मकवानपुर । तत्कालिन ७ राजनैतिक दल र नेकपा (माओवादी) ले गरेकाे २०६२/६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ । जनताले जितेको दिन, देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन, परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले विजयी भएको दिनका रुपमा स्मरण गर्छन् ।
तत्कालीन ७ राजनीतिक दल र विद्रोही नेकपा(माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन भूमिका रहेकोले नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा आज १५औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकी तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएकाे थियाे ।
जनआन्दोलनमा कमाण्ड गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।
यसै बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘ राजनीतिक दलसँग सम्झाैता गरेर हस्तान्तरण गरेकाे सत्ताले राजालाई पाखा लगाएकाे बताएका छन् । १५औं लोकतन्त्र दिवसकाे बिहानै सामाजिक संजाल टुईटरमा टुईट गर्दै अध्यक्ष थापाले आन्दोलनकारी दलहरूले राजालाई धोखा दिएर राजसंस्थालाई पाखा लगाएको आरोप लगाएका छन् ।
२०६३ साल वैशाख ११ राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो । सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे। तर,आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए। अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट,धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको छ । कमल थापाकाे टुइटर ह्रयाणडल केटी थापामा टुइटर गरेका छन् ।

