राष्ट्रिय सभामा रिक्त १ सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । ६ वैशाखमा बसेकाे मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन आयोगले रिक्त राष्ट्रियसभा सदस्य पूर्तिका लागि जेठ ६ गते उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
बागमती प्रदेश अन्य समूह तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्य राम बहादुर थापा बादल नेकपा एमाले प्रेवश गरेपछी पदमुक्त भएका थिए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादल नेकपा एमाले प्रवेश गरेपछि गत आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद खारेज गरेका थिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार निर्वाचनको लागि मिति तोकिएको हो। आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।

