मकवानपुर । जिल्ला समन्वय समितिको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा मकवानपुरमा दर्शक विहिन पालिकास्तरीय फुटबल प्रतियोगिता हुने भएकाे छ । प्रतियोगितामा जिल्लाक १० वटै स्थानीय तहबाट १० टिमको सहभागी हुने साेमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे हाे ।
बैशाख ९ देखि १८ गतेसम्म संचालन गरिने प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडी र बिधागत खेलाडीले क्रमशः ५ र ३ हजार प्राप्त गर्ने छन् । स्थानीय तहको खेलाडीको क्षमता विकास, नयाँ प्रतिभाको खोजी जस्ता कार्यमा प्रतियोगिता उपयोगी हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा बताए ।
वैशाख महिनामै खेल गर्नै पर्ने बाध्यता भएकोले कोरोना भाइरस महामारीलाई मध्य नजर गर्दै उच्चसतर्कता अपनाएर प्रतियोगिता गराइने जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलालले बताए । ‘प्रतियाेगितामा स्वास्थ्य सुरक्षाकाे व्यवस्था अपनाईने छ’ खुलालले भने– ‘दर्शकाको उपस्थिति बिना नै खेल संचालन गरिने छ ।’
बैशाख ९ देखि १८ गतेसम्म प्रतियोगिताको अवधी तोकिए पनि अवस्था हेरेर सक्दो चाडै प्रतियाेगिता सम्पन्न गर्ने प्रयास गरिने खुलालले बताए । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुर खेलकुद विकास समितिका सदस्य सचीव राजन दाहाल खुशराजलगायतको उपस्थिति रहेको थियो ।

