटौंडा अस्पताल प्रतिष्ठान मार्फत गएपछि एमाले नेतृत्वको सरकारकै पहलमा हाल ३०० बेडको सुविधासम्पन्न अस्पतालमा परिणत गरिएको थियो ।
हालको सरकारले नियमित रुपमा सञ्चालन भइरहेको र प्रदेशको गौरवको रुपमा विकास हुँदै गएको उक्त प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने तलब सुविधा कटौती गर्दै २१४ भन्दा बढी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जागिरबाटै निकाल्ने, बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित बनाउने तथा अति महत्वपूर्ण स्वास्थ्य संस्थालाई तहसनहस बनाउने उद्देश्यले जनभावना विपरित काम गरिरहेको भन्दै नेकपा (एमाले) मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको अभिभावक बन्नु पर्ने सरकार नै नागरिकहरुको स्वास्थ्यमा खेलबाड गरिरहेको एमालेको ठहर छ । हेटौंडा अस्पतालालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग नगर्न अदालतबाट भएको आदेशको अवहेलना गर्दै तथा सरकार आफैले बनाएको कानूनको समेत उल्लङ्घन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट पुन अलग्याउने काम भइरहेकोले दाबी बिज्ञप्तिमा गरिएको छ ।
यस्ता प्रयत्नहरु तत्काल रोक्न, प्रतिष्ठानलाई विनियोजन हुँदै आएको बजेट कटौती गरेर अस्पतालको उपचार सेवामा असन्तुलन ल्याउने काम बन्द गर्न तथा प्रतिष्ठान एवं अस्पतालमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा गर्न नेकपा (एमाले), मकवानपुरले माग गरेको छ ।