मकवानपुर । यस वर्षकाे एसईई र कक्षा १२ को परीक्षा स्थगित भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डकाे सोमबार बिहान बैठकले एसइई र कक्षा १२ को परिक्षा अर्को सूचना नभएसम्म स्थगित गर्ने निर्णय गरेकाे हो ।
अहिले कोरोना संक्रमणका कारण परीक्षा हुने अवस्था नरहेको भन्दै बोर्डले परीक्षा स्थगित गरेकाे हाे । बोर्डले यस अघि नै जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने परीक्षा तालिका प्रकाशित गरेकाे थियो ।
जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइदेखि अन्य तयारी समेत पुरा भएको थियो । हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् भने कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी रहेका छन् । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो ।
बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनका लागि अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । महामारीको अवस्था कायमै रहे भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहे के कसरी अघि बढ्ने मोडालिटी तय गर्न कार्यदल बनाइएको बोर्डले जनाएको छ ।
यस वर्ष कक्षा १२ को हकमा भने इन्टरनेट सुविधा भएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी बोर्डको छ । कोरोना महामारीका कारण गत वर्ष पनि अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

