मकवानपुर । शुक्रबार विहानबाट मकवानपुर सहित देशका अन्य भूभागमा सामान्य देखि पूर्ण वदली भइ वर्षा भईरहेको छ । धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा चक्रवात ‘यास’ पश्चिम उत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले सामान्य तथा पूर्ण वर्षा भएकाे हाे ।
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ।
३ दिनको मौसम पूर्वानुमान
जेठ १४ गते शुक्रबार देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको माैशम पूर्वानुमान महाशाखाले जनाएकाे छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
जेठ १५ गते शनिबार देशभर आंशिक देखि सामान्य बदलि रहि केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
जेठ १६ गते आइतबार देशभर आंशिक देखि सामान्य बदलि रहि बाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।बाग्मती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

